३० फागुन, काठमाडौं । निर्वाचन क्षेत्रबाट उम्मेदवारले धेरै मत पाउँछ कि पार्टीले ? यसको यकिन जवाफ छैन । २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मत एकनाशको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत कम छ ।
१२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ ।
राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा ३ लाख ६९५ पुग्छ । जबकि समानुपातिकतर्फ पाएको मत ३ लाख ८५ हजार ९०२ छ ।
एउटा सिट जितेको राप्रपाको प्रत्यक्षतर्फ १६३ क्षेत्रमा उम्मेदवार थिए । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख ७ हजार ६८ मत पुग्दछ । समानुपातिकतर्फ भने राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको छ ।
कांग्रेस–एमाले–नेकपालाई प्रत्यक्षमा भन्दा समानुपातिक कम
प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । सबै क्षेत्रका उम्मेदवारले प्राप्त गरेको मत १८ लाख ९३ हजार ४५३ छ ।
कांग्रेसबाट उठेका उम्मेदवारहरूले पाएको कुल मत भन्दा पार्टीले पाएको समानुपातिकतर्फको मत कम छ । समानुपातीकमा कांग्रेसले पाएको मत १७ लाख ५९ हजार १७२ छ ।
सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति गगन थापाले २२ हजार ८३१ मत पाएका थिए । यो क्षेत्रबाट कांग्रेसले जम्मा १८ हजार ८१ भोट ल्यायो ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा १८ हजार ७३४ मत पाए । झापा–५ मा एमालेले समाुनपातिक मत १७ हजार ६२३ मत पायो ।
९ क्षेत्रमा जितेको एमालेको १६४ क्षेत्रमा उम्मेदवार थिए । उनीहरूले प्रत्यक्षतर्फ पाएको मत १५ लाख ९२ हजार ६६४ छ । पार्टीले देशभरीबाट पाएको समानुपातिक मत १४ लाख ५५ हजार ८८५ छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ क्षेत्रमा उम्मेदवार उठाएको थियो । ती उम्मेदवारले प्रत्यक्षतर्फ ९ लाख ५६ हजार ९३९ मत ल्याए । जबकी पार्टीले पाएको समानुपातिक मत ८ लाख ११ हजार ५७७ छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट चुनाव लडेका थिए । १० हजार २४० मत ल्याएर उनी विजयी भए । तर, यो क्षेत्रबाट उनी नेतृत्वको पार्टीलाई समानुपातिकतर्फ ९ हजार ४४३ मत प्राप्त गर्यो । प्रत्यक्षमा नेकपाले आठ स्थानमा जितेको छ ।
कोशीमा रास्वपा एकातिर, बाँकी सबै अर्कोतिर
कोशी प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ दलहरूले पाएको मत हेर्दा एकातिर रास्वपा छ भने बाँकी सबै अर्कोतिर रहेका छन् ।
प्रत्यक्ष र समानुपातिक मत
रास्वपा : ७९६०२७ / ८,५३,१८३
श्रम संस्कृति २,६०२५५ / २,९२,०४९
कांग्रेस ३,६०,८०९ / २,९०,५६२
एमाले ३,२१,७१७ / २,८८,१८६
नेकपा १,२०७५९ / ९७,६७९
राप्रपा ४२,३३९ / ६२,८९९
कोशी प्रदेशका २८ क्षेत्रमध्ये १७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । बाँकी दुई क्षेत्रमा दोस्रो, एउटा क्षेत्रमा तेस्रो, पाँच क्षेत्रमा चौथो र तीन वटा क्षेत्रमा पाचौं भएका छन् ।
यो प्रदेशमा रास्वपाले समानुपातिकतर्फ ८ लाख ५३ हजार १८६ मत पाएको छ । कोशी प्रदेशमा रास्वपाका उम्मेदवारहरूले पाएको कूल मत ७ लाख ९६ हजार २७ रहेको छ ।
दोस्रोमा श्रम संस्कृति पार्टी छ । श्रसंपाले समानुपातिकतर्फ २ लाख ९२ हजार ४९ मत पाएको छ ।
कोशी प्रदेशमा कांग्रेसले समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ पाएको छ । तर, कोशी प्रदेशभर कांग्रेसका प्रत्यक्ष तर्फका सबै २८ जना उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत जोड्दा ३ लाख ६० हजार ८०९ पुग्छ ।
एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । कोशी प्रदेशबाट एमालेले समानुपातिकतर्फ २ लाख ८८ हजार १८६ मत पाएको छ । यो प्रदेशका सबै क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ल्याएको मत जोड्दा ३ लाख २१ हजार ७१७ पुग्छ ।
नेकपाले कोशी प्रदेशबाट समानुपातिकतर्फ ९७ हजार ६७९ र राप्रपाले ६२ हजार ८९९ मत पाएका छन् ।
मधेशमा मिश्रित परिणाम
मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ३० क्षेत्रमा जीत हासिल गरेको छ । धनुषा–१ मा रास्वपाबाट उठेका किशोरी साहको उम्मेदवारी बैंकको कालो सूचीमा परेको भन्दै निर्वाचन आयोगले खारेज गरेको छ । यो विषयमा अदालतमा मुद्दा परेको छ ।
रौतहट–२ मा कांग्रेसका फिरदोश आलमले जिते । मधेशका बाँकी सबै क्षेत्र रास्वपाले जित्यो ।
प्रत्यक्ष समानुपातिक
रास्वपा १०,६५,९७८/ १३,००,४६८
कांग्रेस २,३७,७८८ / २,८७, ३२३
एमाले २,२२,७१३ / १,८७, ९०१
नेकपा १,५२,४९७ / १,०७,६१२
राप्रपा १५,६२२ / ३५,४६२
श्रम संस्कृति ४,०१६ / ९,८५४
मधेशमा रास्वपाका सबै उम्मेदवारको मत १० लाख ६५ हजार ९७८ छ । समानुपातिक तर्फ रास्वपाले पाएको मत यो भन्दा बढी छ । निर्वाचन आयोगका अनुसार मधेशा रास्वपाले समानुपातिकमा १३ लाख ४६८ मत पाएको छ ।
एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत पायो । तर, मधेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ ।
मधेशमा प्रत्यक्षतर्फ एउटा क्षेत्रमा पनि जीत निकाल्न नसकेको एमाले क्षेत्रमा दोस्रो, १४ क्षेत्रमा तेस्रो, ९ क्षेत्रमा चौथो, दुई क्षेत्रमा पाचौं र तीन क्षेत्रमा सातौं भएको छ । यी सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख २२ हजार ७१३ पुग्दछ ।
कांग्रेसले भने प्रत्यक्षमा भन्दा समानुपातिक मत नै धेरै पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरूले पाएको मत जोड्दा २ लाख ३७ हजार ७८८ पुग्छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ भने २ लाख ८७ हजार ३२३ मत पाएको छ ।
नेकपाले मधेशबाट समानुपातिकतर्फ १ लाख ७ हजार ६१२ मत पाएको छ । यो पार्टीबाट मधेशका उम्मेदवारहरूले पाएको मत जोड्दा १ लाख ५२ हजार ४९७ पुग्छ ।
मधेशबाट राप्रपाले समानुपाकिमा ३५ हजार ४६२ र प्रत्यक्षमा १५ हजार ६२२ मत पाएको छ ।
श्रम संस्कृति पार्टीको समानुपातिकमा ९ हजार ८५४ र प्रत्यक्ष मत ४ हजार १६ छ ।
बागमती, गण्डकी र लुम्बनीमा दल अनुसार फरक
रास्वपाले बागमती प्रदेशका ३३ वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे ।
प्रत्यक्ष समानुपातिक
रास्वपा ९,६०,३११ / ११,१९,२७०
कांग्रेस ३,६७,४९१ / ३,२१,१०६
एमाले २,८८,८६३ / २,६१,८९७
नेकपा २,३२,७९३ / १,८८,१८२
राप्रपा ४९,८४० / ७६,५२१
श्रम संस्कृति १९,७०० / ३१,४९३
रास्वपाबाट बागमतीमा उम्मेदवारी दिएका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो । समानुपातिकतर्फ रास्वपाले यो प्रदेशबाट ११ लाख १९ हजार २७० मत पाएको छ ।
बागमती कांग्रेस र एमालेको अवस्था रास्वपाको जस्तो छैन । कांग्रेसका प्रत्यक्षका उम्मेदवारहरू ३ लाख ६७ हजार ४९१ मत ल्याए । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत ३ लाख २१ हजार १०६ छ ।
एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिक तर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ ।
यसैगरी, १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा पनि रास्वपा नै प्रभावी छ । १८ मध्ये १५ क्षेत्रमा जीत हासिल गरेको गण्डकी प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ ५ लाख २५ हजार ६३५ मत पाएको । प्रत्यक्षतर्फ भने रास्वपाका उम्मेदवारले पाएको कुल मत ४ लाख ७९ हजार ८७५ रहेको छ ।
प्रत्यक्ष समानुपातिक
रास्वपा ४,७९,८७५ / ५,२५,६३५
कांग्रेस २,२७,०२४ / २,०७,३८७
एमाले १,६४,१२३ / १,५२,५८७
नेकपा ५९,७०८ / ५७,८७६
राप्रपा १२,७२४ / २३,५५६
श्रम संस्कृति ७,५५९ / १८,९९५
यो प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ २ लाख २७ हजार २४ मत पाएको छ भने समानुपातिकतर्फ २ लाख ७ हजार ३८७ पाएको छ ।
तेस्रोमा एमाले छ । एमालेका उम्मेदवारहरूले प्रत्यक्षतर्फ १ लाख ६४ हजार १२३ मत ल्याउँदा पार्टीले समानुपातिकतर्फ १ लाख ५२ हजार ५८७ मत प्राप्त गर्यो ।
नेकपाका उम्मेदवारले प्रत्यक्षतर्फ ५९ हजार ७०८ मत ल्याए । पार्टीले समानुपातिकतर्फ ५७ हजार ८७६ मत प्राप्त गर्यो ।
राप्रपाका उम्मेदवारले प्रत्यक्षतर्फ १२ हजार ७२४ मत पाउँदा पार्टीले समानुपातिकतर्फ २३ हजार ५५६ मत प्राप्त गर्यो । श्रसंपाका उम्मेदवारको प्रत्यक्षतर्फको मत ७ हजार ५५९ मत छ । यो पार्टीले समानुपातिकमा १८ हजार ९९५ मत पायो ।
लुम्बिनी प्रदेशमा पनि रास्वपा, राप्रपा र श्रसंपाको प्रत्यक्षतर्फ उम्मेदवारले भन्दा समानुपातिक तर्फको मत बढी रहेको छ ।
२६ क्षेत्र रहेको यो प्रदेशमा रास्वपाले प्रत्यक्षतर्फ २१ सिट जितेको छ । जितेका र हारेका रास्वपाका उम्मेदवारहरूले ल्याएको मत जोड्दा ८ लाख ५९ हजार ७५९ पुग्छ । यहाँबाट रास्वपाले समानुपातिकतर्फ भने ९ लाख ३३ हजार ३५२ मत प्राप्त गर्यो ।
प्रत्यक्ष समानुपातिक
रास्वपा ८,५९,७५९ / ९,३३,३५२
कांग्रेस ३,५६,४०४ / ३,२८,७१९
एमाले ३,३१०७७ / २,९६,५४२
नेकपा १,६४,८९७ / १,५५,२४२
राप्रपा ४३,६०६ / ८०,०४८
श्रम संस्कृति ४,८७९ / २३,५०३
लुम्बिनीमा राप्रपाका उम्मेदवारले ४३ हजार ६०६ मत पाउँदा पार्टीले समानुपातिकतर्फ झण्डै दोब्बर ८० हजार ४८ मत प्राप्त गरेको छ । श्रसंपाका उम्मेदवारले ४ हजार ८७९ मत प्राप्त गर्दा समानुपातिकतर्फको मत २३ हजार ५०३ रहेको छ ।
कांग्रेस र एमालेको अवस्था उस्तै छ । दोस्रोमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ ३ लाख ५६ हजार ४०४ मत पाउँदा पार्टीले समानुपातिकतर्फ ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ ।
एमालेका उम्मेदवारहरूले प्रत्यक्षतर्फ ३ लाख ३१ हजार ७७ मत पाउँदा समानुपातिकतर्फ २ लाख ९६ हजार ५४२ मत ल्याएको छ । यो प्रदेशमा नेकपाका उम्मेदवारहरूले प्रत्यक्षतर्फ १ लाख ६४ हजार ८९७ मत पाउँदा पार्टीले समानुपातिकतर्फ १ लाख ५५ हजार २४२ मत प्राप्त गर्यो ।
कर्णालीमा कांग्रेसलाई धेरै
अन्य प्रदेशहरूको भन्दा केही फरक दृश्य कर्णालीको छ । १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा कांग्रेसले धेरै मत पाएको छ ।
कांग्रेसका तर्फबाट उठेका उम्मेदवारहरूले यो प्रदेशमा ल्याएको मत १ लाख ४७ हजार ८२५ छ । तर, समानुपातिकतर्फ केही कम अर्थात् १ लाख ४१ लाख २३३ मत पाएको छ ।
प्रत्यक्ष समानुपातिक
कांग्रेस १,४७,८२५ / १,४१,२३३
नेकपा १,२१,२२९ / १,०७,१०१
एमाले १,०४,५७५ / १,२०,८६३
रास्वपा ९३,२५१ / १,३३,७४९
राप्रपा २०,६५५ / १५,७५५
श्रम संस्कृति २,४३७ / ४,६५७
कर्णालीमा समानुपातिकतर्फ कांग्रेसपछि बढी मत पाउने दल रास्वपा हो । यहाँ रास्वपाले समानुपातिकतर्फ १ लाख ३३ हजार ७४९ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ एमालेको मत १ लाख २० हजार ८६३, नेकपाको मत १ लाख ७ हजार १०१, राप्रपाको १५ हजार ७५५ र श्रम संस्कृति पार्टीको मत ४ हजार ६५७ रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा भने पपुलर मत पाउने दल रास्वपा नै हो । यो प्रदेशका १६ मध्ये १० सिटमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
यहाँ रास्वपाले समानुपातिकतर्फ ३ लाख १७ हजार ८३६ मत प्राप्त गरेको छ । तर, प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवारले ल्याएको मत जोड्दा २ लाख ७८ हजार २२० पुग्छ ।
प्रत्यक्ष समानुपातिक
रास्वपा २,७८,२२० / ३,१७,८३६
कांग्रेस १,९६,११२ / १,८२,८४२
एमाले १५९,५९६ / १,४७,९०९
नेकपा १,०५,०५६ / ९७,८८५
राप्रपा २२,२८२ / द३६,२६३
श्रम संस्कृति १,८४९ / ५,३०५
यो प्रदेशमा दोस्रोमा कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १ लाख ८२ हजार ८४२ मत प्राप्त गरेको छ भने एमालेले १ लाख ४७ हजार ९०९ मत प्राप्त गरेको छ । चौथोमा रहेको नेकपाको समानुपातिक मत ९७ हजार ८८५, राप्रपाको ३६ हजार २६३, श्रम संस्कृति पार्टीको ५ हजार ३०५ मत रहेको छ ।
‘कसैले मुद्दा हेर्छन्, कसैले व्यक्ति’
विश्लेषकहरू पार्टी र उम्मेदवार मध्ये को ? बढी लोकप्रिय छ भनेर छुट्याएर हेर्ने काम सजिलो नभएको बताउँछन् । एकातिर पार्टीले पाइरहेको भोटमा उम्मेदवारको पनि योगदान हुन्छ । अर्कोतिर उम्मेदवार जति नै लोकप्रिय भए पनि उसले पाउने भोटको निश्चित प्रतिशत पार्टीकै कारणले प्राप्त भएको हुन्छ ।
यस्तो विषयमा अनुसन्धान नगरी निश्कर्षमा पुग्न नहुने जानकारहरू बताउँछन् । विश्लेषक चन्द्रदेव भट्ट सामान्तया बलियो र प्रभावशाली उम्मेदवार हुँदा प्रत्यक्षमा भोट बढी आउने र पार्टीको मुद्दा लोकप्रिय हुँदा समानुपातिकमा धेरै मत खस्ने बताउँछन् ।
