६ मंसिर, काठमाडौं । बुधबार धितोपत्रको दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य कित्ताको ५ हजार १ सय रुपैयाँ पुगेर बन्द भयो । यस्तै समाज लघुवित्तको सेयर प्रतिकित्ता ३ हजार ५ सय ९७ मा बन्द भयो ।
दुवै लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकशित गरेका छन् ।
६ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आत्मनिर्भर लघुवित्तले प्रथम त्रैमासमा ४३ लाख ५३ हजार रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
असोज मसान्तमा उसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४० पैसाले ऋणात्मक छ भने निष्क्रिय कर्जा अनुपात १४.४३ प्रतिशत पुगेको छ ।
लघुवित्त कम्पनीमध्ये दोस्रो धेरै सेयर मूल्य रहेको समाज लघुवित्तले चालु आव प्रथम त्रैमासमा ४२ लाख १२ हजार नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
२ करोड २३ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रथम त्रैमासमा प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ७४ पैसाले ऋणात्मक छ । उसको निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशत मात्रै हुँदा पनि उच्च घाटाले संस्थाको वित्तीय अवस्था खराब रहेको देखाउँछ ।
लघुवित्त कम्पनीमध्येकै चौथो धेरै मूल्य रहेको युनिक नेपाल लघुवित्तले निष्क्रिय कर्जा अनुपात बढेर १५.७९ प्रतिशत पुगेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
एनआईसी एसिया लघुवित्तको निष्क्रिय कर्जा सबैभन्दा धेरै १८.६८ प्रतिशत पुगेको छ । नेरुडे मिर्मिरे लघुवित्तको निष्क्रिय कर्जा १६.१४, आत्मनिर्भर लघुवित्त १४.४३, नेस्डो समृद्धि लघुवित्त १३.३०, मातृभूमि लघुवित्त १२.४०, इन्फिनिटी लघुवित्त ११.३५, स्वावलम्बन लघुवित्त १०.९७, नाडेप लघुवित्त १०.५१ र निर्धन उत्थान लघुवित्तको १०.१६ प्रतिशत रहेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
कुनै पनि सूचीकृत कम्पनीको वित्तीय अवस्थाले त्यसको सेयर मूल्य प्रभावित पार्ने हुन्छ । तर, लघुवित्तको वित्तीय अवस्था कमजोर बन्दै जाँदा सेयर बजारमा भने तिनै कम्पनीको सेयर मूल्य उच्च देखिएको छ । सूचीकृत ५० मध्ये १० लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात १० प्रतिशतभन्दा माथि पुगेको छ ।
गत आव प्रथम त्रैमासमा लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात औसतमा ६.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । चालु आव प्रथम त्रैमासमा अधिकांश लघुवित्तको निष्क्रिय कर्जा वृद्धि हुँदा नेरुडे मिर्मिरे लघुवित्तको १८ प्रतिशतभन्दा माथि पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको सेयर मूल्य हेर्ने हो भने वित्तीय रूपमा सबलको भन्दा निष्क्रिय कर्जा उच्च भएको र ठूलो नोक्सानीमा रहेका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च देखिन्छ ।
नेप्सेमा सूचीकृत ५० वटै लघुवित्तले चालु आव प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये १९ लघुवित्तले नोक्सानीमा छन् ।
वित्तीय विवरणमा नेरुडे मिर्मिरेको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ७३ पैसाले ऋणात्मक छ । समाज लघुवित्तको ७३ रुपैयाँ ७४ पैसा र विन नेपालको प्रतिसेयर आम्दानी ७० रुपैयाँ ३५ पैसाले ऋणात्मक छ ।
विन नेपालको सेयर मूल्य दोस्रो बजारमा बुधबार २ हजार ५ सय ६० रुपैयाँमा बन्द भएको छ । विन नेपाल, युनिक नेपाल, आत्मनिर्भर, समाज लगायतको न्यून चुक्ता पूँजी र सेयर सप्लाई न्यून हुँदा त्यसले धितोपत्र बजारमा सेयर मूल्य कर्नरिङ गर्न सहज बनाएको छ ।
सूचीकृत कम्पनीको वित्तीय अवस्था र भविष्यको सम्भावना भन्दा सेयर सप्लाई नहुँदा कर्नरिङ गरेर बढाएको मूल्यमा आमलगानीकर्ता फस्ने जोखिम उच्च रहन्छ ।
प्रथम त्रैमासमा विन नेपालले खुद ब्याज आम्दानी नै ऋणात्मक रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेका लघुवित्तलाई एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था गरे पनि क्षेत्रीय स्तरका लघुवित्तले पुरानो पद्दति अनुसार नै वित्तीय विवरण प्रकाशित गरेका छन् ।
विन नेपालका प्रमुख कार्यकारी अधिकृत जीवन खनाल विविध कारण असोजमा ब्याज असुल हुन नसक्दा खुद ब्याज आम्दानीभन्दा ब्याज खर्च उच्च भएको बताउँछन् । यद्यपि, लघुवित्तको अवस्था गत आव सोही अवधिको तुलनामा राम्रो रहेको उनले बताए ।
त्यस्तै जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जर भएर बनेको मातृभूमि लघुवित्तको प्रतिसेयर आम्दानी ६८ रुपैयाँ ८५ पैसाले ऋणात्मक छ ।
त्यस्तै इन्फिनिटीको ५७ रुपैयाँ १७ पैसा, अभियान ५२ रुपैयाँ ७६ पैसा, सामुदायिक लघुवित्तको ४६ रुपैयाँ ७४ पैसा र नाडेपको ४० रुपैयाँ ९५ पैसाले प्रतिसेयर आम्दानी ऋणात्मक छ ।
धौलागिरिको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा, आशा ३३ रुपैयाँ २० पैसा, स्वाभिमान ३३ रुपैयाँ १० पैसा, समता घरेल २९ रुपैयाँ ३२ पैसा, आत्मनिर्भर २५ रुपैयाँ ४० पैसा, मानुषी २० रुपैयाँ ५४ पैसाले प्रतिसेयर आम्दानी ऋणात्मक छ ।
यस्तै विजय लघुवित्तको १८ रुपैयाँ ५५ पैसा, मेरो माइक्रोफाइनान्स १८ रुपैयाँ ८ पैसा, सीवाईसी नेपाल ११ रुपैयाँ ९८ पैसा, जनउत्थान सामुदायिक ७ रुपैयाँ १६ पैसा र निर्धन उत्थान लघुवित्त ४ रुपैयाँले ऋणात्मक प्रतिसेयर आम्दानी रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कोषको लागत घट्दा राहत
बैंकहरूको ब्याजदर घटेसँगै लघुवित्तले लिने थोक कर्जाको ब्याजदर घटेर लघुवित्तका कोषको लागत घटेको छ । जसले गर्दा लघुवित्तका आम्दानीको प्रमुख स्रोत रहेको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा उल्लेख्य बढेको देखिन्छ । सोही कारण सम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकममा वृद्धि हुँदा पनि लघुवित्त संस्थाको नाफामा केही सुधार देखिएको छ ।
५२ लघुवित्त संस्था सञ्चालनमा रहेकोमा सुपर लघुवित्तलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ । त्यस्तै स्वस्तिक लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन । अन्य ५० लघुवित्तले चालु आव प्रथम त्रैमासमा ५३ करोड २८ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आव सोही अवधिमा ५७ लघुवित्त सञ्चालनमा थिए ।
सुपर र स्वस्तिक लघुवित्त बाहेक ५५ लघुवित्तको वित्तीय विवरण समग्रमा घाटामा थियो । गत वर्ष प्रथम त्रैमासमा लघुवित्तले समग्रमा २८ करोड ७३ लाख घाटामा रहेको वित्तीय विवरण प्रकाशित गरेका थिए । जसमध्ये समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्तको ५ करोड नोक्सानी घटाउँदा पनि लघुवित्त संस्था २३ करोडभन्दा माथि थियो ।
चालु आव लघुवित्त संस्थाको सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन बढेको भए पनि कोषको लागत घटेर खुद ब्याज आम्दानीमा वृद्धिसँगै नाफा बढेको हो । प्रथम त्रैमासमा लघुवित्त संस्थाको खुद ब्याज आम्दानी ६ अर्ब ८५ करोड ६६ लाख पुगेको छ । गत आव सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ९९ करोड ४० लाख मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
खुद ब्याज आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानी व्यवस्था २२ करोडभन्दा माथिले वृद्धि भए पनि नाफा केही सुधारोन्मुख देखिएको हो । गत आवको प्रथम त्रैमासमा कर्जा नोक्सानी व्यवस्थाका लागि १ अर्ब ४२ करोड ४० लाख छुट्याएको चालु आव प्रथम त्रैमासमा १ अर्ब ६४ करोड ८३ लाख छुट्याएका छन् ।
विभिन्न कारणले लघुवित्तमा समस्या बढ्दै गएपछि राष्ट्र बैंकले निर्देशन जारी गर्दै लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राहकलाई ऋण भुक्तानी अवधि थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो । यस्तै कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा झारिएको थियो ।
असल वर्गको कर्जामा कर्जा नोक्सानी व्यवस्था घटाउँदा पनि प्रोभिजन रकम बढ्दै गएको छ । यस्तै कर्जा पुनर्संचना र पुनर्तालिकीकरण सुविधापछि पनि लघुवित्तको निष्क्रिय कर्जा बढ्दै गएको देखिन्छ ।
नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल साना व्यवसायी र तल्लो तहमा मानिससँग ऋण तिर्ने क्षमता नै नहुँदा लघुवित्तको अवस्था थप बिग्रिँदै गएको बताउँछन् । केही समय अगाडिसमम लघुवित्त कर्मचारीमाथि हुने आक्रमण कम भएको र सुरक्षा चुनौती नरहेको उनले बताए ।
ऋणीहरू सम्पर्कमा आउने, आफ्नो समस्या बताउने अवस्था भए पनि ऋण तिर्न सक्ने अवस्था नै नहुँदा समस्या भएको उनले बताए । यस्तै ब्याजदर घटेसँगै घटेको कोषको लागत सकारात्मक भए पनि दुग्ध किसानको भुक्तानीमा समस्या, असोजको बाढीपहिरोले कृषि क्षेत्रमा परेको असर र समग्र अर्थतन्त्र नै शिथिल हुँदा खुद्रा व्यापार समेत संकुचित हुँदा लघुवित्तको वित्तीय विवरणमा पनि समस्या देखिएको उनको भनाइ छ ।
‘मौद्रिक नीति लचिलो भएर आउँदा चाडपर्वको समयमा आर्थिक गतिविधि चलायमान भएर अवस्था सुधार हुँदै जान्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘त्यस अनुसार बजार चलायमान हुन नसक्दा सबै क्षेत्र प्रभावित बन्दै गयो ।’