लन्डनको अक्सफोर्ड सर्कस ट्रेन स्टेसनबाट बाहिर निस्कँदा झलमल्ल घाम लागेको छ। घाम देखेर ट्रेनभित्र भर्खरै पढेको घामको कविता सम्झन्छु। लन्डनको अन्डरग्राउन्ड ट्रेनमा यात्रा गर्दा ट्रेनभित्र राखिएका त्यस्ता कविता पढ्न छुटाउँदिनँ।
मनलाई आनन्द दिने, मानिसको जीवनमा उत्साह थप्ने प्रेरणादायी कविता पढेर यात्रुहरू लाभान्वित हुन्छन्। कविलाई पढिरहन्छन् लाखौं यात्रुहरूले। कवि र कवितालाई मनमा सम्झिरहन्छन् वर्षौंसम्म।
घाम ताप्न निस्केजस्ता मानिसको भिड छ बाहिर। उसो त ब्रान्डेड फेसनलगायतका महँगा सामानहरू बेचिने अक्सफोर्ड स्ट्रिटमा संसारभरका मानिसहरू भेटिन्छन्। नयाँनयाँ फेसनमा सजिएका महिला र पुरुष देखिन्छन्। अलिकति घाम लाग्नासाथ लुगा फालेर अर्धनग्न भएर हिँड्ने बैंसालु युवतीहरू भेटिन्छन् यहाँ।
मेरो ध्यान खिचिरहेका छन् शृंगार रसका कविले आफ्नो कवितामा वर्णन गरेजस्ता सुन्दरीहरूले। देखिरहेछु तिनका कामुक देह। ओहोरदोहोर गरिरहेका छन् षोडशीहरू मेरो अगाडिबाट। करिब मेरै उमेरकी एक सुन्दरीले मसँग आँखा जुधाई र मुसुक्क हाँसेर गई।
‘घाइते बनाउँछन् कि क्या हो सुन्दरीहरूले,’ एक मनले बोल्यो। ‘घाइते भए पोएट्री फार्मेसीमा औषधी किनेर खाने,’ अर्को मनले उत्तर दिन्छ।
वास्तवमा म लन्डनको अक्सफोर्ड स्ट्रिटमा भर्खर खुलेको पोएट्री फार्मेसीको अवलोकनका लागि निस्केको थिएँ। त्यहाँको रमितामा अल्मलिन छोडेर पाइला चाल्छु। लम्किन्छु सडकपेटीमा। उठिरहेका छन् मनमा कविताका बारेमा अनेकन् तर्कनाहरू।
कस्तो होला औषधीका रूपमा बेचिने कविता? कस्ता होलान् मानिसको रोग निको पार्ने कविताका शब्दहरू? कस्तो शक्ति होला ती शब्दहरूमा? सबैलाई थाहा छ, प्रायः औषधीहरू खाइन्छन्। कतिपय औषधी शरीरका बाहिरी अंगमा दलिन्छ। औषधीहरू इन्जेक्सनबाट पनि शरीरमा लगाइन्छ। पोएट्री फार्मेसीले कवितालाई खानू, दल्नू या इन्जेक्सन लगाउनू, के भनेर बेच्ला? ठट्टा गर्छु आफैंसँग।
कविताले संसारसँग जोड्छ हामीलाई। बोकेको हुन्छ कविताले सिंगो समाज। सिकाउँछ कविताले कठिनाइसँग जुध्न। उक्साउँछ आन्दोलित हुन। त्यसैले कुनै कुनै कविता पढ्दा पाठकलाई आफ्नै वरपरका कुरा गरेजस्तो अनुभूति हुन्छ। पाठकलाई लाग्छ म एक्लो छैन।
यस उत्तरआधुनिक समाजमा मानिसहरू विभिन्न रोग, मानसिक समस्या, तनाव, डिप्रेसन, एक्लोपन, धोका आदिबाट ग्रसित छन्। यस्ता समस्यामा एलोपेथिक औषधीभन्दा पनि मानसिक उपचार उपयोगी हुने मानिएको छ। पछिल्लो समयमा यसका लागि कविता प्रभावकारी मानिएको छ।
व्यायाम, ध्यान, योगा र प्रकृतिमा यात्रा गर्दा तनाव कम हुने र नियन्त्रण गर्न सकिने कुरा त अलिक पछि आएका हुन्। यीभन्दा पहिले प्राचीन समयमा कविता पढेर, लेखेर, सुनेर तनावलाई नियन्त्रण गरिन्थ्यो भनेर मान्नेहरू धेरै छन्। साहित्यको प्रथम र प्राचीन विधाका रूपमा कवितालाई मानिन्छ। वैदिक साहित्य पनि कविताकै रूपमा रचिएका थिए।
वैदिक साहित्यबारे मनमा कुरा खेल्दै गर्दा अचानक मेरा अगाडि हरे राम… हरे कृष्ण… गाउँदै ढोल झ्याम्टा बजाउँदै हिँडेको एउटा समूह आइपुग्यो। निधारमा चन्दन लगाएका यतैतिरका गोरागोरीहरू मात्र छन्। श्रीकृष्णका अनुयायी इस्कोनको यो अभियानसँग म परिचित छु। धर्म भनेको अफिम हो भने पनि ईश्वरको अस्तित्व छैन भनेर वकालत गर्ने पश्चिमाहरूको देशमा क्रिश्चियनहरू हिन्दु धर्म र बुद्ध धर्मप्रति आकर्षित भइरहेका छन्। क्रिश्चियनको देशमा इस्कोनको यो अभियान लोकप्रिय भइरहेको छ।
‘हरे राम, हरे कृष्ण’ मैले गाइनँ। तिनीहरूलाई पछ्याइनँ मैले। अगाडि बढे मेरा पाइलाहरू। स्मृतिमा सलबलाउन थाले कविताबारे मैले पढेका वैज्ञानिक तथ्यहरू। वैज्ञानिक शोधअनुसार कविताले तनाव, पीडा र दुःखको समयमा आराम दिने र मानसिक शक्ति बढाउन प्रभावकारी देखिएको छ।
स्ट्रोक भएका बिरामीलाई कविता पढ्न दिँदा उसको ज्ञानमा वृद्धि र स्मरण शक्तिमा सुधार भएको पाइएको छ। कविताले मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पारेको कुरा थुप्रै अनुसन्धानमूलक जर्नलहरूमा लेख प्रकाशित भएका छन्।
बेलायतका सरकारी अस्पतालहरूमा बिरामीहरूलाई औषधी उपचारसँगसँगै कविता सुनाउँदा उनीहरूमा आत्मबल बढेको, उत्साह थपिएको र पीडामा कमी आएको तथ्य फेला परेको छ। बेलायतका अस्पतालमा बिरामीहरूलाई कविता सुनाउने कार्य अहिले पनि जारी छ। त्यति मात्र होइन, स्वास्थ्यसँग जोडिएको ‘पोयम इन द वेटिङ रुम’ परोपकारी संस्था बेलायतमा सक्रिय छ।
यस संस्थाले डाक्टरसँग जँचाउन जाँदा पालो पर्खिरहेका बिरामीहरूलाई कविता उपलब्ध गराएर तिनीहरूको आत्मबल बढाउने र उत्साह थप्ने काम गरेका छ। अक्सफोर्ड युनिभर्सिटीले पनि बेला बेलामा ‘पोयट्री अफ मेडिसिन’ भन्ने वर्कसप सञ्चालन गरेर कविताको बहुआयामको चर्चा गर्दै त्यसको फाइदा खोज्ने गरेको छ। कविता औषधी हो। कविता एक्लोपनको साथी हो। कविता जीवनको उज्यालो हो। कविता दर्शन हो। कविता ज्ञानको भण्डार हो।
हिँड्दै गर्दा कल्पनामा रमाउने कविजस्तै म पनि कविताबारे अनेक कुरा सम्झँदै र कल्पिँदै थिएँ। पोएट्री फार्मेसी अगाडि पुगेपछि तुरुन्त वर्तमानमा फर्कन्छु। घडी हेर्नै परेन, पाँच मिनेट पनि लागेन त्यहाँ पुग्न।
पोएट्री फार्मेसी लेखेको पहिलो तलामा पुग्दा काउन्टरमा कार्यरत सुन्दरीले स्वागत गरिन्। उनी पनि शृंगार रसको कवितामा वर्णन हुने सुन्दरीभन्दा कम थिइनन्। ‘तपाईंलाई के भयो र आउनुभयो? कुनै औषधी लिनुहुन्छ कि?’ उनले सोधिन्। ‘म त ठिक छु। पोएट्री फार्मेसी हेर्न आएको,’ मैले भनेँ।
‘ल यो क्याप्सुल लिनुस्। यसले तपाईंलाई खुसी बनाउने,’ ठ्याक्कै औषधीको क्याप्सुलजस्तै र उत्रै आकारको एक क्याप्सुल मलाई दिइन्। ‘के यो पानीसँग पिउनु?’ ठट्टा गर्दै मैले सोधेँ। ‘हैन, हैन। यसलाई खोलेर पढ्ने,’ उनले मुसुक्क हाँसेर भनिन्।
उनकै अगाडि त्यो क्याप्सुल खोलें। अमेरिकन कवि जेम्स राइटको अंग्रेजी कवितांंश कागजको सानो टुक्राका थियो। ‘अचानक मलाई महसुुस भयो, म आफ्नो शरीरबाट बाहिर निस्केँ भने फूल भएर फुल्ने छु।’
त्यो पढेर मेरो मनभित्र खुसी सलबलायो। म मुस्कुराएँ। मलाई देखेर उनी पनि मुस्कुराइन्। हुन त सेवाग्राहीसँग विनम्र भएर मिठो बोल्नु र मुस्कुराउनु कर्मचारीको कर्तव्य हो। जागिर पाउने र जागिर टिकाइरहने योग्यता पनि हो।
मनमा खुसीको तरंग फैलाउने कविताको टुक्रालाई हातमा समाइरहेँ। मेरा आँखा दौडिए पोएट्री फार्मेसीको कक्षमा। त्यहाँ भएका दुईवटा काउन्टरमध्ये पुस्तक बेच्ने काउन्टरमा ती कर्मचारीसँग कुरा गर्दै थिएँ।
अर्को कुनामा भएको काउन्टर पछाडि कफी मेसिन र अगाडि सोकेसमा केक, बिस्कुट आदि देख्छु। त्यस फार्मेसीको बिच भागमा कविताका पुस्तकहरू बेच्न राखिएका छन्। भित्ताको सोकेसमा औषधीका ससाना सिसाका बोतलहरू छन्। झ्यालको छेउमा केही कुर्सी टेबलहरू छन्। कुर्सीमा बसेर चिया कफीको चुस्की लगाइरहेका ग्राहकहरू छन्। त्यहाँ बस्ने ठाउँ छैन।
पोएट्री फार्मेसीकी ती कर्मचारीसँग जानकारी खोज्छु। बिहान दश बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन हुने उक्त फार्मेसीमा औषधीरूपी कविताका क्याप्सुल भएका बोतल, कविताका पुस्तक, चिया, कफी, केक, बिस्कुट आदि बिक्री हुने गर्दारहेछन्। यी सबैको संगम पोएट्री फार्मेसी सर्वथा नौलो व्यवसाय लाग्यो मलाई। फार्मेसीले छ जनालाई रोजगार प्रदान गरेको थाहा पाउँदा खुसी हुन्छु।
‘यहाँ काम गर्नेहरू कवि हुनुपर्ने अनिवार्य योग्यता हो?’ उनलाई सोध्छु। ‘कवि नै हुनुपर्छ भन्ने छैन। कवि मन भएका वा कविताबारे अलिकति बुझेका कविताका पाठक त हुनैपर्छ,’ उनले हाँस्दै भनिन्।
‘तपाईं कवि हो?’ अर्को जिज्ञासा राख्छु उनलाई। ‘पत्रपत्रिकामा कविता प्रकाशित भएको तर पुस्तक आउन बाँकी कवि हुँ। चाडै पुस्तकका रूपमा मेरा कविताहरू आउनेछन्,’ आत्मविश्वाससाथ उनले भनिन्। ‘कस्ता व्यक्तिहरू ग्राहक भएर आउँछन् यहाँ,’ म उनलाई फेरि सोध्छु। ‘कवि र अकविहरू दुवै खालका ग्राहक आउँछन्,’ उनले भनिन्।
हाम्रो कुराकानी चलिरहेका बेला एकजना महिलाले कविताका तीनवटा पुस्तक लिएर काउन्टरमा आएपछि हाम्रो संवाद भङ्ग भयो। त्यसपछि म काउन्टरबाट झ्याल छेउमा पुग्छु। चियाउँछु अक्सफोर्ड स्ट्रिटलाई। व्यस्त सडकको रौनक उस्तै छ। अनि फार्मेसीभित्र अवलोकनका लागि मेरा आँखा र पाइतालाले यात्रा थाले।
‘टेन पोएम्स अबाउट बड्र्स’, ‘टेन पोएम्स अबाउट फ्रेन्डसिप’, ‘एन्टी स्ट्रेस पोएम्स’, ‘यु आर नट अलोन’, ‘पोएट्री बाई हार्ट’, ‘द पोएट्री फार्मेसी’, ‘अ टुलकिट अफ मोडर्न लाइफ’लगायतका थुप्रै पुस्तकहरू देख्छु। देख्छु बिक्रीका लागि राखिएका अमेरिकी र बेलायती कविका थुप्रै कवितासङ्ग्रहहरू। सुन्दर स्टेसनरी र विभिन्न कलाकृतिहरू मुस्कुराइरहेका छन्। फार्मेसीको लोगो अंकित विभिन्न सामग्रीहरू ग्राहकको प्रतीक्षामा छन्।
म कवितालाई औषधीका रूपमा बिक्रीका लागि राखिएका सिसाका बोतलहरू हेर्न थाल्छु। नेपाली रूपैयाँ दुई हजार तीन सय साठीसम्म पर्ने कवितारूपी औषधीका बोतलहरू देख्छु।
करुणा र आत्मविश्वास बढाउने, समुद्री ज्वरो, अस्तित्वगत भय, खुसी, टुटेको हृदय, राहतको चक्की, साहसको क्याप्सुल, थकानको गोली, आराम, प्राथमिक उपचार सामग्री, आशाको गोली, राइटर ब्लकको चक्की, अनिर्णयको क्याप्सुल, अनिद्राको गोली, प्रेरणा र स्फूर्तिका चक्की, प्रेमको क्याप्सुल, आमाको चक्की, पोएमसिटामोल, लचकता बढाउने गोली, उदासीको औषधी, सोसल मिडिया घटाउने औषधी, प्रताडित कविका लागि चक्की आदि लेखिएका विभिन्न बोतलहरू हेर्दाहेर्दै म त औषधी पसलभित्र घुमिरहेजस्तो अनुभूति भयो।
त्यहाँ पोइजन लेखिएको विषका क्याप्सुल देखेर झस्किएँ। अहो ! कविता पनि विष हुँदो रहेछ ! काव्यात्मक विषका चक्कीहरू खाएर मर्ने कस्ता बिरामीहरू होलान्। ती विषरूपी कविताका शब्दहरूले कसरी मार्ला त दुःख र पिरमा परेका बिरामीहरूलाई। केही थाहा नपाएर चक्कराउन थाल्यो मेरो टाउको।
काउन्टरबाट ती ग्राहक गएपछि म फेरि उनको अगाडि पुग्छु। आफू लेखक तथा कवि भएको जानकारी दिँदै मेरो भिजिटिङ कार्ड उनलाई थमाउँछु। भिजिटिङ कार्ड पढेर उनी खुसी भइन्। अझ बढी खुलेर कुरा गर्न थालिन्। पूरापूर जानकारी दिन थालिन्।
डेब्रा आल्माले खोलेको अक्सफोर्ड स्ट्रिटको यो पोएट्री फार्मेसी शाखा पो रहेछ। डेब्रा आफैंमा कवि, सम्पादक र शिक्षिका पनि हुन्। लन्डनबाट दुई सय पचास किलोमिटर टाढा स्रोपसर भन्ने स्थानमा संसारको पहिलो पोएट्री फार्मेसी केही वर्षअघि खोलेकी रहेछिन् उनले।
उनीसँग प्रत्यक्ष भेट गरेर परामर्श लिन सकिँदो रहेछ। फोन, भिडियो कल आदिका माध्यमबाट पनि परामर्श सेवा उपलब्ध हुँदो रहेछ। उनले बिरामीलाई औषधीका रूपमा कविता प्रेस्क्राइब गर्दिरहिछन्। एक पटकको परामर्श शुल्क नेपाली करिब आठ हजार पाँच सय पर्दो रहेछ।
‘परामर्श शुल्क निकै महँगो पो रहेछ,’ मैले आश्चर्य मान्दै बोलेँ। ‘त्यसमा व्यक्तिगत परामर्शको साथमा चिया, कफी र केकका साथै ‘एन्टी स्ट्रेस कवितासङ्ग्रह’ र ‘पोएट्री ब्याग’ पनि पाइन्छ,’ उनले सुनाइन्।
मानिसलाई कसैले श्राप दिन्छन्, गाली गर्छन्, दुव्र्यवहार गर्छन् वा धोखा दिन्छन्। विभिन्न कारणले मानिस प्रताडित भइरहेका हुन्छन्। तिनीहरू दिन प्रतिदिन मानसिक रूपमा कमजोर हुन्छन् र आफू असहाय भएको महसुस गर्छन्। कमजोर मानिस पीडा सहन नसकेर आत्महत्या गर्छन्। धेरैले सजिलोका लागि विष खाने गर्छन्। पोएट्री फार्मेसीको कवितारूपी विष कस्तो होला?
खुलमखुला मानिस मार्ने विष कसरी बेच्न सकेका होलान्? जिज्ञासा मनमा चुलिएका छन्। मेरो जिज्ञासा शान्त पार्न उनलाई प्रश्न सोध्छु। उनले विष लेखेको बोतल खोलेर एउटा क्याप्सुल मेरो सामु राखिदिइन्। क्याप्सुल खोलेर हेर्दा कागजको सानो टुक्रामा बेलायती कवि स्वाइनबर्नको कवितांश थियो।
‘म चाहन्छु, यस धरतीमा तिम्रो शरीर फलजस्तै होस्, कुनै साँपबाहेक अरू कसैले तिमीलाई मिठो नसम्झिऊन्।’
उक्त कवितांशले मेरो मथिंगल हल्लायो। कविताले आत्महत्या गर्न चाहनेलाई बाँच्न प्रेरित गर्ने सन्देश दिएको छ। विष खाएर मर्न चाहनेले कविताको उक्त क्याप्सुल खाने होइन, खोलेर पढ्ने। अनि मृत्यु शड्ढयामा पुगेजस्तो सारा कुरा बिर्सेर आफ्नो अस्तित्वको पहिचान गरेमा पीडाबाट मुक्ति मिल्छ। आत्महत्या गर्नै परेन।
ज्वरो आउँदा, टाउको दुख्दा खाने पारासिटामोल सबैलाई थाहा छ। तर, यहाँ ‘पोएमसिटामोल’ बेच्न राखेको देखेर आश्चर्यचकित हुन्छु। मेरो जिज्ञासु मनलाई शान्त पार्न उनले एक पोएमसिटामोलको क्याप्सुल दिइन्। खोलेर हेर्छु, बेलायतमा जन्मेकी अमेरिकी कवि डेनिस लेबर्टोबको कवितांश थियो।
‘दिनको झट्का धातु जस्तै बज्छ– अथवा म पो थिएँ। एक घण्टी ब्युँझिएको थियो र जे मैले सुनेँ, त्यो मेरो सम्पूर्ण अस्तित्व भनिरहेको थियो र गाइरहेको थियो। यसलाई थाहा थियो– म गर्न सक्छु।’
आहा ! यस्ता कविताका पंक्तिले मानिसलाई प्रेरणा दिन्छन्। दुखाइ र पीडा त क्षणिक हो ब्युँझाउँछ त्यस व्यक्तिलाई र अस्तित्वबोध गराउँछ उसको।
राइटर ब्लक लेखेको औषधीको बोतलले चकित पार्यो मलाई। राइटर ब्लकको औषधी त मलाई पनि पो काम लाग्ला कि जस्तो लाग्यो। कैयौं पटक म पनि राइटर ब्लक भएर एक शब्द लेख्न नसकी अड्केर बसेको छु। लेखन क्रम ठप्प भएर निराश भएको छु। राइटर ब्लक भएका लेखकको उपचारमा प्रयोग हुने औषधीको एउटा क्याप्सुल दिन्छिन् मलाई। खोलेर हेर्छु, अमेरिकी कवि एड्रियन रिचको कविताको अंश रहेछ।
‘यो सजिलो हुने छैन, यो लामो हुने छ। यसले थोरै समय लिने छ। यसले तपाईंको सारा विचार लिने छ। यसले तपाईंको पूरै हृदय लिने छ। यसले तपाईंको पूरै सास लिने छ। यो छोटो हुने छ, सरल हुने छैन।’
केही लेख्न अड्किरहेका लेखकहरू यो पढेर उत्पे्ररित हुनेछन्। जीवनमा आउने कुनै समस्या वा राइटर ब्लक छोटो हो। केही समयपछि ठिक हुने जानकारी दिएको छ त्यस कवितांशमा। एकपछि अर्को गर्दै औषधीरूपी कविताका बोतलभित्रका क्याप्सुल खोलेर पढ्छु। त्यहाँ कुनै नेपाली कविका कविताका अंश होलान् कि नहोलान्, मनमा खुलदुली चलिरह्यो।
फेरि काउन्टरमा ग्राहक आए। चारवटी अधबैंसै महिलाहरूले मेरै अगाडि विभिन्न नामका कविताका क्याप्सुलले भरिएका बोतलहरू किने। म त छक्क परेँ। के तिनीहरूले औषधीरूपी कविता पढेर सन्चो हुन्छ भन्ने विश्वासले किनेका हुन्? या त जिज्ञासा मेट्न किनेका हुन्? अथवा नयाँ खालको व्यापार त्यसमा पनि कविताको नाममा भएकाले त्यसलाई सहयोग गरेका हुन्? कि कविता प्रेमी हुन् तिनीहरू। मनभित्र विभिन्न अनुमान गरिरहेँ।
ती महिलाहरू गएपछि अमेरिकानो कफी मगाउँछु। झ्यालछेउको एउटा खाली कुर्सीमा बस्छु। एकछिनमै कफी मेरो टेबलमा आइपुग्यो। कफी घुट्क्याएर सिसाको झ्यालबाट बाहिर हेर्छु। सडकमा उही भिडभाड छ। पुलुक्क हेर्छु, मेरो ठिक अगाडिका एक पुरुषलाई। उनी ल्यापटपमा केही लेखिरहेका छन्। के लेखिरहेका होलान् तिनले? कविता? वा अन्य कुनै रचना? उनको काममा बाधा हाल्न चाहिनँ। फार्मेसीभित्रको दृश्य हेर्दै कफी पिउँछु।
ग्राहकहरू आउने जाने क्रम जारी छ। मनमा कवितासम्बन्धी विभिन्न विचारहरू ज्वारभाटा बनेर उठिरहेका छन्। पहिले पहिले कविता सीमित दायराभित्र थियो। उत्तरआधुनिक समयमा कविता व्यापकतासहित फैलिएको छ। विविध विषयमा हजारौं रूप, रंग र शैलीमा लेखिएका छन् कविता। धेरै लेखिएर थोरै पढिने विधा भनेर खिल्ली उडाइए पनि कविता लेख्ने क्रममा कमी आएको छैन।
नयाँनयाँ कविहरू आइरहेको देख्छु। आजकलका कविहरूलाई कवितामा गाली र आक्रोश लेख्दा चर्चित भइन्छ भन्ने भ्रम छ। उनीहरूमा चाँडै चर्चित, स्थापित र पुरस्कार पाउने लालसा छ। कविता त साधना हो। साधनाको यात्रा लामो हुन्छ। छोटो यात्राबाट चर्चित हुन कविहरू गुटबन्दी गरिरहेका छन्। खुइल्याइरहेका छन् एक गुटले अर्को गुटका कविलाई। बोकिरहेका छन् काँधमा कविता नामका दुर्गन्धहरू। चक्कर लगाइरहेका छन् सत्ताको वरिपरि। गणेश परिक्रमा गरिरहेका छन् पुरस्कारदाताहरूको।
काटमार गर्न उक्साउने, जातिजातिबिचमा घृणा फैलाउने, राजनीतिक पार्टीको झन्डा बोकेर एक अर्कालाई गाली गरिएका नेपाली कविता निकै समयदेखि पढिरहेको छु। राजनीतिक वादको वकालत गर्नेहरूले कवितामा विचारको नाम लिँदै पार्टीका विचार र तिनका घोषणापत्रहरू मिसाएर लेखेका कविता पढिरहेको छु। सिकसिको मान्दै पढिरहेको छु महिला कविले सारा पुरुषलाई बलात्कारी र अपराधी करार गरेर लेखिएका कविताहरू।
पुरुष कविले नारीका अङ्गप्रत्यङ्गको वर्णन गर्दै मनोरञ्जनका साधन र यौन उपभोगका वस्तुका रूपमा चित्रण गर्दै लेखिएका कविता घिन लाग्दालाग्दै पनि पढिरहेको छु। हाम्रो मौलिक संस्कृति र परम्परामाथि धावा बोलिएका एनजिओ र आइएनजिओको गन्ध आए पनि सकिनसकी त्यस्ता कविताका पाना पल्टाइरहेको छु।
त्यस्ता खालका कविता अल्पायुका हुन्छन्। गालीगलौज र घृणा फैलाउने, अरूलाई होच्याउने, अपराधीको ट्याग लगाइदिने, कवितामा विचारको नाममा कुनै अमूक वाद या अभियानको नारा र घोषणापत्र लेख्ने कामका लागि राजनीतिक पार्टीका नेता, कार्यकर्ता, एनजिओ र सामाजिक सञ्जालमा सर्वज्ञहरू छँदैछन् नि। कविहरूले ती विषयमा किन ठेक्का लिएका होलान्? उदेक मान्छु।
कवितालाई मानव जातिको हितमा उपयोग हुने पवित्र विधाका रूपमा विकास गर्न सकिन्न र? सम्पूर्ण कविता नभए पनि कविताका दुईचार पंक्तिले औषधीको काम गरोस्। उपचार होस्। आत्महत्या गर्न चाहनेहरू त्यसबाट बचून्। मानिसको दुःख निवारण होस्। एक्लो हुँदाको साथी बनोस्। अनि पो कविता ! यस्तो काम गर्न नसक्ने कविता नामका अक्षरहरू फगत घृणा, कुण्ठा, बदला, द्वन्द्व र दुर्गन्ध फैलाउने पोका हुन्। ती कुनै वाद वा अभियानका घोषणापत्र र अवधारणापत्र हुन्। ए कविहरू हो, अब त लेख औषधी जस्ता कविताहरू ! मेरो मनले कविहरूलाई अनुरोध गर्यो।
२०४१ सालमा पहिलोपटक पत्रिकामा कविता प्रकाशित भएपछि साहित्य लेखनमा औपचारिक पाइला चालिरहँदा डेढ दर्जन पुस्तक प्रकाशित भए पनि अहिलेसम्म मेरो कवितासङ्ग्रह बजारमा आउन सकेको छैन। मलगायत डायोस्पोराका कविहरूका कवितामा दुई जना विद्धान्हरूले पिएचडी सम्पन्न गरेपछि कवितासङ्ग्रह निकाल्न मेरो मनले दबाब दिइरहेको छ।
पूर्वप्रकाशित, अप्रकाशित र नयाँ केही कविताहरू लेखेर सङ्ग्रह प्रकाशन गर्ने रहर छ। अरूलाई अर्ति र उपदेश दिन सजिलो हुन्छ। यो हुनुपर्छ र यो भएन भन्न झन् मजा आउँछ। के मैले औषधीको काम गर्ने कवितासङ्ग्रह प्रकाशन गर्न सकूँला र? आफैंप्रति शंका छ मलाई। यो चाहीं पक्का छ कि मेरो कवितासङ्ग्रहमा गाली र घृणाले स्थान पाउने छैन। म कसैको अभियानको लेखनदास हुने छैन। द्वन्द्व मच्चाउन उत्प्रेरित गर्ने कविताले ठाउँ पाउने छैन।
कफी पिउँदै मनमा विभिन्न कुरा खेल्दै गर्दा एक हुल स्कुलका विद्यार्थीहरू आए। शिक्षिकाले विद्यार्थीलाई पोएट्री फार्मेसीबारे छोटकरीमा बताइन्। जिज्ञासु विद्यार्थीले केही कुरा सोधे। एकछिनपछि विद्यार्थीहरू निस्केपछि हल्ला शान्त भयो।
मेरो मन पुग्छ फेरि नेपालमा। भनिन्छ नेपाली साहित्यमा कलम चलाउनेहरूमध्ये सबैभन्दा धेरै संख्या कविहरूको छ। नेपाली साहित्यमा सबैभन्दा धेरै कविताका पुस्तकहरू प्रकाशित भएका छन्। कविताका समालोचक र समीक्षक पनि प्रशस्त छन्। मेरो कामना छ, अब नेपालमा औषधीजस्ता कविता लेख्ने कविहरू जन्मिऊन्।
स्थापित र नयाँ कविहरू यस महान् कार्यमा सक्रिय होऊन्। तिनीहरूले बिरामीलाई सन्चो पार्ने कविता लेखून्। अनि बाँच्छन् लामो समयसम्म बिरामीहरू, कविहरू र तिनका कविता। कविताका समालोचक मात्र होइन, कविताका फार्मेसिस्टहरू पनि तयार होऊन्। तिनले बिरामीलाई कविता प्रेस्क्राइब गरून्। लेखून् बिरामीका लागि काव्यात्मक औषधीहरू। सिफारिस गरून् पढ्दा आनन्द आउने कविताका राम्रा पुस्तकहरू।
मनमा यस्तै विचार आइरहँदा कफीको अन्तिम घुट्को पिउँछु। त्यसपछि उठ्छु। म कुनै बिरामी भएर पोएट्री फार्मेसीमा गएको थिइनँ। यहाँ मैले औषधीरूपी कविताका बोतलहरू किन्नुछैन। पोएट्री फार्मेसीलाई अलिकति भए पनि सहयोग होस्, मलाई केही ज्ञान प्राप्त होस् र पोएट्री फार्मेसीको चिनो घरमा पुगोस् भनेर ‘हाउ टु बि अ पोएट’ नामको एउटा पुस्तक किन्छु। बेलायतको एकदम महँगो पसल भाडा भएको स्थानमा खोलिएको पोएट्री फार्मेसी बन्द नहोस् भनेर कामना गर्दै पोएट्री फार्मेसीबाट बाहिरिन्छु। बाटामा हिँडिरहँदा मनभरि कविताका विभिन्न बिम्बहरू आइरहे।
प्रकाशित: १२ श्रावण २०८१ ०८:३३ शनिबार