प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

फोटो: एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा ‘स्ट्रेट अफ होर्मुज’ सुरक्षित गर्न सहयोग नगरेको भन्दै नेटो सदस्य राष्ट्रहरूले “मूर्खतापूर्ण गल्ती” गरेको आरोप लगाएका छन्।
ह्वाइट हाउसमा आयरल्यान्डका प्रधानमन्त्री मिखाल मार्टिनसँगको भेटका क्रममा ट्रम्पले नेटोका अधिकांश सहयोगी राष्ट्रहरूले युद्धमा संलग्न हुन नचाहेको जानकारी दिए। धेरै देशहरूले उक्त युद्धलाई अवैध ठानेका छन्।
तेल ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यस जलमार्गमा युद्धका कारण अवरोध सिर्जना हुँदा तेलको मूल्यमा दबाब परेको छ। तर ट्रम्पले अमेरिकालाई सहयोगीहरूको आवश्यकता नरहेको जिकिर गर्दै भने, “हामीलाई कुनै सहयोग चाहिँदैन, तर उनीहरू त्यहाँ हुनुपर्थ्यो।”
ट्रम्पले खाडी क्षेत्रमा ‘माइन स्वीपर’ (बारुद हटाउने जहाज) नपठाउने नेटो देशहरूको निर्णयलाई ठूलो कुरा नभए पनि यसलाई अमेरिकाप्रतिको अन्याय भनेका छन्। उनले इरानविरुद्ध अमेरिकासँग मिलेर गरिएका आक्रमणमा सहभागिता नजनाएको भन्दै विशेष रूपमा बेलायतको कडा आलोचना गर्दै असन्तुष्टि व्यक्त गरे।
उनले बेलायती प्रधानमन्त्री किर स्टार्मरको नाम उल्लेख गर्दै उनी सत्तामा आएपछि अमेरिका–बेलायत सम्बन्ध कमजोर भएको टिप्पणी गरे। ट्रम्पका अनुसार यो युद्ध अमेरिका र उसका सहयोगीहरूबीचको सम्बन्धका लागि “ठूलो परीक्षा” हो। यद्यपि, उनले कुनै पनि प्रकारको प्रतिशोधात्मक कदम चाल्नेबारे हाल कुनै योजना नरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत पनि नेटो राष्ट्रहरूलाई लक्षित गर्दै भने, “हामी उनीहरूको रक्षा गर्छौं, तर आवश्यक पर्दा उनीहरूले हाम्रा लागि केही गर्दैनन्।” साथै उनले युक्रेनलाई सहयोग गर्न अमेरिकाले अरबौँ डलर खर्च गरेको कुरा पनि उल्लेख गरेका छन्।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि होर्मुज जलमार्गबाट इरानी तेल बोकेका थोरै मात्र जहाज भारत र चीनतर्फ जान सफल भएका छन्। स्मरणीय छ, विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ।