‘लघुवार्ता’को वजन


लघुकथाकार राजु क्षेत्री अपुरोद्वारा लिखित / संकलित लघुवार्ता कृतिको मिति २०८१ माघ ५ गते हाम्रो लघुकथा केन्द्रद्वारा लोकार्पण भएको हो। लघुकथा वृत्तमा अपुरो स्थापित एवं चीरपरिचित नाम हो। उनले लघुकथामा संस्थागत एवं कृतिगत योगदान गरिसकेका छन्। लघुकथा वृत्तमा म र म जस्ता थुप्रैलाई भित्र्याएका छन्। चार लघुकथासङ्ग्रह नेपाली लघुकथाको ढुकुटीमा भरिदिएका अपुरो लघुकथा विधामा पूर्णत समर्पित स्रष्टा हुन्। वैदेशिक रोजगारीमा रहेर रोजीरोटीको व्यवस्थापन गर्दै यतिसम्म योगदान गर्न सक्नु चानचुन कुरा होइन। प्रसंशनीय एवं नमनीय पक्ष हो। यो लघुकथा केन्द्रित वार्तापुस्तक लघुकथाको इतिहासमै पहिलो पाइला हो। हमेशा केही नयाँ गर्न खोज्ने विधागत गान `हाम्रो लघुकथा गान ´का परिकल्पनाकार अपुरोलाई साधुवाद! सतत् नमन!

आवरण:

आवरण हेर्दा सामाम्य तर गहकिलो भाव बोकेको छ। आवरणको चित्रले दुई पाटो देखाएको छ। त्यहाँ छुट्टाछुट्टै दुई लास जलिरहेका छन्। एउटामा थुप्रै मलामी छन्। अर्को लासमा चार जना मात्रै छन्। यसले राम्रो कार्य गर्नेको मर्दा पनि मलामी पाइन्छ। नराम्रो कार्य गर्नेको मलामी पाउन पनि गाह्रो हुन्छ भन्ने अर्थ लागेको छ। समाजमा योगदान दिनेको नाम हुन्छ र मृत्युपछि पनि सर्वत्र चर्चा हुन्छ भन्ने सन्देश बोकेको छ।

पुस्तकभित्रका कुरा:

लघुकथा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका प्राडा कपिल लामिछानेको सम्पादकीय आफैँमा गहन छ। उनले आफ्नो सम्पादकीय कलममा अपुरोले लघुकथा क्षेत्रमा पुर्याएको योगदानको जमेरै प्रशंसा गर्न भियाएका छन्। यस पुस्तकमा लघुकथा वृत्तमा केही न केही योगदान गरिसकेका २४ व्यक्तिका अनुभूति एवं भलाकुसारी समेटिएका छन्। जसमा महत्त्वपूर्ण विचारहरू आएका छन्। सारगर्भित भनाइहरू राखिएका छन्। सबै उल्लेख गर्न यहाँ सम्भव छैन। उदाहरण स्वरुप वार्ताका केही अंश मात्र हेरौँ।

लघुवार्ताको लघुअंशको परिचर्चा:

प्राध्यापक विश्वराज अधिकारीबाट दुईवटा कुरा –

(क) प्रत्येक समय आफूलाई शिष्य सम्झिने हो भने धेरै कुरा जान्न सकिन्छ। गुरु सम्झेमा भने गुमाउनुपर्ने हुन्छ। जीवन एक पाठशाला हो र हामी त्यसका विद्यार्थी हौँ। जुनैसुकै उमेरमा पनि सिक्ने काम जारि रहन्छ। ज्ञानको भोक हामीमा निरन्तर रहनुपर्छ।

(ख) नेपालमा पठन संस्कृतिको अति नै अभाव छ। एउटा साहित्यकारले नै अर्को साहित्यकारको कृति पढिदिंदैन्। यस्तो स्थितिमा आम पाठकले कुनै कृति पढ्न तत्काल कसरी इच्छा जाहेर गर्लान्? आफूलाई वरिष्ठ ठान्ने साहित्यकारहरूले नयाँ वा कनिष्ठका रचनाहरू पढिदिदैनन्। चर्चा गरिदिंदैन्। पुरस्कृत पुस्तकहरू मात्र पढिने वा पुरस्कृत हुन नै कृति उत्कृष्ट हुनुको मानक बन्ने, साहित्यकारहरू बिच नै राम्रो समझदारी नहुने जस्ता अनेक समस्याहरू नेपालको साहित्यको विकासमा तगारोको रुपमा देखिएका छन्।

पौडेल विमुन्सको विचार:

नेपाली भाषा साहित्यको जुनसुकै विधामा सेवा गरेपनि मातृसेवा हो। चोरी गरेर सेवामा आफ्नो नाम लेखाउने हरूको बिगबिगी देखिन्छ। पैसाले पुरस्कार समेत आफ्नो पोल्टामा पारेका देखिन्छन् तर आफूसँग साहित्य सिर्जना गर्ने कला नभएपनि अन्य केहीमा पक्कै क्षमता छ पहिचान गर्नुहोस् र त्यसै क्षेत्रमा सेवा गर्नुहोस्। यसले लघुकथा लगायत हरेक विधाको उत्कृष्टता उत्कर्षमा पुग्नेछ।

डा. हरिप्रसाद भण्डारीले नयाँ लघुकथाकारले केके कुरामा ध्यानदिने र कसरी लघुकथा लेख्ने? भन्ने राम्रो मार्गदर्शन गर्नुभएको छ।

लघुकथाको अन्त्य भैसकेपछि पाठकलाई सोच्ने र धारणा बनाउने ठाउँ दिनुपर्छ। उनको यस भनाइले खुला समापनको पक्षपोषण गरेको छ।

“नकारात्मकभन्दा पनि सकारात्मक कुरातिर केन्द्रित हुनुपर्छ।

लेखनमा पुराना र नयाँ दुवै पुस्ता समर्पित छन्। पुरानो पुस्ताका लेखकहरूबाट प्रभावित नयाँ पुस्ताका लेखकहरू र नयाँ पुस्ताका लेखकहरूबाट प्रफुल्लित पुराना पुस्ताका लेखकहरूको लघुकथा लेखनमा समर्पण प्रशंसनीय छ।” यो भनाइ लघुकथाकार रासाको हो।

” नेपाली लघुकथा साहित्यमा अझै परिपक्व भइसकेको छैन। अहिले लघुकथा लेखनमा बाढी आएको छ। लघुकथामा नयाँ विषय र नयाँ लेखन शैली प्रयोग गर्नुपर्ने आवश्यकता देखेको छु। म पनि यस कार्यमा प्रयासरत छु।

पहिला त लघुकथामा हास्य तत्त्व हुनु हुँदैन भनेर म मान्दिनँ। हास्य कथा, हास्य निबन्ध, हास्य कविता हुन्छ भने हास्य लघुकथा पनि हुनसक्दछ। मुख्य कुरा त्यसमा लघुकथाका सम्पूर्ण तत्त्व हुनै पर्दछ। हास्य तत्त्व भएको लघुकथा लेख्नु चुनौतिपूर्ण कार्य हो। त्यसलाई चुट्किला हुनबाट जोगाउन विशेष सीप चाहिन्छ। लघुकथाकार कृष्ण बजगाईं भन्छन्।

लघुकथाका सिद्धान्तकार लक्ष्मण अर्यालले आफ्ना भनाइमा “अलघुकथालाई लघुकथा हो भनी जिद्दी गर्नेलाई सचेत तुल्याउनै पर्छ।´´

स्थानिक एकोन्मुखता, कालिक एकोन्मुखता र पारिस्थितिक एकोन्मुखता लघुकथाका खास धर्म हुन्। लघुकथाको उद्देश्यमा लक्षित हुन एकोन्मुखताले अर्जुनदृष्टिको काम गर्छ। कसैलाई एकोन्मुखतातिरको यात्रा असहज लाग्छ भने उसले यो प्रविधा चुन्नु हुन्न भन्छु, म।”

यसैगरी लघुकथाकार नवराज रिजालले “संसारमा सबैभन्दा ठुलो कुरा आफूले आफूलाई चिन्नु, जान्नु र बुझ्नु हो। आफूले आफैँलाई चिनेको खण्डमा वरिष्ठ र कनिष्ठका कुराहरूले त्यति महत्त्व राख्दैनन्। यो भावना राख्नु पनि हुँदैन। को वरिष्ठ, को कनिष्ठ? भनिरहने कुरै हैन। यो काम समयको हो, हामीले लेखनमा विश्वास गर्नुपर्छ। वरिष्ठ, कनिष्ठको विभेदमा हैन। लेखनलाई निरन्तरता दिँदै परिमार्जित हुँदै गए हिजोका कनिष्ठ आज वरिष्ठ र आजका कनिष्ठ भोलिका वरिष्ठ हुन्। त्यसकारण त्यस्ता कुराहरू नै गर्नु हुँदैन। फेरि लेखन भनेको एउटा तपस्या हो र लेखकहरू तपस्वी हुन् भन्दै आफ्ना विचार पोखेका छन्।

चिरपरिचित लघुकथाकार ध्रुव मधिकर्मीले “जीवनको एउटा क्षण सानो घटना वा अनुभूतिले निर्माण भएको सानो आख्यान नै लघुकथा हो।

अब लघुकथा केन्द्रले नयाँ पुराना श्रष्टाहरूका राम्रा र मानक लघुकथा किन चर्चित र महत्त्वपूर्ण भए? भन्नेबारे त्यसका विशेषता चर्चा गर्न प्रकाशित लघुकथा कृतिका प्रचार र समीक्षकका लागि पनि केही गर्न सकिन्छ भनेर आफ्नो सुझाएका छन्।

त्यस्तै गंगा कर्माचार्य पौडेलले लघुकथा लेख्न सैद्धान्तिक अध्ययन गर्नुहोस्। तत्काल प्रशिक्षण हुन नसके विज्ञसँग सिक्नुहोस्। कम्तीमा १० सङ्ग्रह पढ्नुहोस्। अध्ययन अझै बढाउनुहोस्। अनि लेखन अभ्यास गर्नुहोस्। लघुकथा लघुकथा जस्तो बन्छ भनेर नयाँ लेख्नेलाई मार्गदर्शन गरेकी छन्।

आफ्नो अन्तर्वार्तामा डा. कुसुमाकर शर्माले लघुकथाका विशेषता उल्लेख गरेका छन्। लघुकथाको मन्त्र दिएका छन्। नयाँ लघुकथाकारका लागि मात्र होइन केही पुराना सर्जकका लागि समेत त्यो ग्रहणीय पनि छ।

“साधनारत सर्जकले सिर्जनामा ध्यानस्थ हुनुपर्छ न कि प्रचारमा? समूहवाद, आफन्तवाद, चिनजानवाद, चियावाद र रेस्टुरेन्टवाद त जताततै चलिरहन्छ, कहिल्यै शून्य हुँदैन। साधनामय निरन्तरताको सिर्जना त अहिले नभए १०० वर्षपछि पनि चिहान खनेर निकालिने छन् ! साहित्य सिर्जना इन्स्ट्यान्ट नुडल होइन भनेर आत्मसात गरौँ। ” लघुकथाकार सुमन सौरभले ओझपूर्ण संवाद व्यक्त गरेका छन्।

दुई सय वटा सोचौँ। सय वटा लेखौँ। नब्बे वटा फालौँ र उत्कृष्ट १० वटा मात्रै प्रकाशित गरौँ। कसैलाई हानी हुँदैन। फाइदा भनेको गुणवत्ताले पाउने हो आत्मशुघ्दताको रोग बडो चित्त बुझ्यो है। अहिले देखिन्छ नै यस्तै यसबाट टाढा बस्ने प्रण गरौँ। लघुकथामा गहिरो छा छाड्न सफल डा . रवीन्द्र समीरले आफ्नो अन्तर्वार्तामा भन्नुभएका केही हरफ हुन् , यी।

प्राडा कपिल लामिछानेले “पाठकको मनोविज्ञान बुझेर काम गरौँ। पाठक उत्कृष्ट र मानक लघुकथा पढ्न आतुर छ।

लघुकथा पुरस्कार कम छन्, अरू स्थापना गरौँ। लघुकथाकार कोष त आएको छ। लघुकथा कोष बनाउन बाँकी नै छ। लघुकथा प्रधान एउटा पत्रिका छैन। एउटा मासिक पत्रिका निकालौँ। लघुकथा समालोचना कम छन् , त्यसमा जोड दिऊँ। समालोचकलाई पनि विशेष रूपले सम्मान गर्ने परिपाटी बसालौं।” भनेर आफ्ना सुझावहरू पेश गरेका छन्।

लघुकथा कुनोका संस्थापक व्यवस्थापक नारायण तिवारीबाट मुख्यत तीन कुरामा जोड दिएका छन्

(क) नपढ्ने प्रवृत्ति छ। यो प्रवृत्ति हट्नुपर्‍यो।

(ख) लघुकथा लेख्नलाई सिद्धान्त होइन, लघुकथाहरू पढ्नुपर्यो। नेपालका मात्रै होइन, विश्वका स्तरीय लघुकथा पढ्नुपर्यो।

(ग) लघुकथाको किताब छाप्न हतार नगरेको राम्रो। धेरै लेख्ने र थोरै छनौट गर्ने र स्तरीय भएमा मात्र किताबमा समावेश गर्ने।

“साधारण र हल्का विषयवस्तुभन्दा पनि गहन, गम्भीर, सामाजिक र समसामयिक चिन्तनमा आधारित र गहकिला विषयवस्तुमा हामीले उम्दा र सर्वकालीय लघुकथा लेखनमा विशेष जोड दिनुपर्छ। ” भन्ने लाग्छ। यो भनाइ दिव्य गिरीको रहेको छ।

महेश प्रसाई भन्छन्, “लघुकथा आख्यानको एक मनमोहक स्वरूप हो। यही जगतको अन्तस्करण हो लघुकथा। शास्त्रीय सिद्धान्त र दर्शनशास्त्रका ठेलीहरु पढेर लघुकथा लेखिंदैन। लघुकथा स्वयं एउटा विश्वविद्यालय हो। सिद्धान्तशास्त्री वा दर्शनशास्त्री र समालोचक लगायतले लघुकथा नामक विश्वविद्यालयमा ‘ज्वाइन’ गर्नुपर्छ। सर्जकभन्दा माथि सिद्धान्त र शास्त्रका आचार्यहरू हुँदैनन्।”

लघुकथामा नेपालमै पहिलो विद्यावारिधी डा. पुष्करराज भट्टले वर्णनात्मकताको परित्याग, संवादात्मक शैलीको प्रयोगका साथै यसको सिद्धान्त बुझेर यसमा नै साधना गर्ने सर्जकहरू बढ्नुपर्छ। छिटै लेखेर स्थापित हुन खोज्नेभन्दा पनि राम्रो लेखेर स्थान बनाउने सर्जकको आवश्यकता छ। नेपाली लघुकथाको बारेमा अध्ययन अनुसन्धानका साथै समालोचनामा पनि बृद्धि हुनुपर्दछ भन्ने लाग्दछ।

नबुझेर लाग्ने भन्दा पनि बुझेर लाग्नेको संख्या बढ्ने हो भने यसले थप उर्जा प्रदान गर्नेछ। अलिकति फरक मत राख्छु। बुझेर लाग्ने मात्र होइन, लागेर बुझ्ने पनि छन् र पर्याप्त साधनापछि तिनले राम्रो लेखेका पनि छन्। लर्निङ बाइ डोइङ सिकाइको सिद्धान्त पनि हो। बुझेर लाग्नेले चाँंडै योगदान दिन सक्ला तर अध्ययन साधना र समर्पण भयो भने लागेर बुझ्नेले पनि पहिचान बनाउन र योगदान दिन सक्छ ।” भनेर विचार राखेका छन्।

लघुकथालाई सस्थापन गर्दै आफ्नो सस्थाका गतिविधिको जानकारी गराउँदै लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनबाट मुख्यत: तीन कुरा आएका छन् –

( क) पाठक भनेका सर्जकका गहना हुन्।

(ख) फेसबुकमा वाहवाही पाउँदैमा मात्र लघुकथा हुने होइन।

(ग) पाठकहरूले पनि आवश्यकता भन्दा बढी तारिफ गर्नु उचित हुँदैन।

पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार २०८० प्राप्त गरिसकेका आरआर चौलागाईंले जे जति भएको छ राम्रो छ तर यतिले मात्र चित्त बुझाउन हुँदैन। हामीले संख्यात्मक होइन गुणात्मकमा ध्यान दिनुपर्छ। कार्यशाला गोष्ठीहरू चलाउनुपर्छ, प्रतियोगिताहरूको आयोजना गर्नुपर्छ। अन्तरक्रियाहरू गर्नुपर्छ। कम्तीमा पनि लघुकथासम्बन्धी एउटा नियमित पत्रिका निकाल्नुपर्छ अनि मात्र लघुकथाको गरिमा अझ बढ्दै जान्छ।

यसै गरी लता केसीले लघुकथा क्षेत्रमा अवनरत खटिने आफ्नो टिमका सबै सदस्यलाई सम्झिदै इतिहास र वर्तमान अवस्था कोट्याएकी छन्।

ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका सुमधुर स्वरका धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ। पूर्वमन्त्री समेत रहेका त्रिलोचन ढकाललाई पनि उनको प्रारम्भिक चरणको लघुकथायात्रालाई स्थान दिएर उनको परिचय गराइएको छ।

अन्त्यमा पाठकहरूले लेखक र लेखकका भावना बुझ्ने सुनौलो अवसर पाएका छन्। इतिहासको खोजी भएको छ। वर्तमान अवस्थाको चित्रण गरिएको छ। भविष्यको चिन्ता समेत गरिएको छ। लघुकथाकारहरूको परिचय संस्थागत र कृतिगत योगदानको जानकारी छ।

यी कुरा लघुकथा लेख्न चाहाने नवआगन्तुक साथै परिचर्चाकारका लागि पनि राम्रो मार्गदर्शक बन्न सक्छन्। त्यस्तै लघुकथाको उन्नयनमा लागि परेका हाम्रो लघुकथा केन्द्र र केन्द्र जस्ता अन्य संस्था र लघुकथा शुभेकच्छुकहरुले लघुकथाको श्रीवृद्धिका लागि के गर्ने? भन्ने सुझाव लघुकथा क्षेत्रका लागि अमूल्य निधि हुन सक्छन्। तसर्थ ५ वर्षको अवधिभित्र इमेलमार्फत लिइएका अन्तर्वार्ताको यो लघुवार्तासङ्ग्रह पठनीय एवं सङ्ग्रहणीय छ। अन्तर्वार्ताकार अपुरोलाई पुन: साधुवाद!

जय लघुकथा!

इन्दिरा चापागाईं



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School