प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार
अमेरिकाले रुस युक्रेन युद्धमा आगोमा तेल थप्ने काम गरेको रुसले आरोप लगाएको छ । लामो दुरीका मिसाइल रुस बिरुद्ध प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहमति दिएपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका प्रबक्ताले यो प्रतिकृया जनाएका हुन । यद्यपी राष्ट्रपति पुटिन आफैेले भने कुनै प्रतिकृया जनाउनु भएको छैन ।
यसअघिका भनाईहरुलाई आधार मान्ने हो भने अमेरिका र नेटोले लामो दुरीका हतियार प्रयोगमा अनुमति युक्रेनलाई दिएमा प्रत्यक्ष युद्धमा होमिएको बुझीने बताउनु भएको थियो ।
यो कदम बाइडेनले ह्वाइट हाउस छोड्नुभन्दा दुई महिना अघि लिनु भएको छ । तर, उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई यसबारे परामर्श गरिएको थियो कि थिएन भन्ने स्पष्ट छैन । ट्रम्पले रुस युक्रेन युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको छ ।
युक्रेनसँग ३०० किलोमिटर सम्मको पहुँच भएका अमेरिकी एटाक्म्स अर्थात आर्मी ट्याक्टिकल मिसाइल सिस्टम छन् । फ्रान्स र ब्रिटेनका समान दायराका स्टोर्म श्याडो क्षेप्यास्त्र पनि उसंग रहेका छन् । तर, पश्चिमी साझेदारहरूले युक्रेनलाई यी क्षेप्यास्त्रहरू रूसमा प्रयोग गर्न रोक लगाएका थिए । पश्चिमी साझेदारहरुले पनि युक्रेनलाई अनुमति दिनसक्ने संभावना देखिएको छ ।
रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो । अहिले मस्कोले युक्रेनी पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ । उत्तर कोरियाबाट १० हजार भन्दा बढी सैनिकहरू रूसको पश्चिमी कुर्स्क क्षेत्रमा पुगेका छन् । यस क्षेत्रमा युक्रेनी सेनाले एउटा सानो भूभाग कब्जा गरेका छन् ।
अनौपचारिक रिपोर्टहरूले उत्तर कोरियाले रूसलाई थप १ लाख सैनिक पठाउनसक्ने उल्लेख गरेका छन् । यसका साथै, तोप र अन्य हतियारहरू पनि पठाउनसक्ने बताइएको छ ।
युक्रेनले एटाक्म्स क्षेप्यास्त्र कुर्स्कमा प्रयोग गर्ने सम्भावना छ । कतिपय रिपोर्टहरूले भनेका छन् कि अमेरिका यसलाई उत्तर कोरियालाई चेतावनी दिने संकेतको रूपमा प्रयोग गर्न खोजिरहेको छ ।
पश्चिमी मुलुकहरूले बाइडेनको निर्णयलाई रूसी राष्ट्रपति पुटिनलाई सन्देश दिन खोजेको रूपमा हेरेका छन् ।
तर, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फाइनरले भनेका छन् कि उत्तर कोरियाली सेनाको उपस्थिति र युक्रेनी पूर्वाधारमाथिको रुसी आक्रमण रोक्न अमेरिकाले प्रतिवाद गर्ने स्पष्ट संकेत दिएको छ ।