राष्ट्रपति चुनाव अघि पेन्सिलभेनियाका केही नेपाली-अमेरिकन मतदाता भ्रमका कारण निरुत्साहित



प्रकाशित मिति : कार्तिक २, २०८१ शुक्रबार

I Voted coupon on green and brown leaves during daytime

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा मतदान प्रक्रियासम्बन्धी भ्रमले पेन्सिलभेनियाका केही नेपाली अमेरिकन मतदाताहरू निरुत्साहित देखिएका छन् । समुदायमा उत्साह र उदासिनताको मिश्रण देखिए पनि कैयन व्यक्ति चुनावी प्रक्रियामा भाग लिन हिचकिचाइरहेका छन्।

पेन्सिलभेनियाका विभिन्न सहरहरूमा रहेका नेपाली समुदायका बासिन्दाहरूले किन केही सदस्यहरू मतदान गर्न अनिच्छुक छन् भनेर चासो व्यक्त गरेका छन्। विभिन्न गैरआप्रवासी भिसा मार्फत अमेरिका आएर ग्रिनकार्ड प्राप्त गरेका धेरै नेपालीहरू चुनावमा भाग लिन हतोत्साहित महसुस गरिरहेका छन्।

यद्यपि अमेरिकी नागरिकताले व्यक्तिलाई मतदान गर्ने अधिकार प्रदान गर्छ तर मतदान प्रक्रियासम्बन्धी गलत बुझाइहरू व्यप्त छन्। केही व्यक्तिहरूले कुनै निश्चित राजनीतिक पार्टीका उम्मेदवारलाई मतदान गर्दा भविष्यमा समस्याहरू आउन सक्ने विश्वास राख्छन्, जसले गर्दा उनीहरू मतदाता नामावलीमा नाम दर्ता गर्न समेत अनिच्छुक देखिएका छन्। साथै धेरैले मतदान दर्ता प्रक्रियाबारे थाहा पाएका छैनन् । उनीहरुलाई आफ्नो नाम दर्ता भए नभएको पनि थाहा छैन ।

पेन्सिलभेनियामा आगामी नोभेम्बर ५ मा हुने चुनावमा मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम मिति अक्टोबर २१ हो। हुलाकमार्फत गरिएको दर्ता २१ तारिखभित्रै प्राप्त हुनुपर्छ, साथै स्थानीय निर्वाचन कार्यालयमा व्यक्तिगत रूपमा दर्ता पनि २१ तारिखभित्रै हुनुपर्छ । अनलाइन दर्ता पनि २१ तारिखभित्र पूरा गर्नुपर्छ ।

मतदाता नामावलीमा आफ्नो नाम भए नभएको अनलाइनमार्फत चेक गर्न सकिन्छ । साथै आफ्नो काउन्टीको निर्वाचन अधिकारीहरूलाई सम्पर्क गर्न वा ८७७ ८६८ ३७७२ मा फोन गर्न पनि सकिन्छ । पहिल्यै दर्ता गरिसकेको भएमा ठेगाना परिवर्तन, नाम परिवर्तन, वा राजनीतिक पार्टी परिवर्तन नगरेसम्म पुन दर्ता गर्न आवश्यक पर्दैन ।

एनआरएन पेन्सिलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापाले पनि यस पटकको मतदान गर्न पाउदा खुशी लागेको बताएका छन् । उनले केही साता अगाडिमात्र राष्ट्रपति चुनावमा मतदानका लागि मतदाता नामावली दर्ता गर्ने कार्यक्रम आयोजना गरेको समेत जानकारी दिए ।

उपाध्यक्ष थापाले भने – ‘हाम्रो नेपाली समाजमा अहिले पनि भोटिङको विषयमा खुलेर कुरा गर्न मान्दैनन् । उनीहरुमा हामीले मतदान गर्दा भोलिका दिनमा समस्याहरु आउछन् कि भन्ने त्रास छ । अमेरिकामा रहेको नेपाली समुदायका कतिपय व्यक्तिहरुले आफुले पाएको अवसरलाई पनि सदुपयोग गर्न मान्दैनन् ।’

राष्ट्रपति चुनाव अघि पेन्सिलभेनियाका केही नेपाली-अमेरिकन मतदाता भ्रमका कारण निरुत्साहित
एनआरएन पेन्सिलभेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा

उनले हालै एक दिने मतदाता नामावली दर्ता गर्ने कार्यक्रम आयोजना गरेको समेत जानकारी दिए ।

राष्ट्रपति चुनाव अघि पेन्सिलभेनियाका केही नेपाली-अमेरिकन मतदाता भ्रमका कारण निरुत्साहित

‘हामीले पेन्सिलभेनियाका कुम्भरल्याण्ड काउण्टीका कमिसनर जिन फोसीसंग मिलेर मतदान दर्ता गर्ने कार्यक्रम आयोजना गरेका थियौ । हामीलाई जानकारी भएअनुसार करिब ८० जनाको हाराहारीमा मतदाता नामावलीमा दर्ता गराउन आउने कार्यक्रम थियो । तर सोचेअनुरुप आएनन् । २५ जनाले मात्र दर्ता गरे,’ थापाले बताए ।

उपाध्यक्ष थापाले आगामी दिनमा पनि आफ्नो समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए । थापाले भने – ‘नेपाली समुदायका कैयन व्यक्तिहरुले अमेरिकी राजनीति राम्रोसँग बुझेका छैनन् । उनीहरुमा जो राष्ट्रपति बने पनि अमेरिका सिस्टममा नै चलेकै छ भन्ने बुझाई छ ।’

यता नेपालको धादिङ घर भई विगत सात वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक नेपाली समुदायका व्यक्तिले नाम नखुलाउने शर्तमा नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावको विषयमा खासै चासो नभएको बताए । उनी भन्छन्, ‘सबैले चुनावको विषयमा कुरा गर्छन, तर मलाई खासै चासो लाग्दैन । जसले जितेपनि अमेरिकाको नीतिनियम रामैसँथ चलेकै छ । हामीले काम गर्न पाइरहेकै छौं ।’

उनी भन्छन, ‘अमेरिकाको चुनाव भनेको नेपालको जस्तो होइन। नेपालमा धाँधली हुन्छ । बुथ लुटिन्छ । यहाँ सबै सिस्टममा रहेर चुनाव हुन्छ । त्यहि भएर पनि मलाई अलि चासो लाग्दैन ।’

यता पेन्सिलभेनियाको कार्लायलमा विगत पाँच वर्षदेखि बसोबास गरिरहेकी दिपा गुरुङ भने यो पटकको चुनावमा मतदान गर्न पाउदा निक्कै उत्साहित छिन् । उनी भन्छिन्, ‘पहिले चुनावको बारेमा खासै ध्यान दिइन, राजनीति पनि बुझ्दिन थिए । तर अहिले अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर म निक्कै खुशी र उत्साहित छु ।म यसपटक पहिलो पटक मतदान गर्न जाँदैछु ।’

राष्ट्रपति चुनाव अघि पेन्सिलभेनियाका केही नेपाली-अमेरिकन मतदाता भ्रमका कारण निरुत्साहित
दिपा गुरुङ, पहिलोपटक अमेरिकाको राष्ट्रपति चुनावमा मतदानका लागि उत्साहित छिन् ।

उनले मतदाता नामावलीमा दर्ता गर्न छुटाएका सबै मतदाताहरुलाई समयमा नै दर्ता गर्न पनि आग्रह गरेकी छन् ।

‘आफुले पाएको अधिकारलाई सबैजनाले सदुपयोग गर्नुहोस्, यस्तो अधिकार पाउन अब केहीवर्ष फेरी हामीले कुर्नुपर्छ । त्यसैले दर्ता गर्नुभएको छैन भने दर्ता गरिहाल्नुस् । आफुलाई सहि लाग्ने उम्मेदबारलाई मतदान गर्नुहोस्,’  गुरुङले भनिन् ।





Source link

Leave a Comment