News Summary
Generated by OK AI. Editorially reviewed.
- नयाँ प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीलाई उपसभामुख पद प्राप्त भएको छ र रुबीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित छ।
- रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेको छ जसले रुबीकुमारी ठाकुरलाई दुई तिहाइभन्दा बढी समर्थन दिलाएको छ।
- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रास्वपाको समर्थनबारे प्रश्न उठाएका छन् ।
२६ चैत, काठमाडौं । नयाँ प्रतिनिधिसभा बनेपछि रास्वपा नेतृत्वको सरकारलाई सदन र बाहिरबाट छिनछिनमा खबरदारी गर्ने व्यक्ति हुन्– हर्क साम्पाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ छिनछिनमा समाजिक सञ्जालमा प्रकट भएर सरकार र रास्वपाका कार्यशैलीमाथि प्रश्न गर्छन् । विपक्षी बेन्चमा बसेर सरकारलाई खबरदारी गर्ने साम्पाङ नेतृत्वको पार्टीलाई रास्वपाले भने उपसभामुख समर्थन गर्ने निर्णय गरेको छ ।
संसदमा पहिलोटक नयाँ शक्तिको रुपमा प्रवेश गरेको श्रम संस्कृतिलाई प्रतिनिधिसभाको उपसभामुख जस्तो विशिष्ट पद मिलेको हो ।
सात जना सांसद रहेको यो पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने करिब निश्चित छ । किनकी रास्वपाको समर्थन पाउने बित्तिकै उनको पक्षमा संसद्को दुई तिहाई भन्दा बढीको समर्थन हुन्छ ।
नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच मिलेर जान श्रमसंस्कृतिलाई समर्थन गरेरको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाबाट प्रतिनिधिसभाको सभामुख भएकाले संवैधानिक प्रावधान अनुसार अर्को दल र लिंगको व्यक्तिलाई उपसभामुख बन्नुपर्छ । त्यही आधारमा रास्वपाले श्रम संस्कृति कि राप्रपा कसलाई समर्थन गर्ने भन्ने दोहोरो छलफल चलिरहेको थियो ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले केही दिन अघि रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए । त्यसक्रममा उपसभामुखका एकअर्कालाई समर्थन गर्नेबारे कुराकानी भएको थियो । बिहीबार पनि रास्वपा सभापति लामिछानेसँग कुरा भएको र त्यसक्रममा राप्रपालाई समर्थन गर्ने आवश्वासन पाएको शाहीले ज्ञानेन्द्रबहादुर शाहीले अनलाइनखबरलाई बताएका थिए । रविसँग कुरा गरेपछि राप्रपाका नेताहरू सरस्वती लामालाई उपसभामुख बनाउने निर्णय गर्नका लागि बैठकमा गए ।
यता श्रम संस्कृति पार्टीसँग पनि रास्वपाको कुराकानी चलिरहेको थियो । रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग हर्क साम्पाङको कुरा हुने गरेको थियो । राप्रपा उता बैठक गरिरहेको बेला कविन्द्र बुर्लाकोटीसहितका रास्वपा नेताहरू श्रम संस्कृति पार्टीसँग छलफलमा थिए । उक्त छलफलमा श्रम संस्कृतिलाई सहयोग गर्ने निर्णय रास्वपा नेताहरूले सुनाए ।
राप्रपा नेताहरू सरस्वती लामाको नाम लिएर उम्मेदवारी दर्ता गर्न आउँदा श्रम संस्कृतिकी रबिकुमारी ठाकुर लगायतका सांसद फारम लिएर बसिरहेका थिए । राप्रपाले शुरूमा आफ्नै सांसदहरू प्रस्तावक र समर्थक राखेर सरस्वती लामाको नाम दर्ता गरायो । त्यसपछि छलफलमा रहेका रास्वपाका कविन्द्र बुर्लाकोटी र श्रमसंस्कृतिका आरेन राई लगायतका नेताहरू उम्मेदवारी दर्तास्थलमा आए रुबीको उम्मेदवारी दोस्रो नम्बरमा दर्ता भयो ।
रास्वपाको आवश्वासनपछि उम्मेदवारी दर्ता गरेको दाबी गर्ने राप्रपा संसदीय दलका नेता शाहीले ‘किन समर्थन गर्ने आश्वासन दिएको ? भन्दै रवि लामिछानेलाई नै प्रश्न गरेका छन् । उम्मेदवारी दर्तापछि शाहीले संसद् सचिवालयमा पत्रकारहरूसँग भने,’उहाँहरूले बोलेको इमान कति पुरा गर्नुहुन्छ हामी हेर्छौं ।‘
शाही यसो भने पनि अब रास्वपा औपचारिक समर्थन रूबीलाई भएकाले उनी नै उपसभामुख बन्ने निश्चित जस्तै छ । किनकी रास्वपा र श्रमसंस्कृति मिल्दा प्रतिनिधि सभामा १८९ सिट हुन्छ । यो प्रतिनिधिसभाको दुई तिहाइ बढीको समर्थन हो ।
१० मिनेट अघिको त्यो निर्णय
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङसँग बुधबार बेलुकी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संवाद गरेका थिए । बिहीबार बिहान रास्वपाका सभापति लामिछानेले राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेका थिए ।
सभापति लामिछाने र महामन्त्री बुर्लाकोटीले साम्पाङ र ज्ञानेन्द्र शाहीलाई दिएको सन्देश समान थियो– उम्मेदवारी दिनुहोस् । उपसभामुखमा आदिवासी जनजाति कलस्टर होस् भन्ने हाम्रो चाहना छ ।
यस्तो सन्देश नेकपाले पाएन । त्यसपछि उपसभामुखमा दाबी गरेको नेकपा उम्मेदवारी नदिने निर्णयमा पुग्यो । रास्प्रपा र रास्वपा उम्मेदवार चयनमा लागे ।
राप्रपाले सुरुमा खुस्बु ओलीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । रास्वपाका सभापति लामिछानेले नै आदिवासी जनजाति कलस्टरबाट उम्मेदवार होस् भनेपछि खुस्बुलाई मनाएर सरस्वतीलाई उम्मेदवार बनायो ।
यता, श्रम संस्कृति पार्टीले पनि सुरुमा अम्बिकादेवी संग्रौलालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । रास्वपाले जनजाति क्लस्टरबाट उम्मेदवार होस् भनेर सन्देश दिएपछि छलफलमा जुटे र ठाकुरलाई उम्मेदवार बनाउने निर्णय लिए ।
राप्रपा र रास्वपा दुवै रास्वपाले मतदानमै सहयोग गर्ने बुझाइमा थिए । यसअनुसार दुवैले तयारी गरे ।
तर, उम्मेदवारी दर्ता चलिरहँदा राप्रपा र श्रम संस्कृति दुवैले ‘सरप्राइज्ड’ पाए ।
राप्रपाको उम्मेदवारी दर्ता प्रक्रिया चल्दै थियो । श्रम संस्कृति पार्टीकी ठाकुर पालो कुरिरहेकी थिइन् ।
राप्रपाका नेताहरू उम्मेदवारी दर्तापछिको फोटो लिइरहेका थिए । त्यही बेला श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र रास्वपाका महामन्त्री बुर्लाकोटी एकसाथ छिरे । बुर्लाकोटीले ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसपछि ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, समर्थकमा रास्वपाका अशोक चौधरी र श्रम संस्कृति पार्टीका अम्बिकादेवी संग्रौला बसे ।
रास्वपाका महामन्त्री बुर्लाकोटी आफूहरू अन्तिम समयमै निर्णयमा पुगेको स्वीकार गर्छन । बरु नेकपा र राप्रपाले समेत उपसभामुखमा चाहना राखेको उनले सुनाए ।
‘क्रस भेटघाटमा नेकपाको प्रस्ताव पनि थियो । हामीले उहाँहरूलाई हुन्छ भनेनौं, हुँदैन भनेनौं । यो (श्रम संस्कृतिलाई समर्थन गर्ने निर्णय) पनि ठ्याक्कै १० मिनेट अगाडि टुंग्याएको हो’, बुर्लाकोटी भन्छन्, ‘हामी पर्ख र हेरको अवस्थामै थियौं । कसले उम्मेदवारी दिनुहुन्छ भन्नेमै थियौं । पहिले बचन कसैलाई दिएका थिएनौं ।’
बुर्लाकोटीले भने जस्तै उनीहरू उम्मेदवारी दर्ताको कार्यालय प्रवेश गर्दा दुई बज्न केही मिनेट मात्रै थियो ।
‘समय सकिन लागिसक्यो भन्दा संसद सचिवालयका कर्मचारी र अन्यले समेत ढोकाभित्र छिरिसकेपछि फारम बुझाउने समय पाइन्छ भनेर सम्झाएका थिए ।’
अन्तिम समयमा निर्णय लिए पनि आफूहरूले जनभावनालाई सम्बोधन गरेको महामन्त्री बुर्लाकोटीको भनाइ छ ।
उनी भन्छन्, ‘उदाउँदा पार्टी एक ठाउँमा उभिएर जानुपर्छ भन्ने जनअपेक्षा छ, यसलाई ख्याल गर्यौं । पाका सभामुख हुनुहुन्छ, उपसभामुखमा जेनजी उमेरको आउनु हुने भएको छ । संवैधानिक परिषद् पनि समावेशी देखिनेछ ।’
एक्लियो राप्रपा
प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । उपसभामुखको चुनावमा एकातिर पाँच दल र अर्कोतिर राप्रपा एक्लै भएको छ ।
उपसभामुखमा नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीले दाबी गरेको थिए र रास्वपाको समर्थन चाहेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नै गरेनन् वा रास्वपालाई ‘सघाउनुहो्स् उपसभामुखमा उम्मेदवारी दिन्छौं’ भनेनन् ।
रास्वपाबाट उम्मेदवारी दर्ताका लागि कुनै सन्देश प्राप्त नभएपछि नेकपासहितका विपक्षी दलहरू संवादमा जुटे । कांग्रेसबाट मोहन आचार्य, एमालेबाट गुरुप्रसाद बराल र नेकपाबाट वर्षमान पुन संवादमा थिए । तीन दलको संवादमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई पनि सहभागी भएका थिए ।
तर, यी चार दलले राप्रपासँग संवाद गरेका थिएनन् । यही बेला रास्वपाले राप्रपालाई समर्थन गर्ने सन्देश प्रवाह भएपछि प्रतिपक्षमा रहेका राप्रपा बाहेकका दलले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिए ।
राप्रपा पनि रास्वपाको समर्थन पाउने आशमा अन्य दलसँग संवादमा गएको थिएन । रास्वपाको समर्थन लिन राप्रपा संसदीय दलका नेता शाही आफैँ लागेका थिए ।
यही चैत २१ गते रास्वापाका सभापति लामिछानेलाई उनकै निवासमा गएर भेटेका थिए । बिहान उनै सभापति लामिछानेले फोन गरेपछि शाही उत्साही भए ।
तर, रास्वपाले अन्तिममा श्रम संस्कृतिका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएपछि राप्रपा एक्लै भएको हो ।
राप्रपाका संसदीय दलका नेता शाही जस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ पनि रास्वपामा शीर्ष नेतासँग संवादमै थिए । यही चैत २२ मा साम्पाङ प्रधानमन्त्री बालेनलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।
अन्तिममा उपसभामुखमा समर्थन लिने प्रतिस्प्रर्धामा श्रम संस्कृतिले बाजी मारेको हो ।
रास्वपाको समर्थनसँगै ठाकुर उपसभामुख बन्ने निश्चित छ । किनभने, २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राप्रपा का ५ सांसद् छन् ।
