पश्चिम नेपालको लमजुङ डाँडापाखाका तरुण लेखक सागर खड्काले आफैं जन्मेहुर्केको भूगोलको सेरोफेरोमा सिर्जना गरेको पहिलो उपन्यास हो– “राइपाली भन्ज्याङ”। कुनै पनि लेखकले पहिलो कृतिमा सामान्यतः केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ। पहिलो चुनौती हो, पाठक र अध्येतालाई आफ्नो लेखनप्रति आकर्षित तुल्याउनु। अर्को चुनौती हुन्छ समकालीन लेखकहरुमा आफ्नो मौलिक उपस्थिति स्थापित गर्नु। अर्को चुनौती भनेको पहिलो कृतिमै अत्याधिक सफल भएर दोस्रो कृतिमा त्यो स्तर र गुणवत्ता कायम राख्दै अघि बढ्नु।
सागर खड्काले पहिलो दुई चुनौतीलाई सहजै पार लगाउन सकेको यो उपन्यास पढिसक्दा महसुस हुन्छ। समकालीन लेखन विशेष मुद्दा केन्द्रित भैरहेको समयमा मौलिक ग्रामीण जीवनको उपन्यास सहित नयाँ प्रतिभाको उदय नेपाली साहित्यको लागि निकै उज्यालो लक्षण हो ‘राइपाली भन्ज्याङ’ मार्फत उपन्यासकार सागर खड्काको आगमन।
लमजुङको सेरोफेरोका गाउँशहर, परेवाडाँडा, पारिपाखा, राइपाली भन्ज्याङ, खत्री ठाँटी, सुन्दर बजार, हाँडेटार, आहाले गाउँ, नेवार गाउँ, ल्यार गाउँ, ममीडाँडा लगायतको पृष्ठभूमिमा उपन्यास केन्द्रित छ। यिनै ग्रामीण भेकका बासिन्दाको दैनन्दिन, चालचलन, संस्कार, संस्कृति, अन्धविश्वास, शिक्षाको अवस्था उपन्यासले बोलेको छ। तर यो आजको समयको कथा भने होइन। तीसको दशकको तत्कालीन समाजको कथा यसले बोकेको छ।
उपन्यास सामाजिक अवस्था र जनजीवनमा तरङ्गित छ। यद्यपि हल्का रूपमा राजनीतिका कुरा आएका छन्। तर त्यसले विस्तार पाएको छैन र मूल कथ्य त्यसमा आधारित छैन।
पहिलो अध्यायदेखि अन्तिम अध्यायसम्म बुद्धि पात्रको कथाले निरन्तरता पाएको छ। दोस्रो विश्वयुद्ध लडेका इण्डियन आर्मीका रिटायर्ड जमदार, त्यसपछि लमजुङ कुन्छाका थानेदार र पछि गाउँका मुखिया भएका आफ्ना पिताको पछिपछि मामाघर लागेको बालक बुद्धि नै मूल नायक हो उपन्यासको जो स्कुल पढ्दै, ग्रामीण गतिविधि र चर्तिकलामा सामेल हुँदै, उरण्ठेउला काम गर्दै, असल खराब बानी अघि बढाउँदै, प्रेम गर्दै, झै–झगडा गर्दै हुर्किन्छ। सेनामा भर्ती हुन्छ र भगौडा हुन्छ। पछि भारतीय सेनामा जान्छ र छुट्टीमा फर्किन्छ। गाउँबाट बेपत्ता भएकी उसकी मायालु कुसुमसँगको भेटपछि उनीहरुले नयाँ जीवन सुरु गर्छन्। छोरो हुन्छ उनीहरुको कुशल। ऊ पनि ३० वर्षको भइसकेको छ। ऊ पनि इण्डियन आर्मीमा लाहुरे हुन्छ। बुद्धि ५५ वर्षको भएपछि एकप्रकारले अवकाशको जीवन विताउन थाल्छ आफ्नै गाउँमा। उसको जीवन अनुभवको निष्कर्ष छ ” …. राइपाली भन्ज्याङमा बास बस्न आइपुग्ने बटुवा जस्तै रहेछ जिन्दगी। बाआमा, इष्टमित्र गइसके। अब यताभन्दा उतै रमाइलो छ।” (पेज २७६)
यो अभिव्यक्तिसँगै उपन्यासले विश्राम लिन्छ।
उपन्यासलाई स्थानीय बोलीचालीका भाषा र शब्दावलीले निख्खर मौलिकता प्रदान गरेको छ। उपन्यासकारले आफैंले भोगेको भएर यसमा कृत्रिमता छैन। यद्यपि यो उपन्यासको कथा समय लेखकको उमेरभन्दा अघिको हो। तर त्यही स्थान र परिवेशमा हुर्केको, त्यहीं बसोबास गरेको लेखक हुनाले पर्यटक भएर केही दिन घुमेर, केही शब्दावली बटुलबाटुल पारेर, गुगल सर्चबाट जानकारी लिएर लेखिने “अनुसन्धानमूलक” लेखन जस्तो होइन यो। यसमा पात्रहरुले टेकेको माटो बोलेको छ, चौतारो बोलेको छ, स्थानीय गालीगलौजको संगीत घन्केको छ, खोलाको सुसाइको झङ्कार बोलेको छ र बोलेको छ अन्धविश्वासको ढ्याङ्ग्रो पनि।
उपन्यासको कथा उत्सुकतापूर्ण ढङ्गले विकास हुँदै गएकाले रोचकता पनि निरन्तर रहेको छ। अचानक कुसुम र उसकी आमा गौरी गाउँबाट बेपत्ता हुनु पनि मार्मिक र हृदयस्पर्शी पक्ष हो उपन्यासको। यो वियोगको वेदना बुद्धिले खपेको छ। पीडा निलेको छ। आँसुले भिजेको छ।
एक दृष्टान्त
“थाहा छ, बुद्धि, औंसीको रात हरेक मङ्गलवार १२ बजे बोक्सीहरु पीपलको पूजा गर्छन्– फलामको कपडा, फलामको पाउजु र फलामकै कङ्गन लगाएर। टुकीमा नीलो बत्ती बालेर पूजा गरिरहेको बोक्सीहरुलाई देख्ने मान्छे त्यहीं ठहरै हुन्छन्” उद्धवेले भनेको थियो।
“बोक्सीसोक्सी केही हुँदैनन्, ती सबै हावा कुरा हुन्” बुद्धिले भन्दा ध्रुवेले मुण्टो हल्लाएको थियो।
यसले पुरातन र अन्धविश्वासप्रति विश्वास र अविश्वासको चेतनाको झलक दिन्छ।
उपन्यासमा गाउँका स्कुलमा हुने पढाइ, मास्टरहरुको चरित्र र चर्तिकला अनि विद्यार्थीका आनीबानी पनि जीवन्त रूपमा आएको छ। त्यस्तै परिवेश भोगेर आएका पाठकलाई यो उपन्यास पढ्दै जाँदा झकझकाउँदै अतीतमा पुर्याइदिन्छ।
गाईवस्तु, भुण्टुरी बाख्रा, टुकी, मइन्टोल, कसौंडी, झाँक्री आदि शब्दावलीले पाठकलाई नोष्टाल्जिक बनाइदिन्छन्। यी कतिपय कुरा शहरमा हुर्केका नयाँ पुस्ताका लागि अनौठो र चाखलाग्दो पक्ष हो।
आख्यान लेखनको प्रमुख कुरा चरित्र निर्माण हो। पात्रको चरित्र निर्माण नै आख्यानकारहरूका लागि सबैभन्दा ठूलो चुनौती हो। प्रत्येक पात्रको आनीबानी, व्यवहार, बोलीचाली, चिन्तन र बौद्धिक धरातल एउटै कदापि हुन सक्दैन। तर धेरै आख्यानकारहरुका लेखनमा सबैजसो पात्र एकै स्वभाव र चरित्रका देखिन्छन्। चरित्र निर्माणमा आख्यानकारहरु चुक्दछन् वा असफल हुन्छन्। आफ्नो यो पहिलो उपन्यासमै सागर खड्का यो जटिल परीक्षामा अब्बल निस्केका छन्। उपन्यासको मूल पात्र बुद्धि होस् वा नायिका कुसुम, मुखिया हुन् वा फूलमाया, उनले चरित्र निर्माणका माध्यमले तिनको फरक चिनारी बनाउन सकेका छन्। राइपाली भन्ज्याङ उपन्यासको यो सबैभन्दा सबल पक्ष हो। उपन्यास पढिसक्दा पनि पात्रहरु, तिनका चरित्र र संवाद पाठकहरुको आँखामा नाचिरहेको हुन्छ, दिमागमा सल्बलाइरहेको हुन्छ र तिनका दुःख–पीडाले द्रवित बनाइरहन्छ।
यस उपन्यासको अर्को बलियो पक्ष संवाद हो। संवाद चोटिला छन्, अर्ग्यानिक छन्, पढ्दै जाँदा पात्रले आफ्नै अगाडि पुटुपुटु बोले जस्ता लाग्छन्।
“उ हाम्रो गाउँ“, कुसुमले चोरीऔंला हावामा लहराउँदै देखाई।
“उ हाम्रो स्कुल“, उद्धवेले देखायो।
“उ हाम्रो घर“, आइतेले देखायो। बुद्धिलाई पनि केही त देखाउनु पर्यो।
निकै घोरिए जसरी एकछिन आँखा चिम्सा बनाएर तल हेर्यो र चोरी औंला तेर्स्याउँदै भन्यो, “उ मेरो भुण्टुरी बाख्रो।”
(पेज १४०)
पश्चिम नेपालको परिवेशमा आधारित उपन्यास भएकाले कतिपय पश्चिमेलीहरुले प्रयोग गर्ने स्थानीय भाषाले उपन्यासलाई मिठासपूर्ण बनाइदिएको छ।
हाँडेको वनमा भएको बुद्धि र शिवेको हाक्की (कुस्ती) को वर्णन पनि अत्यन्त जीवन्त रूपमा आएको छ। आँखै अगाडि भएको दृश्य झैं लाग्दछ। चलचित्र झैं महसुस हुन्छ।
त्यस्तै जुवा खेलेको दृश्य र वर्णन पनि जीवन्त छ।
बुद्धि र कुसुमको प्रेमको एक प्रकारको पराकाष्ठा त अत्यन्त शालीन भैकन रोमाञ्चक र अविस्मरणीय छः
“बुद्धि एकछिन पानीभित्रै टक्क अडियो, पौडी खेल्न बिर्सिएको माछा जस्तो। कुसुमका सेता साँप्रा बुद्धिका आँखैअगाडि टल्किरहेका थिए। पानीभित्र पनि बुद्धिको शरीर ताते जस्तो भयो। खोलामै आगो लाग्ला झैं जाँगेभित्र केही चिज रन्कियो। बुद्धि पानीभित्रै थुचुक्क बस्यो।
उसका आँखा कुसुमका साँप्रा हुँदै माथि माथि सर्दै गए। लौ बुद्धि पानीभित्रै सुईंकियो। उसले संसारमा देख्न बाँकी चिज अब केही पनि रहेन। खोलाको पानी तात्दै गयो, उम्लिरहेको दूध जस्तो। एकमनले बुद्धिलाई जिन्दगीभरि यसरी नै माछा झैं खोलाको पिंधमै पल्टेर त्यो दृश्य हेरिरहुँ जस्तो भयो। फूल झैं फक्रिएका कुसुमका नितम्बले उसका आँखा लुछिरहे। उसलाई ती नितम्ब आफ्ना हातमा अँजुलीमा अड्याएर खेलाउँ जस्तो लाग्यो।”
(पेज १३०)
“उसले संसारमा देख्न बाँकी चिज अब केही पनि रहेन।” यो अभिव्यक्तिले बुझ्न बाँकी केही रहन्न पाठकलाई। शब्दमा अश्लीलताको अंशपर्यन्त नहुँदा पनि पाठकले सजिव चित्र आँखै अगाडि भएको महसुस गर्न सक्छन्। यो उपन्यासकै शक्तिशाली वाक्य हो।
उपन्यासको कथा उत्सुकतापूर्ण ढङ्गले विकास हुँदै गएकाले रोचकता पनि निरन्तर रहेको छ। अचानक कुसुम र उसकी आमा गौरी गाउँबाट बेपत्ता हुनु पनि मार्मिक र हृदयस्पर्शी पक्ष हो उपन्यासको। यो वियोगको वेदना बुद्धिले खपेको छ। पीडा निलेको छ। आँसुले भिजेको छ।
“गाउँ उही थियो। गाउँका मान्छे तिनै थिए। तापनि गाउँमा पहिले झैं रमाइलो थिएन। किनकि गाउँमा कुसुम थिइनँ। उसको हाँसो थिएन। गौरी थिइनँ, उसले ओडालेको ढिंडोको बास्ना थिएन। बुद्धिलाई लाग्न थालेको थियो, अब गाउँमा केही पनि छैन। चार बजेको घण्टीपछि सबैले छाडेर गएको स्कुल जस्तो भएको थियो गाउँ। बुद्धि र गाउँ उस्तै लाग्थे आजकाल। उदास उदास। एक्ला एक्ला।
(पेज-१७२)
तर आत्मविश्वासका साथ बुद्धिले जीवन अघि बढाएको पनि छ। यो बुद्धिको चरित्रको सबल र प्रबल पक्ष हो। उपन्यासको अन्त्य पनि सुन्दर नै मान्नुपर्छ। उपन्यासमा कमजोरीहरु पनि नभएका हैनन्।
मुखियाको मृत्युलाई “देशले एउटा रिटायर्ड आर्मी गुमाएको थियो।” (पेज ९८) भन्नु कति उचित हो। मुखिया त भारतीय पल्टनका हुन्, देशका हैनन्। त्यस्तै नेपाल आर्मीमा भर्ती खुलेकोलाई “नेपाल लाहुरेमा भर्ती खुलिसकेको थियो” (पेज २४०) भन्नु पनि मिल्दो देखिन्न। नेपाली सेनाका रिक्रुट साथीहरुलाई बुद्धिले गल्लाहरु भन्नु पनि युक्तिसंगत लाग्दैन- “एक रात गल्लाहरुलाई जम्मा पारेर सुनाएको पनि थियो …” (पेज २४५)।
यी र यस्ता कमजोरी हुँदाहुँदै पनि उपन्यास कमजोर हुनबाट बचेको छ। किनभने सबल पक्षको अत्यधिक बाहुल्यले ती कमजोरीहरुलाई ओझेलमा पारिदिएका छन्।