राधिका आँगनका तुलसी ओली!


‘मैले यस्तो मञ्चमा सँगै बस्दा पनि राधिका शाक्यलाई सम्बोधन गरेको थिइनँ,’ मुसुमुसु हाँस्दै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु गरे। कार्यक्रम औपचारिक थियो। प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण समारोह चल्दै थियो। कार्यक्रमको अध्यक्षता राधिकाले नै गरेकी थिइन्। ‘तर आज सभापति नै भएपछि, पुस्तक लेखिका नै भएपछि सम्बोधन नगरी धरै भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘सभापति राधिका शाक्यज्यू…’ यस्तो सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओलीको मुहारमा लजालु मुस्कान कायम रहिरह्यो।

सम्बोधनपछि उनी अघि बढे। तर उनी पत्नी राधिकाको प्रशंसा गर्ने कि नगर्ने भनेर दोधारमा देखिए। ‘मैले धेरै कुरा भन्नु छैन। प्रशंसा गरिनँ भने सबैले प्रशंसा गर्दा पनि कति कन्जुस, प्रशंसा नै गरेन भन्ने हुने। प्रशंसा गरें भने श्रीमतीको प्रशंसा गर्न पाएको रहेनछ, अहिले बल्ल मौका छोपेर गर्‍यो भन्ने हुने,’ प्रधानमन्त्री ओलीले भने। त्यसपछि मात्र प्रधानमन्त्री ओली किताबको प्रसंग अघि बढाए।

२४ ‘क्यारेट’ सत्य लिखत

प्रधानमन्त्री ओलीले किताब आफूले पढ्दा राम्रै लागेको बताए। ‘यो उपन्यास होइन, यो सत्य कुराको लिखत हो। यो कहानी पनि होइन, कथा पनि होइन। कहानीमा पनि यताउता थोरै मिसिएको हुन सक्छ,’ उनले भने। आफूले कहिलेकाहीँ लेख्दा संस्मरणमा आधारित रहेर कथानक मिसाउने गरेको ओलीले बताए। ‘तर यो चाहिँ त्यस्तो केही नमिसिएको २४ क्यारेटको सत्य लिखत हो, केही मिसिएको छैन यसमा,’ उनले भने, ‘यसको सत्यतामा कसैले चुनौती दिन सक्दैन। म ढुक्क छु, म साक्षी छु।’

राधिकाका ती इच्छा, जो ओलीलाई थाहै थिएन

प्रधानमन्त्री ओलीले पत्नी राधिकाले लेखेको किताबमा आफूले थाहा नपाएका कतिपय कुरा पाइएको बताए। राधिकाका केही माग आफूले किताबमा फेला पारेको उनले सुनाए। उनले भने, ‘अहिलेसम्म मैले थाहा पाएकै थिइनँ। किताब पढ्दा थाहा भयो, केही माग रहेछन् भित्रभित्रै। केही इच्छा रहेछन्, यसो गरिदिए हुन्थ्यो, उसो गरिदिए हुन्थ्यो।’

ओलीले बिर्सिएका राधिकाका ३७ वटा जन्मदिन

सम्बोधनका क्रममा ओलीले राधिकाका जन्मदिन बिर्सिने गरेकामा पछुतो व्यक्त गरे। ‘अब जन्मदिनमा फूल दिऊँ भने भोलिपल्ट थाहा पाउँछु। सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दो रहेछ,’ उनले भने, ‘भन्दिए हुन्थ्यो भन्ने मलाई पर्थ्याे। म सम्झिन नसक्ने, उनले नसम्झाउने। यी ३७ वटा जन्मदिन, विवाह उत्सव यसैगरी बिते।’

ओलीको जन्मदिन सधैं भव्य

राधिकाले ओलीको जन्मदिन भने भव्यताका साथ मनाउने गर्छिन्। ‘खासगरी ५०औं जन्मदिनबाट भोलि मनाउँदा ७४औं जन्मदिन अर्थात् २४ वटा जन्मदिन राधिकाले भव्यताका साथ मनाउने गरेकी छन्,’ ओलीले भने।

आफू बिरामी हुन थालेपछि राधिकाले आफ्नो जन्मदिन झन् भव्य बनाउन थालेको अनुभव ओलीले सुनाए। ‘जब म गम्भीर बिरामी हुन थालें। बुढाबुढीले भन्छन् नि अर्को वर्ष के होला के होला भनेर, बाको हातको टीका अर्को वर्ष लगाउन पाइन्छ पाइँदैन भनेजस्तै उनले पनि अर्को जन्मदिन के हो के हो, यो जन्मदिन धुमधामसँगै मनाउनुपर्छ भनेर होला भन्छु है तैपनि’ भन्दै ओलीले आफ्नो कुरामा संशय प्रकट गरे।

ओलीले पहिल्यै भनेका थिए– पाल्न सक्दिनँ

प्रधानमन्त्री ओलीले विवाह गर्दा नै राधिकालाई पछि आफूसँग गुनासो नगर्न प्रस्ट रूपमा भनेको सुनाए। उनले भने, ‘म फेरि ढुक्कै। मैले त सुरुमै कुरा छिनालेर भन्याछु– जिन्दगीमा एक कप चिया खुवाउन सक्दिनँ, एक धरो कपडा दिन सक्दिनँ, एउटा रुमाल दिन सक्दिनँ, एक छाक खुवाउने जिम्मा त टाढाको कुरा।’

विवाह गर्दा ‘म जिन्दगीभर साथ दिन्छु’ सबैले भन्ने गरे पनि आफूले भने राधिकासँग त्यस्तो केही नभनेको ओलीले दाबी गरे। ‘जिन्दगी कति लामो छ, थाहा हुँदैन। मेरो त झन् अनिश्चित जिन्दगी, के भनेर भन्ने?’ ओलीले भने, ‘भोलि मर्ने, पर्सि मर्ने। भोलि लगेर जेल हाल्देला अथवा अरू केही गरिदेला। त्यस्तो अवस्थामा के साथ दिउँला !’

एउटा श्रीमान्ले श्रीमती पाल्न सक्ने धाक लाउँदा आधार चाहिने भन्दै उनले आफूसँग केही नभएकाले धाक लाउन सक्ने स्थिति नै नरहेको उनले सुनाए। ‘न जागिर छ न आम्दानी, न ठेकापट्टा छ न बैंक ब्यालेन्स। न कतै सेयर छ न खेतीपाती। न घर छ, न केही छ,’ उनले भने। सबै सिध्याएर हिँडेको मान्छे भएकाले आफूले केही नलुकाई सबै कुरा प्रस्ट भनेको प्रधानमन्त्री ओलीले बताए। ‘त्यो कुरा नलुकाइ भन्याथें– म पाल्न सक्दिनँ,’ उनले भने, ‘पाल्न सक्ने हुती भएको मान्छे होइन।’

गृहमन्त्री फुस्केपछि घरज्वाइँ

गृहमन्त्री पद गएपछि डेरा नपाउँदा आफू घरज्वाइँ बन्न पुगेको ओलीले सुनाए। ‘गृहमन्त्री भइयो। एउटा खोजेको कोठा छाडेर गइयो। सांसद होउन्जेल त कोठा नि थिएन,’ उनले भने, ‘गृहमन्त्री भएपछि मन्त्री क्वार्टर गइयो, हट्न परो, डेरा खोज्यो भेटिँदैन।’

त्यसपछि सालो ज्ञानेन्द्र शाक्यले डेरा खोज्दा नभेटेपछि ‘भिनाजु अब दुईचार दिन हाम्रैमा त्यसपछि डेरा सजिलोसँग खोज्दै जाउँला’ भनेपछि ससुरालीमै बस्न गएको उनले बताए। ‘साथीभाइले सोध्न थाले– कहाँ बस्नुहुन्छ? कतिलाई के भन्ने अनि मैले भनें– घरज्वाइँ बस्याछु,’ प्रधानमन्त्री ओलीले भने। त्यसपछि भने मान्छेले त्यसबारे सोध्नै छाडेको उनले बताए। घरज्वाइँ भन्दा आफूलाई कुनै ह्युमिलिएसन (अपमान) महसुस नभएको ओलीले बताए। उनले भने, ‘अब मैले पाल्छु भन्या भए पो ह्युमिलियसन।’

राधिकाले नै भित्र्याइन्, घर पनि उनैले किनिन्

प्रधानमन्त्री ओलीले किताबमा राधिकाले आफूलाई भित्र्याएको कुरा लेखेको बताए। ‘राधिकाले ठिकै लेखेकी छन्– मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको…,’ उनले भने, ‘भएको कुरा यही हो।’

अहिले बालकोटको घर पनि राधिकाले नै बनाएको ओलीले सुनाए। ‘घर राधिका शाक्यले बनाएकी हुन्, मेरा बुताले, मेरा हुतीले होइन,’ उनले भने।

अहिले त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको उनले बताए। उनले भने, ‘त्यो पनि मेरो कमाइ दान गरेको होइन, उनकै कमाइ हो।’ यसकारण आफूजति श्रीमतीसँग खुसी श्रीमान् अन्य कोही नभएजस्तो आफूलाई लाग्ने गरेको उनले बताए।

राधिका नभए बाँच्न असम्भव

पत्नी राधिका नहुने हो भने आफू अहिलेसम्म बाँच्न सम्भव नै नभएको प्रधानमन्त्री ओलीले सुनाए। ‘म आँगनको माथ्लापट्टि जतन गरेर मठ बनाएर हरेक बिहान–बेलुका पानी हालेर हुर्काएको तुलसीजस्तै मान्छे हुँ,’ उनले भने, ‘आज ७३ वर्ष पुगें।’

उनले तितेपातीको उदाहरण दिँदै आफू जंगलमा हुने कुनै झारजस्तै हरियो भएर लहलहाएको नभई जतनले मात्रै बचेको बताए। जेलमा पनि साथीहरूले आफूलाई बचाउन साह्रै दुःख गरेको प्रधानमन्त्री ओलीले सुनाए। ‘साथीहरू भन्नुहुन्थ्यो– बचाउनै गाह्रो। म भन्थें– जंगलमा रहेका झारपातलाई जतन गर्नैपर्दैन। जसलाई धेरै मेहनत लाग्छ, ऊ धेरै काम लाग्छ भनेर साथीहरूलाई जिस्काउँथे,’ उनले भने।

राधिकाका थरीथरी नाम

राधिका र आफ्नो शनिबार ‘वेडिङ एनिभर्सरी’ (वैवाहिक वर्षगाँठ) रहेको प्रधानमन्त्री ओलीले सुनाए। ‘जे होस् एनिभर्सरीका सन्दर्भमा राधिका शाक्यको उपहारको लोकार्पण ठान्छु म यसलाई,’ उनले भने। पत्नी राधिकाका थरीथरी नाम रहेको पनि ओलीले सुनाए। ‘वेडिङ एनिभर्सरीलाई राधिका शाक्य, मैले भन्ने गरेको नानी,’ राधिकातर्फ हेरेर मुसुमुसु हाँस्दै ओलीले भने, ‘मावलीले भन्ने गरेको नानीदेवी, घरका मान्छेले भन्ने गरेको नाम दुर्गा।’  

राधिकाका अरू पनि नाम रहेको उनले सुनाए। ‘पार्टीको नाम कमरेड सन्जु। मसँग भेट गराउँदा कमरेड सन्जुसँग भेट गराएका थिए साथीहरूले। तर मलाई राधिका शाक्य भन्ने थाहा थियो। किनभने राष्ट्र बैंकमा काम गर्नेको ओरिजिनल नाम थाहा हुन्छ। अरू चाहिँ गोप्य रहन्छ,’ प्रधानमन्त्री ओलीले भने। आफू जेलबाट छुटेपछि लुम्बिनी भूमिगत जाँदा फेरि अरूअरू नाम राखिएको उनले सुनाए तर नाम भने भनेनन्।

ओलीले यस्ता कुरा पनि भने

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफ्नो बाल्यकाल, जीवनसंघर्षका बारेमा पनि समय खर्चिए। उनले आफ्नो बाल्यकालका विषयमा उठ्ने अनेक चर्चाको खण्डन पनि गरे। ‘फलानाले लगेर पालेको पनि भन्छन्। अलि तल लगेर भैंसी चराउँथ्यो पनि भन्छन्,’ उनले भने, ‘मैले भैंसी चराएकै हो, आफ्नै भैंसी चराएको हो। गाई चराएको हो, आफ्नै चराएको हो। जोत्या पनि हो, आफ्नै बारी जोत्या हो। खनेको पनि हो, आफ्नै बारी खनेको हो। मैले  अरूकोमा जानुपरेन।’

पहाडमा हुँदा परिवारसँग मनग्य जग्गाजमिन र वस्तुभाउ रहेकाले त्यस्तो केही नभएको उनले सुनाए। तर तराई झर्दा भने समस्या भएको प्रधानमन्त्री ओलीले स्वीकार गरे। ‘तराई आएपछि खेतीबारी सबै खोलाले लगेपछि हामी सुकुम्बासीमा परिणत भयौं। हाम्रा चरम दुःखका दिन सुरु भए। मैले चरम दुःखका दिन देखेको छु,’ उनले भने। ती दुःखका दिन अहिलेसम्म नहटेको उनले बताए।

यस्तै उमेर बढ्दै जाँदा आफूमा विद्रोहको चेत पलाउँदै गएको र २२ वर्षको उमेरमा जेल परेको ओलीले बताए। जेल हाल्दा आफूमाथि विभिन्न मुद्दा लगाउने क्रममा फाँसीको माग गरिएको र ज्यान मुद्दासमेत लगाएको उनले सुनाए। ‘केही विद्वान् भन्छन्– फलाना र फलानाका बाबुछोरालाई भात खाँदाखाँदै पछाडिबाट आएर बन्चराले हानेर मार्‍यो केपी ओलीले भनेर। ती मैले नसुनेका, थाहा नपाएका, पछि थाहा पाएका कुरा हुन्,’ प्रधानमन्त्री ओलीले भने। ‘पञ्चायतका मतियार’हरूले अझै त्यस्ता आरोप लगाउँदै बसेको उनले बताए।  

जेलबाट चप्पल लगाएर निस्केको मान्छे प्रधानमन्त्री भएको भन्दै आफूविरुद्ध प्रचारबाजी गर्नेहरू असन्तुष्ट रहेको ओलीले टिप्पणी गरे। ‘जेलबाट चप्पल लाएर बाहिर लुखुरलुखुर आएको एउटा कैदी प्रधानमन्त्री हुने भनेर,’ उनले भने, ‘तिनीहरूलाई हामीलाई श्रीपेच लाएका महाराजाले रैती पो बनाउनुपर्छ भन्ने लागिराख्याछ अहिले पनि।’

प्रकाशित: ११ फाल्गुन २०८१ ०७:२२ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School