बालबालिकाको खोप नीतिमा परिवर्तन नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश



प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

बालबालिकाको खोप नीतिमा परिवर्तन नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

अमेरिकी अदालतले ट्रम्प प्रशासनलाई बालबालिकाको खोप (इम्युनाइजेसन) सम्बन्धी नीतिमा व्यापक परिवर्तन गर्न रोक लगाएको छ। अदालतको यो निर्णय स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरको योजनाका लागि ठूलो धक्का मानिएको छ।

पद सम्हालेको एक वर्षयता केनेडीले खोपसम्बन्धी नियमहरू खुकुलो बनाउने प्रयास गर्दै आएका थिए। उनले बालबालिकाका लागि सिफारिस गरिएका खोपहरूको संख्या १७ बाट घटाएर ११ मा ल्याउने निर्णय गरेका थिए। तर, ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ लगायतका ठूला स्वास्थ्य संस्थाहरूले यो परिवर्तन संघीय कानुनविपरीत भएको भन्दै मुद्दा दायर गरेका थिए।

म्यासाचुसेट्सस्थित संघीय अदालतका न्यायाधीश ब्रायन मर्फीले केनेडीद्वारा नियुक्त खोपसम्बन्धी सल्लाहकार समितिका सदस्यहरूलाई समेत निलम्बन गरेका छन्। तीमध्ये अधिकांश सदस्यहरू खोपप्रति संशयपूर्ण दृष्टिकोण राख्ने व्यक्तिहरू रहेको बताइएको छ। केनेडी आफैँ पनि प्रशासनमा सहभागी हुनुअघि लामो समयदेखि खोपविरोधी अभियानमा सक्रिय थिए।

न्यायाधीश मर्फीले आफ्नो ४५ पृष्ठको फैसलामा खोपसम्बन्धी निर्णयहरू वैज्ञानिक प्रक्रिया र कानुनी मापदण्डअनुसार हुनुपर्ने उल्लेख गर्दै सरकारको कदमले ती प्रक्रियालाई कमजोर बनाएको बताएका छन्। उनले केनेडीले नयाँ सदस्य नियुक्त गर्दा आवश्यक छनोट प्रक्रिया नअपनाएको समेत औँल्याएका छन्। अदालतले सल्लाहकार समितिलाई बेवास्ता गर्दै खोप तालिकामा परिवर्तन गर्नुलाई “प्राविधिक र प्रक्रियागत त्रुटि” ठहर गरेको छ।

केनेडीको यो नीतिपछि अभिभावक र चिकित्सकहरू अन्योलमा परेका छन्। विशेषगरी बीमा कम्पनीहरूले खोपको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार नयाँ नीति वैज्ञानिक आधारमा नभएकाले यसले बालबालिकाको स्वास्थ्यमा जोखिम बढाउन सक्छ। त्यसैले केही राज्यहरूले स्वास्थ्य सेवा प्रदायकहरूलाई पुरानै खोप तालिका पालना गर्न आग्रह गर्न थालेका छन्।

यस निर्णयसँगै ‘एडभाइजरी कमिटी अन इम्युनाइजेसन प्र्याक्टिसेस’ को बैठक स्थगित गरिएको छ। ट्रम्प प्रशासनले भने यो निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालय का प्रवक्ता एन्ड्र्यु निक्सनले अदालतको निर्णय उल्टिने विश्वास व्यक्त गरेका छन्।

यता, मुद्दा दायर गर्ने स्वास्थ्य संस्थाहरूले भने यसलाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन्। ‘अमेरिकन मेडिकल एसोसिएसन’ ले यसलाई “बालबालिकाको स्वास्थ्य संरक्षणतर्फको महत्त्वपूर्ण कदम” भनेको छ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि केनेडीले यस समितिका सबै पुराना सदस्यहरूलाई हटाएर आफ्नै रोजाइका व्यक्तिहरू नियुक्त गरेका थिए। यो समिति ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ लाई खोपसम्बन्धी सिफारिस गर्ने महत्त्वपूर्ण निकाय हो।





Source link

Leave a Comment