लुम्बिनीमा रुसी बौद्ध मन्दिर

लुम्बिनीमा रुसी बौद्ध मन्दिर


बुद्ध जन्मिए नेपालमा, फैलिए सारा एसियामा र उनका अनुयायी र बौद्ध दर्शनका पारखीहरू करिब संसारभर छरिएका छन्। धेरै मानिसलाई थाहा नहुन सक्छ कि युरोपमा पहिलो बौद्ध मन्दिर रुसको पुरानो राजधानी सेन्ट पिटर्सबर्गमा बनेको हो।

बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा मस्कोबाट आएको ‘रुस–नेपाल सहयोग तथा मैत्री समाज’ टोलीसँगै बुद्ध जन्मस्थलमा निर्माणाधीन रुसी बुद्ध मन्दिरको अवलोकन भ्रमण गर्ने अवसर जुर्‍यो।

मे १८ को बिहान, जेठको त्यो उखरमाउलो गर्मीमा हाम्रो टोली आकाशमार्ग हुँदै लुम्बिनी लाग्यो। दिउँसो बाह्रबजे जहाज भैरहवा विमानस्थलमा उत्रियो। जहाजबाट निस्कनुपूर्व नै उडान पारिचारिकाले बाहिरको तापक्रम ३९ डिग्री सेन्टिग्रेड रहेको घोषणा गरेकी थिइन्।

मध्यान्नको गर्मी छल्न हामी होटल नगई सिधै लुम्बिनी परिसरमा निर्माणाधीन रुसी बौद्ध मन्दिरतर्फ लाग्यौं। योजनास्थलमा हपहप गर्मी थियो। हामीलाई त्यसले छोएन किनकि हामीसँगै वर्षमा आठ महिना हिउँ पर्ने मुलुकका मानिसहरू थिए र तिनका बुद्ध भावनाले त्यहाँ मन्दिर निर्माण गर्दै थियो-शान्तिको विश्वग्राममा विश्वको त्यो ठुलो राष्ट्र पनि समाहित हुँदै थियो। उक्त रुसी बौद्ध मन्दिर रुस–नेपाल सहयोग तथा मैत्री समाजको पहलमा लुम्बिनी मन्दिर निर्माण कोष र रुसको बौद्ध परम्परागत संघबाट निर्माण गरिएको हो।

पृष्ठभूमि

उतिखेर हामीलाई पढाइन्थ्यो-सोभियत संघले विश्वको ६ भूभागको एक भाग ओगट्छ। आज सोभियत संघ टुक्रिएर पन्ध्र देशमा विभाजित भयो, तथापि रुसले पृथ्वी ग्रहको लगभग दश भागको एकभाग भूभाग ओगटेको छ।

यहाँ विश्वको सबैभन्दा गहिरो ताल बैकाल, ककेसियन पर्वतमालामा अवस्थित युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रुस, युरोपको सबैभन्दा लामो नदी भोल्गा र उत्तरी गोलार्धको चिसो ध्रुव ओम्याकोन समाहित छन्। जाडोको बेला सुदूरपश्चिम सेन्ट पिटर्सवर्गमा घाम झुल्किँदा सुदूरपूर्वको भलादिभास्तोकमा रात परिसक्छ ।

रुसी महासंघमा विभिन्न भूभागमा परापूर्वक कालदेखि बौद्धमार्गीहरू बसोबास गर्छन्। तीमध्ये रुसी फेडेरेसनको युरोपियन खण्ड काल्मिकिया स्वायत्त गणतन्त्र एउटा यस्तो क्षेत्र हो, जहाँको प्रमुख धर्म बौद्ध हो।

त्यसैगरी मंगोलियाको सीमावर्ती क्षेत्रमा अवस्थित बुर्यातिया र तुभा गणराज्यहरूमा पनि बौद्धमार्गीहरू उल्लेख्य छन्। बुरियाटीहरूको मंगोलसँगको साझा संस्कृति र भाषाका कारण बुर्यातिया गणराज्यमा बौद्ध धर्म छिट्टै फैलियो। सन् १७०१ सम्म नै बैकाल ताल वरपर दर्जनौं बौद्ध मन्दिरहरू निर्माण गरिएका थिए।

रुसी बौद्ध मन्दिर परियोजना

रुस-नेपाल सहयोग तथा मैत्री समाज (रुनेसमैस)को इतिहासमा गरिएका उल्लेखनीय कार्यहरूमध्ये बुद्धको जन्मस्थल लुम्बिनीको रुसी बौद्ध मन्दिर निर्माणको पहल सबैभन्दा ठुलो परियोजना हो।

सन् २०१७ मा रुनेसमैसले नेपाली साझेदार संस्थाहरू र रुसको बौद्ध परम्परागत संघसँग मिलेर लुम्बिनीमा बौद्ध मन्दिर निर्माण सञ्चालन तथा उक्त अनुष्ठानमा सहभागिता हुनसक्ने इच्छुक रुसी बौद्धमार्गी र अन्य संगठनहरूबारे सम्भाव्यता अध्ययन सुरु गर्‍यो।

मे २०१८ को सुरुमा रुनेसमैसका अध्यक्ष मिखाइल नेक्रासोभले लुम्बिनीमा बौद्ध मन्दिर निर्माण र नेपाल सरकारबाट जग्गा उपलब्धताको विषयमा तत्कालीन रुसका राजदूत अलेक्सान्डर बुडनिकसँग भेट र छलफल गरे।

बुद्ध जन्मस्थलमा निर्माण गरिने लुम्बिनी कालचक्र मन्दिरको डिजाइन सेन्ट पिटर्सबर्गमा भएको डात्सान गुन्जेचोइनेई मन्दिरको वास्तुकलाको कपी हो। यो रुसी सामाजिक अभियन्ता एवं लुम्बिनी मन्दिर निर्माण कोष संयोजक दिमित्री मरोजोभद्वारा प्रस्तावित अवधारणा हो।

सन् २०१९ को मे महिनामा, रुनेसमैसका अध्यक्ष मिखाइल नेक्रासोभ, सेन्ट पिटर्सबर्ग कालचक्र बौद्ध मन्दिरको लुम्बिनी निर्माण फाउन्डेसन संस्थापक दिमित्री मोरोजोभ र रुसी बौद्ध धर्मावलम्बीहरू सम्मिलित प्रतिनिधि मण्डलले लुम्बिनी पवित्र भूमिको भ्रमण गरे र त्यसले लुम्बिनीमा बौद्ध मन्दिरका लागि जग्गाको अन्तिम छनोट गर्‍यो।

सेप्टेम्बर २०१९ मा रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौंको ४० औं वार्षिकोत्सवका अवसरमा रुनेसमैस र लुम्बिनी विकास कोष (नेपाल सरकार) बीच रुसी बौद्ध मन्दिरका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी ऐतिहासिक सम्झौता सम्पन्न भयो।

उक्त समारोहमा रुनेसमैसका अध्यक्ष मिखाइल नेक्रासोभ र उपाध्यक्ष दीनानाथ राजभण्डारी, रुसी सांस्कृतिक केन्द्र निर्देशक युलिया एन्ड्रोसोभा र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु अवनिधेश कुमारको उपस्थिति थियो।

२८ अप्रिल २०२१ मा रुस–नेपाल सहयोग तथा मैत्री समाज र दिमित्री मोरोजोभले स्थापना गरेको लुम्बिनी मन्दिर निर्माण कोष मिलेर नेपालमा एउटा भव्य कार्यक्रम आयोजना गर्‍यो। यस दिन रुसी प्रतिनिधि मण्डलकी नेतृ रुसी दूतावासका प्रथम सचिव युलिया एन्ड्रोसोवा र लुम्बिनी विकास कोषका पदाधिकारीहरूले बुद्धको जन्मस्थलमा अवस्थित अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको मैदानमा रुसी बौद्ध मन्दिर निर्माण कार्यको प्रारम्भलाई आधिकारिकता प्रदान गरे। वार्तामा नेरुसमैस, मन्दिर निर्माण फाउन्डेसन र लुम्बिनी विकास कोषको सहभागिता थियो।

सेप्टेम्बर २९ देखि अक्टोबर २, २०२२ मा रुसको परम्परागत बौद्ध संघ र गणतन्त्र बुरियाटिया पब्लिक चेम्बरको निमन्त्रणामा बोर्ड अफ ट्रस्टिजका अध्यक्ष अन्तरिक्षयात्री ब्लादिमिर जानिबेकोभ अलेक्जान्ड्रोविचको नेतृत्वमा रुनेसमैसका प्रतिनिधिमण्डल र रुसी संघका लागि नेपालका राजदूत श्री मिलनराज तुलाधरले गणतन्त्र बुरियाटियाको राजधानी उलानउडे भ्रमण गर्‍यो।

उक्त अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण बारेगोलमेच सम्मेलन भयो, जहाँ समाजका अध्यक्ष मिखाइल सर्गेभिच नेक्रासोभले मन्दिर परियोजनाको विस्तृत योजना प्रस्तुत गरे।

लुम्बिनी मिसनअन्तर्गत सन् २०२३ मा नेपाली दूतावास र रुनेसमैसको संयुक्त प्रतिनिधिमण्डलले काल्मिकिया र टिभा स्वायत्त गणराज्यको भ्रमण गरेको थियो।आखिर सन् २०२३ को १२ नोभेम्बरमा रुसी बौद्ध मन्दिरको शिलान्यास भयो।

लुम्बिनी अवलोकन

हाम्रो भ्रमण टोली (रुस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष बोरिस भेर्सिनिन, सदस्य तथा अनुवादक इरिना अकिमोभा, रुसी लेखक महासंघकी सदस्य प्रोफेसर तमारा पत्योम्किना र म) उक्त योजनास्थल पुग्दा त्यहाँको प्रगति छक्क लाग्दो थियो। सात महिनामा तीनवटा भवन धेरै माथि उठेका छन्।

अझ जग खन्दा आइरहने दलदले माटो र कम्मरसम्म डुबाउने जमिनको पानीले बाधा नपुर्‍याउँदो हो त योभन्दा बढी नै प्रगति हुन्थ्यो भन्ने सुन्दा झन् उत्साहजनक लाग्यो। उपाध्यक्ष बोरिस भेर्सिनिनले रुसदेखि बोकेर ल्याएका भोल्गा नदीको बालुवा निर्माणाधीन मन्दिर परिसरकै एउटा वृक्षको जरामा छर्किए।

‘उनी भोल्गा हाम्री आमा हुन् र उनको स्पर्शको बालुवा यो पवित्र भूमिमा छर्किंदा त्यसले छुट्टै आत्मिक अनुभूति दिन्छ’ भन्दै थिए।

उक्त लुम्बिनी रुसी बौद्ध मन्दिर निर्माण आयोजनाका व्यवस्थापक सेन्ट पिटर्सबर्गका ग्रिगोरी पस्चेन्को रहेछन्, ठेकेदार अर्थात् निर्माण व्यवसायी चैं सि ई कन्स्ट्रक्सन, त्रिपुरेश्वर। प्रायः हाम्रा विकास निर्माण आयोजनाहरू वर्षौंसम्म ढिलासुस्ती, अकर्मण्यता र विवादमा अल्झिएर लामो समय र अधिक खर्च व्यतीत भइरहेको सन्दर्भमा यो लुम्बिनी रुसी बौद्ध मन्दिर आयोजनाको प्रगति र निर्माण व्यवस्थापन, जिज्ञासु इन्जिनियर र योजनाविद्हरूका लागि अध्ययन र सिकाइको विषय पनि हुन सक्छ।

अरूभन्दा पनि सो मन्दिर निर्माण आयोजनाका प्रमुख ग्रिगोरी पस्चेन्कोकोे रसिकपन र हास्य रसले भरिपूर्ण व्यक्तित्व मलाई अद्भुत लाग्यो। वायुसेना स्कुलबाट स्नातक र पाइलट नेभिगेटर पस्चेन्काको हास्य भावमिश्रित सैनिक अनुशासनले नै सात महिनाभित्र यो प्रगति हासिल भएको हुन सक्छ।

लुम्बिनी परिक्रमाकै क्रममा हालसालै मात्र निर्माण सम्पन्न लोटस स्तुपा परिसरमा घुम्ने मौका पनि मिल्यो। त्यसमा लेखिएको छ, ‘यो स्तुपा काल्मिकियाका जनता र ओलेग वार्तुनोभ परिवारबाट सौगात हो र विश्व शान्तिका लागि र सबै प्राणीहरूको हितका लागि प्रार्थनासाथ समर्पित छ। काल्मिकियाहरू दक्षिणी रुसमा बसोबास गर्ने ओरिएट समूहका मंगोलियन मूलका मानिसहरू हुन्, जो समर्पित बुद्धका चेलाहरू हुन् र शताब्दीऔंदेखि धर्मको संरक्षण गर्दै आएका छन्।’

बिहानीको शितल वातावरणमा लोटस स्तुपा पार्कमा बसेर वरपरका बुद्धमय दृश्य हेर्नु छुट्टै आनन्द थियो। त्यसमाथि भर्खर रोपण गरिएका फुल र दुबोहरूलाई मालीले गोडमेल र सिञ्चन गरेको व्यवस्थापन उत्साहप्रद थियो।

एउटा प्रोजेक्टमा विमल रत्ने दलुवत्ता नाम गरेका श्रीलंकाका टिम लिडर थिए। प्रथम परिचयकै क्रममा उनले मलाई सोधे– ‘रामविन्दु, बुद्धिज्म भनेको के हो?’ मैले कूटनीतिक पाराले जवाफ दिन खोज्दै भनेँ, ‘बुद्धिज्म धर्म नभई दर्शन हो।’ ती श्रीलंकालीले भने, ‘यो त दर्शनभन्दा नि ठुलो विज्ञान हो।’

अक्टोबर २०१८ मा यो पंक्तिकार दोस्रो पटक रुस पुगेको थियो। सोभियत संघमा अध्ययन सकेर फर्केको अट्ठाइस वर्षपछि पुनः रुस भ्रमण गर्ने मौका ब्युँतेको थियो। भ्रमणका क्रममा एकदिन हामी सेन्ट पिटर्सबर्गको बाल्टिक सागर किनारस्थित रुसी बौद्ध मन्दिर गयौं।

बुद्धको देशबाट आएको मान्छे भएर होला, त्यतिखेर त्यो मन्दिरप्रति कुनै कौतूहल प्रकट भएन। सानैदेखि यत्रतत्र स्तुप, गुम्बा र मन्दिरहरू देखेकाले त्यो मन्दिरभित्र पाइला पनि टेकिएन। अहिले बल्ल थाहा भयो, त्यो डात्सान गुन्जेचोइनेई गुम्बा त युरोपकै प्रथम बौद्ध मन्दिर पो रहेछ। आज सो गुम्बाभित्र किन गइएन होला भनी थकथकी लागेको छ।

संसारभरका बुद्धप्रेमीहरूले बुद्धको जन्मथलोलाई आदर गर्दै लुम्बिनीलाई रंगीचंगी अन्तर्राष्ट्रिय बगैंचा तुल्याएका छन्। यो अब विभिन्न मुलुकहरूको भिन्न कला र संस्कृतिको खुला संग्रहालयमा परिणत भएको छ। चिनिया बौद्ध मन्दिर छिर्दा बेइजिङ पुगेको भान हुन्छ।

त्यस्तै बर्मा, कोरिया, थाइल्यान्ड, लंका आदिले आआफ्नै शिल्पीले कोरेका छन्। यही लर्कोमा नेपालको घनिष्ठ मित्रराष्ट्र रुसी फेडेरेसन एउटा अर्को इँटा थप्न आइपुगेको छ। हामी ‘सर्वे भवन्तु सुखिन’ र ‘वसुधैव कुटुम्बकम’ मन्त्र जप्नेहरूले यस कदमलाई स्वागत गर्नुपर्छ।

विज्ञान र प्रविधिको विकास र अनेकन भौतिक सुविधाहरूमा चुर्लुम्म आजको मान्छे हिजोको गरिब र दीनहीन मान्छेभन्दा दुःखित छ। ऊ झन् आत्मिक शान्तिको खोजमा व्याकुल छ। आज बुद्ध दर्शन संसारभर अध्ययन र अनुसन्धानको विषय बनेको छ। विश्व भाइचारा, मेलमिलाप र शान्ति फैलाउने महाअभियानमा हाम्रो लुम्बिनी मिसन मुलुककै गौरव हुन सक्छ, यसतर्फ सबैले हातेमालो गरौं।

विश्वमा शान्ति फैलियोस्, जय बुद्धभूमि नेपाल!

प्रकाशित: १ असार २०८१ १०:३६ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School