रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि


नेपाल रिपब्लिक मिडिया लिमिटेडको खुद नाफा सतप्रतिशत वृद्धि भएको छ। मिडियाको चौथो वार्षिक साधारणसभाको अवसरमा सो जानकारी गराइएको हो।

संस्थाको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सतप्रतिशत वृद्धि भएको जानकारी कम्पनीकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले दिइन्। कम्पनीको आव २०८०/८१को वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा यस वर्ष सञ्चालन खर्च २७.३२ प्रतिशतले घटेको छ।

 यसैगरी वितरण खर्च ३४.७४ प्रतिशतले घटेको छ भने ब्याज तथा वित्तीय खर्च ४०.५८ प्रतिशतले घटेको छ। व्यावसायिक तथा आर्थिक गतिविधि सुधारोन्मुख रहेको जानकारी कम्पनीका अध्यक्ष विनोदराज ज्ञवालीले दिए। साधारणसभाको अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालक, प्रबन्ध निर्देशक, सेयरधनीहरूले राखेको धारणाको सम्पादित अंश।

मुनाफा आउँछ, ढुक्क हुनुहोस् 

विनोदराज ज्ञवाली, अध्यक्ष, नेपाल रिपब्लिक मिडिया।

सर्वसाधारणको स्वामित्वमा रहेको नेपालकै पहिलो मिडिया कम्पनीको अध्यक्ष हुन पाउँदा गौरव महसुस गरेको छु। कम्पनीका परम्परागत संरचनामा व्यापक परिवर्तन र समयको मागसँगै डिजिटल माध्यममा लगानी गर्न सुरु गरेका छौं। यसले भविष्यमा अवश्य पनि आर्थिक रूपमा सवल बनाउनुका साथै व्यावसायिक रूपमा स्थापित गर्दै लैजाने विश्वास दिलाउन चाहन्छौं।

नेपाली मिडिया उद्योगको लागि यस मिडियाले थप मार्गनिर्देशन गर्नेमा विश्वास र भरोसा दिलाउन चाहन्छौं। सञ्चालक समितिलाई पारदर्शी बनाउन सबै सञ्चालक प्रतिवद्ध रहेका छौं। यस कम्पनीको आर्थिक वर्ष २०८०/८१को आर्थिक तथा व्यावसायिक गतिविधि सुधार हुँदै गएको छ। व्यावसायिक तथा आर्थिक उपलब्धि हासिल गर्न हाम्रा प्रकाशनलाई जिम्मेवार बनाउँदै आएका छौं । यो निरन्तर प्रक्रियामा रहेको छ। यस कम्पनीले नेपालको वित्तीय प्रतिवेदन मापदण्ड अनुसार वित्तीय विवरण तयार गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत लेखापरीक्षकबाट पेस गरिएका प्रतिवेदन तथा प्रचलित कम्पनी ऐनले निर्दिष्ट गरेबमोजिम प्रतिवेदन तयार गरिएको छ।

हामीले लगानी गरेको यो कम्पनी कुनै व्यावसायिक कम्पनी मात्र होइन। यो कम्पनीको उद्देश्य नाफासँगै सामाजिक उत्तरदायित्व रहेको छ। हामीले प्रतिवद्धता गरे अनुसार डेबिडेन्ट आउँछ। ढुक्क हुनुहोस्। धेरै संस्थालाई माथि उठाएका छौं। तपाइँहरूको सहयोग र काम गर्ने टिमको समिश्रणबाट आर्थिक रूपमा सवल हुन कसैले रोक्दैन।

देशको परिस्थिति अनुकूल छैन तर राम्रो प्रणाली लागु होला भन्ने अपेक्षा गरौं। निराशाको होइन आशाका कुरा गरौं। परिस्थिति अनुकूल हुनासाथ घाटाबाट नाफामा जान्छ। व्यावसायिक साझेदारहरू नआत्तिनुहोस्। न्युयोर्क टाइमसँग टाइअप भएका छौं। भविष्य सुन्दर छ। सबैको साथ भयो भने आर्थिक उपलब्धि, सामाजिक प्रतिष्ठा र देशको समुन्नति हुन्छ। आर्थिक रूपमा अहिले नाफा नभए पनि सेयरको मूल्य बजारमा राम्रो छ।

सेयर सदस्यको सुझाव सकारात्मक रूपमा ग्रहण गर्छौं। यस कम्पनीमा सबैको समान अधिकार छ । एक कित्ता लिने पनि साझेदार हो। मिडिया खस्कियो भने सबैको इजजत जान्छ। सबैको सहयोग र सुझाव चाहिन्छ। चार लाख सेयर सदस्य हुनुहुन्छ। विज्ञापन ल्याउन पनि सघाउनुहोस्। चार पाँच जनालाई मात्र जिम्मा लगाएर मात्र हुँदैन। खर्च कटौती गरेका छौं। सबैको प्रयास भयो भने मुनाफा प्राप्त हुन्छ।

सञ्चारमा नवीनता ल्याउन सफल भएका छौं

रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि
समृद्धि ज्ञवाली, प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया।

हाम्रो कम्पनीको दृष्टि गुणस्तरीय पत्रकारितामा लगानी गर्ने हो। हामीले १४ वर्षदेखि यही कुरालाई प्राथमिकतामा राखेका छौं। रिपब्लिक मिडिया पत्रकारिताको उच्चतम गुणस्तर कायम गर्न र सञ्चार उद्योगमा नवीनता ल्याउन सफल हुनुका साथै सञ्चार क्षेत्रमा मार्केट लिडरका रूपमा स्थापित हुन सकेकोमा गर्व महसुस गरेका छौं। हरेक कार्यमा उच्चतम विश्वसनीयता र पारदर्शीता कायम गर्न प्रतिवद्ध छौं।

अब हामीले १७ देखि ३५ वर्ष उमेर समूहलाई लक्षित गरेर अघि बढ्नुपर्ने छ। यो कम्पनीका लागि चुनौती पनि हो त्यसैले यसै वर्षदेखि युवा लक्षित विषयलाई प्राथमिकतामा राखेका छौं। माइरिपब्लिककाको नयाँ वेभसाइट लन्च गरेका छौं। डिजिटल कन्टेट फ्रिमा पढ्न पाइँदैन। केही रकम तिर्नुपर्छ। आफ्नो कन्टेन्टका लागि केही तिर्नुपर्छ। हामीले सब्सक्रिप्सन र पेवाल मोडल कार्यान्वयनमा ल्याएका छौं। हामीले विश्वको नम्बर एक डिजिटल मिडिया न्युयोर्क टाइम्ससँग साझेदारी गरेका छौं।

नेपालको मिडियामा नयाँ बेन्चमार्क स्थापित गरेका छौं। अब आम्दानी विज्ञापनबाट मात्र होइन ‘डिजिटल सब्सक्रिप्सन’बाट पनि गर्नुपर्छ भनेर अगाडि बढेका छौं। सबैले नयाँ नेपाल, आर्थिक वृद्धि, उन्नतिको कुरा गरिरहेका छन्। यो पनि हाम्रो दायित्व हो।

नेपालको आर्थिक वृद्धिलाई अर्को तहमा लैजान स्वदेशी लगानीसँगै विदेशी लगानी आवश्यक छ। विदेशी लगानी ल्याउन पनि पहल सुरु भएको छ। नेपालको क्रेडिट रेटिङ भएको छ । डबल बी माइनस रेटिङ भएको छ। मुलुकमा विदेशी लगानी आयो र आर्थिक वृद्धि भयो भने त्यसको सकरात्मक प्रभाव मिडियामा पनि पर्छ। क्लाइमेट चेन्जमा विकसित मुलुकले दिने ग्रिन फाइनान्सबाट आउने रकमलाई सही सदुपयोग गर्नका लागि पनि हामीले प्रोत्साहित गर्नुपर्छ।

सेयर सदस्यको सुझावले कम्पनी चलाउछौं। प्रिन्टको विज्ञापन घटेको छ। डिजिटलबाट रेभिन्यू कसरी ल्याउने भन्नेमा लागेका छौं। डिजिकल सब्सक्रिप्सन मोडलमा लागेका छौं। एक करोडले सेल्स बढेको छ। सिएसआरमा लगानी गर्नुपर्छ भन्ने कुरा आएको छ। युवाको शिक्षामा लगानी गरेका छौंं।

युवा विद्यार्थीलाई सब्सक्रिप्सनमा छुट दिएका छौं। विज्ञापन कम छापे पनि रेभिन्यू बढेको छ। सब्सक्रिप्सनबाट पनि रेभिन्यू बढाउने काममा लागेका छौं। कम्पनीको खुद मुनाफा गत वर्षको तुलनामा यो वर्ष एक सय प्रतिशतले वृद्धि भएको छ। कम्पनीको आव २०८०/८१ को वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा यस वर्ष सञ्चालन खर्च २७.३२ प्रतिशतले घटेको छ। यसैगरी वितरण खर्च ३४.७४ प्रतिशतले घटेको छ भने ब्याज तथा वित्तीय खर्च ४०.५८ प्रतिशतले घटेको छ।

मिडियामा जनताको भरोसा छ

रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि
शोभा ज्ञवाली, सञ्चालक, नेपाल रिपब्लिक मिडिया।

व्यावसायिक पत्रकारिताको लामो अनुभव सँगालेका निजीक्षेत्रको व्यवस्थापकीय समूहबाट यो मिडिया सञ्चालित छ। यो मिडियामा जनताको भरोसा छ। हामीले विश्वसनीय रूपमा मिडिया सञ्चालन गरेका छौं। नेपाल रिपब्लिक मिडियाले सार्वजनिक रूपमा सेयर निस्कासन गरेदेखि लाखौं नागरिक सदस्य भएका छन्। यसले थप जिम्मेवार मिडिया बन्न प्रेरित गरेको छ।

 समयअनुसार पाठकको रुचि परिवर्तन भएको छ। यस परिस्थितिलाई नजिकबाट नियालेका छौं । यसै अनुरूप पाठकको रुचि अनुसार सूचना पस्केका छौं। हामीले सुरुदेखि नै सत्यतथ्य सूचनामार्फत नेपाली जनातालाई सुसूचित गर्न अग्रणी भूमिका निवार्ह गर्दै आएका छौं।

यस मिडियाले गुणस्तरमा सम्झौता नगरी पारदर्शी हुने नीति लिएको छ। सर्वसाधारणको अगाध माया र विश्वासले अघि बढ्न प्रेरित गरेको छ। हामीले उठाएका कतिपय विषय नीति निर्माणदेखि व्यवस्था परिवर्तन सम्मका अनेक तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो हामीलाई गौरवको विषय हो।

आधुनिक समाजमा डिजिटल प्रविधिप्रति लगाब बढ्दै गएको छ। हामी पनि लगानीलाई डिजिटल प्रविधितर्फ बढाएका छौं। नागरिकको हातहातमा समाचारको पहुँच पुगेको छ। दिनानुदिन बढ्दो प्रविधिको विकासका कारण आमनागरिकले सूचना र समाचारलाई सही र गलत छुट्याउने हैसियत बनाइसकेका छन्। हाम्रा प्रिन्ट तथा अनलाइन माध्यमहरूलाई अझै स्तरीय बनाउने उद्देश्यका साथ प्रविधिमैत्री बनाउँदै आएका छौं।

जनताको सूचनाको अधिकारलाई अन्तर्राष्ट्रिय पहुँच स्थापित गर्ने सिलसिलामा हामी अगाडि बढेका छौं। हाम्रो मिडियालाई आर्थिक रूपमा समेत बलियो बनाउँदै जाने कुरमा विश्वस्त पार्न चाहन्छौं। आगामी दिनमा यस मिडियाले प्रगति गर्दै जाने कुरा म सञ्चालकका हैसियतले विश्वस्त हुन आग्रह गर्दै यस सञ्चार गृहलाई अगाडि लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।

जनता मिडियाको मालिक

-शत्रुधन श्रेष्ठ, सेयर सदस्य

सञ्चार माध्यममा नेपाली जनतालाई मालिक बनाउने पहिलो मिडिया नै रिपब्लिक मिडिया हो। ‘रिपब्लिक मिडियाकै पहलले पहिलो पटक नेपाली जनता मिडियाको मालिक भएका छन्। यो एकदमै सराहनीय कदम हो, यसले हामीलाई खुसी बनाएको छ।

बहुदलीय प्रजातन्त्र पुनः प्राप्तिपछि मुलुकमा भएको विकृति, विसंगति र भ्रष्टाचारलाई नेपाल रिपब्लिक मिडियाले उठान गरेको छ। मुलुकमा सुशासन र कानुनको पालन गर्न वकालत गरेको छ । साथै नागरिकलाई सुसूचित गराइ चेतनशील समाजको निर्माण गर्न सघाएको छ।  

पछिल्लो समय रिपब्लिक मिडियाले नेपालको डिजिटल परिदृश्यमा नयाँ आयम थपेको छ। यस्तै अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ सँगको लामो समयदेखिको साझेदारीले नेपाल रिपब्लिक मिडियालाई थप उचाइमा पुर्‍याएको र विश्वभरका मानिसले रिपब्लिक मिडियाबाट प्रकाशित/प्रसारित समाचारबाट विश्वभरका सूचना उपलब्ध गराइहेको छ। यो एकदमै सराहनीय काम हो।

रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि

विभिन्न आरोह अवरोहबीच रिपब्लिक मिडिया कम्पनी सहकार्यका माध्यमबाट अघि बढिरहेको छ। रिपब्लिक मिडियाले सदैब अटल, सक्षम र उत्कृष्ट कम्पनीको रूपमा कार्य गर्दै आएकोमा भविष्यमा पनि सोही रूपले निरन्तर अगाडि बढ्ने अपेक्षा छ।

खर्च कटौती हुनु राम्रो

-निरूपमा गुप्ता, सेयर सदस्य

कम्पनीको अर्गानिक ग्रोथसँगै लगानीकर्ताको आशा अपेक्षा यससँग अझै जोडिएको छ। रिपब्लिक मिडियाको ‘पर्फर्मेन्स भ्यालू’ राम्रै छ। पर्फर्मेन्स भ्यालु २०८०/८१ मा आइपुग्दा इपिएस ३९ छ जुन राम्रै हो। यो फस्र्ट क्वाटरमा कम्पनीले राम्रै प्रगति गरेको छ। बेस भ्यालु घटेको अवस्थामा भने यसतर्फ कम्पनीले ध्यान दिनुपर्ने हुन्छ।

कम्पनीले लगानीकर्तालाई राम्रै लाभांश उपलब्ध गराउनेमा हामी विश्वस्त छौं। यसका साथै कम्पनीले सामाजिक उत्तरदायित्व रकमलाई सकेसम्म छिट्टै छुट्याई निर्धन र अशक्तको शिक्षामा सहयोग गर्नुपर्छ । यस्तै प्रशासनिक खर्चमा गत वर्षभन्दा यस वर्ष कटौती हुनु कम्पनीको लागि राम्रो हो। अनावश्यक खर्च भविष्यमा थप पहिचान गर्दै कटौती गर्दै लानुपर्छ।

नागरिकले भरोसा गर्ने मिडिया

-गोविन्द केसी, सेयर सदस्य

२०४७ सालको परिवर्तनपछि नेपालमा सशक्त निजी सञ्चारगृहको रूपमा स्थापना भएको रिपब्लिक मिडिया समयानुसार परिष्कृत हुँदै गएको छ। यसले व्यक्तिगत र संस्थागत स्वार्थभन्दा माथि उठेर नागरिकलाई सुसूचित गर्दै लानुपर्छ। नागरिकले आजको दिनमा सबैभन्दा भरोसा गर्ने सञ्चार संस्था नै रिपब्लिक मिडिया भएको छ।

कम्पनीले सम्पादकीय स्वतन्त्रता र नवीनतम विश्व प्रविधिलाई आत्मसात गरेर नयाँ नयाँ सामग्री जनतालाई दिन सक्नुपर्छ। ‘अन्तर्राष्ट्रिय स्तरमा पनि भरोसायुक्त मिडिया कम्पनी रिपब्ल्कि मिडिया नै हो जस्तो लाग्छ। नवीनतम विश्व प्रविधिलाई पछ्याउँदै सञ्चारमाध्यममार्फत पाठकको चाहनानुसार सामग्री पस्किँदै जानुपर्छ, सधै नयाँ सामग्री पस्कनुपर्छ।

नवीनतम सोच र तीव्र रूपमा विकास भइरहेको विश्व प्रविधिलाई पनि रिपब्लिकाले सधैं आत्मसात गर्दै व्यावसायिक पत्रकारिता गर्नु आजको आवश्यकता हो। देशमा रोजगारीको अभाव र युवाहरू दिनदिनै विदेश गइरहेको अवस्थामा यस कम्पनीमा युवा नेतृत्वकर्ता हुनु एकदमै राम्रो पक्ष हो।

रिपब्लिक मिडिया विश्वसनीय र पारदर्शितामा सधै सजग रहनुपर्छ। निष्पक्ष समाचार र विचार प्रवाह गरेर नागरिकको सेवा गर्नुपर्छ। बोर्ड, व्यवस्थापन र कर्मचारीबीचको सुमधुर सम्बन्धले मात्र कम्पनी सफल हुन्छ।

कर्मचारीको आर्थिक विकासको लागि पनि कम्पनी जिम्मेवारी हुनुपर्छ। सबैको मुखमा रिपब्लिक मिडियाको कुरा गर्ने बनाउनुपर्छ साथै कर्मचारीको वृत्ति विकासको पक्ष पनि उत्तिकै महŒवपूर्ण छ।सेयरधनीको मुख्य उद्देश्य भनेकै नाफा कमाउनु हो भन्ने कुरा अकाट्य छ। कम्पनीलाई सबैको सहकार्यमा विस्तारै नाफामा लानुपर्छ।

कम्पनी प्रगतितर्फ उन्मुख

-इन्द्रबहादुर लामिछाने, सेयर सदस्य

अरू मिडियालाई हामीले ढुक्कसाथ मेरो भन्न नसकेको अवस्थामा रिपब्लिक मिडियालाई मेरो हो भन्न सक्छौं। यस्तै कम्पनीले सेयर जारी गरेपछि प्रगतितर्फ नै उन्मूख भएको देखिन्छ। सेयरधनीले कम्पनीबाट तत्कालै प्रतिफल पाइएन भनेर आलोचना गरिहाल्ने भन्दा पनि प्रतिफलको आशा निकट भविष्यमै हुने अपेक्षा गरेका छाैं।

आर्थिक अवस्थामा सुदृढीकरण भएसँगै प्रतिफल पाइन्छ भन्ने लाग्छ। हामीलाई विश्वास छ कम्पनीले सोही अनुरूप योजनासहित काम गरिरहेको छ।

अहिले प्रविधिको युग हो, डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न कम्पनीलाई आग्रह गर्छु। सत्य, तथ्य सूचना सम्प्रेषण गरी रिपब्लिक मिडियाको गरिमा थप उच्च राख्दै काम गर्न आग्रह गर्छु।

जनतालाई सुसूचित गराएको छ

-जगन्नाथ आचार्य, सेयर सदस्य

व्यवस्थापकीय नेतृत्व महिलाद्वारा भएको रिपब्लिक मिडियासँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस गर्छु। नागरिकको लागि सेयर जारी गरेर नेपालको पहिलो पब्लिक सञ्चार कम्पनीले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार हिसाब प्रस्तुत गरेकोमा एकदमै खुसी लागेको छ। कम्पनीको इपिएस गत वर्षभन्दा ०.१० पैसा बढ्नु, नेट प्रफिटमा लगभग ९९ प्रतिशत वृद्धि हुनुलाई उपलब्धिमूलक नै मान्नुपर्छ।

आधुनिक समाजमा छापासँगै डिजिटल पत्रिकाको पनि महत्त्व हुन्छ। यसलाई पनि विचार गर्नुहोला। यस्तै नेपाली, अंग्रेजी पत्रिका र अनलाइन संस्करणले जनतालाई सुसूचित गराउँदै आएकोमा एकदमै सराहना गर्छु। यस्तै संस्थागत सुशासनको कुरा गर्दा कम्पनीको सुशासन कायम गर्न सञ्चालकलाई आग्रह गर्दछु । इमान्दारिता, पारदर्शिता र निष्पक्षतापूर्वक पत्रकारिता गर्न कम्पनीलाई आग्रह गर्छु। कम्पनीले अर्को वर्ष सेयरधनीलाई आकर्षित गर्ने खालको बोनस प्रस्तावसमेत ल्याउने विश्वास पनि हामी सेयरधनीले गरिरहेको तर्फ ध्यानाकर्षण गराउँछु।

सत्यतथ्य समाचारमा अडिग

-सुदिप श्रेष्ठ, सेयर सदस्य

गत आवभन्दा यस आवमा यो संस्थाको सूचक अलि नकारात्मक देखिए पनि कम्पनीले डिजिटल मिडियाको अवधारणालाई आत्मसात गरेकोमा एकदमै खुसी लागेको छ।

आजको प्रतिस्पर्धात्मक समयमा विविध समस्या र चुनौतीका बाबजुद कम्पनीले निरन्तर काम गरिरहेको कुरा एकदमै राम्रो छ।

सरकारी र गैरसरकारी तवरबाट विज्ञापनको व्यापक कटौतीले आजको दिनमा सञ्चार माध्यम सञ्चालन गर्न अनेक चुनौती आए पनि सत्य तथ्य समाचार सम्प्रेणमा अडिग देखिएको। मिडिया कम्पनीले स्वदेशभित्र स्तरीय पत्रपत्रिका छपाइ गर्ने त्यसको बिजनेस प्रबद्र्धन गर्ने र बजारशास्त्र अनुसार प्रबद्र्धन गरी कम्पनीलाई थप प्रभावकारी बनाउन कम्पनीले सोच्नु आवश्यक छ। यसै क्रममा रिपब्लिक मिडियाले न्युयोर्क टाइम्सको पूरा सब्सक्रिप्सन गराउने उद्देश्यले डिजिटल प्रविधिमा समाचार सम्प्रेण गर्न लागिरहेकोमा एकदमै प्रभावित भएको छु र यस कामको सराहना पनि गर्छु।

लेखापरीक्षण चुस्त हुनुपर्छ

-चन्द्रनारायण श्रेष्ठ, सेयर सदस्य

सेयरहोल्डरका रूपमा लगानीकर्ता हुँदै मुनाफा र बोनसमा हिस्सेदार हुन आन्तरिक लेखापरीक्षण चुस्त दुरूस्त हुनुपर्छ। साथै रेभिन्यु, कस्ट अफिसियल, टोटल इनकम र टोटल फाइनान्सियल कस्टजस्ता सबै फायनान्सियल इन्डीकेटर थाहा पाउन पाँच वर्षको विवरण माग गर्छु।

डिजिटल प्रविधिमा लगानी

-ब्रह्मदेव शाक्य, सेयर सदस्य

सञ्चार माध्यममा सर्वसाधारणलाई लगानी गर्न मौका दिने पहिलो सञ्चार संस्था नेपाल रिपब्लिक हो। अहिलेको पत्रकार र सञ्चार माध्यमको सवालमा जनमानसमा परेको नकारात्मक पक्षलाई रिपब्लिक मिडियाले तोड्न सक्नुपर्छ। यस्तै कम्पनीले मिसन पत्रकारितालाई रोक्ने काम गर्नुपर्छ र सत्य, तथ्य स्वच्छ र पारदर्शी पत्रकारितालाई निरन्तता दिनुपर्छ। यस्तै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन यर्थाथपरक लाग्यो।

आर्थिक २०८०/८१ को आर्थिक गतिविधि सुधारोन्मुख र सन्तोषजनक नै पाए। यस्तै कम्पनीले डिजिटल प्रविधिमा लगानी बढाइ अनलाइनलाई फोकस गर्ने काम गर्नुलाई समयसापेक्ष मान्नुपर्छ। साथै माइरिपब्लिकाको डिजिटल सब्सक्राइब गर्दा द न्यूयोर्क टाइम्सको पहुँच स्थापित गराउने कार्य एकदमै सराहनीय छ।

नयाँ ढंगले सञ्चालन गर्नुपर्छ

-नवराज जोशी, सेयर सदस्य

यो सञ्चार गृह मिडियाको राम्रो छवि कायम गर्न सफल होस्। कम्पनीलाई विश्वसनीय ढंगले अघि बढाउनुहोला। कम्पनीको आइपिओ उत्साह साथ भरेको थिएँ। सेयरधनीले डेबिडेन्ट चाहन्छ। खर्च घटाएर आम्दानी बढाउनु पर्छ। धेरै पत्रिका छन्। नयाँ ढंगले पत्रिका सञ्चालन गर्नुपर्छ। मोबाइलमा पत्रिका पढ्ने कम भएका छन्। दीगो ढंगले कम्पनीलाई अघि बढाउनुपर्छ।

प्रकाशित: ११ मंसिर २०८१ ०५:५७ मंगलबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School