प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा आप्रवासन छापामारीपछि भड्किएको विरोध प्रदर्शन र त्यसपछि भएको हिंसात्मक झडपलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमबीच आरोप-प्रत्यारोप चर्किएको छ।
शुक्रबारदेखि सुरु भएको अशान्तिले लस एन्जलसको सडक ततायो। संघीय अधिकारीहरूले गरेको आप्रवासन छापामारीमा ४० भन्दा बढी आप्रवासी पक्राउ परेपछि प्रदर्शनकारीहरूले सडकमै ओर्लेर आक्रोश व्यक्त गरे। प्रदर्शनकारीहरूले मुख्य राजमार्ग अबरुद्ध गरे, गाडीहरूमा आगो लगाए भने सुरक्षाकर्मीहरूले अश्रुग्यास, रबर गोली र फ्ल्यास बाङ प्रयोग गरी भिड नियन्त्रण गर्ने प्रयास गरे।
राष्ट्रपति ट्रम्पले स्थिति नियन्त्रण बाहिर गएको भन्दै १९६५ मा लिंडन जोनसनले अलाबामामा गरेजस्तै क्यालिफोर्निया नेशनल गार्डलाई संघीय नियन्त्रणमा लिई २,००० सैनिक लस एन्जलसमा खटाए। यो कदम पछिल्लो पाँच दशकमा पहिलोपटक भएको हो।
तर, क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्रम्पको निर्णयको कडा विरोध गरेका छन्। उनले यो कदमलाई “अवैधानिक” भन्दै संघीय हस्तक्षेपले अवस्था झनै बिगारेको आरोप लगाए। उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेखे, “स्थानीय सुरक्षाकर्मीलाई कुनै सहयोग आवश्यक थिएन, तर ट्रम्पले सेना पठाएर अराजकता र हिंसा सिर्जना गरे।”
न्यूसमले ट्रम्प प्रशासनविरुद्ध कानुनी कदम चाल्ने चेतावनी समेत दिएका छन्। “अब अवस्था अस्थिर भएको छ, र ट्रम्पले फैलाएको अव्यवस्था सफा गर्न हामीले अझ धेरै सुरक्षाकर्मी खटाउनुपरेको छ,” गभर्नरले भने।
यसैबीच, ट्रम्प प्रशासनका सीमा सुरक्षा सल्लाहकार टम होमनले सोमबार फक्स न्यूजको ूफक्स एण्ड फ्रेन्ड्सू कार्यक्रममा न्यूसममाथि कडा आरोप लगाए। उनले भने, “न्यूसमले त्यो राज्य असफल बनाएका छन्। शहर दुई दिनसम्म जलिरहेको थियो, प्रहरीमाथि आक्रमण भइरहेको थियो, अनि मात्र उनले गैरकानुनी भेला घोषणा गरे। उनी ढिलो भए, राष्ट्रपति ट्रम्प ढिलो भएका छैनन्।”
होमनले गभर्नर न्यूसमलाई गिरफ्तार गर्ने योजना नभएको स्पष्ट पार्दै भने, “कसैलाई पनि कानूनभन्दा माथि मान्न सकिन्न।” न्यूसमले भने सप्ताहन्तमा होमनलाई चुनौती दिँदै भनेका थिए, “मलाई समात। गिरफ्तार गर। सिधा कुरा गरौं, कठोर बन्न खोज्ने हो भने गर।”
यो सबैबीच, अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन विभाग (आइस) ले गत हप्ता मात्रै २,३०० आप्रवासी पक्राउ गरेको जनाएको छ, जुन विभागको इतिहासमै एकै दिन गरिएको सबैभन्दा ठूलो पक्राउ हो। ह्वाइट हाउसले डेली डिपोर्टेसन दर बढाउने घोषणा गरिसकेको छ, र चिफ अफ स्टाफ स्टेफन मिलरले दैनिक कम्तीमा ३,००० व्यक्तिको डिपोर्टेसन हुनुपर्ने बताएका छन् भन्ने रिपोर्ट छ।
यस घटनाले डेमोक्र्याट नेताहरूबीच एकता देखिएको छ। पूर्व उपराष्ट्रपति कमला ह्यारिस र क्यालिफोर्नियाका प्रतिनिधि म्याक्सिन वाटर्सले न्यूसमको समर्थन गर्दै ट्रम्प प्रशासनको कदम “डर फैलाउने रणनीति” भएको बताएका छन्।
लस एन्जलसमा अझै स्थिति पूर्णरूपमा सामान्य भएको छैन। अधिकारीहरूले सुरक्षा कडाइ गरेका छन् भने प्रदर्शनहरू जारी रहने संकेत देखिएको छ। यसबीच, संघीय र राज्य सरकारबीचको सम्बन्ध झन तनावपूर्ण बनेको छ।



