काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर



२० जेठ, काठमाडौं । करिब ६ महिना हुन लाग्यो, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच भेट भएको छैन ।

काठमाडौं टावरको विवादमा गत ८ पुसदेखि बिदामा बसेका गुरागाईं जब १ सय ३ दिनपछि पुनरागमन गरे, त्यसपछि त उनीहरूबीच देखिनेगरी शक्ति संघर्ष नै सुरु भएको छ ।

गुरागाईं २१ चैतमा बालेनको असन्तुष्टिकै बीच तनावपूर्ण अवस्थामा कार्यालय हाजिर गरेका थिए । महानगर निकट स्रोतहरूका अनुसार, त्यसयता मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच प्रत्यक्ष भेटमात्रै होइन, सामान्य बोलचाल पनि भएको छैन ।

संघीय सरकारले नै गुरागाईंलाई निरन्तरता दिन पत्र पठाएपछि उपप्रमुख सुनिता डंगोलसहितका कार्यपालिका सदस्यले कार्यालयमा हाजिर गराएका थिए ।

जतिबेला नगर प्रहरीले गुरागाईंलाई कार्यकक्ष प्रवेश गर्न रोकेको थियो । नगर प्रहरीको अवरोध हटाउँदै कार्यालय प्रवेश गरेका गुरागाईंले आफ्नो अधिकारको उच्चतम प्रयोग गर्दै अन्ततः मंगलबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेका छन् ।

जसले शाह र गुरागाईंबीच सम्बन्धको चिसोपना अझै बढाएको छ । किनभने, निलम्बनमा परेका नगर प्रहरी प्रमुख पाण्डे बालेनले रुचाइएका प्रहरी अधिकृत हुन् ।

बालेनको आदेश, पाण्डेको कमाण्ड

संघीय सरकारबाटै जारी पत्र लिएर २१ चैतमा कार्यपालिका सदस्यसहितको समर्थनमा महानगर पुगका थिए, गुरागाईं । रास्वपाबाट निर्वाचित काठमाडौं-१६ की रजनी श्रेष्ठबाहेकका सबै वडाध्यक्षहरूले गुरागाईंलाई नै साथ दिएका थिए ।

तर, बीचमा आइपुग्यो नगर प्रहरी । जसको कमाण्ड उनै पाण्डेले गरिरहेका थिए ।

पाण्डेले ‘माथिको आदेश’ अक्षरशः पालना गर्ने भन्दै कर्मचारीलाई ढोका प्रवेश गर्नबाट रोक लगाए । त्यसपछि भने पाण्डे र गुरागाईंबीचको विवाद झांगिएको थियो ।

‘कार्यालयको सुरक्षाका लागि जे सुकै गर्ने’ भन्दै पाण्डेले प्रमुख प्रशासकीय अधिकृतको ढोका अगाडि धर्ना नै दिएका थिए । जुन तनाव उपप्रमुख डंगोल आफैं पुगेर साम्य बनाएकी थिइन् ।

त्यतिबेलै विभागीय प्रमुखलाई दुव्र्यवहार गरेको भन्दै पाण्डेको आलोचना पनि भएको थियो ।

पाण्डेलाई कार्यपालिकामै माफी मगाउन चाहन्थे गुरागाईं

महानगरपालिकाका एक कर्मचारीले बताए अनुसार, कार्यपालिका बैठकमै बोलाएर गुरागाईंले पाण्डेलाई माफी मगाउने तयारी बनाएका थिए ।

सोही अनुसार, उनले स्पष्टीकरणको योजना केही समय धकेले । तर, यो बीचमा मेयर शाहले कार्यपालिका बैठक नै बोलाएनन् । अहिलेसम्म पनि कार्यपालिका बस्न सकेको छैन ।

‘प्रमुख प्रशासकीय अधिकृतको अगाडि हामीले उहाँ (राजुनाथ पाण्डे)लाई कार्यपालिका बैठकमै बोलाएर माफी मगाउने तयारी गरेको थियौं तर कार्यपालिका नै बसेपछि प्रमुख प्रशासकीयले स्पष्टीकरण सोध्नु भएको हो,’ एक अध्यक्षले भने, ‘कार्यपालिका नबस्ने थाहा पाएको भए पहिले स्पष्टीकरण सोध्नुहुन्थ्यो ।’

काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर

पाण्डेलाई सोधिएको स्पष्टीकरणमा ‘अनुशासनहीन भएको’ उल्लेख थियो । गुरागाईंले सोधेको ७ बुँदे स्पष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको उल्लेख थियो ।

यस्तै महानगरका जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको पनि गुरागाइँले सोधेको स्पष्टीकरणमा उल्लेख थियो । उनले स्पष्टीकरण सोधेको ६ दिनमा १२ जेठमा स्पष्टीकरण बुझाएका थिए ।

निलम्बनमा पनि कार्यपालिकाको साथ

पाण्डेले पठाएको स्पष्टीकरण गुरागाईंलाई चित्त बुझेन । नगर प्रहरी ऐन २०८०को दफा ३९ का उपदफा ५ अनुसार पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले बताएका छन् ।

सँगै, उनले स्पष्टीकरण चित्तबुझ्दो नभएको पनि पत्रमै उल्लेख गरेर पठाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरिएको बताएका छन् ।

पाण्डेको निलम्बनसँगै निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीले पाएका छन् ।

महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । जोशी काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत छन् ।

काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर

स्रोतका अनुसार, पाण्डेलाई निलम्बन गर्नुको पछाडि बहुमत कार्यपालिकाको साथ छ ।

महानगरपालिकामा ४२ जना कार्यपालिका सदस्य छन् । जसमा मेयर बालेन र रास्वपा वडाध्यक्ष श्रेष्ठबाहेक अन्य ४० कार्यपालिका सदस्यले सरोज गुरागाँईलाई साथ दिएको प्रष्टै देखिन्छ ।

‘बालेनले उहाँ(गुरागाँई)लाई कार्यालय प्रमुख नै मान्नुुहुन्न, यसको मतलब महानगर नै नचलाउने हो त ? अनुशासनहीन कर्मचारीलाई बोक्ने, कार्यपालिका बैठकमा फेस नगर्ने अनि कर्मचारी प्रमुखले केही न केही त निर्णय गर्नैपर्‍यो नी,’ एक वडाध्यक्षले भने, ‘हामी आजको निर्णयप्रति खुसी छौं । उहाँलाई कार्यपालिकामा कसैले प्रश्न सोधे त्यसको पनि जवाफ दिन्छौं । तर कार्यपालिका हुनपर्‍यो ।’

ती वडाध्यक्षका अुनसार, बालेनले प्रमुख प्रशासकीय अधिकृतसँगकै द्वन्द्वका कारण कार्यपालिका बैठक नराखेका हुन् ।

‘गुरागाँई नमान्ने भन्दै कार्यपालिका नै बालेनले राखेका छैनन्, उनले कर्मचारी प्रमुखसँग कुरा समेत गरेका छैनन् । अब उहाँले के गर्नुहुँदो रहेछ हेरौं,’ ती वडाध्यक्षले भने ।

डिफेन्समा थियो बालेनको एक्सन

गत १ जेठमा मेयर बालेनले कार्यपालिका अन्तर्गतका ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी खोसे ।

बालेनको यो निर्णय अन्ततः प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँगै जोडिएको थियो । स्रोतका अनुसार, आफूले नरुचाएका गुरागाईंलाई कार्यकक्षमा ल्याउन भूमिका खेलेको भन्दै बालेन ४ वटै समितिका संयोजकसँग असन्तुष्ट थिए ।

सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।

काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर

लगत्तै, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापती, सुशासन समितिका संयोजक दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद कुमार राजभण्डारी र विधायन समितिका रोजिना श्रेष्ठ संयोजक तोकिए । तर, श्रेष्ठ बाहेक अरुले जिम्मेवारी स्वीकार गरेनन् ।

त्यसपछि आफ्ना विश्वास पात्र पाण्डेले स्पष्टीकरण बुझाउनु अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वडा नम्बर १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई पनि स्पष्टीकरण सोधे । मेयर बालेनको सचिवालयले जेठ ८ गते स्पष्टीकरण सोधेको पत्र नगर प्रहरी मार्फत आफूलाई ११ जेठमा मानन्धरलाई पठाएका थिए ।
तर उनले पत्र बुझ्न मानेन् ।

कार्यपालिकाको दबाब बालेनलाई

१२ जेठमा काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गर्दै फेरि अर्को पत्र लेखे ।

उपमेयर डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएको भन्दै बैठक राख्न उनीहरूको माग थियो ।

काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर

त्यसपछि टसमस नभएका बालेनलाई दबाब दिन १४ जेठमा महानगरपालिकाका नगरसभा सदस्यहरू अनौपचारिक बैठक नै बसे ।

महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक बोलाउन दबाब दिने उद्देश्यले १५० जनप्रतिनिधिहरू बैठक बसेर मेयर बालेन शाहलाई जति सक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिने भनेका थिए ।

मौन बस्छु : पाण्डे

निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन् । निलम्बनमा परेपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए ।

‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत गर्‍यो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याकंन म आफैंले गर्नु ठिक हुँदैन ।’

काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर

उनले आफूले पत्र बुझ्नुभन्दा पहिलै मिडियामा समाचार आइसकेको पनि बताए । ‘पत्र बुझेको आधा घन्टा भयो । पहिलै मिडियामा आयो के हो के ?,’ पाण्डले थप भने, ‘केही सोचेकै छैन । मेयरसाबसँग कुरा भएको छैन । म चुपो लागेर बस्छु ।’

मेयर बालेनको सचिवालयले भने अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।





Source link

Leave a Comment