‘कार्ल मार्क्स बिसौं शताब्दीका जिसस क्राइस्ट हुन्,’ यात्रा सुरु गर्नुअघि डा. हेइको बर्नाड खूले भने।
हेइकोले भनेको उक्त कुराले खुले मेरो मानसपटलमा सम्झनाका झ्यालहरू। मार्क्सबारे धेरै पहिले पढेको कुरा सम्झन्छु। कार्ल मार्क्सको समयमा अमेरिकामा सबैभन्दा बढी बिक्री हुने बाइबल र माक्र्सले काम गर्ने पत्रिका ‘न्युर्योक डेली ट्रिब्युन’ थियो। त्यही पत्रिकाले वैचारिक लेख र समाचार लेख्ने कार्ल मार्क्सलाई संसारभर चिनाएको थियो। बाइबल जसरी नै मार्क्सका विचारहरू पनि विभिन्न भाषामा अनुवाद भएर पुस्तकका रूपमा संसारभर पुगेका थिए। जिससका जस्तै उनका फोटा पनि सर्वत्र छरिएका थिए। यस अर्थमा जिसस क्राइस्टपछि सबैभन्दा धेरै चर्चा र अनुयायी भएका कार्ल माक्र्स नै हुन् भन्ने कुरा म पनि स्वीकार गर्छु।
धर्म भनेको अफिम हो भनेका छन् माक्र्सले। माक्र्सका अनुयायीहरू पनि भगवान्को अस्तित्वलाई अस्वीकार गर्छन्। तर, उनीहरूले माक्र्सको देवत्वकरण गरेका छन्। भगवान् सहर मान्छन् माक्र्सलाई। आफ्ना बुबाआमाको श्राद्ध नगर्ने नेपालका केही कमरेड हरेक वर्ष कार्ल माक्र्सको जन्मदिन र स्मृति दिवस भन्दै उनको फोटोअगाडि धुपबत्ती बालेर भाषण ठोक्छन्। जन्म दिने बुबाआमालाई बिर्सन्छन् तर कार्ल माक्र्सलाई बर्सेनि सम्झिन्छन्। उसो त मूर्ति पूजाको विरोध गर्ने बुद्धको संसारभर सबैभन्दा धेरै मूर्ति छन्। अन्धभक्तसँग भगवान्ले पनि हार खाएका छन्। कार्ल माक्र्सको के कुरा ?
लन्डनको सडकमा कार्ल माक्र्सको पदचिह्न पछ्याउने हतारो छ मलाई। पाइला टेक्नु छ माक्र्स हिँडेको बाटोमा। हेर्नु छ उनी डेरामा बसेका घरहरू। नियाल्नु छ लन्डनमा बसेर मार्क्सले कम्युनिस्ट गतिविधि गरेका अड्डाहरू। हेइकोबाट सुन्नु छ माक्र्सबारे रोचक र आधिकारिक तथ्यहरू।
हेइको बर्नाड खूले आयोजना गरेको ‘कार्ल माक्र्स वाकिङ टुर’मा सहभागी हुन लन्डनको ‘पिक्कडाली सर्कस’ ट्रेन स्टेसन अगाडि उभिएको छु। अन्य सहभागीहरू पनि जम्मा भइसकेका छन्। हरेक आइतबार पिक्कडाली सर्कसमा कार्ल माक्र्सको पद चिह्न पछ्याउन चाहनेहरू यहीं जम्मा हुन्छन्। आज २७ अक्टोबर, २०२४, आइतबार पारिलो घामले स्वागत गरिसकेको छ हामीलाई।
मैले थोरै मात्र पढेको छु कार्ल माक्र्सलाई। मार्क्स ५ मे, १८१८ मा जर्मनीमा (तत्कालीन प्रसिया) जन्मेका थिए। उनले विश्वविद्यालयको शिक्षा समाप्त गर्नेबित्तिकै जर्मनीको कोलोनबाट प्रकाशित हुने समाचार पत्रमा लेखक तथा सम्पादकबाट सुरु गरेका थिए जागिर। निकै समयसम्म उनले पत्रकारिता पेसालाई निरन्तरता दिए। उनी अक्षरसँग कहिलै टाढा भएनन्। पढिरहे अक्षरहरू। लेखिरहे पुस्तकहरू। बोलिरहे गरिब, मजदुर र शोषित वर्गका पक्षमा। यसरी सम्झेको छु मैले मार्क्सलाई। सम्झिरहेको छ संसारले उनलाई।
दार्शनिक कार्ल मार्क्स समाजवादी आन्दोलनमा संलग्न भएका कारण जर्मनीबाट निष्कासित भएका थिए। त्यसपश्चात् उनी बसेको देश बेल्जियम र फ्रान्सबाट पनि निष्कासित भए। अन्त्यमा बेलायतमा शरणार्थीका रूपमा सन् १८४९ मा आए। जीवनको अन्तिम समयसम्म लन्डनमा बसे। आजका मितिसम्म संसारभर प्रभाव छाड्न सफल कम्युनिस्ट दर्शनका प्रवर्तक मार्क्सको लन्डन बसाइको आरोहअवरोह थाहा पाउने उत्सुकता दौडिरहेको छ मनमा।
टुर गाइड हेइकोले आफ्नो छोटो परिचय दिए। एकसट्ठी वर्षीय हेइको सत्र वर्षको युवा उमेरदेखि कम्युनिस्ट विचारधाराप्रति आकर्षित भएका रहेछन्। संसारको प्रसिद्ध ‘किङ्स कलेज’ लन्डनबाट माक्र्सवादी सिद्धान्तको आधारमा चीनको राजनीतिक अर्थव्यवस्थाबारे विद्यावारिधि गरेका पत्रकार, माक्र्सवादी चिन्तक, राजनीतिक अभियन्ताले आयोजना गरेको टुरमा सहभागी हुन पाउनु मेरा लागि ठुलो अवसर हो।
विद्यावारिधि गरेका विद्वान्को टुर गाइड पेसाले मेरो सोचमा परिवर्तन ल्याएको छ। कुनै पनि काम सानो वा ठुलो हुँदैन भन्ने सन्देशका रूपमा यसलाई लिएको छु। नेपालमा पिएचडी डाक्टरले टुर गाइडको पेसा अँगाल्लान् भनेर कसैले कल्पना पनि गर्न सक्दैन। हेइको र उनको पेसाप्रति उच्च सम्मान छ।
बाइस जनाको हुलसँगै निस्कियो सडकमा। करिब पाँच मिनेट पैदल हिँडेपछि गे्रट विन्डमिल स्ट्रिट र आर्चर स्ट्रिटको कुनामा अवस्थित ‘वी एट वन’ पब अगाडि पुगेर रोकियौं। कम्युनिस्ट लिगको दोस्रो महाधिवेशन उतिबेलाको ‘रेड लायन पब’ हाल नाम परिवर्तन भएको ‘वी एट वन’को माथिल्लो तलामा भएको रहेछ। यही बैठकमा भाग लिन आएका मार्क्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणपत्र लेख्ने जिम्मा दिइएको रहेछ। बैठकको निर्णय अनुसार उनीहरूले लेखेको कम्युनिस्ट घोषणपत्र सन् १८४८ मा प्रकाशित भएको थियो।
‘चल्तीको भाषामा यसलाई कम्युनिस्ट पब पनि भनिन्छ। यस पबमा माक्र्स–एङ्लेल्स ककटेल पनि पाइन्छ,’ हेइकोले भने।
यही पबमा माक्र्स रक्सी पिउँथे, खाना खान्थे, चुरोटको धुवाँ उडाउँथे र साथीहरूसँग चेस खेल्थे रे। लन्डनमा भएका कम्युनिस्टहरू यहाँ जम्मा भएर बियर, ह्विस्की र वाइनको चुस्की लगाउँदै युरोपभरका पुँजीवादी र सामन्तविरुद्ध आन्दोलन गर्ने योजना बनाउँथे। क्रान्तिको रूपरेखा कोर्थे। देख्ने गर्थे वर्गहीन समाजका सुनौला सपना।
युरोपका यस्ता पब र क्याफेहरू सिद्धान्त र विचार उत्पादन गर्ने केन्द्र हुन्। आन्दोलन र कार्यक्रमको तयारी गर्ने बैठक स्थल हुन्। तिनका उद्गम स्थल हुन्। साहित्यकार, राजनीतिक नेता, दार्शनिकहरू नियमित जाने गरेका ब्रसेल्स, पेरिस, लन्डनका केही पब र क्याफेमा कफी र बियरको चुस्की लगाएको अनायासै स्मरण गर्न पुग्छु।
हेइकोको कुराले ‘वी एट वन’ पबमा माक्र्स–एङ्गेल्स ककटेल चाख्ने योजना बनिहाल्यो मेरो मनमा। नाम मात्रको संशोधनवादी कम्युनिस्ट जस्तै प्यालप्याले हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट जस्तै कडा र खाँटी होला त्यो ककटेल ? हुन त अलिक धेरै रक्सी पिएपछि कतिपय मानिस क्रान्तिकारीभन्दा पनि चर्का कुरा गर्छन्। माक्र्सवादीहरू थामिनसक्ने उग्रवादी बन्छन्। हुलसँग लम्किरहँदा माक्र्स–एङ्गेल्स ककटेलले अनेक कुरा सम्झायो। ककटेल सम्झेर मेरो घाँटी रसायो।
हेइकोका पछि लागेका हामी रूपर्ट स्ट्रिटमा रहेको ‘लिटल सिस्ली’ रेस्टुरेन्टअगाडि पुग्छौं। सिसाको झ्यालबाट भित्र चियाउँछु। रेस्टुरेन्ट खचाखच भरिएको छ। सन् १८७१ मा पेरिस कम्युन असफल भएपछि फ्रान्सबाट भागेर शरणार्थीका रूपमा लन्डन आएका क्रान्तिकारीहरूलाई ‘कम्युनार्ड क्लब म्युच्युल एड सोसाइटी’ले यस भवनमा खाने बस्ने प्रबन्ध मिलाएको थियो,’ हेइकोले इतिहासको यथार्थ सुनाए।
म कैयौं पटक बरालिएको लन्डनका गल्ली र सडकमा हुलसँगै हिँडिरहेको छु। ज्ञानवर्धक यात्रामा रमाइरहेको छु। कम्युनिस्टहरूको इतिहास बोकेर बसेका ऐतिहासिक भवनबारे हेइकोले बताइरहेका छन्। ध्यानपूर्वक सुनिरहेको छु। टिपिरहेको छु डायरीमा उनका कुरा।
सहयात्रीहरूसँग हिँडिरहँदा माक्र्स र एङ्गेल्सको तस्बिर मेरा आँखामा आइरहे। मुल्स नामको रेस्टुरेन्ट अगाडि छौं हामी। मुल्स रेस्टुरेन्टको भवनमा पहिले होटल रहेछ। माक्र्स, जेनी र उनका तीन बच्चाहरू सुरुमा उक्त होटलमा बसेका थिए। कार्ल माक्र्सले भाडा तिर्न नसकेर तीन महिनापछि होटलबाट उनीहरूलाई निकालिएको तितो घटना सुनाउँदा चसक्क हुन्छ मन।
पेगोडा शैलीको ठुलो र आकर्षक गेटबाट हामी चाइना टाउन प्रवेश गर्छौं। सडकका दुवैपट्टि चिनियाँ रेस्टुरेन्ट र पसलले खचाखच भरिएको छ। मानिसको भिडमा प्रस्टै देखिन्छन् चिनियाँ अनुहार। चीनको झझल्को दिलाउने हिसाबले सिँगारिएको छ पूरै क्षेत्र। मधुर आवाजमा गुन्जिरहेको छ चिनियाँ सङ्गीत। चिनियाँहरू आफ्नो भाषा र संस्कृतिमा गर्व गर्छन्।
संसारभर जहाँ चिनियाँहरूको बाहुल्य हुन्छ, एकै क्षेत्रमा रेस्टुरेन्ट, चिनियाँ खाद्यान्न र लत्ताकपडा आदिका पसल खोल्छन् र चाइना टाउन बनाइहाल्छन्। विदेशमा बस्ने चिनियाँहरू राजनीतिक गतिविधिमा उतिसारो संलग्न भएको मलाई थाहा छैन। उनीहरू व्यापारलाई पहिलो प्राथमिकता दिन्छन्। त्यसपछि आफ्नो भाषा र संस्कृति संरक्षण र प्रवर्धन गर्न सक्रिय हुन्छन्। विदेशमा बस्ने नेपालीहरू भने कांग्रेस, कम्युनिस्ट आदि विभिन्न पार्टीका भातृ सङ्गठन खोलेर थाङ्ने राजनीति गर्दै एकआपसमा लडाइँ गरेर बसेको देख्दा दिक्क लाग्छ।
म्याक्सलेस फिल्ड रोडमा रहेको ‘रासा सायाङ’ नामको मलेसियन रेस्टुरेन्टको सामुन्ने उभिएका छौं। हेइकोले भनेअनुसार फ्रेडेरिक एङ्गेल्स लन्डन आएको बेला यही रेस्टुरेन्टको माथिल्लो तलामा रहेको कोठामा बस्थे रे। एङ्गेल्स बसेको कोठामा अहिले कुन भाग्यामानी बस्दो हो। त्यहाँ बस्ने मानिस कम्युनिस्ट होला कि नहोला ? समूहसँग हिँडिरहँदा मेरो मनमा अजिब प्रश्न उठ्छ।
‘परिवारसहित कार्ल माक्र्स सन् १८५१–१८५६ सम्म भाडामा बसेको घर यही हो,’ अलिक बेर हिँडेपछि हेइकोले ‘माक्र्स यहाँ बस्थे’ भनेर लेखिएको निलो प्लेटतिर औंल्याउँदै भने।
माक्र्स बसेको यो घर साथीहरूलाई देखाउन कैयौं पटक आएको छु। हाल यस घरको भुइँ तलामा रेस्टुरेन्ट छ। माक्र्सको परिवार बस्ने गरेका कोठा विभिन्न कार्यक्रमका लागि भाडामा उपलब्ध गराइन्छ। पत्रकार सम्मेलन, रात्रि भोज आदिको आयोजना गरिन्छ। माक्र्सकै नाम बेचेर चर्को भाडामा असुल्छन् र पैसा कमाउँछन् व्यापारी।
यही घरमा माक्र्सले महत्त्वपूर्ण कृतिहरू लेखेका थिए। दर्शन, सिद्धान्त, अर्थशास्त्र, राजनीति, इतिहास आदि विषयका थुप्रै पुस्तकका लेखक मार्क्सले तीन सयभन्दा बढी प्रेम कविता र एउटा नाटक लेखेका थिए। म परिचित छु यो घर र लन्डनको यस ‘सोहो’ वरपरका क्षेत्रबारे। धेरै पटक चक्कर लगाएको छु गल्लीमा।
माक्र्स बसेको समयमा ‘सोहो’ वरपरको यो स्थान खतरनाक र अस्वस्थकर ठाउँका रूपमा चिनिन्थ्यो। गरिबहरू बस्ने क्षेत्र भएकाले भिडभाड हुन्थ्यो। उतिबेला वेश्यालयका लागि प्रसिद्ध यस स्थानमा गरिब माक्र्स पनि सस्तो ठाउँ खोज्दै आइपुगेका थिए। आर्थिक समस्याले गर्दा अस्वस्थ वातावरणमा बस्न बाध्य थिए। उतिबेला यस क्षेत्रमा हैजा फैलिएर धेरै मानिस मरेका थिए। यही घरमा माक्र्सका ६ सन्तानमध्ये तीन सन्तानको मृत्यु भएको थियो। माक्र्स र उनकी श्रीमती पनि पटक पटक बिरामी भएर बाँचेका थिए।
धेरैको कथाव्यथा बोकेर बसेको यो घर उदास देख्छु म। देख्छु यस घरको छेउ र वरपर घरबारविहीनहरू सडक पेटीमा माग्न बसेका। कार्ल माक्र्सको समयदेखि अहिलेसम्म यस वरपरका स्थानलाई गरिबहरूले पछ्याइरहेका छन्। उसो त यहीं देखिन्छन् ठुला र महँगा भवनहरू पनि। मार्क्सले भन्ने गरेजस्तै मेरा आँखाले देखिरहेका छन् धनी र गरिबबीचको गहिरो खाडल। त्यही खाडलबाट अलिकति टाउको निकालेर चियाइरहेको छ माक्र्सवाद।
यही घरले बताउँछ कार्ल माक्र्सको कहालीलाग्दो गरिबी। नियमित काम नहुनु र जथाभावी खर्च गर्ने बानीका कारण माक्र्स साथीहरूसँग पैसा मागिरहन्थे। धेरै पटक एङ्गेल्सले उनलाई आर्थिक सहयोग गरेका थिए। पटकपटक घरको भौतिक सम्पत्ति र श्रीमती जेनीका गरगहना धरौटीमा राखेर पैसा लिएका थिए।
यतिसम्म कि उनकी श्रीमतीले एकपटक माक्र्सको पेन्टसमेत धरौटीमा राखेर पैसा लिएकी थिइन्। थुप्रै ठाउँमा उधारो तिर्न बाँकी भएका माक्र्स अर्कै नाम र परिचय दिएर भागिहिँड्थे।
अर्को ठाउँमा अर्कै नामबाट उधारो मागिहिँड्थे। वर्गहीन समाज निर्माण गर्ने सपना बोकेर हिँडेका माक्र्सको गरिबीका धेरै कथाव्यथा पढेको छु। अचानक मेरो मन नेपाल पुग्छ। माक्र्सको नाम बेचेर कम्युनिस्टको नाममा शासन गरेकाहरूलाई सम्झन्छु। भ्रष्टाचार गर्दै राष्ट्रिय ढुकुटी लुटेर धनी भएका नेपालका नवधनाढ्य कमरेडहरूका तस्बिर आँखामा आउन थाले।
अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, ‘यदि कार्ल माक्र्सलाई उतिबेला बाँच्नलाई सहज हुने पैसा उपलब्ध भएको भए माक्र्सवाद र कम्युनिस्टको जन्म हुने थिएन। अहिलेको विश्व अर्कै हुने थियो।’ केनेडीको उपर्युक्त भनाइ हेइकोले सुनाउँदा म सोचमग्न हुन्छु। सायद केनेडीले भनेजस्तै हुन पनि सक्थ्यो। अथवा अर्को माक्र्स जन्मिन पनि सक्थ्यो।
गरिबीमा जीवन गुजारेका माक्र्सले सन् १८६२ मा एङ्गेल्सलाई लेखेको चिठीको अंश पढेको छु। उनले लेखेका थिए, ‘यस्तो खालको घटिया जीवन बाँच्न लायक छैन।’ गरिब र शोषित–पीडितहरूको मुक्तिका लागि आफ्नो परिवारलाई महत्त्व नदिएका माक्र्सले अन्त्यमा गरिब शरणार्थीका रूपमा मर्नु परेको घटना सम्झँदा दुःखी बनाउँछ मलाई।
नियालिरहेको छु उतिबेला माक्र्स बसेको यो घरलाई। यो घर ‘ट्राजिक हाउस अफ कार्ल माक्र्स’ नामले पनि चिनिन्छ। माक्र्सका तीन सन्तानको निधन यही घरमा भएको थियो। त्यस घटनाले दिएको पीडा छँदै थियो। माक्र्सकी श्रीमती जेनीलाई काम सघाउन राखिएकी घरेलु कामदार महिला हेलेन र मार्क्सबीचको शारीरिक सम्पर्कबाट यही घरमा एउटा छोरो जन्मियो। माक्र्सको हर कार्यमा सहयोग र समर्पण गरेकी, बेलाबेलामा माइतीबाट पैसा ल्याएर माक्र्सको जीवन सहज बनाइदिने धनी र सम्भ्रान्त परिवारकी छोरी जेनीको मनमा त्यस घटनाबाट कस्तो असर प¥यो होला ? हरेक पटक उक्त घटना सम्झँदा रन्थनिन्छु म।
उक्त घटनाबाट आत्तिएका माक्र्सले यो मेरो सन्तान हो भनेर स्विकारिदेऊ भनेर फ्रेडेरिक एङ्गेल्सलाई राजी बनाए। कम्युनिस्ट आन्दोलन र माक्र्सको बदनामी होला भनेर एङ्गेल्सले त्यसलाई आफ्नो सन्तानका रूपमा स्विकारे। त्यस बालकको नाम राखिदिए फ्रेडेरिक डेमुथ। मित्रका लागि आफ्नो इज्जत दाउमा राख्ने एङ्गेल्सको त्यस दुस्साहसी कार्यबाट चकित भएको छु।
माक्र्सका कुरा मनमा खेलाउँदै हिँडिरहँदा ‘मार्क्स ’ नाम लेखेको कपाल काट्ने हजामको पसल देखेर टक्क अडिन्छु। सिसाको झ्यालबाट भित्र चियाउँछु। हजामहरू कपाल काट्न व्यस्त छन्। एक सय पचहत्तर वर्षदेखि यो हजामको पसल अस्तित्वमा भए जस्तो लागेन। सायद माक्र्सको नाम भजाएर पैसा कमाएका होलान् भनेर अनुमान गर्छु।
हजाम पसलभित्र चियाउँदै थिएँ। सहयात्रीहरू कता पुगे पत्तै पाइनँ। महत्त्वपूर्ण जानकारी छुट्ने भयो भनेर आत्तिएँ एकछिन। बल्लबल्ल उनीहरूलाई जेब्रानो रेस्टुरेन्ट अगाडि भेट्टाएँ। अहिले रेस्टुरेन्ट भएको उक्त भवनमा उतिबेला ‘अन्तर्राष्ट्रिय श्रमिक संघ’को हरेक मंगलबार साँझ बैठक हुन्थ्यो। लामो समयसम्म उक्त बैठकमा माक्र्स सहभागी भएका थिए भन्ने कुरा हेइकोले बताए।
जेब्रानो रेस्टुरेन्टबाहिर सडकपेटीमा उभिएका छौं। हेइकोले अब अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउनुपर्छ भनेर प्रस्ताव राखे। हामी बाइस जना पदयात्रीमा बेलायती, आइरिस, पोर्चुगिज, चाइनिज, पेरुभियन, ब्राजिलियन, अमेरिकन र म एक्लो नेपाली थिएँ। उक्त गीत अंग्रेजीमा मैले कहिल्यै सुनेको थिइनँ। नेपालीमा सुनेका केही लाइन मात्र सम्झना छ।
हेइकोले अंग्रेजीमा उक्त गीत गाउँदा केहीले साथ दिए। सहयात्रीमध्ये केहीलाई उक्त गीत कण्ठस्थ रहेछ। मलगायत केही पदयात्री मौन रह्यौं। गीतको भाषा फरक परे पनि लय चाहिँ उस्तै रहेको अनुभव गरेँ। गीत कठस्थ आउनेहरू कम्युनिस्ट होलान् त ? आफैसँग प्रश्न गर्छु।
कम्युनिस्ट गीत मनमा गुनगुनाउँदै हिँड्छु। ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्ने लाइनले मलाई नेपालका कम्युनिस्टहलाई सम्झायो। एकातिर पार्टीको भातृ संगठनका रूपमा थुप्रै जातीय संघसंगठनहरू खोलेको थाहा पाएको छु। अर्कातिर कम्युनिस्टहरूले उठाएको जातीय राज्य बाँड्ने सशस्त्र आन्दोलनले हजारौंको ज्यान लिएको घटना ताजै छ। अनि उनीहरू नै मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँछन्। मैले नबुझेको हो कि द्वैध चरित्र हो यो ? मेरो अज्ञानी मनमा प्रश्न उठ्छ।
‘ह्वाइट हार्ट’ पबअगाडि सडकमा कुदिरहेका छन् गाडी। धेरै पहिले यस भवनमा जर्मन शैक्षिक समाजले केटाकेटीलाई भाषा सिकाउँने व्यवस्था मिलाएको रहेछ। माक्र्सले यहाँ स्वयंसेवकका रूपमा केही समय भाषा सिकाएका रहेछन्। कार्ल माक्र्स पन्ध्र वटा भाषा धाराप्रवाह बोल्न सक्थे रे। माक्र्सको विलक्षण प्रतिभा थाहा पाउँदा चकित हुन्छु।
गल्ली र सडकका कुनाकाप्चा चहार्दै हाम्रो अन्तिम गन्तव्य ब्रिटिस म्युजियमतिर पाइला चाल्छौं। ‘कार्ल माक्र्स आफू बसेको डेराबाट नियमित रूपमा ब्रिटिस म्युजियम यही बाटो हुँदै जाने गर्थे,’ हेइकोले बताए। माक्र्सको पाइला पछ्याउँदै हिँडिरहेको छु। मनमा अनेकन कुरा खेलिरहेका छन्।
‘तपाईं कुन देशबाट आउनुभएको हो ?’ पदयात्रा समूहका एक सज्जनले अचानक सोधे। ‘नेपालबाट,’ मैले गर्वसाथ भनेँ। ‘तपाईं माओवादी हो ?’ उनले सिधै सोधे। ‘होइन नि ?’ मैले भनेँ।
‘तपाईं कुन देशको नागरिक हुनुहुन्छ ?’ मैले सोधेँ। ‘पेरु,’ उनले छोटो जवाफ दिए। ‘साइनिङ पाथको सदस्य हो?’ मैले पनि ठट्टा गर्दै सोधेँ। ‘होइन, होइन,’ उनले हाँस्दै भने।
उनीसँग कुराकानी गर्दै ब्रिटिस म्युजियमभित्रको गोलाकार कक्षमा प्रवेश गर्छौं। कलात्मक भवनको भित्री भागलाई नियाल्छु। भित्ताभरि माथिसम्म ¥याकमा महत्त्वपूर्ण जानकारी भएका पुस्तक गर्वसाथ बसेका देख्छु। भवनको अलिक माथिल्लो भागबाट लगाइएको पारदर्शी सिसाले अध्ययन–कक्ष प्राकृतिक उज्यालोमा चम्किरहेको छ। चम्किएका छन् ज्ञानको प्रकाशले भवनका कुनाकाप्चा। ‘यही रिडिङ रुममा माक्र्स घण्टौं बसेर अध्ययन गर्थे,’ हेइकोले सुनाए।
मार्क्सले ‘दास क्यापिटल’ अर्थात ‘पुँजी’ भन्ने पुस्तक यही अध्ययन कक्षमा बसेर लेख्न सुरु गरेका थिए। उतिबेला उनको मनपर्ने कुर्सी ‘जी ७’ रहेछ। त्यस कुर्सीमा बसेर पढ्न लेख्न मन पराउँदा रहेछन्। उतिबेलै म्युजियमको यस कक्षमा इतिहास, राजनीति र अर्थशास्त्रका महत्त्वपूर्ण हजारौं पुस्तक थिए। देश–विदेशका पत्रपत्रिकाहरू नियमित आउँथे। सरकारी दस्तावेजहरू निःशुल्क पढ्न पाइन्थ्यो। जसले गर्दा माक्र्स विश्व घटनाबारे जानकार भए। राज्यको नीति र गरिब जनताको नियति नजिकबाट बुझे। यहीं आएर माक्र्सले बौद्धिक मानिससँग सम्पर्क गर्न पाए।
माक्र्सले आफ्नो बौद्धिक विकासमा ब्रिटिस म्युजियमको यस रिडिङ रुमको महत्त्वपूर्ण योगदान रहेको कुरा बताएका छन्। पुस्तकालय ज्ञानको भण्डार हो। चेतनाको दियो बाल्ने स्थान हो। अन्धविश्वास र भ्रमबाट मुक्त पार्ने ठाउँ हो। यही पवित्र स्थलमा उभिएर पल्टाउँछु माक्र्सवादका केही पाना।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरी दुई दर्शन भएको माक्र्सवादलाई माक्र्सवादीहरू सर्वहारा श्रमजीवी वर्गको मुक्तिको वैज्ञानिक सिद्धान्त मान्छन्। मार्क्सवादलाई लेनिनले माक्र्सका विचार र उनको शिक्षाको व्यवस्थित शृङ्खला भनेका छन्। स्टालिनले माक्र्सवाद सम्पूर्ण जडसूत्रवादको शत्रु हो भन्दै यसलाई प्रकृति र समाजको विकासलाई सञ्चालन गर्ने विज्ञानको रूपमा मानेका छन्। माओत्सेतुङले माक्र्सवाद ज्ञानका अनेक शाखाबाट बनेको छ भनेका छन्। विभिन्न व्यक्तिले भिन्नभिन्न तरिकाले माक्र्सवादको व्याख्या गरेका छन्। सही रूपमा माक्र्सवादी दर्शन बुझ्ने र व्यवहारमा लागु गर्ने कम्युनिस्टहरू कति होलान् ? साहित्यमा रुचि राख्ने मेरा लागि मार्क्सवाद जटिल विषय हो।
‘कार्ल माक्र्स वाकिङ टुर’मार्फत साढे दुई घण्टा लन्डनको सडक र गल्लीमा हिँडेर कम्युनिस्टसँग सम्बन्धित केही ऐतिहासिक कुरा थाहा पाएँ। माक्र्सवादी सिद्धान्त र श्रमिक ऐक्यबद्धता आन्दोलनको व्यावहारिक अनुभव सुन्न पाएँ। माक्र्सको जीवनबारे थप जानकार भएँ। मार्क्सको जीवन, संघर्ष र क्रान्तिबारे धेरै कुरा बुझ्न पाउँदा दर्जनौं पुस्तक पढेजस्तो अनुभूति भयो।
लन्डनले माक्र्सको कार्य र जीवनलाई एउटा आकार दिएको थाहा पाउँछु। म आफैं पनि यही लन्डनमा निकै वर्षदेखि ठक्कर खाँदै धेरै कुरा सिकिरहेको छु। अलिकपछि कस्तो आकारमा ढाल्छ होला मलाई लन्डनले ? मनमा उठिरहेका छन् अनेकन प्रश्न।
बेलायतमा शरणार्थी भएर आएका माक्र्स चौंतिस वर्ष बेलायतमा बसे पनि बेलायती नागरिकता पाउनका लागि पटक पटक दिइएको उनको निवेदन अस्वीकृत भएको घटनाले चसक्क पार्छ मलाई। जन्मभूमि जर्मनीले उनलाई पुनः नागरिकता दिन अस्वीकार गरेको घटना सम्झँदा पोल्छ मलाई। राज्यविहीन भएर लन्डनमा बसेका शरणार्थी माक्र्सको १४ मार्च, सन् १८८३ मा निधन भयो। लन्डनमा अवस्थित ‘हाइगेट सिमेट्री’मा उनलाई समाधिस्थ गरियो। दाहसंस्कारमा जम्मा तीस जना जति उपस्थित भएका थिए रे। दार्शनिक तथा ख्यातिप्राप्त व्यक्तित्व माक्र्सको दाहसंस्कारमा सयौं व्यक्ति सहभागी हुनुपथ्र्यो भन्ने ठान्छु।
पुँजीवादको प्रारम्भिक अवस्थामा माक्र्सवाद विकसित भएको थियो। मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवादमा र तेस्रो चरणमा माओवादको विकास भएको मान्छन् केही कम्युनिस्टहरू। यदि त्यसो हो भने अब चौथो चरणमा मार्क्सवादको थप विकास र व्याख्या हुनु जरुरी ठान्छु म। मार्क्सवादले समाजमा पुँजीपति र सर्वहारा दुई वर्ग हुन्छ भनेको छ। इतिहासदेखि अहिलेसम्म अधिकांश समय यी दुई वर्गबीचमा संघर्ष भइरहेको छ। यसैलाई माक्र्सवादीहरूले वर्ग संघर्ष मान्छन्। अहिलेको उत्तरआधुनिक समयमा अरू वर्गको पनि उदय भइसक्यो। यसबारे कुनै माक्र्सवादीले व्याख्या गरेको कुरा पढ्न मन लागिरहेको छ।
मार्क्सवाद गरिब र शोषित वर्गको ‘युटोपिया’ हो। माक्र्सले लेखेको, देखेको र भोगेको समाज धेरै परिवर्तन भइसक्यो। र पनि एक सय पचहत्तर वर्षभन्दा पुरानो माक्र्सको विचारले आजसम्म संसार हल्लाइराखेको छ। हल्लाइराखेको छ माक्र्सवादले पुँजीवादीहरूको मथिङ्गल। केही देशको शासनसत्ता हल्लाइराखेको छ यही माक्र्सवादले। थप विकास र व्याख्यासहितको नयाँ माक्र्सवाद आयो भने भविष्यमा कस्तो होला संसार ? पुँजीवादीहरूको सत्ता टिक्ला कि नटिक्ला ? ब्रिटिस म्युजियमबाट बाहिर निस्केपछि मेरो मस्तिष्कमा यस्ता प्रश्नरूपी हथौडाहरूले हिर्काउन थाले बेसरी।
प्रकाशित: २६ माघ २०८१ १०:१४ शनिबार