लगानीकर्ताको खटपटले बन्द भयो निदान अस्पताल

लगानीकर्ताको खटपटले बन्द भयो निदान अस्पताल


३० वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको ढोकामा ताला झुण्ड्याइएको छ । छेउमा एउटा सूचना पनि टाँसिएको छ, जसले अस्पतालमा ताला घरधनीले लगाएको प्रष्ट हुन्छ । सम्झौता अनुसार भवनको भाडा नतिरेको र यसबारे जानकारी गराउँदा पनि अस्पताल सञ्चालकहरु सम्पर्कमा नआएकाले २० वैशाखमा आफूहरुले एकतर्फी रुपमा ताला लगाएको घरधनीको सूचनामा उल्लेख छ ।

घरधनीले अस्पतालमा ताला लगाउनुभन्दा अघि नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले काम छाडेका थिए ।

अस्पताल व्यवस्थापकले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले संघर्ष समिति नै बनाएका थिए । समितिले ७ दिनभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्न र आफूहरुको तलबबाट काटिएको (टीडीएस) जम्मा गर्न अस्पताल प्रशासनलाई १७ माघ २०८० मा लिखित रुपमा आग्रह गरेको थियो ।

अस्पताल प्रशासनले नसुनेपछि संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, ललिपुरमा उजुरी दर्ता गर्‍यो । प्रशासनले उजुरी उपर आवश्यक कारबाही गर्नका लागि जिल्ला प्रहरी परिसर जावाखेल, श्रम तथा रोजगार कार्यालय, टेकुलाई पत्रचार गरेपनि समस्या समाधान भएन । त्यसपछि उनीहरुले काम नै रोकेका हुन् ।

अहिले घरधनीले सम्झौता पालना नगरेको भन्दै अस्पतालमा ताला लगाएको छ ।

कसरी बन्द हुने अवस्थामा पुग्यो निदान ?

२०६९ सालमा डा. पुकारचन्द्र श्रेष्ठको अगुवाइमा निदान अस्पताल स्थापना भएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहेका कारण श्रेष्ठ सार्वजनिक रुपमा भने निदान अस्पताल सञ्चालकका रुपमा खुलेर आएनन् ।

व्यवस्थापनको जिम्मेवारी भतिज (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा) अभिषेकलाई दिएका थिए । ५/५ लाख रुपैयाँ लगानी गरेर १५ जना चिकित्सक पनि जोडिएका थिए ।

लगानीकर्ता वरिष्ठ चिकित्सक निदानमा जोडिएपछि केही वर्षमै राम्रो आम्दानी गर्न थाल्यो ।

त्यसले टकराब पनि ल्याउन थाल्यो । काका (पुकार) र भतिज (अभिषेक) बीच अस्पताल सञ्चालनको विषयलाई लिएर खटपट सुरू हुन थाल्यो । पुकार आफ्ना कारण अस्पताल चलेको दाबी गर्थे भने अभिषेक सबभन्दा ठूलो लगानीकर्ता थिए ।

काका-भतिजको टकराब कतिसम्म हुन थाल्यो भने उनीहरुले चिकित्सक र कर्मचारीलाई समेत आफ्नो र अर्को समूहमा राखेर व्यवहार गर्न थाले । त्यसक्रममा डा. पुकारचन्द्रले भतिज अभिषेकलाई जिम्मेवारीबाट हटाएर बीपेन्द्र प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएका थिए ।

त्यही बेला अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले असोज २०७६ मा निदान अस्पतालका सीईओ बीपेन्द्रसहित ५ जनालाई पक्राउ पर्‍यो ।

नक्कली भान्जा खडा गरेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोप गरेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझायो, त्यसका आधारमा दायर मुद्दामा जिल्ला अदालत, ललितपुरले २७ कात्तिक २०७६ मा सबैलाई पुर्पक्षका लागि थुनामा पठायो ।

लगानीकर्ताको खटपटले बन्द भयो निदान अस्पतालडा. पुकारचन्द्रविरुद्ध मुद्दा मामिला त भएन, तर यो प्रकरणले उनको छवि धुलिसात बनायो । अस्पतालको पनि बदनाम भयो । क्रमशः बिरामीको चाप घट्न थालेपछि अस्पताल पनि ओरालो लाग्न थाल्यो । मिर्गौला प्रकरणले निदानलाई ओरालो लगाउन ठूलो भूमिका खेलेको त्यहाँ काम गरेका चिकित्सकहरु बताउँछन् ।

अस्पतालका सञ्चालक अभिषेकले २०७८ मा थप लगानी भित्र्याएर अस्पताललाई चलाउन खोजे । भेन्चर क्यापिटल ‘डोल्मा इम्प्याक्ट फन्ड’ले २० देखि ३० करोड रुपैयाँसम्म अस्पतालमा संस्थागत लगानी गर्ने भयो । उसले १२ करोड रुपैयाँ लगानी गरिसकेको थियो ।

सञ्चालक अभिषेकले सबै चिकित्सकलाई राखेर अस्पतालको क्षमता विस्तार लगायतका योजना समेत सुनाएका थिए । सहमति अनुसार पाँच करोड लगानी पनि आयो ।

मुख्य भवनको माथिल्लो तलामा रहेको लक्ष्मी बैंकलाई हटाएर आईसीयू कक्ष स्थापना भयो । सिटी स्क्यान मेसिन जडान गर्नुका साथै ओपीडी कक्ष निर्माण भयो ।

विस्तारपछि अस्पताल फेरि लयमा आउन थाल्यो । अस्पतालको मुख्य भवन वरपर रहेको ४२ आना जग्गा पनि किन्यो । तर पारिश्रमिकको समस्या समाधान हुन सकेन । स्वास्थ्यकर्मीले कुल पारिश्रमिकको २० प्रतिशत मात्र पाएका थिए । ‘वषौंदेखि काम गरेका कर्मचारीको तलबलाई नदिई जग्गामा लगानी गरे । कर्मचारीलाई पैसा दिन्छु भनेर पटक-पटक झुक्याउने काम पनि भयो’ आफ्नो मात्र १२ लाखभन्दा बढी लिन बाँकी रहेको रहको भन्दै एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘आजित भएपछि धेरैले काम छाडे ।’

सुरुदेखि काम गरेका कतिपय चिकित्सकको ५० लाखभन्दा बढी रकम लिन बाँकी छ । चिकित्सकको मात्र करिब तीन करोड हाराहारीमा पारिश्रमिक लिन बाँकी रहेको रहेको उनीहरु बताउँछन् । नर्स, स्वास्थ्यकर्मी र कर्मचारीको पनि करोडभन्दा बढी पारिश्रमिक अस्पताल प्रशासनले दिन सकेको छैन ।

धेरै रकम दिनुपर्नेहरुलाई अस्पताल सञ्चालकले पारिश्रमिक बराबर शेयर दिने भनेर थामथुम पार्ने प्रयास गरे ।

अस्पतालका सञ्चालक अभिषेकले १२ करोड भए आर्थिक संकट समाधान गर्न सकिने सुनाउने गरेका थिए । केही महिना अगाडि मात्रै एक समूहले अस्पताल किनेर सञ्चालन गर्ने भनेर सम्वाद समेत गरेको थियो । तर सहमति जुट्न सकेन ।

‘काम गर्दै जानुहोस्, विस्तारै विस्तारै भुक्तानी गर्छौं । जग्गा बचेर भएपनि पैसा दिन्छौं भन्नुभयो,’ एक चिकित्सकले भने, ‘हामीले संघर्ष समिति बनाएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दियौं, तर आफ्नो परिश्रमिक पाएका छैनौं ।’

लगानीकर्ताको खटपटले बन्द भयो निदान अस्पतालत्यसपछि चिकित्सक आफ्नो बाटो लाग्दै गए, जसको असर अस्पतालको आम्दानीमा पनि पर्‍यो । अस्पताल प्रशासनले अर्को टिम ल्याएर अस्पताल सञ्चालनको प्रयास पनि गरेको थियो । ‘पछिल्लो समय पुरानो चिकित्सकको टिमलाई पैसा नदिएर अर्को टिमलाई प्रवेश गराउने गरेका थिए’ एक चिकित्सक भन्छन्, ‘आईसीयू, एनेस्थेसियाका अर्को टिमलाई प्रवेश गराइएको थियो ।’

तर पारिश्रमिककै कारण एकपछि अर्का डाक्टर आउन छाडेको भन्दै एक चिकित्सक भन्छन्, ‘सुरक्षाकर्मीलाई समेत पैसा दिन नसकेपछि अस्पताल बन्द भयो ।’

अनलाइनखबरको सम्पर्कमा आएका दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मीले काम गरेको पारिश्रमिक नै पाउन छाडेपछि अस्पताल नगएको बताए । त्यसको मुख्य कारण भने अस्पतालका लगानीकर्ताहरुको टकराब भएको उनीहरुले सुनाए ।

अस्पतालका वरिष्ठ एक चिकित्सकका अनुसार अस्पतालमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित करिव एक सय जना शेयर सदस्य छन् । सबभन्दा बढी शेयर भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठको छ । उनी अस्पताल सञ्चालक समेत हुन् ।

ऋण तिर्न बैंकको ताकेता

यही बेला हिमालयन बैंकले ऋण तिर्न ताकेता गरेको छ । बैंकका अनुसार अस्पतालले साँवा र ब्याज गरी १६ करोड ४६ लाख ७६ हजार ६९४ रुपैयाँ ३१ पैसा तिर्नुपर्ने छ । १२ चैतमा जमानीकर्ता र सञ्चालकलाई पत्र लेख्दै बैंकले ३५ दिनभित्र ऋण नतिरे कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

अस्पताल सञ्चालकले भाडा नदिएपछि घरधनीले अस्पतालको मुलढोकामा एकतर्फी ताला लगाएको छ । धरधनी महेशभक्त माथेमा-नन्दा कुमारी श्रेष्ठ माथेमा र निदान हस्पिटलकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान बीच २०७६ देखि लागू हुनेगरी २५ वर्षका लागि भवन भाडा दिने निर्णय भएको थियो ।

तर पछिल्लो समय सहमति पालना नभएको र हरप्रयास सम्पर्क गर्दा पनि अस्पताल सञ्चालक सम्पर्कमा नआएकाले ताला लगाउनु परेको घरधनीले बताएका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका डा. पुकारचन्द्र श्रेष्ठले निदान अस्पतालसँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँछन् । उनले भने, ‘मैले कुनै समय डाक्टरको रुपमा काम गरेको हुँ । निदान जान छोडेको पनि २ वर्ष भइसक्यो ।’

उनले अस्पतालमा आफ्नो शेयर नभएको जिकिर गरे । ‘साथीभाइ सबैको पैसा हालेर सुरू गरिएको थियो । तर, अहिलेका सञ्चालकले अस्पताल नै बन्द गराइदिए,’ श्रेष्ठले भने ।

पारिवारिक टकरावको कारण मुख्य रहेको भन्ने प्रश्नमा भने उनी ‘यस्तो केही छैन’ भन्दै पन्छिन खोजे । ‘अस्पताल सञ्चालन गरेको भतिजले भए पनि मसँग किन जोड्नुपर्‍यो ! म सरकारी जागिर खाएको व्यक्ति हुँ । निदानसँग मेरो सम्बन्ध केही छैन,’ डा. श्रेष्ठले थपे । अस्पताल सञ्चालक अभिषेक श्रेष्ठ भने सम्पर्कमा आएनन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लगानीकर्ताको खटपटले बन्द भयो निदान अस्पताल





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School