‘रअ हिटम्यान’को पडकास्टले सम्झाएको जमिम शाह हत्याकाण्ड

‘रअ हिटम्यान’को पडकास्टले सम्झाएको जमिम शाह हत्याकाण्ड


२६ वैशाख, काठमाडौं । कुनै बेला भारतको बाह्य गुप्तचरी निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) मा काम गरेका एजेन्ट लिमाको पडकास्ट यतिबेला चर्चामा छ ।

स्पटिफाईसँगै राज समानी युट्युब च्यानलमा अपलोड भएको संवादको ५६ औं मिनेटपछि एजेन्ट लिमा भनेर चिनिएका लक्ष्मण सिंह विष्ट ‘लकी’ लाई उनको करिअरको एउटा खुफिया अपरेशनबारे सोधिन्छ ।

‘कहाँ कहाँ त्यस्तो अपरेशन गर्नुभयो ?’

धेरै मुलुकमा त्यस्ता अपरेशनमा सहभागी भएको जनाउँदै उनी देशको नाम बताउन नसक्ने जिकिर गर्छन् ।

जब प्रश्नकर्ताले देशको नाम नदिइ कुनै एक अपरेशनबारे बताउन फेरि अनुरोध गर्छन्। त्यसपछि उनले एक जना केबल अपरेटरलाई विदेशी मुलुकमा इलिमिनेट गरेको अर्थात्  मारेको सन्दर्भ सुनाउँछन् ।

उनको यो बयानलाई कतिपयले ‘लाजिम्पाटमा २३ माघ २०६६ मा मारिएका केबल किङ भनेर चिनिएका सञ्चार उद्यमी जमिम शाह’ हत्या प्रकरणसँग जोडेका छन् । नेपाल प्रहरीका कतिपय अनुसन्धान अधिकृतहरु पनि त्यसलाई अस्वीकार गर्दैनन्, यद्यपि पर्याप्त आधारहरु भने नदेखिने उनीहरु बताउँछन् ।

लिमा भारतीय सुरक्षा फौजका तिनै सार्प सुटर हुन्, जसले कठिन काउन्टर अपरेशनमा खटिने भारतको नेश्नल सेक्यूरिटी गार्ड (एनएसजी) मा समेत काम गरिसकेका छन् । एनएसजीमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह लगायतको सुरक्षामा टोलीमा पनि काम गरेका छन् ।

उनीमाथि हुसेन जहिदीले ‘रअ हिटम्यान : द रियल स्टोरी अफ एजेन्ट लिमा’ नामक पुस्तक नै लेखेका छन् । यिनै लिमाले सन् २००७ को वरिपरि कुनै देशमा एउटा अपरेशन गर्नुपर्ने, त्यसका लागि डेढ करोड रुपैयाँ जरुरी परेको पडकास्टमा सुनाएका छन् ।

‘रअमा एक जना कोही सिनियर थिए, उनले त्यो मुलुकभित्र पैसा र सबथोक दिएर एउटा विजनेश स्थापना गराएका थिए’, लिमाले भनेका छन्, ‘जब त्यो देशमा हाम्रो देशका मान्छे जान्छन्, उनीहरुलाई सहयोग गर्छ भन्ने उद्देश्यले त्यहाँ उनलाई तयार गरिएको थियो ।’

तर, सन् २००७ को वरिपरिमा एउटा टिम जाँदा उनको मनमा लोभ पलाएको उनले भनेका छन् ।

‘त्यसरी तयार गरिएका मान्छेलाई सरकारले १० वर्षसम्म पनि प्रयोग नगर्न पनि सक्छ, हुनसक्छ जिन्दगी भर नै काम नलगाउन पनि सक्छ’, लिमाले भनेका छन्, ‘तर, उसले डेढ करोड रुपैयाँको चक्करमा त्यहाँको सरकारसँग मिलेर, त्यहाँको लोकल पुलिससँग मिलेर तीन जनालाई मारिदियो ।’

आफ्ना तीन जना व्यक्तिहरु हतियारसहित पैसा लिन गएका बेला इन्काउन्टर गरिदिएको लिमाले भनेका छन् । यस्तोमा उसलाई इलिमिनेट गर्न जरुरी भएपछि डेढ सालको तयारीका साथ अपरेशन चलाएको उनले भनेका छन् । त्यसबेला उनले केवलको काम खोलेको भन्दै उनले भनेका छन्, ‘उसका कारण तीन जना मरेका थिए, त्यसपछि हामीले उसमाथि निरन्तर नजर राख्यौं ।’

एजेन्ट लिमाले बताएअनुसार, उनी हरेक दिन बिहान टेबल टेनिस खेल्न जान्छन् भन्ने सूचना आयो । योजना अनुसार, एक दिन बिहानै लिमा अपरेशनमा खटिए ।

‘मलाई एउटा साथी दिइएको थियो, किन हो मलाई बाइकमा भरोसा भएन । त्यसपछि मैले अर्को साथीलाई म पछाडि बस्छु, तँ चला भनेँ’, उनले भनेका छन्, ‘त्यसपछि ऊ जाने वित्तिकै हामीले गोली हान्यौं, उसको गाडी एउटा खम्बामा ठोक्कियो । फर्किएर आउँदा एउटा ब्याग थियो, जसमा त्यहाँको पैसा थियो ।’

लिमाका अनुसार, संयोगवश डेढ करोड रुपैयाँका लागि आफूहरुको तीन जना व्यक्तिको हत्या गराइदिएका उनी मारिँदा पनि लगभग उत्तिकै पैसा गाडीभित्र रहेको झोलामा भेटिएको थियो । ‘करेन्सी लगभग १०/१५ लाख फरक भयो होला, त्यति नै गाडी पछाडि भेटियो, कर्मा हेर्नुस्’, उनले भनेका छन्, ‘पैसा त ल्याएनौं, पैसाको मतलब थिएन । टार्गेट इलिमिनेट गर्नु थियो, त्यही अनुसार गरेर सबै कुरा शान्त नहुञ्जेल अर्को ठाउँमा गयौं ।’

काठमाडौंको लाजिम्पाटमा मोटरसाइकलमा आएका दुई व्यक्तिले २४ माघ २०६६ मा सञ्चार उद्यमी जमिम शाहको गोली हानी हत्या गरेका थिए । यो घटनाको अनुसन्धानमा संलग्न पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेन्द्र अधिकारीका अनुसार, शाहलाई गोली हानेलगत्तै दुई सुटर वेग्लावेग्लै बाटोबाट कलंकीसम्म पुगेका थिए ।

‘रअ हिटम्यान’को पडकास्टले सम्झाएको जमिम शाह हत्याकाण्ड
जमिन शाह

‘त्यहाँबाट नाइट बस चढेर उनीहरु भैरहवा हुँदै सुनौली नाकाबाट भारत प्रवेश गरेको खुलेको थियो’, अधिकारीले भने, ‘अर्कै व्यक्तिले उनीहरुले प्रयोग गरेको हतियार बसपार्कको पछाडि रहेको खोलामा फ्याँकेको पनि खुलेको थियो, झण्डै ४०० प्रहरी लगाएर खोजी गर्दा पनि फेला पार्न सकिएको थिएन ।’

अहिले रअका पूर्वएजेन्ट लिमाको अन्तरर्वार्ता आएपछि धेरैले जमिम हत्या प्रकरणसँग जोडेर हेरेपनि यसका कयौं तथ्यहरु मेल नखाने उनी बताउँछन् । ‘टेनिस खेल्न जान्थे भनेका छन्, तर उनी दरबारमार्गस्थित याक एण्ड यति होटलको जिममा गएका थिए’, अधिकारीले थपे, ‘उनको गाडीबाट नगद पनि बरामद भएको थिएन, त्यो समयमा कुनै पनि व्यापारीले त्यति ठूलो रकम बोकेर हिँड्ने स्थिति पनि थिएन ।’

पुस्तौनी घर भारतको काश्मिर भएका जमिम शाहको लगानीको स्रोतलाई लिएर पहिल्यैदेखि विवाद हुने गरेको थियो । १५ फागुन २०१८ मा काठमाडौं जन्मिएका शाहले गार्मेन्ट उद्योग खोलेर व्यापारमा हात हालेका थिए ।

पछि टेलर पनि चलाएका उनले सिलिङ फ्यान र भिडियो प्लेयरको व्यापार पनि गरेका थिए । पछि भारतमा केबलको व्यापार चलेको देखेपछि उनले नेपालमा पनि यसको व्यवसाय सुरु गराएका थिए । नेपालको पहिलो स्याटलाइट टेलिभिजन ‘च्यानल नेपाल’ पनि उनले नै स्थापना गराएका थिए ।

स्पेश टाइम नेटवर्कका प्रबन्धक जमिम शाहको हत्या सम्बन्धमा गठित जाँचबुझ आयोग, २०६६ को प्रतिवेदनमा, ‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमण गरेका बेला जमिमबारे सरोकार व्यक्त गरेको’ भनिएको छ ।

नेपालस्थित भारतीय दूतावासले १६ जुलाई २००४ मा जमिमको स्पेश टाइम नेटवर्कमा दाउदको लगानी रहेको जानकारी आएको भन्दै छानबिन गरेर जानकारी दिन समेत पत्राचार गरेको थियो ।

शाह मारिएपछि भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले पनि ‘जमिमको सम्बन्ध दाउद इब्राहिमको भूमिगत गिरोहसँग भएको र यसबारे नेपाल सरकारलाई सन् २००४ मै जानकारी गराइसकेको’ उल्लेख गरेको थियो ।

जमिम शाह हत्याबारे अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनमा उनले सुरुमा दाउदका लागि काम गर्ने गरेको भनिए पनि बीचमा निष्क्रिय रहेको भनिएको छ । त्यसपछि डी–कम्पनीले प्रभाव विस्तारका लागि युनुस अन्सारीलाई रोजेको दाबी प्रतिवेदनमा छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छन् ।

‘यो तथ्यसँग एजेन्ट लिमाको बयान हेर्दा दाउदको लागि काम गरेका मान्छेलाई भारतले लगानी गरेको भन्ने अलि मेल खाँदैन’, आतंकवाद र विशिष्ट प्रकृतिको अपराध अनुसन्धान गर्ने विशेष ब्यूरोमा समेत काम गरेका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘तर, अण्डरकभरमा काम गर्ने अफिसरले कतिपय कुरा लुकाएर संकेत मात्र गरेको पनि हुनसक्छ ।’

छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार, पछि अनुसन्धानका क्रममा शाहलाई गोली प्रहार गर्न मोहम्मद बकार सैयाद र सुनिल सिंह संलग्न रहेको खुलेको थियो । उनीहरुमध्ये बकर सार्प–सुटर थिए भने भने सिंह अनुभवी कन्ट्र्याक्ट किलर भएको प्रतिवेदनमा उल्लेख छ ।

‘यस्तो अपरेशनमा खटिकाहरुले वास्तविक नाम बताएका हुँदैनन्, त्यसैले नामसँग जुधाएर मात्र हेरेर हुँदैन’, अर्का एक अनुसन्धान अधिकृत जिकिर गर्छन् ।

सुटरलाई भाग्ने क्रममा सहयोगका लागि नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब निरीक्षक (सई) प्रकाश क्षेत्री प्रयोग भएको समेत अनुसन्धानबाट खुलेको अनुसन्धान संलग्न पूर्वइन्स्पेक्टर दिपेन्द्र अधिकारी बताउँछन् ।

‘अमेरिकी दूतावासमा कार्यरत् सई क्षेत्रीको सञ्चार सेटमार्फत प्रहरीको मुभमेन्ट थाहा पाइने भएकाले उनलाई गिरोहले प्रयोग गरेको थियो’, अधिकारी भन्छन्, ‘सुरुमा क्षेत्रीलाई जमिमको हत्या हुन लागेको थाहा थिएन, अन्तिम समयमा थाहा पाउँदा पनि प्रहरीलाई जानकारी गराएनन् ।’ घटनाको तेस्रो दिनमा संलग्नता खुलेपछि प्रहरीले सई क्षेत्रीलाई पक्राउ गरेको थियो ।

पछि अनुसन्धानका क्रममा प्रहरीका पूर्वडीएसपी जगदीश चन्दले पनि गिरोहलाई सघाएको खुलेको अधिकारी बताउँछन् । उनका अनुसार, यो हत्यामा अन्डवर्ल्ड डन छोटा राजन, लखनउ जेलमा रहेका बब्लु श्रीवास्तव, भरत नेपाली, त्रिलोक सिंह उर्फ बब्लु लगायत मुख्य व्यक्तिका रुपमा संलग्न रहेको खुलेको थियो ।

त्रिलोक सिंह कपिलवस्तुको कृष्णनगरमा बसेकाले उनको त्यहाँ बस्ने प्रहरी अधिकृतहरुसँग राम्रो चिनजान भएको अधिकारी बताउँछन् । ‘पछि त्यही सम्बन्धलाई शाहको हत्या गर्न प्रयोग गरिएको थियो’, उनी भन्छन् ।

कुनै बेला दाउद इब्राहिम, छोटा राजन, बब्लु श्रीवास्तवहरु मुम्बईमा एउटै समूहमा थिए । तर, १९९२ मा बाबरी मस्जिदमा आक्रमणपछि दाउद इब्राहिम समेतको संलग्नतामा मुम्बईमा श्रृंखलाबद्ध विष्फोट भयो । त्यसपछि दाउद भागेर नेपाल हुँदै दूबईतिर गए ।

पहिल्यैदेखि दाउद र छोटा राजनबीच मतभेद देखिन थालेको भएपनि यो घटनापछि दुवै खुला रुपमै दुई किनारमा भए । यसपछि भारतको रअले आफ्नो मुलुकविरुद्ध गतिविधि गर्नेलाई सिद्ध्याउन छोटा राजन र बब्लु श्रीवास्तवलाई प्रयोग गर्ने गरेको आरोप लाग्छ भने दाउदले पाकिस्तानको इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) सँग मिलेर भारतविरुद्ध गतिविधि गर्ने गरेको आरोप लाग्छ ।

दाउदको सहयोगीका रुपमा काम गरेको आरोप लागेका कम्तिमा १० नेपाली पछिल्लो दुई दशकमा मारिएका छन् । ‘यस्तोमा पछिल्लो समय सार्वजनिक रअ एजेन्टको अन्तरर्वार्ताले केही महत्वपूर्ण संकेतहरु त गरेको छ, तर ठ्याक्कै यो जमिम शाहकै घटना हो भन्ने पुष्टि हुँदैन’, प्रहरीको विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘यस्तो घटनामा भारतीय पक्षको संलग्नता रहेको कुरा पहिल्यैदेखि बताउँदै आएका हौं, यो अन्तरर्वार्ताले त्यसलाई थप पुष्टि गरेको छ ।’

एजेन्ट लिमा स्वयम्ले पनि अन्तरर्वार्तामा दुनियाँको कुनै पनि देशमा भारतविरुद्ध गतिविधिमा कोही गएको छ भने सुरक्षित नरहिने सन्देश गएको भनेका छन् ।

हुन त पाकिस्तानमा छिरेर भारतले सन् २०२० पछि कम्तिमा २० जनाको हत्या गरेको गरेको आरोप सार्वजनिक भएका बेला रक्षामन्त्री राजनाथ सिंह आफैंले पनि कसैले भारतभित्र गतिविधि गरे ‘त्यसको उचित जवाफ दिइने’ बताएका थिए ।

‘यदी कुनै छिमेकी मुलुकको कुनै पनि आतंकवादी भारतलाई तनाव दिने वा आतंकवादी गतिविधि गर्ने प्रयास गर्छ भने त्यसको उचित जवाफ दिइन्छ’, उनले भनेका थिए





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School