रोल्पाका कृष्ण घर्ती: पार्टी प्रमुख हुँदै प्रदेश प्रमुखसम्म

रोल्पाका कृष्ण घर्ती: पार्टी प्रमुख हुँदै प्रदेश प्रमुखसम्म


रोल्पाका कृष्णबहादुर घर्तीलाई कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयबाट गत सोमबार फोन आयो ‘तपाईं लुम्बिनी प्रदेशको प्रमुख नियुक्त हुने निर्णय भएको छ, तपाईंलाई बधाई छ।’

देउवाका स्वकीय सचिव भानु देउवाले उक्त फोनमा भनेका थिए ‘शपथका लागि तयार रहनु होला।’ सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा रोल्पाका घर्तीलाई नियुक्तिका सिफारिस गर्‍यो। राष्ट्रपति रामचन्द्र पौडेलले घर्तीलाई बुधबार नियुक्त गरेका छन्।

लामो समय कांग्रेसको राजनीतिमा सक्रिय घर्तीको भूमिका फेरिने छ। नेपाली कांग्रेसको ‘मसिहा’ बनेर रोल्पामा कांग्रेसको प्रभाव जोगाएका घर्ती प्रदेश प्रमुख बनेसँगै उनको यो भूमिका बदलिने छ।

उनी भन्छन् ‘अहिलेसम्म कांग्रेसको सच्चा कार्यकर्ता बनेर कांग्रेसको संगठन बनाउन हिँडेको मेरो भूमिकामा धेरै बदलाव आउने छ,’ उनले भने ‘मेरो बोली, दैनिकको कार्यशैली फेरिने छ, म स्वतन्त्र रुपमा आफूलाई डोर्‍याउनु पर्ने हुन्छ।’

पञ्चायत विरोधी आन्दोलनका क्रममा भोगेको जेल सजाय, माओवादीको उद्गम थलोमा कांग्रेस जोगाउन अहम् भूमिका, अनि माओवादीको अपहरणमा परेर पनि जोगिएका कांग्रेस रोल्पाका पुराना नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी प्रदान गरिनु उनी प्रतिको ‘न्याय’ का रुपमा कांग्रेस वृत्तमा चर्चा चलेको छ। कांग्रेस राजनीतिमा अविचलित पात्रका रुपमा रहे कृष्ण।

पारिवारिक विरासत राजनीतिक केन्द्रित थियो। २०३६ मा विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिको जग बसालेका थिए घर्तीले। तत्कालीन पञ्चायत विरोधी आन्दोलनमा नेविसंघको झण्डा बोकेर सडकमा नाराबाजी गर्न उत्रिएका घर्तीले उति बेला पञ्चायत ढाल्ने मिसन बोकेका थिए।

पार्टीका नेताहरूसँगको आन्दोलनमा होमिएका घर्ती त्यो बेला १६ दिन जेल परे। ‘पञ्चायत विरोधी आन्दोलन चर्किएको थियो, म त्यो बेला नेविसंघमा थिएँ,’ घर्तीले भने ‘पार्टीका नेताहरूसँगको आन्दोलनमा होमिएको मलाई पञ्चायन ढाल्ने ठूलो सपना थियो, यही आन्दोलनका क्रममा म २६ दिन जेलमा समेत परेँ।

’कांग्रेसको मिसन पुरा गर्ने ‘जुनुन’ बोकेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका घर्ती २०३८ मा फेरी जेल परे। त्यो बेला उनलाई तत्कालीन राज्य पक्षले अराष्ट्रिय तत्त्व करार गरिदियो। उनी सहित रोल्पाकै बरमान बुढालाई तत्कालीन राज्य पक्षले नियन्त्रणमा लियो।

बुढा सहित कांग्रेसका घर्ती २० दिन जेल बसेका थिए। ‘अराष्ट्रिय तत्त्व भनेर मलाई तत्कालीन राज्य पक्षले २०३८ सालमा २० दिन जेलमा हाल्यो,’ उनले भने ‘राजनीतिमा यी सामान्य घटनाका क्रमका रुपमा मैले लिएँ, प्रजातान्त्रिक आन्दोलनको मिसनबाट म चुक्दै चुकिन।’

जेल बसाईका यी धेरै दिन बाहेक राज्य पक्षबाट अराष्ट्रिय तत्त्वका रुपमा तारो बनाइएका घर्तीलाई नियन्त्रणमा लिने र सोधपुछ गरेर राजनीतिक रुपमा शिथिल बनाउने प्रयास प्रहरीले निरन्तर गरिरह्यो।

तथापि घर्तीको राजनीतिक यात्रा विचलन भएन। उनी भन्छन् ‘राजनीतिको नशामा म मातिइसकेको थिएँ, तत्कालीन राज्य पक्षले म माथि गरेका कुनै पनि सजायले मलाई गलाउन सक्ने अवस्थै थिएन।’

पञ्चायत विरोधी आन्दोलनले रोल्पा कांग्रेसको राजनीतिमा स्थापित भएका घर्ती ‘हक्की’ नेताका रुपमा कहलिन्छन्। बहुदलपछि २०४७ मा उनले कांग्रेसको जिल्ला सदस्यका रुपमा पार्टी राजनीतिमा ईन्ट्रि मारे।

पार्टी राजनीतिमा उनको सक्रियताले उनलाई जनप्रतिनिधि बन्ने मार्ग कोरिदियो। २०४८ मा उनी तत्कालीन घर्ती गाउँ गाविसको अध्यक्ष चुनिए, सँगै पार्टी राजनीतिमा छलाङ मार्दै पार्टी जिल्ला सचिव समेत चुनिए।

२०४९ मा जिल्ला विकास समितिको सभापतिमा उम्मेदवार चुनिए। झक्कू प्रसाद सुवेदी ( हालका राष्ट्रियसभा सदस्य) सँग चुनावमा भिडेका घर्तीका लागि चुनावी परिणाम उनी अनुकूल बनिदिएन, उनी जिल्ला सभापतिमा पराजित बने।

पार्टी राजनीतिमा सभापति शेरबहादुर देउवाको फेरो पकडिरहेका घर्तीले देउवा प्रेमलाई कांग्रेस विभाजनका क्रममा देखाइदिए।

२०५९ मा उनी कांग्रेस विभाजन भएर बनेको देउवा नेतृत्वको तत्कालीन प्रजातान्त्रिक कांग्रेसको रोल्पाको बागडोर सम्हालेर बसे। यो बेला गिरिजाप्रसाद कोइरालाको फकाईलाई समेत उनले अस्वीकृत गरिदिए।

घर्ती भन्छन् ‘मलाई गिरिजा बाबुका तर्फबाट कांग्रेस पार्टीमै अडिन र देउवा लाइन छोड्न भनेर प्रस्ताव समेत आएको थियो तर म आफ्नो निर्णयबाट पछि हटिन।’

त्यसो त, दाङका नेता खुमबहादुर खड्का पनि देउवा नेतृत्वको पार्टी छोडेर पुरानै पार्टीमा फर्काउन चाहन्थे घर्तीलाई। खुमबहादुरका विश्वास पात्रका रुपमा चिनिएका घर्तीले देउवा नेतृत्वको पार्टी छोड्नेमाखड्का विश्वस्त थिए पनि। तर खड्काको विश्वासलाई समेत उनले फेल खुवाइदिए, उनले ‘देउवा फेरो’ छोडेनन्, उनले देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको रोल्पा सभापति बनेर देउवा प्रतिको उदारता प्रस्तुत गरिदिए।

पाँच वर्षसम्म प्रजातान्त्रिक कांग्रेसको रोल्पा जिल्ला सभापति बनेका घर्ती २०६४ मा पार्टी पुन एकीकरणका बेला पार्टी सभापतिमै कायम भए। ‘सिनियारिटि’ का आधारमा सभापति चयन गर्ने तत्कालीन निर्णय बमोजिम घर्ती ०६४ मा रोल्पा कांग्रेसको सभापति कायम भएका थिए। २०६७ को अधिवेशनमा घर्ती पुनः सभापतिमै कायम हुन चाहे। उनी तत्कालीन जिल्ला सभापतिमा भिडे। उनी यो बेला फेरी पार्टी सभापतिमा निर्वाचित भए।

२०६१ मा उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य चुनिएका केन्द्रीय सल्लाहकार परिषद्को सदस्य समेत चुनिएका थिए। पार्टीको पदमा रहेर संगठन निर्माणमा लागेका घर्तीलाई यो बेला आम चुनाव लड्ने ख्वाब जागेन। माओवादीको एकल विरासत कायम भएको रोल्पामा कसरी माओवादीको गढ भत्काउन सकिन्छ ? भन्ने योजनामा घर्ती रहे।

फलतः २०६४,०७०, ०७४ को आम चुनावमा उनले उम्मेदवार बन्ने लालसा राखेनन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सांसदका सुचीमा समावेश भए। तर सांसद चयनमा उनी परेनन्।

सांसद बन्ने एउटा अवसर उनका लागि गुम्यो। सांसद बन्ने मिसनबाट चुकेका घर्तीका लागि प्रदेशको प्रमुख जस्तो उच्च ओहदाको अवसर प्राप्त भएको छ। ‘मैले अहिले सम्मको मेरो राजनीतिक यात्राका क्रममा जे गरेँ, ठिकै गरेँ जस्तो लाग्छ,’ उनले भने ‘अब पनि मेरो जुनसुकै भूमिका होओस् कर्तव्यनिष्ठ भएरै निर्वाह गर्ने छु।’

द्धन्दकालको प्रारम्भमा माओवादीको उद्गम थलो रोल्पामा कांग्रेस सचिव बनेका घर्ती यही द्धन्दकालकै बेला पार्टीको सभापति बने। माओवादीबाट कांग्रेस कार्यकर्ताहरू माथि भएको ज्यादतीका विरुद्ध उनले डटेर सामना गरे।

विस्थापित, घाइतेहरूको सहारा बनेर उभिए घर्ती। ‘त्यो बेला कांग्रेसीहरुलाई कसरी जोगाउने भन्ने चिन्ता थियो,’ उनी भन्छन् ‘माओवादीबाट पीडित बनेकाहरु कैयनलाई आश्रय समेत दिएर राख्नुपर्‍यो।’

त्यसो त, घर्ती आफै माओवादीको तारो बनिरहेका थिए। फलतः उनी माओवादीको अपहरणमै समेत परे। हत्या गर्ने सम्मको योजना बनाएर अपहरण गरिएका घर्तीलाई माओवादीको अर्को तप्काको आवाजले बचायो। आफूहरूलाई काम लाग्ने मान्छे भन्दै माओवादीको एउटा तप्काले हत्या नगर्न गरेको दबाबका कारण उनी जोगिएका थिए।

उनी भन्छन् ‘त्यो बेला मारिएको भए सबै सकिएको हुन्थ्यो, धन्न बाँधे र संसार देख्न पाइयो।’

प्रकाशित: १६ श्रावण २०८१ २०:२० बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School