रत्नमान शेरचन अर्थात् लेतेका ‘वेदर म्यान’


८ असोज, काठमाडौं । नेपाल सरकारले सन् १९६२ देखि संगठित रुपमा जल तथा मौसम विज्ञानका गतिविधिहरु सुरु गरेको थियो । यो काममा रत्नमान १९६९ देखि जोडिए । त्यतिबेला विद्युत् विभाग अन्तर्गत जल तथा मौसम विज्ञानका गतिविधिहरु हुन्थे ।

पछि यसलाई सिंचाइ विभागमा हस्तान्तरण गरियो । सन् १९८८ मा मात्र जल तथा मौसम विज्ञान विभागको रुपमा स्तरोन्नती भयो । जल तथा मौसम विभागको काममा नेपाल सरकारसँग जोडिएका रत्नमान शेरचन बुढ्यौली उमेरमा पनि निरन्तर सेवामा छन् ।

यो १९६९ मे १९ तारिख (२०२६ साल जेठ ६ गते) जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुको टोली वर्षा मापन केन्द्र राख्नका लागि ठाउँ खोज्दै लेतेमा पुगेका थिए । उनीहरुले गाउँका मुखियालाई आफूहरु लेते आउनुको कारण सुनाए । गाउँमा पढ्न–लेख्न जान्ने व्यक्ति भनेर मुखियाले रत्नमान शेरचनलाई बोलाए । रत्नमान गाउँमै प्रा.वि.का शिक्षक थिए ।

रत्नमानलाई हरेक दिन बिहान–बेलुका वर्षा मापन गरेर तथ्यांक टिप्ने र एक महिनाको विवरण एकमुष्ट रुपमा हुलाकबाट काठमाडौं पठाउनुपर्ने काम सुनाइयो । त्यो कामको तलब मासिक २० रुपैयाँ तोकियो । रत्नमान वर्षा मापनको काम गर्न राजी भए ।

‘त्यो कामको तलब सुरुमा महिनाको जम्मा २० रुपैयाँ थियो,’ रत्नमान पुरानो दिन सम्झिन्छन्, ‘मुखियाले भनेको कुरा कसरी हुन्न भन्नु ! बिहान–बेलुका मात्र काम गरे पुग्ने, दुई–चार सय पैसा पनि आउने भनेपछि म काम गर्न राजी भएँ ।’

निःशुल्क दिए जग्गा

यो १९६९ मे १९ तारिख (२०२६ साल जेठ ६ गते)को कुरा थियो । त्यति बेलादेखि रत्नमान र जल तथा मौसम विज्ञान विभागबीच गाँसिएको सम्बन्ध अझै पनि कायम छ ।

शिक्षकको रुपमा ४२ वर्ष सेवा गरेर २०६५ को चैतमा अवकास भएका ७६ वर्षीय रत्नमान भन्छन्, ‘शिक्षकबाट रिटायर्ड भएँ तर वेदर स्टेसनको काम भने छोड्न सकिनँ ।’

वर्षा र तापक्रम मापनका उपकरण राख्न चार मिटर लम्बाइ र चार मिटर चौडाइको जग्गा उनले सरकारका लागि निःशुल्क उपलब्ध गराएका छन् ।

घर नजिकैको जग्गामा सुरुमा वर्षा मापन केन्द्रका उपकरण मात्र जोडिएको थियो । पछि तापक्रम नाप्ने उपकरण पनि थपियो । यी उपकरण अटोमेटिक (स्वचालित) नभई म्यानुअल (मानिसले पढ्नुपर्ने) खालका हुन् ।

रत्नमान लेतेमा हजुरबुवाको पालादेखि बसोबास गर्दै आएका छन् । उनका अनुसार लेतेमा विगतको जस्तो वर्षा र हिमपात हुँदैन । यस्तो अवस्था आउनुमा जलवायु परिवर्तनको असर हो भन्ने उनलाई लागेको छ ।

त्यहाँ रेकर्ड भएको विवरण उनले पहिले हुलाकबाट मासिक रुपमा काठमाडौंमा पठाउने गर्थे । पोखरामा क्षेत्रीय कार्यालय खुलेपछि त्यही तथ्यांक पोखरा पठाउन थाले । टेलिफोन र मोबाइल सेवा सुरु भएपछि हुलाक धाउने काम बन्द भयो ।

हाल उनले दिनमा दुई पटक (बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे) पोखरास्थित कार्यालयमा वर्षा र तापक्रमको विवरण टिपाउँछन् । साप्ताहिक कृषि बुलेटिनका लागि विवरण टिपाउने जिम्मा पनि उनकै छ ।

रत्नमानले वेदर स्टेसनमा काम गरिरहेको अहिले ५५ वर्ष पुग्यो । यसबीचमा उनको ज्याला मासिक २० रुपैयाँबाट बढेर अहिले दैनिक १४० रुपैयाँ पुगेको छ । ज्याला चौमासिक रुपमा पाउँछन् । विगतमा ज्याला बढाउन माग गरे पनि सम्बोधन नभएको बताउँदै रत्नमान भन्छन्, ‘मैले मेरो ज्याला हेरिनँ । बरु धर्म छोडेको छैन ।’

‘वर्षा नाप्ने स्केल भाँचिदा मुटु टुक्रिएझैं भयो’

जल तथा मौसम विज्ञान विभागले राखेको म्यानुअल वर्षा र तापक्रम मापन केन्द्र उनको घरको आडैमा छ । उनी आफ्नो निजी सम्पत्ति जस्तै ठानेर त्यहाँ राखिएका उपकरणको रेखदेख गर्छन् । ‘तर सधैं ध्यान पुर्‍याउन सकिँदैन । एक दिन केटाकेटी त्यहाँ गएर वर्षा नाप्ने स्केल भाँचिदिए । मेरो मुटु नै टुक्रिएझैं भयो,’ रत्नमान सुनाउँछन्, ‘मैले त्यो स्केलमा बाँसको कप्टेरोको सहायता दिएर, टेप लगाएर जोडजाड गरेर काम चलाएँ । इन्दिरा म्याम (डा. इन्दिरा कँडेल) फिल्डमा आएको बेला स्केल भाँचिएको खबर पठाएँ । पछि पोखराबाट स्केल पठाइदिनुभयो ।’

जल तथा मौसम विज्ञान विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख डा. कँडेल शेरचनको काम सबैलाई उत्प्रेरणा जगाउने खालको रहेको बताउँछिन् । ‘वृद्ध उमेरमा पनि उहाँको ऊर्जा साँच्चिकै लोभलाग्दो छ,’ कँडेल भन्छिन्, ‘कामप्रतिको उहाँको अनुशासन र इमान्दारिता सबैले सिक्न लायक छ । म त उहाँलाई वेदरम्यान भन्छु ।’

जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालय प्रमुख सुजन सुवेदीका अनुसार कार्यालय मातहत मौसमका ८५ वटा स्टेसनहरु छन् । प्राय सबैमा वर्षौंदेखि काम गरिरहेका दैनिक ज्यालादारी कर्मचारीहरु छन् ।

शेरचनले पठाउने तथ्यांक गुणस्तरीय हुने जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयका नायव मौसम विज्ञान सहायक प्रकाश गुरुङ बताउँछन् । ‘उहाँको काम राम्रो छ, दिनहुँ टिपाउनुहुन्छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘तथ्यांक पनि गुणस्तरीय हुन्छ ।’

जिम्मेवारी बढी, ज्याला कम

देशभरका स्टेसनमा दैनिक ज्यालादारीमा काम गर्नेहरु करिब पाँच सय जना कर्मचारीहरु छन् । उनीहरुले न्यून ज्यालामा काम गर्दै आएका छन् ।

वर्षा मापन केन्द्रको मात्र विवरण पठाउनेले दैनिक ७० रुपैयाँ ज्याला पाउँछन् । मौसमको १४० रुपैयाँ, कृषि हावापानीको १६० रुपैयाँ, सिनप्टिकको २५० र एरोसिनप्टिक केन्द्र अब्जरभरको २७५ रुपैयाँ दैनिक ज्याला छ ।

‘वर्षा र तापक्रमको वास्तविक तथ्यांकको महत्व सबैलाई के थाहा ? तर मलाई थाहा छ । यो देशको नीति निर्माणमा काम लाग्छ । विकासको काममा उपयोग हुन्छ ।’

उनीहरुले ज्याला बढाउन माग गर्दै आए पनि सम्बोधन भएको छैन । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्य ज्याला बढाउनुपर्ने प्रस्ताव दुई वर्षअघि नै अर्थ मन्त्रालयमा पठाइए पनि फाइल उतै अड्किएको बताउँछन् ।

वर्षा र तापक्रमको विवरण पठाउने काम बिहान–बेलुका मात्र भए पनि त्यो कामका लागि गाउँ छोडेर जान पाइँदैन । यदि कतै गइयो भने पनि बिहान पौने ९ बजे र बेलुका पौने ६ बजेको विवरण टिपाउनका लागि जसरी पनि आइपुग्नुपर्छ । त्यसैले जिम्मेवारी बढी भए पनि ज्याला कम भएको शेरचनको गुनासो छ ।

‘ज्याला थोरै भएकाले बढाइदिनुस् भनेर पहिले–पहिले भनियो तर सम्बोधन भएन । अहिले त भन्न पनि छोडियो,’ शेरचन भन्छन् ।

‘इन्जिनियर सल्लाह लिन आउँछन्’

कथंकदाचित आफूले नभ्याउने स्थिति आइपरे पनि विवरण नछुटोस् भनेर शेरचनले छोरा–बुहारीलाई पनि वर्षा र तापक्रम नाप्न सिकाएका छन् । ‘मैले तापक्रम र वर्षाको विवरण कसरी नाप्ने भनेर छोरा–बुहारीलाई पनि सिकाएको छु, उनीहरुबाट मलाई राम्रो सहयोग मिलेको छ,’ रत्नमान भन्छन् ।

कहिलेकाहिँ गाउँकाले थोरै ज्यालामा यस्तो काम किन गर्नुपरेको भनेर रत्नमानलाई भन्छन् । तर यसको महत्व बुझेकाले गाउँलेको भनाइप्रति वास्ता नगरेको उनी बताउँछन् । ‘वर्षा र तापक्रमको वास्तविक तथ्यांकको महत्व सबैलाई के थाहा ? तर मलाई थाहा छ,’ रत्नमान भन्छन्, ‘यो देशको नीति निर्माणमा काम लाग्छ । विकासको काममा उपयोग हुन्छ । त्यसैले इमान्दारपूर्वक आफ्नो काम खुरुखुरु गरिरहेको छु ।’

यसको महत्व बुझेकाहरुले गाउँमा विकास निर्माणको काम सुरु गर्नुअघि आफूसँग सल्लाह लिने गरेको उनी बताउँछन् । ‘कुनै ठाउँमा पुल बनाउनुपर्यो भने, सडक बनाउनु पर्यो भने इन्जिनियरहरु मेरो सल्लाह लिन आउँछन्,’ रत्नमान भन्छन्, ‘यहाँ वर्षभरीमा पानी कति पर्छ, मेघ कति गर्जिन्छ, असिना कति पर्छ, हिउँ कति पर्छ, हावाहुरी कस्तो चल्छ, तापक्रम कस्तो हुन्छ, बादल हुस्सु कति लाग्छ भनेर सोध्न आउँछन् । मैले जाने–बुझेसम्मको बताइदिन्छु ।’

जलवायु परिवर्तनको असर, वातावरणसँग जोडेर होटेलको नाम

रत्नमान लेतेमा हजुरबुवाको पालादेखि बसोबास गर्दै आएका छन् । उनका अनुसार लेतेमा विगतको जस्तो वर्षा र हिमपात हुँदैन । यस्तो अवस्था आउनुमा जलवायु परिवर्तनको असर हो भन्ने उनलाई लागेको छ ।

‘जलवायु परिवर्तनले यहाँ ठूलो असर परेको छ । पहिले असार, साउन, भदौ महिनासम्म एकनासले पानी परिरहन्थ्यो । एक–दुई महिनासम्म घाम नै देख्न पाइँदैनथ्यो । हिउँ पनि बाक्लो पथ्र्यो । त्यसले मलको काम गथ्र्यो र बालीनाली सप्रिन्थ्यो,’ रत्नमान भन्छन्, ‘अहिले त २०६२ सालयता ठूलो हिउँ परेको छैन । २०७९ र २०८० सालमा त हिउँ नै परेन भन्दा पनि हुन्छ । हिउँ नपरेर हिमाल काला देखिन्छन् ।’

कहिलेकाहीँ १०–१५ दिनसम्म घाम लाग्ने र कहिले एक–दुई दिनमात्र बेस्सरी ठूलो पानी पर्ने गरेको उनको अनुभव छ ।

विगतमा मकै, जौ, फापर, आलु राम्रो फल्ने गरेकोमा अहिले उत्पादन पनि ह्वात्तै घटेको उनको भनाइ छ ।

रत्नमानले लेतेमै होटल व्यवसाय पनि गरेका छन् । मौसम र वातावरणप्रति चिन्तित रत्नमानले होटेलको नाम पनि ‘इको गेष्टहाउस एण्ड थकाली किचन’ राखेका छन् ।

‘मलाई वातावरणप्रति चिन्ता छ । त्यही भएर होटलको नाम पनि त्यस्तै खालको राखेँ,’ उनी भन्छन्, ‘गाउँका कतिपयले त के हो इको भनेर सोध्छन् ।’

उनका अनुसार होटेल सधैं चल्दैन । दशैंको बिदाको बेला बढी चल्छ । बस्ने ठाउँ पनि पाइँदैन । त्यही भएर पहिले नै बुक गर्नुपर्छ । कोरोना महामारीभन्दा अगाडि विदेशी पाहुना धेरै हुने गरेकोमा अहिले विदेशी कम र स्वदेशी पाहुना बढी हुने गरेको उनी बताउँछन् ।

नातिहरुलाई पनि यही काम गर्न भनेको छु: रत्नमान

७६ वर्षीय रत्नमानको दृष्टि र श्रवण शक्ति अहिलेसम्म बलियो छ । त्यसैले उनी शरीरले साथ दिएसम्म होटल व्यवसायसँगै जल तथा मौसम विज्ञान विभागको काम पनि नछोड्ने बताउँछन् ।

भन्छन्, ‘आँखा पनि प्रष्ट देख्छु, कान पनि प्रष्ट सुन्छु, अहिलेसम्म केही समस्या छैन । शरीरले साथ दिँदासम्म, म नमरेसम्म यो काम छोड्दिनँ ।’

उनको घरमा श्रीमती, छोरा, बुहारी र दुई नातीहरु छन् । आफ्नो सेख पछि पनि छोरा–नातीले वर्षा र तापक्रम मापनको काम जारी राखुन् भन्ने उनको इच्छा छ ।

‘मेरो एउटा मात्र छोरो भएकोले वेदर स्टेसन राखिएको जग्गा अरुलाई अंश लगाउनु परेन । दुईटा नाती भएकाले उनीहरुको पालामा अंशबण्डा त होला,’ रत्नमान भन्छन्, ‘तर मैले नातीहरुलाई सम्झाएको छु । म मरेपछि तिम्रो बाबाले यो काम गर्छ, बाबा मरेपछि तिमीहरुले गर्नू, तर वेदर स्टेसन नहटाउनू । नातीहरुले हुन्छ भनेका छन् ।’





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School