रिलायन्स स्पिनिङ : महँगो मूल्य, शंकास्पद वित्तीय विवरण

रिलायन्स स्पिनिङ : महँगो मूल्य, शंकास्पद वित्तीय विवरण


२० असार, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएको हो ।

संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्यसीमा प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनेका छन् । जसले सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् कित्ताको ८२० रुपैयाँ ८० पैसा पर्ने भएको हो ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर मात्रै सर्वसाधारण समूहमा जारी गर्न लागेको हो ।

सर्वसाधारण समूहबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताले पाएका छन् । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्ता आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि जारी हुन्छ । वैदेशिक रोजगारमा रहेकाका लागि २७ असारदेखि आवेदन खुल्दैछ ।

कम्पनीको सर्वसाधारण समूहमा जारी सेयर संख्या नै न्यून छ । त्यसकारण पनि यसको मूल्य महँगो परेको देखिन्छ ।

कम्पनीको व्यापार

सुनसरी जिल्लामा यो कम्पनीले धागो कारखाना सञ्चालन गर्छ ।  धागो देशका विभिन्न कपडा उद्योगलाई बिक्री गर्छ । ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो कम्पनीले उत्पादन गर्दै आएको छ । ती धागो विभिन्न रङमा तयार हुन्छ । उत्पादित धागो स्वदेशमा मात्रै खपत हुँदैन ।

कम्पनीबाट उत्पादित अधिकांश धागो भारत तथा तेस्रो मुलुक निर्यात भइरहेको देखिन्छ । भारतमा २० वटा बिक्री एजेन्ट रहेको कम्पनीले आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ । मलेसिया, टर्की, युनाइटेड अरब इमिरेट्स (यूएई), बेलायत, इटालीमा ७ वटा बिक्री एजेन्टसँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको कम्पनीले जनाएको छ । भारतस्थित आसाम डाइङ प्लान्ट, त्रिमूर्ति होजियारी मिल्स, मालिमल सन्तमल एन्ड कम्पनी, बल्लभ ऊल इन्डस्ट्रिज, गोयल यार्न एजेन्सी, एलकोई मिल्स, रिद्धिसिद्धि इन्टरप्राइजेज लगायत कम्पनीलाई धागो निर्यात गर्ने गरिएको विवरणपत्रमा उल्लेख छ ।

उत्पादनको करिब ३० प्रतिशत स्वदेशमै खपत हुने गरेको कम्पनीले जनाएको छ । ‘देशभित्रका किरण सुज म्यानुफ्याक्चर्स, प्रगति टेक्सटायल इन्डस्ट्रिज, नेपाली सेना बहुव्यवसाय उद्योग, निप्पो इन्डस्ट्रिज, एभरेस्ट टेक्सटायल लगायतले खपत गर्ने गरेका छन्,’ विवरणपत्रमा छ ।

मुलुकमा कपडा उत्पादनका ठूला उद्योग नहुँदा बजार हिस्सा राष्ट्रियस्तरमा कम रहेको कम्पनीको भनाइ छ । बाँकी १० प्रतिशत टर्की, भियतनाम, बेलायत लगायत देश निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।

कटन धागो वार्षिक ६ हजार ३ सय टन र सेन्थेटिक धागो ६ हजार ३ सय टन क्षमता थप भएको र हाल उद्योगको कुल दैनिक उत्पादन क्षमता १ सय ३६ टन रहेको कम्पनीको भनाइ छ ।

मुलुकको कुल धागो निर्यातमा यस उद्योगको हिस्सा आर्थिक वर्ष २०७७/७८ मा ६२ प्रतिशत, २०७८/७९ मा ५३ र २०७९/८० मा ५३ प्रतिशत बराबर थियो ।

अस्वाभाविक वित्तीय विवरण

कम्पनीले आफ्नो वित्तीय विवरण भने वास्तविकता भन्दा धेरै बढाइचढाइ गरेको देखिन्छ । बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्नकै लागि कम्पनीले प्रक्षेपण वास्तविकता भन्दा अति धेरै राखेर विवरणपत्र सजाउन खोजेको स्पष्ट देखिन्छ ।

चालु आव २०८०/८१ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा जम्मा २ करोड ६३ लाख रुपैयाँ छ । यो नौ महिनाको वास्तविक नाफा हो ।

यही दरमा नाफा कायम रहे पनि चालु आवको नाफा साढे ३ करोड हाराहारी हुने देखिन्छ । तर, कम्पनीले चालु आव अन्त्यसम्म खुद नाफा ४ करोड ६२ लाख रुपैयाँ रहने प्रक्षेपण गरेको छ ।

चालु आवमा प्रक्षेपण गरेकै नाफा ४ करोड ६२ लाख कमायो भने पनि यो नाफा गत आवसँग तुलना गर्ने हो भने भारी अन्तर छ । गत आव २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरणपत्रमा देखिन्छ । एकै वर्ष करिब ८८ करोड २५ लाख रुपैयाँ नाफा गिरावटलाई स्वाभाविक मान्न सकिँदैन ।

त्यसअघि २०७८/७९ मा कम्पनीले १ अर्ब ४ करोड खुद नाफा कमाएको वित्तीय विवरणमा देखिन्छ । विगतमा यति धेरै नाफा देखाएर कम्पनीले झेली वित्तीय विवरण बनाएको देखिन्छ ।

त्यति मात्रै होइन, कम्पनीको आगामी वर्षका प्रक्षेपण नाफा फेरि उच्च छ ।

चालु आव नौ महिनामा जम्मा २ करोड ६३ लाख नाफा कमाएको यो कम्पनीले आगामी आव २०८१/८२ का लागि ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । एक वर्ष अवधिमै नाफामा यति भारी वृद्धि सम्भव छैन ।

यस्ता अस्वाभाविक तथ्यांक राखेर कम्पनीले वित्तीय विवरणमा ठूलो झेल गरेको छ । एकातिर प्रक्षेपण रकम नै वास्तविकता भन्दा धेरै माथि देखिन्छ । अर्कातिर, कम्पनीको नाफा र प्रतिसेयर आम्दानी वास्तविकतामा ठूलो दरमा घट्दै गएको छ ।

यसअघि जसरी घोराही, सोनापुर सिमेन्टले सन्तुलित वित्तीय विवरण देखाएर प्रिमियममा आईपीओ जारी गरेपछि मात्रै नोक्सानीको विवरण देखाए, त्यही स्थिति यो कम्पनीमा पनि देखिन सक्छ ।

विद्युत् प्राधिकरणले उद्योगलाई डेडिकेटेड फिडर मार्फत जोडेको बिजुलीको रकम तिर्न भनेर काटेको बिललाई कम्पनीले दायित्वमा देखाएको छैन ।

कम्पनीको ऋण भने उच्च छ । कम्पनीले लिएको गैरचालु दायित्व अन्तर्गत सापटी रकम गत चैतसम्म ३ अर्ब २९ करोड छ ।

त्यसबाहेक चालु दायित्व अन्तर्गत सापटी रकम गत चैत मसान्तसम्म १ अर्ब ७२ करोड छ । यसरी चालु र गैरचालु सबै दायित्व चैत मसान्तसम्म ७ अर्ब २१ करोड छ । कम्पनीको हालको वास्तविक नाफा÷नोक्सान विवरण हेर्दा यो दायित्व धेरै ठूलो हो ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ८ पैसा छ । जुन वास्तविकता हो । तर, कम्पनीले आगामी आव अन्त्यसम्म प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा रहने प्रक्षेपण गरेको छ, जुन सम्भव छैन ।

गत आवमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको विवरणपत्रमा छ । विगतको प्रतिसेयर आम्दानी उच्च देखाइनु, आगामी आवको प्रक्षेपित पनि धेरै देखाइनु तर वास्तविकतामा भने आकाश–पातालको फरक देखिनुले कम्पनीको विवरण शंकास्पद देखिन्छ ।

कम्पनीको जगेडा कोषमा गत चैत मसान्तसम्म २ अर्ब २५ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष अनुमान छ । डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १०.६१ वर्षको प्रक्षेपण छ ।

विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने हुन सक्छ ठूलो रकम 

नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई ३३ केभी खनारबाट डेडिकेटेड फिडर मार्फत विद्युत् आपूर्ति दिएको भन्दै ७३ करोड ४७ लाख ८ हजार रुपैयाँ भुक्तानी गर्न पत्राचार गरेको छ ।

तर, कम्पनीले अतिरिक्त प्रिमियम शुल्क तिरेर डेडिकेटेड फिडर मार्फत चौबिसै घण्टा विद्युत् लिन कतै निवेदन नदिएको, उद्योगले तोकिए अनुसार नियमित चौबिसै घण्टा विद्युत् खपत नगरेको दाबी गर्दै आएको छ ।

रिलायन्स स्पिनिङबाहेक अन्य उद्योगसँग पनि प्राधिकरणको यस सम्बन्धी विवाद कायमै छ । यहीबीच एउटा समिति गठन भएको छ । जसले यो विवाद टुंगो लगाउने छ । त्यसकारण जुनसुकै बेला उद्योगलाई ७३ करोड ४७ लाख रुपैयाँको थप दायित्वभार पर्न सक्छ ।

कम्पनीले बक्यौता महसुलबारे विवरणपत्रमा भनेको छ, ‘सुनसरी जिल्ला अदालतमा मुद्दा किनारा नलागेको हुँदा सम्भावित दायित्वलाई आकस्मिक दायित्वका रूपमा लिइने छ । वित्तीय विवरणमा उक्त सम्भावित दायित्वका लागि प्रोभिजन गरिएको छैन ।’

 रेटिङ अवस्था

यस्तो कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । यसले एएए देखि डीसम्मको रेटिङ प्रदान गर्दछ । जसमा एएएले सबैभन्दा सबल स्थितिलाई जनाउँछ भने डीले सबैभन्दा कमजोर स्तरलाई जनाउँछ । ए माइनस रेटिङले कम्पनीलाई औसत राम्रो जनाउँछ ।

 अति महँगो मूल्य :

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नयाँ कम्पनी सूचीकृत हुँदा उक्त कम्पनीको पहिलो सेयर कारोबारका लागि ‘ओपनिङ रेन्ज’ प्रतिसेयर नेटवर्थको तीन गुणासम्म दिने गर्छ । कुनै कम्पनीको नेटवर्थ १ सय रुपैयाँ छ भने त्यसको पहिलो कारोबार मूल्य बढीमा ३ सय रुपैयाँमा हुन सक्छ ।

अब हेरौं, रिलायन्सको ओपनिङ रेन्ज । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा २२३ रुपैयाँ ५९ पैसा छ । जसअनुसार यस कम्पनीको पहिलो कारोबारका लागि अधिक मूल्य पनि ६७० रुपैयाँ मात्रै तोकिने छ ।

तर, सर्वसाधारणका लागि यो कम्पनीको आईपीओ मूल्य नै प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा परेको छ । अर्थात्, प्रतिसेयर नेटवर्थको तीन गुणाभन्दा महँगो परेको छ । प्रतिसेयर नेटवर्थको तीन गुणाभन्दा बढी मूल्यमा आईपीओ बेचेको सम्भवतः यो नै नेपालमा पहिलो कम्पनी हो ।

मूल्य निर्धारणमै शंका

बुक बिल्डिङ विधिबाट नेपालमा आईपीओ जारी गर्ने यो दोस्रो कम्पनी हो । विश्वका अन्य सेयर बजारमा पनि बुक बिल्डिङ विधिलाई अनुशरण गरिएको छ ।

सामान्यतः योग्य संस्थागत लगानीकर्तामा दक्ष जनशक्ति हुन्छन् । उनीहरू कम्पनीको सम्पत्ति, दायित्व, उत्पादन तथा सम्भावित बजार, भविष्यको सम्भावित फाइदा, जोखिम लगायत विवरण केलाउन सक्षम मानिन्छन् । कम्पनीको स्थलगत अध्ययन नै गर्न सक्छन् र लुकाइएका सूचना समेत थाहा पाउन सक्छन् र उनीहरूले सही मूल्य तोक्छन् भन्ने मान्यता छ ।

तर, संस्थागत लगानीकर्ताले एकापसमा मिलेमतोमा मूल्य तोक्ने, निष्कासन कम्पनीसँग मिलेमतो गर्ने, आवेदनको गोप्य मूल्य पहिले चुहाउने र उक्साउने जस्ता कार्यले अधिक मूल्य तोकिने विकृति देखिन सक्छन् ।

कतै यो विकृति रिलायन्स स्पिनिङ मिल्समा भित्रिएको पो हो कि भन्ने शंका बढेको छ । किनकि, संस्थागत लगानीकर्ताले हालेको शिलबन्दी आवेदन अनुसार अधिकतम मूल्य ९ सय १२ रुपैयाँ नै ‘कटअफ प्राइस’ हुन गयो ।

एउटा संस्थाले संस्थागतलाई निष्कासित कुल सेयरमा २० प्रतिशतभन्दा बढी सेयरका लागि आवेदन दिन पाउँदैन । अर्थात्, कम्तीमा ५ संस्थाको मिलेमतो भए मात्रै अधिक मूल्य तोकिन सक्छ ।

रिलायन्स स्पिनिङमा १८ कम्पनीले उच्च रकम ९ सय १२ रुपैयाँमा आवेदन दिए । प्रभु क्यापिटल र नेसनल फन्ड म्यानेजमेन्ट कम्पनीले सबैभन्दा धेरै १ लाख १ हजार कित्ताका दरले यस कम्पनीको सेयर ९ सय १२ रुपैयाँमा खरिद गरेका छन् ।

संस्थागत लगानीकर्ताले हालेको मूल्यको भारी सर्वसाधारण लगानीकर्तामा पनि पर्न गयो । किनकि, संस्थागत लगानीकर्तालाई बाँडफाँटमा निर्धारण भएको कटअफ प्राइसको १० प्रतिशत सस्तोमा सर्वसाधारणलाई आईपीओ जारी गर्न सक्ने व्यवस्था छ । कटअफ प्राइस नै महँगो भएपछि सर्वसाधारणलाई यसको मूल्य ८२० रुपैयाँ ८० पैसा पर्न गयो ।

के गर्दैछ कम्पनीले आईपीओको पैसा ?

योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ६० हजार ६ सय ४० कित्ता र सर्वसाधारण (उद्योग प्रभावित, कर्मचारी समेतलाई) ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर जारी गर्ने छ ।

कम्पनीले निष्कासन गर्ने आईपीओको रकमबाट आव २०८२/८३ भित्र उद्योगको प्रस्तावित परियोजना (युनिट सी) को क्षमता विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त नयाँ परियोजनाका लागि कम्पनीले जग्गा खरिद प्रक्रिया सकेको जनाएको छ ।

उद्योगको उत्पादन क्षमता हाल प्रतिदिन १ सय ३६ टन रहेकोमा यसलाई बढाएर १ सय ८२ टन पु¥याउने योजना कम्पनीको छ । एसिया, युरोप तथा अफ्रिकी देशमा बजार सम्भावना पहिचान गर्न अवलोकन भ्रमण गर्ने, अन्तक्र्रिया गरी सम्भाव्यता अध्ययन पनि हुने कम्पनीले जनाएको छ ।

कम्पनीको पूँजी संरचना तथा सञ्चालक

योग्य संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई पनि सेयर जारी गरेपछि चुक्ता पूँजी १ अर्ब ९० करोड पुग्छ ।  जसमा संस्थापक सेयर ८९.८६ प्रतिशत, योग्य संस्थागत लगानीकर्ताको ४.०५६ प्रतिशत र सर्वसाधारणको ६.०८४ (कर्मचारी र वैदेशिक रोजगारमा रहेका सहित) प्रतिशत हुन्छ ।

संस्थापक सेयरमा सबैभन्दा धेरै हिस्सा शशिकान्त अग्रवालको छ । उनले कुल सेयरमा ४४.९३ प्रतिशत होल्ड गर्छन् । त्यस्तै अक्षय गोल्यानको २२.९८ प्रतिशत र पवनकुमार गोल्यानको २१.९८ प्रतिशत सेयर हिस्सा छ ।

रिलायन्स स्पिनिङ : महँगो मूल्य, शंकास्पद वित्तीय विवरण

कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् भने अक्षय गोल्यान र शशिकान्त अग्रवाल सञ्चालक हुन् । कम्पनीका अनुसार सर्वसाधारणमा धितोपत्र बाँडफाँटपछि ती सेयरधनी समेतको उपस्थितिमा सम्पन्न हुने साधारण सभामार्फत थप सञ्चालक चयन हुनेछन् । जसमा सर्वसाधारण सेयरधनीका तर्फबाट समेत प्रतिनिधित्व हुनेछ । सञ्चालकहरूको कार्यकाल चार वर्षको हुन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School