काठमाडौं । प्रकाश सपुत र स्वस्तिमा खड्का ‘जेन वाई’ पुस्ताका उदीयमान कलाकार । संगीतमार्फत कथावाचनको थिती बसालेका सपुत र पात्रमा प्राण भर्ने स्वस्तिमा दुवैलाई पछ्याउनेको संख्या उच्च छ । विशिष्ट कला शैलीले यी दुई कलाकारले दर्शकीय मन जितेका छन् ।
रिल लाइफमा जति यी दुईको चर्चा हुन्छ, रियल लाइफमा पनि लोभलाग्दो मित्रता छ । २२ चैतमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘वसन्त’मा यी दुईको केमेस्ट्रीको चर्चा अहिले छ । जीवनसँग नजिकको कथालाई पर्दामा उतार्दै प्रकाशले घरेलु फिल्म निर्देशनमा डेब्यु गरेका छन् ।
आउँदो अगस्टमा फिल्ममा दशक टेक्न लागेकी स्वस्तिमाको यो १४ औं फिल्म हुनेछ । आफूलाई चरित्रका आयाममा पोख्दै आएकी स्वस्तिमाले ‘वसन्त’मा प्रकाशसँग जोडी बाँधेकी छन् । हालैको एक अपरान्ह यी दुईले अनलाइनखबरको स्टुडियोमा फिल्म, सम्बन्ध, चरित्र र आगामी समयबारे अनलाइनखबरकर्मी विष्णु शर्मासँग कुराकानी गरेका छन् :
अहिलेको समयमा ‘वसन्त’ले बोकेको कथाको सान्दर्भिकता के हो ?
प्रकाश सपुत : यो फिल्मले ०६२/०६३ साल अर्थात गणतन्त्र स्थापनाअघि जतिबेला समाज तरल थियो, जतिबेला परिवर्तनको आवाजका झिल्का निस्किरहेको थियो, त्यो समयको कथा बोकेको छ । यसले ‘सबै बराबर’ भन्ने सन्देश दिन खोजेको छ ।
यो कथालाई निर्देशकीय आँखाबाट भन्ने कुरामा तपाईं कति इमान्दार हुनुहुन्छ ?
प्रकाश : सर्जक र कथावाचकको रुपमा एकदम इमान्दार भएर मनबाट पोखेको छु । ‘वसन्त’मा म यतिधेरै पोखिएको छु, यति धेरै टकटकिएको छु कि, म सँग पोखिन अब केही छैन जस्तो लाग्छ । म यति निख्रिँए कि मैले फेरि आफूलाई भर्नुपर्छ । यही वसन्तका एउटा-एउटा हाँगा समाएर त्यसमै फुल्नुपर्छ जस्तो लाग्छ । वसन्त मेरो लागि अन्तिम बिऊजस्तै हो । यो बिऊ रोपेको छु, यो फल्यो भने, यसले बोट लाग्यो, हाँगाहरू पलाए भने चाहिँ त्यसमा म फुल्ने हो । होइन भने आफूलाई फेरि अर्को बिऊ खोज्नुपर्छ ।
‘वसन्त विक’ नामक पात्रलाई कसरी चिनाउनुहुन्छ ?
प्रकाश : वसन्त पात्रको पहिचानको कुरा गर्ने हो भने ऊ एउटा दलित समुदायबाट आएको पात्र हो । ऊ लेखक बन्न चाहन्छ । हरेक कुरालाई बीचमा रहेर सोच्छ । एकदमै विद्र्रोही पनि होइन, सबै कुरालाई स्वीकारेर अगाडि बढ्न खालको पनि होइन ।
तपाईंको फिल्म करिअर १० वर्ष पुग्दैछ । तपाईंले यसअघि गरेका पात्रभन्दा वसन्तकी शान्ति शर्माको भूमिका कस्तो छ ?
स्वस्तिमा : मैले बागलुङको धम्जा गाउँको पात्र गरेकी छु । जतिबेलाको कथा यसमा भनिएको छ, त्यतिबेला बेला म १०/१२ वर्षकी थिएँ होला । किनभने यसको कथा ०६२/०६३ सालको हो । मेरो बुवा आर्मी हुनुहुन्छ । यो फिल्ममा जति महसुस गर्न पाएँ, बुझ्न पाएँ, त्यो मेरा लागि विशेष रह्यो । यसकारण पनि यो पात्र अरुभन्दा भिन्न छ जस्तो लाग्छ । फिल्ममा मैले बाहुन पात्रको भूमिका निर्वाह गरेकी छु, उहाँ (सपुत)ले दलित पात्रको रोल निर्वाह गर्नुभएको छ । प्रायः दलितको विषयमा बनाइने कथाका फिल्ममा उपल्लो वर्गका पात्रलाई नकारात्मक रुपमा हेरिरहेका हुन्छौं । मैले गरेको पात्र बाहुन भइकन पनि उदार र सकारात्मक छ ।
तपाईंले यो फिल्ममा कति निजी अनुभव समावेश गर्नुभएको छ ?
प्रकाश : मैले बाँचेको, हामीले बाँचेको समाजको वरिपरिबाटै कथा टिपिएको छ । हामीलाई सुरुमा गाउँमा किन जान परेन भने, म त्यही पृृष्ठभूमिमा हुर्किएको मान्छे भएकाले मैले डिटेलमा लेखेको थिएँ । स्वस्तिमाको अवलोकन कला यति राम्रो रहेछ कि गएको २ दिनमा नै मेरो आमा बोलेको, मेरो आमासँग उहाँले २ छाक सँगै खानुभयो, सँगै हिँड्नुभयो, त्यसपछि त उहाँले संवाद उच्चारणमा सुधार गर्नुभयो । म जहाँ हुर्किएँ, त्यहाँ लय भिन्न थियो तर शब्द भिन्न थिएन । भाषाको लय उहाँले छिटो समात्नुभयो । ‘वसन्त’ मेरो जीवन र अनुभवसँग एकदम नजिक छ भन्न मिल्छ ।
तपाईं यो फिल्ममा एकैसाथ निर्देशक, अभिनेता, संगीतकार, गायक, निर्माता सबै हुनुहुन्छ । एउटा मान्छेले एकैसाथ यी भिन्न दायित्व निर्वाह गर्दा आउने चुनौति र सहजता के हुने रहेछ ?
प्रकाश : यो त धेरैजनाले गर्नुपर्ने काम हो । गाह्रो पक्कै हुन्छ । मानसिक हिसाबले मैले आफूलाई सबै कुराको लागि तयार गरेको थिएँ । अचानक कथा लिएर आएँ र फिल्म बनाएँ भन्ने होइन । सबै प्रक्रिया पुरा गरेको छु । लेखक बन्न मैले गीतमा पनि कथा लेख्दै आएँ । म्युजिक भिडियो निर्देशन गर्दाको अनुभवले प्राविधिकरुपमा केही कुरा बुझ्न मद्दत गर्यो निर्देशकको रुपमा । अभिनेताको रुपमा पहिला आफूले गरेका म्युजिक भिडियोमा अभिनय गरेको हुन्थेँ ।
अभिनय रुचिको विषय पनि हो । ‘परदेशी २’मा काम गर्दा पनि कसरी काम हुन्छ, कसरी टिम निर्माण हुन्छ र छायांकन हुन्छ भन्ने बुझ्न पाएँ । आफ्नै कथा, आइडिया र पृष्ठभूमि हुँदा सजिलो भयो । मैले काम गरेको भन्दा पनि ‘वसन्त’ बाँचेको भन्न मिल्छ । एकचोटी बाँचेको समयलाई फेरि बाँच्न पाएँ भन्ने हिसाबले लिन्छु । व्यवहारिक हिसाबले केही अप्ठ्यारो त भयो तर मजा आयो ।
को-एक्टरको रुपमा स्वस्तिमालाई कस्तो पाउनुभयो ?
प्रकाश : उहाँ कलाकार हुनुअघि एउटा मान्छे हो । मानिसको रुपमा राम्रो भयो भने ऊ अरु कुरामा पनि राम्रो हुन्छ । मान्छेको रुपमा अझ बढी राम्रो लाग्या हो । दुईवटा काम गरिरहँदा, कुराहरूलाई नजानिँदो ढंगले अवलोकन गर्ने र सहि समयमा एक्स्प्लेन गर्ने र आफ्नो कुरा राख्ने, अरुको कुरा सुन्ने । फिल्मलाई लिएर स्वस्तिमाजीको जुन किसिमको गम्भीरता छ, त्यो असाध्यै राम्रो लागेको हो । म यो कुराको ठूलो प्रशंसक हुँ ।
को-एक्टरको रुपमा मैले मेरो परिवार, भाईभन्दा पछाडि आइडिया सुनाएको तेस्रो मान्छे स्वस्तिमाजी हो । फिल्ममा उहाँ अनुभवी हुनुहुन्छ । सुरुमा मैले उहाँलाई आइडिया सुनाउँदा ओहो फिल्म बनाउन सकिँदैन होला भन्ने लाग्या थियो । म त किताब लेख्छु भनेर म्युजिक भिडियो स्टाइलले फिल्म बनाउँछु भनेर मख्ख पर्या थिएँ । तर, फिल्म जुन प्रोसेसबाट बन्छ, त्यो उहाँले सुनाइसकेपछि, मलाई २-३ दिन त सकिँदैन किन भन्या जस्तो भयो । को-एक्टर मात्र होइन, यो फिल्मको निर्माण प्रक्रियामा स्वस्तिमाजीको ठूलो भूमिका छ । सुरुमा मेरो जुन स्क्रिप्ट थियो, त्यो आइडिया थियो, स्क्रिप्ट थिएन ।
को-एक्टर र निर्देशकको रुपमा तपाईंले प्रकाशजीलाई कसरी लिनुहुुन्छ ?
स्वस्तिमा : हामीले भोग्दै नभोगेको कुरा उहाँले देखाउने पनि हैन । सामान्य कुरालाई पनि उहाँले जसरी प्रस्तुत गर्नुहुन्छ, म उहाँको प्रस्तुतिकरणको ठूलो फ्यान हुँ । सर्जकको रुपमा उहाँले जसरी कथा भन्नुहुन्छ, यो कुराको म फ्यान हुँ । एउटा निर्देशकभन्दा पनि राम्रो कथावाचक हो । को-एक्टर त, मैले उहाँलाई पर्सनल्ली राम्रोसँग चिनेको भएकाले पनि बीचमा पर्खाल छैन । हामी एकअर्कासँग काम गर्न ‘कम्फर्टेबल’ छौं । एक्सन र कट्को बीचमा काम गर्दा श्रीमानसँग काम गरेको महसुस कहिल्यै हुँदैन । को-एक्टरको रुपमा मैले अरुसँग जस्तो फिल गर्छु, उहाँसँग फिल गर्ने पनि त्यही नै हो । हामीबीच त्यो ‘वाल’ निश्चय नै छैन । सर्जकको रुपमा इन्डष्ट्रिलाई चाहिने मान्छे हो ।

प्रकाशजीको गुण र दोष के देख्नुहुन्छ ?
स्वस्तिमा : उहाँको गुण र दोष एउटै छ । त्यो हो- उहाँ निकै संवेदनशील हुनुहुन्छ । सेन्सेटिभ भएर उहाँले विषय उठान गर्नुहुन्छ । ‘वसन्त’को ९० प्रतिशत कुरा त उहाँले भोगेकै विषय हो । सानो सानो कुरालाई उहाँले चित्रण गर्नुहुन्छ । दोष कुन हिसाबले भन्दा त्यसले कहिँ न कहिँ नकारात्मक प्रभाव पार्ने । धेरै सोच्ने । जति सेन्सेटिभ भएर उहाँले सोच्नु नपर्ने कुरालाई त्यहीअनुसार लिने । एउटा उदाहरण- हाम्रो एउटा छलफल भयो भने त्यसलाई उहाँले गम्भीरता साथ लिनुहुन्छ । धेरै संवेदनशीलरुपमा नलिनुपर्ने तर भविष्यमा सर्जकको रुपमा देखाउन पाउँछु भनेर उहाँले लिनुहुन्छ । नियतमा निश्चय नै खराबी छैन । सेन्सेटिभ भएर महसुस गर्ने आफ्नो ठाउँमा छ । सेन्सेटिभ नहुनुपर्ने ठाउँमा भोलि युजफुल हुन्छ कि भनेर सेन्सेटिभ हुनुहुन्छ कि जस्तो लाग्छ । के म गलत छ ?
प्रकाश स्वस्तिमातिर हाँसेर हेर्दैै- तपाईंको विचार !
संगीतबाट फिल्ममा ‘स्वीच’ हुने तपाईंको जीवनको उत्कृष्ट निर्णय थियो ?
प्रकाश : मैले अहिले यसरी हेर्ने बेला भैसकेको छैन जस्तो लाग्छ । यसलाई ‘स्वीच’ नै भन्न मिल्दैन । म ‘स्वीच’ नै भैसकेको होइन । मेरो संगीत कर्म पनि अघि बढिरहेको छ । एक शब्दमा भन्नुपर्दा, मलाई फिल्मको क्यानभास ठूलो लागेको हो । फिल्ममा संगीत पनि अटाउँछ, कथा पनि अटाउँछ, त्यहाँ साहित्य पनि अटाउँछ, समाज पनि अटाउँछ । मैले चाहेका कुरालाई अझै विस्तृतमा भन्न सकिन्छ कि, आफू अझै बढी पोखिन सकिन्छ कि भनेर । सिनेमाको क्यानभास, मैले गरेका कर्महरूको क्यानभासभन्दा अलि विशाल लागेर अहिले यो क्यानभासमा काम गरेको हुँ ।
अहिले म ट्रायल पिरियडमै छु । मेरो अरु १/२ वटा फिल्म रिलिज भएको छ । ‘परदेशी २’ र ‘पूर्णबहादुरको सारंगी’ले मान्छेलाई जोडेको छु । ‘वसन्त’मा त सबै रङहरू पोतेको छु । यसपछि पनि अभिनेताको रुपमा काम राम्रा भएका छन् । सिनेमामा काम गर्ने कि नगर्ने भनेर ‘वसन्त’ पछि मात्र सोच्छु । २ घण्टाको फिल्ममा भन्दा ५ मिनेटको म्युजिक भिडियोमा मैले भन्ने कथा प्रभावकारी हुने रहेछ भन्ने लाग्यो भने सर्जकको रुपमा त्यसमा धेरै केन्द्रित हुन्छु । यदि ‘वसन्त’ मानिसलाई ठीकै लाग्यो भने अझै डिटेलमा यसरी कथा भन्छु होला ।
मूलधारको फिल्ममा समेटिन नसकेका कथालाई पछिल्लो समय फिल्मले जसरी समेटेको छ, यसलाई कसरी लिनुहुन्छ ?
स्वस्तिमा : मेरो पहिलो फिल्म जतिबेला रिलिज भयो, भाग्यवश त्यतिबेला नेपाली फिल्म परिवर्तनको क्रममा थियो । नयाँ निर्माता आइरहनुभएको थियो । नयाँ शैलीमा फिल्मको कथा वाचन हुन थाल्या थियो । भर्खर भर्खर ‘लुट’ र ‘कबड्डी’ रिलिज भएका थिए । त्यतिबेलादेखि मेनस्ट्रिममा कथाले डोर्याइने र यथार्थवादी फिल्म आउन सुरु भएको थियो । मैले त्यतिबेला पहिलो फिल्मको सुरुवात गरेँ । अहिले आएर खुसी लाग्छ कि म यस्तो युगमा छु कि, यस्तो खालका फिल्मलाई दर्शकले स्वीकार्नुभएको छ । बक्सअफिसमा पनि राम्रो गरिरहेको छ ।
मैले १० वर्षअघि सुरुवात गर्दा, महिलाप्रधान फिल्म बन्नुपर्छ भन्ने चरणमा थियौं । पछिल्ला २, ३ वर्षको बक्सअफिस डेटा हेर्दा महिलाप्रधान फिल्मले राम्रो गरेका छन् । ‘बोक्सीको घर’ र ‘अञ्जिला’ पछिल्लो उदाहरण हुन् । अहिलेसम्म मेरो १० वर्षको अनुभव छ, अर्को १० वर्षमा त मैले अझै राम्रो गर्न सक्छु नि । अहिले पनि मलाई जति फिल्मबाट अफर आइरहेको छ, ती सबैजसो कथावस्तुप्रधान फिल्म नै छन् ।
मलाई आउने नै त्यस्तै हो कि, त्यस्ता फिल्म धेरै बन्न थालेका हुन् । त्यतिबेला कोरियन र भारतीय फिल्मबाट प्रभावित फिल्म हुन्थे होलान् । अहिले आउने फिल्म अधिकांश हाम्रै देशको कथामा आधारित हुन्छन् । स्थानीय कथा हुन्छन् । १० वटा स्क्रिप्ट सुन्दा ८ वटा कथा यहीँका हुन्छन् । निर्माता हाम्रै कथामा काम गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ । हामीसँग कथा छ तर, हामीलाई राम्रो पटकथा लेखक चाहिन्छ । हामीले स्क्रिप्ट लेखनमा लगानी नगरेर हो कि ? स्क्रिप्ट राइटर राम्रा भए अझै उत्कृष्ट हुनसक्छ ।
तपाईंको ‘ड्रिम क्यारेक्टर’ के हो ?
स्वस्तिमा : मलाई सुदुरपश्चिम भेगको एउटा पात्रमा अभिनय गर्न मन छ । मैले यो भेगको पात्रको रोल गर्न मन लागेको छ भन्दैमा, सबैको भोगाइ त्यो नहुनसक्छ । एउटा टाइममा मलाई त्यो भेगको क्यारेक्टर गर्न मन थियो, त्यतिबेला निर्देशक दीपेन्द्र खनालले ‘चिसो मान्छे’ अफर गर्नुभएको थियो । यही भनेर नभनूँम, दिमागमा छ ।
प्रकाश : हामीले काम गर्न अझै धेरै बाँकी छ । मेरो ‘ड्रिम क्यारेक्टर’ भनेको मलाई एकपटक राजा हुन मन छ, जसले यत्तिका धेरै वर्षहरू शासन गर्नुभयो । जुन शासनमा हामी जन्मियौं, जे अनुभूतिका साथ जन्मियौं । एउटा रैती वा प्रजाको रुपमा अनुभूति गर्दै हामी हुर्कियौं । राजा हुँदाको अनुभूति मलाई एकचोटी पर्दामा गर्न मन छ । हाम्रो जनजीवनकै राजा । तर, राजा चाहिँ पात्रको रुपमा ।
हामीसँग भनिनुपर्ने कथा धेरै छन् । घलेगाउँमा निर्देशक नवीन सुब्बा र लेखक आहुतीलाई सोधेको थिएँ- हामीले जीवन र भेगका कथा त भन्न थाल्यौं, पिछडिएका वर्गका कथा त भन्न थाल्यौं । लैंकिग विभेद, दुःखका कथा भन्न थाल्यौं । सामान्य मानिसका कथालाई हिरो बनाएर भन्न थाल्यौं । तर, त्यो कथा भन्दा अब समाज यस्तो छ भनेर मात्र देखाउने कि अब समाज यस्तो हुनुपर्छ है भनेर देखाउने, अघि र पछिको समयलाई कसरी जोड्ने काममा सिकारु सर्जकको रुपमा म अन्योलमा छु । मलाई आरोप पनि लाग्ने गरेको छ कि तैंले यसरी देखाइस्, तैंले नेगेटिभ कुरा मात्र देखाइस्, तैंले दुःख मात्र देखाइस्, तैंले सकम्बरीजस्ता पात्र मात्र हुन्छ भनिस्, अब चाहिँ प्रगति देखाउनुपर्यो, परिवर्तन देखाउनुपर्यो भन्ने कुराहरू आइरहेका छन् । अबको हाम्रो चुनौती भनेको, हाम्रा कथा त भन्ने तर कसरी भन्ने चुनौती छ । मुलधारमा सामान्य कथा पनि सफल हुन थालिसके । अब कथा भन्न बजारको अभाव छैन । अबको कथा कसरी भन्ने चुनौती चाहिँ छ ।
नयावर्षको संकल्प कस्ता छन् ?
स्वस्तिमा : मलाई अभिनयभन्दा पनि निर्माणतर्फ रुचि जाग्दैछ । ‘बेहुली फ्रम मेघौली’ सुरुमा मलाई निर्माण गर्न भनेर आएको फिल्म होइन । अभिनय गर्न मात्र सुनाउनुभएको सिनेमा हो । रुचि लागेर उहाँहरूलाई मैले अप्रोच गरेको हुँ । आउने दिनहरूमा निर्माताको भूमिकामा मात्र फिल्म गर्न मन छ । मैले बितेको १० वर्षमा जति कुरा सिकेँ, अब ती अनुभवलाई आगामी १० वर्षमा प्रयोग गर्न पाउँछु होला । मेरो लागि अबको १० वर्ष विशेष हुन्छ । कलाकारको करिअर अवधि ५/७ वर्षमात्र हुन्छ भन्छन् तर, मेरो लागि अब आउने १० वर्ष झन विशेष हुन्छ जस्तो लाग्छ ।
भिडियो/तस्वीर : शंकर गिरी
भिडियो सम्पादन : नवराज सिंह महरा
ग्राफिक्स : अरुण देवकोटा