राज्य किन असफल हुन्छन् ? जवाफलाई नोबेल पुरस्कार

राज्य किन असफल हुन्छन् ? जवाफलाई नोबेल पुरस्कार


सन् २०१२ मा ड्यारोन एसिमोग्लु र जेम्स ए. रोबिन्सनले एउटा पुस्तक प्रकाशित गरे- ‘ह्वाइ नेसन्स फेल’ (राज्यहरू किन असफल हुन्छन् ?) । पुस्तक एसिमोग्लुले आर्थिक वृद्धिको सिद्धान्तमाथि गरेको वर्षौंको अनुसन्धान तथा रोबिन्सनले अफ्रिका र दक्षिण अमेरिकाका अर्थतन्त्रमाथि गरेको अध्ययनको सारलाई संग्रहित गरी प्रकाशित गरिएको थियो । यसमा अन्य अर्थशास्त्रीहरूका अध्ययनहरूलाई पनि समेटिएको छ ।

पुस्तकको सुरुआत उत्तर अमेरिकाको नोगालेस सहरको उदाहरण प्रस्तुत गरिएको छ । नोगालेस सहरलाई एउटा पातलो बारले दुई देशमा विभाजन गरिएको छ । उत्तरपट्टिको भाग अमेरिकाको एरिजोना राज्यको सान्टा क्रुज काउन्टीमा पर्छ । त्यहाँका जनताको औसत आय ३० हजार अमेरिकी डलर (सन् २०१२) छ ।

त्यहाँका सबैजसो टीनएजरहरू स्कुल पढ्दै छन् भने अधिकांश वयस्कहरूले हाइस्कुल पास गरेका छन् । जनताले उच्चस्तरको स्वास्थ्य उपचारको सुविधा पाएका छन्, औसत उमेर उच्च छ । धेरै मानिहरू ६५ वर्षभन्दा बढी उमेरका छन् । उनीहरूले मेडिकेयर सेवा (सरकारले दिने निशुल्क स्वास्थ्यबीमाको सुविधा) पाउँछन् ।

सरकारले बिजुलीबत्ती, टेलिफोन, फोहोरमैला व्यवस्थापन, जनस्वास्थ्य, सडक प्रणालीलगायत सेवा प्रदान गरिरहेको छ, जसलाई त्यहाँका मानिसले खास महत्व दिंदैनन् । र, सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ शान्ति सुरक्षा छ, मानिसहरू आफ्ना काममा निर्धक्कसाथ जानसक्छन्, चोरी, ठगीको डर मान्दैनन् ।

मानिसहरूले त्यहाँ लगानी गर्दा खतरा महसुस गर्दैनन् । अर्को महत्वपूर्ण कुरा त्यहाँका जनताले भोटमार्फत आफ्नो नगरको मेयर, कंग्रेसम्यान वा सिनेटर चुन्न वा हटाउन सक्छन् । राष्ट्रपतीय चुनावमा भोट हालेर कसले देशको नेतृत्व गर्ने भन्ने निर्धारण पनि गर्छन् । प्रजातन्त्र उनीहरूको स्वभाव हो ।

तर, त्यसको केही फिट तलतिर सोनोरामा पर्ने नोगालेस छ, जुन मेक्सिकोको तुलनात्मक रूपमा समृद्ध ठाउँ हो । तर, पनि त्यहाँको औसत आय एरिजोनाको नोगालेसको तुलनामा एक तिहाइ मात्रै छ । मेक्सिकोको नोगालेसका अधिकांश वयस्कहरूसँग हाइस्कुल डिग्री छैन, धेरै किशोरकिशोरीहरू स्कुल जाँदैनन् । शिशु मृत्युदर उच्च छ ।

अनि स्वास्थ्यउपचार सेवा पनि कमजोर छ । औसत आयु अमेरिकी नोगालेसको तुलनामा धेरै कम छ । सडक सञ्जाल कम गुणस्तरको छ, शान्तिसुरक्षाको अवस्था दयनीय छ । अपराध उच्च छ, व्यवसाय सुरु गर्नु भनेको आफूलाई जोखिममा हाल्नु हो । त्यहाँ चोरीको डर मात्रै छैन, व्यवसाय सुरु गर्नुअघि नै विभिन्न ठाउँमा घुस खुवाएर काम थाल्नु कम्ती गाह्रो छैन ।

नोगालेस सोनोराका मानिसहरू नेताहरूको भ्रष्टाचार र अयोग्यता सहेर बस्न बाध्य छन् । चुनाव भएर भ्रष्टाचारी शासकलाई हटाउन पाउने व्यवस्था त्यहाँ निकै पछि सन् २००० तिरमात्रै सुरु भएको हो । त्यसमा पनि दुई ‘भ्रष्ट पार्टी’हरूले पालैपालो शासन गरिरहेका छन् ।

उत्तर र दक्षिण नोगालेसको उदाहरण दिएर एसिमोग्लु र रोबिन्सनले कुनै राज्य किन धनी र कुनै राज्य किन गरिब हुन्छन् भन्ने कुरालाई स्पष्ट बनाएका छन् । वास्तवमा उनीहरूले सो पुस्तक र त्यसको पृष्ठभूमिमा गरेका अध्ययनहरूले विकाससम्बन्धी परम्परागत सिद्धान्तहरूलाई चुनौती नै दिएको छ ।

परम्परागत रूपमा कतिपय मानिसहरूले भूगोलका कारण मुलुकहरू केही विकसित त केही अवकिसत भएका हुन् भन्ने विश्वास गर्दथे । कतिपयले भने धर्मका कारण यस्तो भएको ठान्दथे । कतिपयले संस्कृतिलाई दोष दिन्थे ।

तर, एउटै भूगोल, एउटै धर्म, एउटै जाति, एउटै भाषा, एउटै संस्कृति भएका एउटै नामको सहर एकापट्टि समृद्ध छ, अर्कातिर गरिब । अझै हालको अमेरिकाको नोगालेस पनि कुनै बेला मेक्सिकोकै भाग थियो । यो उदाहरणले विकास र अविकास सम्बन्धमा धर्म–संस्कृति, भाषा वा भूगोलसम्बन्धी यसअघिका परम्परागत सिद्धान्तहरू ढलेका छन् ।

त्यसो भए किन नोगालेस–एरिजोना विकसित र नोगालेस–सोनोरा अविकसित भयो त ? एसिमोग्लु र रोबिन्सनको सो पुस्तक यही प्रश्नको उत्तर खोज्नमा केन्द्रित छ । र, त्यसको छोटो तर गम्भीर उत्तर उनीहरूले दिएका छन्– एरिजोनाको नोगालेस अमेरिकामा भएका कारण विकसित भयो, सोनोराको नोगालेस मेक्सिकोमा भएका कारण अविकसित भयो ।

अमेरिका र मेक्सिकोमात्रै होइन, विगतमा उपनिवेश भएका धेरै मुलुकहरूको उदाहरणमार्फत उनीहरूले निष्कर्ष निकालेका छन्, कुनै मुलुक विकसित र अविकसित हुनुमा ती देशमा कस्ता संस्थाहरू छन् वा कस्ता संस्थाहरू बनाइए, त्यसमा निर्भर हुन्छ ।

अमेरिकामा औपनिवेशिक कालदेखि नै समावेशी संस्थाहरू बनाइए, ती संस्थाहरू जनतालाई सेवा दिन केन्द्रित भए, त्यसैले ऊ विकसित भयो । मेक्सिकोमा दोहनकारी संस्थाहरू बनाइए, ती जनतालाई दिन होइन, दोहन गर्न सक्रिय भएका कारण त्यो अविकसित भयो भन्ने निष्कर्ष यी दुई अर्थशास्त्रीले निकालेका छन् ।

यसपटक नोबेल पुरस्कार पाउनेमा एसिमोग्लु र रोबिन्सनका अलावा सिमोन जोन्सन पनि छन्, जसले एसिमोग्लुसँग मिलेर ‘पावर एन्ड प्रोग्रेस’ शीर्षकको पुस्तक लेखेका छन्, जुन गत वर्ष प्रकाशित भएको थियो । नोबेल पुरस्कार समितिले पनि संस्थाहरूका कारण कसरी धनी र गरिबबीचको खाडल सृजना भयो, त्यसको व्याख्या यी तीन अर्थशास्त्रीको अनुसन्धानले गरेको उल्लेख गरेको छ ।

उपनिवेश बनेका राज्यहरूको सोह्रौं शताब्दीदेखिको इतिहासको अध्ययनमा त्यसबेला तुलनात्मक रूपमा धनी मानिएका राज्यहरू अहिले गरिब बनेको र त्यसबेला गरिब मानिएका केही राज्यहरू अहिले धनी बनेको पनि निष्कर्ष निकालिएको छ । ती मुलुकमा कस्ता संस्थाहरू स्थापना र विकास गरिए, त्यसकै आधारमा यस्तो भएको यी तीन अर्थशास्त्रीको मत छ ।

युरोपेली मुलुकहरूले जुनजुन देशका उपनिवेशहरूलाई त्यहाँको प्राकृतिक, मानवीय र आर्थिक स्रोत दोहन गर्न मात्रै प्रयोग गरे, ती मुलुकमा शोषणकारी संस्थाहरू बनाए, खासगरी अफ्रिकी मुलुकमा उनीहरूले त्यसो गरे । र, जुन देशमा युरोपेलीहरू आफू पनि गएर बस्न थाले, वा भविष्यमा त्यसलाई आफ्नो बासस्थान बनाउन चाहन्थे, ती देशमा उनीहरूले डेलिभरी गर्ने संस्थाहरू बनाए भन्ने कुरा यी अर्थशास्त्रीको अध्ययनले देखाएको छ ।

खासगरी पहिल्यैदेखि घना आवादी रहेको क्षेत्रमा युरोपेली उपनिवेशकर्ताले दोहन मात्रै गरेको उनीहरूको निष्कर्ष छ । किनभने त्यस्तो क्षेत्रलाई उपनिवेदश बनाएपछि उनीहरूलाई सस्तो श्रमिक उपलब्ध भयो तर ती क्षेत्रमा उनीहरू आफैं भने बस्न सकेनन् ।

तर ‘जहाँ आवादी पातलो थियो, ती क्षेत्रमा बस्न उपनिवेशकर्तालाई सजिलो भयो, उनीहरू आफैं त्यहाँ बसाइँसमेत सरे र त्यहाँ राम्रा संस्था बनाए, कानूनी शासन सुरु गरे तथा शान्ति सुव्यवस्था कायम गरे,’ पुस्तकमा उल्लेख छ ।

दोहनकारी संस्थाहरूको पासोमा परेका मुलुकहरू गरिब रहेको र त्यो पासोबाट मुक्ति पनि कठिन रहेको अर्थशास्त्रीहरूको मत छ । जनताबाट करलगायतको स्वरूपमा राज्यहरू उपनिवेश बनाउने देशहरूले स्रोतको शोषण गर्ने र एलिटहरूले त्यसको दुरूपयोग गर्ने गर्नाले मुलुकहरूमा आधारभूत सुविधा विकास नभएको र जनता गरिब नै रहन बाध्य हुनुपरेको उनीहरूको निष्कर्ष छ ।

जुन दिनसम्म राजनीतिक प्रणालीले शासनमा रहेको एलिटहरूलाई लाभ दिइरहन्छ, जनताको शोषण गरिरहन्छ र शासकहरूलाई जनताले शक्तिबाट हटाउन पनि सक्दैनन्, त्यस दिनसम्म विकास नहुने यी अर्थशास्त्रीहरूको मत छ ।

समावेशी र डेलिभरी दिने नयाँ सस्थाहरूको निर्माण गरी त्यो पासोबाट मुक्त हुन सकिने निष्कर्ष यी अर्थशास्त्रीको छ । दोहनकारी संस्थाहरूबाट मुक्तिका लागि मुलुकहरूले प्रजातन्त्र र कानूनी शासनको पुनस्थापना र बलियो कार्यान्वयन गर्नुपर्ने पनि उनीहरूले उल्लेख गरेको नोबेल कमिटीले जनाएको छ । यस्तो परिवर्तनले दीर्घकालमा गरिबी घटाएको पनि उसले उल्लेख गरेको छ ।

राज्यहरूलाई सफल बनाउन आर्थिक संस्थाहरू सबल भएर मात्रै नपुग्ने, बरु राजनीतिक प्रणाली पनि बलियो हुनुपर्ने यी अर्थशास्त्रीहरूले ऐतिहासिक तथ्यांकका आधारमा पुष्टि गरेका छन् ।

जुन दिनसम्म राजनीतिक प्रणालीले शासनमा रहेको एलिटहरूलाई लाभ दिइरहन्छ, जनताको शोषण गरिरहन्छ र शासकहरूलाई जनताले शक्तिबाट हटाउन पनि सक्दैनन्, त्यस दिनसम्म विकास नहुने यी अर्थशास्त्रीहरूको मत छ ।

तर, आफ्नो बाचा पूरा गर्न नसक्ने शासकहरूलाई चुनावमार्फत हटाउन र नयाँ नेता चयन गर्नसक्ने राजनीतिक प्रणाली विकास गर्न सकियो भने मात्रै त्यसले आर्थिक सुधार हुने उनीहरूको निष्कर्ष छ ।

नेपाल बारे के भन्छन् नोबेल बिजेताहरू ?

विश्वका गरिबतम् मुलुकमा सबसाराहन अफ्रिकी मुलुकहरू रहेको र अपवादका रूपमा हाइटी, नेपाल र अफगानिस्तान रहेको पुस्तकमा उल्लेख छ । अफ्रिकाभन्दा फरक भूगोलमा रहे पनि नेपालमा राज्य केन्द्रीकरणको अभाव रहेको र आफ्नो मुलुकमा सुव्यवस्था कायम गर्न असफल रहेको ‘ह्वाइ नेसन्स फेल’ पुस्तकमा उल्लेख छ ।

नेपालबारे कुनै छुट्टै विशेष अध्ययन उनीहरूले गरेको देखिन्न । तर, इतिहासमा उपनिवेश नभएको नेपाल गरिबीकै दुस्चक्रमा रहनुको खास कारण भने उनीहरूले उल्लेख गरेका छन् । नेपालले आर्थिक विकासको एउटा सानो हिस्सा प्राप्त गर्नका लागि स्थिरताजस्ता कुनै पनि कुरा कायम राख्न असफल रहेको तर्क पुस्तकमा गरिएको छ ।

‘विश्वका विभिन्न कुनामा रहे तापनि अफगानिस्तान, हाइटी र नेपाल सबसाहारन अफ्रिकाका धेरै मुलुकसँग संस्थागत रूपमा समान छन्, त्यसो हुँदा यिनीहरू विश्वका गरिबतम् मुलुकहरूमध्येमा पर्छन्,’ पुस्तकमा उल्लेख छ । नेपालजस्ता मुलुकले न्यूनतम् सुव्यवस्था कायम गर्न पनि असफल रहेको र त्यहाँ आर्थिक प्रोत्साहन लगभग नष्ट भएको पुस्तकमा उल्लेख छ ।

तीनैजना आप्रवासी अमेरिकी

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरू तीनैजना आप्रवासी अमेरिकी हुन् । मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का प्राध्यापक एसिमोग्लु टर्कीको इस्तानबुलमा जन्मेका र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट पीएचडी गरेका अर्थशास्त्री हुन् ।

त्यस्तै, एमआईटीकै अर्का प्राध्यापक जोन्सनले पीएचडी पनि यही विश्वविद्यालयबाट गरेका हुन् तर उनी बेलायतमा जन्मेहुर्केका हुन् । त्यस्तै, युनिभर्सिटी अफ सिकागोका प्राध्यापक रोबिन्सन पनि बेलायतमा जन्मेहुर्केका अर्थशास्त्री हुन् भने उनले एल विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School