लघुकथामा मीठाे व्यंग्य ‘भित्ताका कान’


साहित्यका अनेकौं विधामध्ये लघुकथा आख्यान अन्तर्गतको कथा विधामा समेटिने गद्यात्मक सिर्जना हो। घटना वा कथावस्तुलाई केन्द्रमा राखेर गरिने गद्यात्मक रचनालाई आख्यान भनिन्छ। संरचनाका आधारमा आख्यानमा लघुतम संरचना (लघुकथा) लघु संरचना (कथा) र बृहत् संरचना (उपन्यास) आदि रूपहरू पाइन्छन्।

लघु र कथाको योगबाट निर्मित सिङ्गो शब्द लघुकथा छोटो हुँदा हुँदै पनि प्रभावकारी विषयवस्तु र जीवन्त सन्देशलाई सम्प्रेषण गर्ने आफैंमा पूर्ण सिर्जना हो। यसर्थ उपन्यास घटाएर कथा वा कथालाई छोटो बनाउँदा लघुकथा हुन्छ भन्ने मान्यता पूर्णतः गलत हो। एउटा पूर्ण कायाको लघुकथामा कथावस्तु, कथानक, पात्र, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य जस्ता संरचनात्मक तत्त्वहरू हुने गर्दछन्।

यसबाहेक पनि लघुकथामा प्रयुक्त कथावस्तुलाई पूर्ण न्याय हुने गरी छोटो बढीमा पदावली स्तरको शीर्षक राख्नुपर्ने हुन्छ। लघुकथा आदि, मध्य र अन्त्य गरी तीन खण्डमा समेटिएको हुन्छ जसको आदि खण्डले कथानकको उठान गर्नुपर्दछ।

त्यसैगरी लघुकथाको मध्यभागले आदि भागमा उठान गरिएको कथानकको विकास, कौतुहल वा उत्सुकताको निर्माण र क्रमशः वृद्धि गर्दै लैजानुपर्छ। कथाको अन्त्य खण्ड जहाँ कथाले दिन खोजेको सन्देश वा कथाको उद्देश्य प्राप्तिका साथै प्रभावकारी समापन हुने गर्दछ।

एउटा उत्कृष्ट लघुकथा जहिले पनि संक्षिप्त र पूर्ण हुन्छ, परिपूर्ण र सुगठित योजनामा बाँधिएको हुन्छ, तीक्ष्ण तर तीव्र अभिव्यक्ति हुन्छ, कौतूहलपूर्ण र प्रभावकारी कथानाक हुन्छ, प्रतिकात्मक एवं बिम्बात्मक शैली र सूत्रात्मक भाषाले परिपोषित हुन्छ। यसर्थ छोटो भएर लामो अनुभूति दिलाउनु, सूत्रात्मक भएर विवरणात्मक हुनु र जीवनको अंश भएर पूर्णताको आभाष गराउनु नै लघुकथाको मुख्य विशेषता हो।

मोटा पुस्तकले घण्टौंमा बुझाउन नसकेका कतिपय मान्यता र सीमालाई लघुकथाले एक मिनेटमै सहज रूपमा स्पष्ट पार्न सक्छ। लघुकथा छोटो हुनुपर्छ भन्ने विषयमा कुनै विवाद छैन यद्यपि कति छोटो भन्ने विषय भने स्पष्ट हुनु जरुरी छ।

प्राडा लक्ष्मण प्रसाद गौतमका अनुसार ४/५ सय शब्दको लघुकथा भयो भने यस्ता सर्जकलाई न त मानक लेखन मान्न सकिन्छ न त लघुकथालाई नै मानक लघुकथा। साधना गर्न सक्ने सामर्थ्यवान् स्रष्टाले १५०/२०० शब्दमा नै स्तरीय लघुकथा दिन सक्छ।

त्यसैगरी लघुकथाको रचना विधानले समेत लघुकथाको शब्द संख्या बढीमा तीन सय शब्द मानेको छ। डा. कपिलदेव लामिछानेको बोन्साइ लघुकथासंग्रह़मा समेटिएको बुढो शीर्षकको लघुकथामा जम्मा पाँच शब्द परेका छन् भने अमेरिकामा समेत छ शब्दको लघुकथा लेखिएको छ तर पनि मानक लघुकथाले बढीमा तीन सय शब्द सीमालाई आत्मसात गरेको हुन्छ।

केही समालोचक लघुकथाको आयाम अत्यन्त संक्षिप्त वा ५० शब्दभन्दा पनि कम भयो भने संरचनात्मक तत्त्व वा सन्देश सम्प्रेषणका दृष्टिले यस्ता लघुकथा प्राय: असक्षम हुन्छन्। यसर्थ मानक लघुकथा बढीमा तीन सय र घटीमा ५० शब्दको हुन्छ भन्ने मान्यताअघि सार्छन्। तथापि लघुकथाको तल्लो शब्द सीमा तोकेरै यसलाई यान्त्रिकतातर्फ धकेल्दै जानु किमार्थ सह्य हुँदैन। यस सन्दर्भमा गणितीय सूत्र जस्तै बनाएर लघुकथाको आयामलाई शब्दसीमामा मात्र कुण्ठित पार्ने प्रवृत्तिभन्दा फरक रहेर इन्दिरा प्रसाईले आस्था शीर्षकीकरण गरी लेखेको लघुकथा यहाँ प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ :

उसले धूप बाली, दियो सल्काई र आफ्नो बिरामी छोराको शीघ्र स्वास्थ्यलाभको कामना गरी।

उसले धूप बाली, दियो सल्काई र आफ्नो मृत छोराको आत्माको चिरशान्तिको कामना गरी।

यसरी २६ शब्दमा मात्र बाँधिएको प्रस्तुत लघुकथाले दिनुपर्ने सबैथोक दिएको छ। यी र यस्तै सैद्धान्तिक पर्याधारमा रहेर भित्ताका कानभित्र समेटिएका लघुकथाहरूको शल्यक्रिया गरी कृतिभित्र परेका अनुकरणीय सन्दर्भहरूको उल्लेख गर्दै कथाकारको लघुकथा लेखनको राजमार्ग थप फराकिलो बनाउन सहयोग पुग्ने गरी सुझावहरू सुझाइनु वाञ्छनीय ठहर्छ।

लघुकथामा मीठाे व्यंग्य ‘भित्ताका कान’
लेकप्रसाद प्याकुरेल

हाम्रो लघुकथा पाठशालाका एडमिन छविलाल खड्काको दोस्रो लघुकथासंग्रह हो भित्ताको कान। विक्रम संवत् २०७७/४/१० का दिन मिसन टुडे पत्रिकामा प्रकाशित कोरोना क्याप्सुल शीर्षकको लघुकथाबाट सार्वजनिन लघुकथा यात्रा प्रारम्भ गरेका खड्काले २०७८ मा आशीर्वाद लघुकथासङ्ग्रह पाठकहरूमाझ समर्पण गरिसकेका छन्। यसर्थ पनि खड्काको प्रस्तुत लघुकथासङ्ग्रहले दोस्रो लघुकथात्मक कृतिको श्रेय प्राप्त गरेको हो।

भित्ताका कान पर्दा पछाडि र बन्द कोठाभित्र जति नै गुपचुप कानेखुसीहरू गरे पनि ती विषय भित्ताको कान भएर बाहिर छताछुल्ल पोखिन्छन् भन्ने मान्यतामा आधारित भई राजनैतिक, सामाजिक, प्रशासनिक, वैयक्तिक आदि क्षेत्रका गोप्य कुरालाई कतै सोझै त कतै व्यङ्ग्यात्मक पाराले छताछुल्ल पारेकै कारण व्यञ्जनाका तहमा कृतिको शीर्षक सार्थक देखिन्छ।

त्यसैगरी हरेक साहित्यिक रचनाहरूका शीर्षक सरल, संक्षिप्त, सूत्रात्मक र प्रतिनिधिमूलक हुनुपर्छ भन्ने मान्यताअनुरूप कृतिभित्रका सबै शीर्षक सरल छन्। कृतिमा परेका शीर्षकहरू ४५ वटा एक शब्द र ११ वटा दुई शब्दद्वारा निर्मित भएकाले संक्षिप्त त छन् नै साथै सूत्रात्मक र प्रतिमूलक भएकाले पनि शीर्षक विधानका दृष्टिले भित्ताको कान सफल कृति सावित भएको हो।

भित्ताका कानभित्र मानवीय /मानवेतर, मञ्चीय/ नेपथ्य, वैयक्तिक/ प्रतिनिधिमूलक, शिक्षित/ अशिक्षित, गाउँले/ सहरिया, गतिशील/ तटस्थ, यथास्थिति/ पलायनवादी, उच्चवर्गीय/ निम्नवर्गीय आदि पात्रहरूको संयोजन गरिएको छ भने पात्र नामका तहमा समेत तोर्पे, लट्टे, मिस्टर शर्मा, म, ऊ, १, २, पहिलो, दोस्रो, कसम कसम शर्मा, नेता क, नेता ख, टाइगर मस्क्विटो, एनोफिलस, एडिस एजेप्टि लगायतका पात्रहरू प्रयोगमा आएका छन्।

यी पात्रहरू नामको समग्र मूल्याङ्कन गर्दा आधुनिकदेखि प्राचीनसम्मका, नामदेखि सर्वनामसम्मका, अङ्कदेखि शब्दसम्म, नेतादेखि सर्वसाधारणसम्म, नेपालीदेखि अंग्रेजीसम्मका नामहरू परेका छन्।

भाषाका सन्दर्भमा भित्ताका कानहरूभित्र गुन्जिएका भाषा प्रतीकात्मक छन् व्यञ्जना केन्द्रित विविध रस निर्माण गर्न सक्षम उखानले सजिएका प्राय: आलङ्कारिक पदक्रममा आधारित भाषाको प्रयोग गरिएको छ।

नेपाली र कहीँ कतै अंग्रेजी अवधि र नेपाली अङ्ग्रेजी मिश्रित भाषा पनि पृथ्वीतिर आएकै छ कृतिभित्र प्रयोग भएको भाषाले कहीँ कतै कुतुहलता निर्माण गरेको छ भने प्रश्न केन्द्रित आधारको भाव झल्काउने अनुरोधको भाव झल्किने भाषा त परेका छन् नै छोटाछोटा वाक्यद्वारा निर्मित संक्षिप्त अनुच्छेद र संगठन निर्माण आदिका कारण भित्ताको कारणले पाएको भाषा र भाषामा उनिएर निर्माण गरिएको संवाद स्वाभाविक र लघुकथालाई न्याय गर्ने प्रकृतिको छ।

लघुकथालाई चोटिलो र आश्वाध्य बनाउन व्यङ्ग्यको प्रयोग महत्त्वपूर्ण मानिन्छ। यही महत्तालाई बुझेका खड्काले भित्ताका कानभित्र प्रयोग गरेको व्यङ्ग्य सराहनीय छ।

कृतिभित्र प्रयोग भएको व्यङ्ग्य कसैलाई नङ्ग्याउने वा खुइल्याउने सतही प्रकृतिको व्यङ्ग्य मात्र नभएर सन्देश मूलक व्यङ्ग्य बनेर आएको छ। यही क्रममा मल बिउप्रति आँखा चिम्लँदै किसान पेन्सनका कुरा अघि सार्नेहरूप्रतिको व्यङ्ग्य, सित्तैमा पाउँदा सक्कलीलाई पनि नक्कली मान्ने नेपालीहरूको प्रवृत्तिमाथिको व्यङ्ग्य, सेयरमा घर गुमाउने र राजनीतिको पसल थापेर घर कमाउनेहरूप्रतिको व्यङ्ग्य, नक्कली शरणार्थी काण्ड र यसले पारेको नकारात्मक प्रभावमाथिको व्यङ्ग्य, ठुलाठुला खाने मुख बाएका अख्तियारको आफ्नै प्रकारको खाने शैली माथिको व्यङ्ग्य, आफ्नो बच्चा बोर्डिङ पठाएर आन्दोलनमा हिँड्ने सामुदायिक शिक्षकप्रतिको व्यङ्ग्य, मान्छेभन्दा बढी बफादार कुकुरलाई देखाएर मानवीय प्रवृत्तिमाथि गरिएको व्यङ्ग्य,न्यायालयको ढिला सुस्तीमाथि गरिएको व्यङ्ग्य सुधार गृहको नाउँमा बिगार गृह खोल्नेहरू माथिको व्यङ्ग्य, साबुनपानीले हात धुने गोष्ठीमा टिस्यु पेपरले हात पुछेर नास्ता खाने मानिसहरू माथि गरिएको व्यङ्ग्य विशेष प्रशंसनीय छ।

समग्रमा हात्तीका देखाउने र चपाउने दाँत अलगअलग हुन्छन् भन्ने उखानको सामिप्यमा रहेर मुखमा रामराम र बगलीमा छुरा लिएर हिँड्ने मानिसहरूप्रति लक्षित व्यङ्ग्य भित्ताको कान कृतिको महत्त्वपूर्ण प्राप्ति हो।

छविलाल खड्काकृत भित्ताको कान सन्देशका दृष्टिले महत्वपूर्ण कृति बनेको छ। कृतिभित्र परेका कथाहरूले सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, प्रशासनिक, शैक्षिक आदि क्षेत्रमा देखापरेका कमीकमजोरीहरूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्।

शिक्षकलाई रचनात्मक सजाय दिन सुझाइएको यस कृतिमा स्वार्थी भावबाट अभिप्रेरित भएर गरिएको कृतिको समीक्षाले समीक्षित कृतिमाथि त अन्याय हुन्छ नै स्वयं समालोचक माथि नै प्रश्न चिन्ह खडा हुन सक्छ। यसर्थ समालोचना गालीगलोज जस्तो नभई सिर्जनशील हुन सक्नुपर्छ भन्ने मान्यता मननीय देखिन्छ।

खड्काले कृतिभित्र जातलाई भजाएर आरक्षण खोजिनु किमार्थ उपयुक्त हुँदैन भन्दै आरक्षण विकलाङ्गले रहर मानेर समातेको वैशाखी बन्नु हुँदैन भन्ने मान्यता अघि सारेका छन्। हरेक जनताले चेतनाको प्रयोग गरी जनप्रतिनिधिको छनोट गर्नुपर्छ भन्ने सन्देश प्राप्त हुने भित्ताको कानभित्र पैसा पहुँच र किनेको साहित्यले पुरस्कार पाउने प्रवृत्ति सदाका लागि अन्त्य हुनुपर्छ भन्ने सन्देश सम्प्रेषण गरिएको छ।

छविलाल खड्काको भित्ताको कान लघुकथासङ्ग्रहले मूलतः आलोचनात्मक यथार्थवादलाई उपयोग गरे पनि यथार्थवाद, विसङ्गतवाद र अस्तित्ववाद निकट रहेका लघुकथाहरू पनि कृतिभित्र परेका छन्।

लघुकथाको वर्तमान मान्यतानुरूप नै हठात आरम्भ, कुतुहलपूर्ण मध्यक्रम र विद्युतीय झड्का जस्तो अन्त्यको संयोजनमा लघुकथाकार सफल देखिन्छन्। यति हुँदा हुँदै पनि कृतिभित्र परेका केही कथामा विद्युतीय झड्का दिने लोभमा अथवा कृतिकारको प्रारम्भमा उठान गरिएको घटनाक्रमभन्दा विपरीत धारमा अन्त्य गर्ने लोभमा लोककल्याणकारी सन्देशमाथि आघात पुगेको छ।

कृतिभित्र केही मात्रामा वर्णविन्यासगत त्रुटि एवं भाषिक विचलन देखिएको छ भने केही कथाहरूमा प्रयोग गरिएका अङ्ग्रेजी भाषाका शब्दहरूको अधिक मोहका कारण मौलिक शब्दहरू माथि न्याय हुन सकेको छैन।

बाँकेका आशलाग्दा कथाकार छविलाल खड्काले आगामी दिनहरूमा यी र यस्तै प्रकृतिका कमीकमजोरीहरूलाई सुधार गर्दै यान्त्रिक र कृत्रिम नीतिनियमभन्दा माथि उठेर आम मानिसहरूले लेखनभन्दा पृथक लघुकथा लेखनमा कलम चलाउनु अपरिहार्य छ।

उनले राजनीतिको मियोमा घुमेको कथावस्तुभन्दा नवीन र सिङ्गो समाजलाई मार्ग प्रशस्त गर्ने प्रकृतिका कथावस्तुको छनोट गरी आफ्नो लेखन कर्म अगाडि बढाउनु जरुरी छ।

खड्काले आञ्चलिक पात्र र आञ्चलिक संवाद संयोजनलाई समेत ख्याल गर्दै रचनामा बाँकेको माटोको सुगन्ध आउने परिवेश निर्माण गर्न सक्नुपर्छ। उनका लघुकथा गुनासोको पोकाभन्दा माथि उठेर समाधानको मलम बन्न सक्नुपर्छ। यी र यस्तै किसिमका विषयमाथि मध्यनजर गर्दै लघुकथा लेखन कर्मलाई निरन्तरता दिएको खण्डमा प्रशस्त सम्भावना बोकेका खड्काको लघुकथा लेखन यात्राको राजमार्ग थप फराकिलो बन्ने सुनिश्चित छ।

-लेकप्रसाद प्याकुरेल



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School