बिरामीलाई रगत चाहिएमा सबैले झट्ट सम्झने नाम हो दीपक अर्थात् दीपक उपाध्याय नेपाल। प्रादेशिक होस् या निजी अस्पतालमा जुनसुकै अस्पतालमा रगत चाहिएका बिरामीका लागि सहजै रगत दान गर्ने तथा खोजी दिने व्यक्ति हुन् दीपक। त्यही भएर पनि उनलाई रगत चाहिने बिरामीका आफन्त झट्ट सम्झन्छन् र उनको मोबाइल नम्बरमा फोन लगाइहाल्छन्।
दीपक आफू जतिसुकै व्यस्त रहे पनि मोबाइलमा सेभ नभएका नम्बर पनि तुरुन्तै रिसिभ गरिहाल्छन् र रगतको जोहो गर्न तम्तयार हुन्छन् । त्यसैले पनि रगत चाहिए जोसुकैले फ्याट्टै लिने नाम हो दीपक ।
आफ्ना दाजु विनोद उपाध्यायको प्रेरणाबाटै दीपक रक्तदानमा होमिए । १८ वर्षको उमेरमा उनका दाजु विनोदको आग्रहमा पहिलो पटक रक्तदान दान गरेका दीपकले अहिलेसम्म १०६ पटक रक्तदान गरिसकेका छन् । ‘त्यो बेला दाजु जेसीजमा हुनुहुन्थ्यो । जेसीजले रक्तदानका कार्यक्रम गरिरहने र दाजु पनि रक्तदान गर्नुहुन्थ्यो,’ दीपकले भने,‘दाजुकै प्रेरणाले रक्तदानमा सक्रिय बन्ने अवसर पाएको हुँ ।’
पहिलो पटक रक्तदान गरेको दिन सम्झँदै उनले भने,‘दाजुले रक्तदान गर भन्नुभयो, पहिलो पटक रक्तदान गर्दा के हुन्छ ? कस्तो हुन्छ भन्ने कौतुहलता लाग्नु स्वाभाविकै हो । तर पनि नआत्तिएर रगत दान गरेँ ।’ पहिलो पटक रक्तदान गरेसँगै नियमित रगत दान गर्दै आएको उनी बताउँछन् । दीपकका दाइ विनोदले पनि अहिलेसम्म ८५ पटक रक्तदान गरिसकेका छन् । उनीहरू दुवै मिलेर कयौँको ज्यान जोगाएका छन् ।
रक्तदान गर्दै जाँदा अहिले त बिरामीलाई रगत चाहिएको भन्दै दैनिक ८÷१० ओटा फोन आउने गरेको उनी बताउँछन् । ‘आज मात्रै १२ वर्षीय एक बालकलाई ‘ए नेगेटिभ’ रगतको जोहो गरेँ,’ उनले भने,‘रातिसम्म रगतका लागि फोन आइरहन्छ ।’ कहिले काहीँ मध्यरात रगत चाहियो भन्दै फोन आउने गरेको बताउँदै उनले भने,‘मध्यरात मस्त निद्रामा रहेका बेला फोन आउँछ, रगत चाहियो, पत्ता लगाइदिनु परो भन्छन्, त्यही बेला रक्तदाताहरूको समूहमा मोबाइलमा ब्लड ग्रुप सर्च गर्दै फोन गर्छु ।’ तत्कालीन सेती अञ्चल अस्पतालमा एक जना सुत्केरी महिलालाई रगत अभाव देखिएको भन्दै अस्पतालकै गाइनो वार्डको स्टाफले फोन गरेपछि रातिको ३ बजे गएर रक्तदान गरेको उनी सम्झन्छन् । ‘आफूले रक्तदान गर्दा जीवन दान गरेजस्तो लाग्ने गरेको छ,’ उनले भने,‘त्यही भएर पनि रगत दिने समय पुगेपछि खबर पाउने बित्तिकै रगत दान गरिहाल्छु ।’ आफूले रगत दिएर वा रगतको जोहो गरिदिएर बचेका बिरामी तथा आफन्तहरू भेट्न आउँदा खुसी लाग्ने गरेको उनी बताउँछन् । ‘रक्तदान गरेकै कारण धेरै जना साथी बनेका छन्,’ उनले भने,‘जहाँ जाँदा पनि हजुरले रक्तदान गरेको या जोहो गरिदिएको हो भन्दै बिरामी तथा आफन्तहरू खुसी व्यक्ति गर्छन् । त्यसैमा आनन्द आउँछ ।’ सरकारले पर्याप्त ब्लड बैंक स्थापना नगर्दा अहिले बिरामीहरूलाई समस्या पर्दा रक्तदाता खोज्नु पर्ने बाध्यता रहेको छ । त्यस कारण पनि दीपकलाई सम्झनेहरू अझै धेरै बढिरहेका छन् ।
सबैभन्दा बढी सुत्केरी महिला, दुर्घटनामा परेकाहरू र सिकलसेल एनिमियाका बिरामीका लागि रगत चाहियो भन्दै फोन आउने गरेको उनी बताउँछन् । ‘यिनै बिरामीका लागि मैले सबैभन्दा बढी रगत दान गर्नुका साथै जोहो पनि गरिदिएको छु,’ उनले भने,‘तत्कालीन अवस्थामा कोही सम्पर्कमा नआउँदा आफै रक्तसञ्चार केन्द्रमा पुगेर फाइल पल्टाएर त्यहीबाट फोन गरेर भए पनि कोही न कोहीलाई सम्पर्कमा ल्याउने गरेको छु ।’ उनलाई धनगढीमा मात्रै नभई नेपालगन्ज, काठमाडौँ र चितवनबाट पनि रगतको लागि फोन आउँछ ।
सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौं, चितवन, नेपालगन्ज पुगेका बिरामी तथा आफन्तले रगतका लागि दीपकलाई सम्झन्छन् । दीपकले सोही ठाउँका रक्तदाता खोजेर सम्पर्कमा ल्याइदिन्छन् । ‘हामी देशभरका रक्तदाता सञ्जालमार्फत जोडिएका छौ,’ उनले भने,‘जुनसुकै ठाउँमा पनि बिरामीलाई रगत चाहिएमा नेटवर्कद्वारा रक्तदाता खोजेर रगतको जोहो गरिहाल्छौँ ।’ विज्ञानले धेरै कुरा बनाउन सक्दा पनि रगत बनाउन नसकेको बताउँदै उनले भने,‘रगतको विकल्प रगत मात्रै हो, रगत जोगाउनु र अरूलाई दिनु नै सबैभन्दा राम्रो कुरा हो ।’ सुदूरपश्चिमका ९ जिल्लाका लागि कैलालीको धनगढी र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै ब्लड बैंक छ । त्यो बाहेक पहाडी जिल्लामा संकलन केन्द्र नै छैन ।
सुदूरपश्चिममा सबैभन्दा बढी पटकसम्म रक्तदान गर्ने उनी पहिलो व्यक्ति हुन् । डेढ वर्षअघि उनलाई नेपाल रेडक्रस सोसाइटी धनगढीले उनलाई १०० पटक रक्तदान गरेको भन्दै सम्मानपत्र सहित सम्मान गरेको थियो । त्यसपछि पनि उनले ६ पटक रक्तदान गरिसकेका छन् ।
रक्तदानका लागि दीपक एक अभियन्ता भएको सुदूरपश्चिम प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्त बताउँछन् । ‘दीपकले रक्तदानका लागि सामाजिकीकरण गर्नमा ठुलो योगदान पुगाउनु भएको छ,’ उनले भने,‘उहाँलाई हामी रक्तदातासँगै अभियन्ताका रुपमा चिन्दछौँ ।’ दीपकले विद्यालय तथा कलेजमा पनि रक्तदान गर्नका लागि विद्यार्थीहरूलाई उत्प्रेरणा तथा रक्तदानको महत्वका बारेमा जानकारी दिइरहन्छन् । अहिले धनगढीमा दैनिक ४० देखि ६० पिन्ट रगत आवश्यक पर्छ ।
धनगढीमै प्रादेशिक अस्पतालसँगै निजी अस्पतालहरू खुल्नु र ठुलठुला शल्यक्रियाहरू यहीँ हुनुले पनि रगतको माग पहिलेको तुलनामा बढेको उनी बताउँछन् । ‘पहिलेको तुलनामा अहिले रगतको माग बढेको छ, तर त्यही अनुपातमा रक्तदाता बढेका छैनन् ।’ बिरामीका आफन्तले रगत आफूले रगत नदिएरै रगत प्राप्त गर्न खोज्ने गरेको पनि उनी बताउँछन् । आफूहरूले बिरामीका आफन्तलाई पनि रक्तदान गरिदिन अनुरोध गर्ने गरेको उनले बताए ।
दीपकले बिरामीका आफन्तले आफै रगत खोज्न सहज हुने गरी एउटा प्रविधिको विकास गर्न लागि रहेका छन् । मोबाइल एप्सको माध्यमबाट आफूलाई आवश्यक परेको रगत र उक्त रगतको लागि कसलाई सम्पर्क गर्ने भन्ने विषयमा सहजै जानकारी पाउने गरी मोबाइल एप्सको विकास गर्न लागिरहेको उनले बताए ।
रक्तदान सचेतना अभियान
धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले स्वयंसेवी रक्तदाता दीपकले औपचारिक अभियान थालेका छन् । उपाध्यायले विभिन्न जिल्लाबाट उपचारका लागि धनगढी आउँदा रगत चाहिने बिरामीहरूलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने ध्येयले धनगढीमा अभियान सुरु गरेको बताए । सामाजिक विकास मन्त्री मेघराज खड्का र मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संयुक्त रूपले अभियानको थालनी गरेर उद्घाटन गरेका छन् ।
उनीहरुले सामाजिक विकास मन्त्रालय र सेती प्रादेशिक अस्पतालमा रक्तदान सम्बन्धी जानकारी मूलक बोर्ड राखेर अभियान सुरु भएको घोषणा गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले सुरु गर्न लागेको ‘निःशुल्क रगत’ अभियानलाई यो कार्यक्रमले सहज बनाउने सामाजिक विकास मन्त्री खडकाले बताए । उनले रगत निःशुल्क मात्रै गरेर नहुने बताउँदै यसका लागि धेरैभन्दा धेरै रक्तदाताहरू जोडिन आवश्यक रहेको बताए । मन्त्रालयका प्रवक्ता खड्काले अभियान अन्तरगत धनगढीका विभिन्न अस्पताल, मन्त्रालय, कार्यालय तथा विभिन्न सार्वजनिक स्थानमा सचेतनामूलक सन्देशसहितको बोर्ड बताए ।
कैलालीबाट सुरु भएको रक्तदान सम्बन्धी जानकारी मूलक अभियान सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रत्येक पालिकासम्म पुग्ने रक्तदाता दीपक बताउँछन् । ‘अभियानले गाउँ गाउँमा रक्तदान गर्न प्रेरणा मिल्नेछ,’ उनले भने,‘जसले गर्दा रगत अभाव टर्नेछ ।’
प्रकाशित: ३१ श्रावण २०८१ १९:१८ बिहीबार