मकवानपुर । भनिन्छ खेलाडी राष्ट्रका गहना हुन्, जति खेलाडीको महिमा मौखिक रुपमा गाइन्छ, खेलाडी तयार बनाउन र टिकाउन धेरै कठिन छ ।
यसको लागि निरन्तर लगाव, हौसलासँगै उनीहरुको जीवनयापन गर्न सक्ने आर्थिक व्यवस्था हुनु आवश्यक छ । खेल क्षेत्रमा लागेर आर्थिक उपार्जन नहुने र आफूमाथिको जिम्मेवारी, दायित्व पुरा गर्नको लागि खेल छाडेर वैदेशीक रोजगारीमा जानेहरु पनि उत्तिकै छन् । युवा खेलाडीलाई पलायन हुन नदिने मुख्य उद्देश्यका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधिन गौरीटार रङ्शालाले अब आकार लिन थालेको छ । गौरीटारले उर्जाशील खेलाडीलाई आफ्नो बस्ति र देशमा टिकाइराख्ने उद्देश्य राखेको छ ।
युवाहरुले आफूसँग भएको सिप क्षमताले राज्यको प्रतिनिधित्व गर्दे अन्तराष्ट्रिय रुपमा देशलाई चिनाएका खेलाडीहरू दिनप्रतिदिन बाहिरिदाँ राज्यले भने खेलाडीलाई स्वदेशमै खेलेरै बाँच्न सक्ने वातावरण सिर्जना गर्न आजसम्म सकेको छैन । यस्तै नेपाली खेलकुद क्षेत्रमा देखापरेका तिता पृष्ठभूमिका बिच आशा लाग्दा कामहरू भएका छन् ।
प्रदेश सरकारले २३ बिगाहा क्षेत्रफलमा करिब ५ अर्ब रुपैयाँमा रंगशाला निर्माण गर्दे त्यसभित्र विषेश प्राथमिकताका साथ फुटबल स्टेडियम, पौडी पौखरी, क्रिकेट रंगशाला, एथलेटिक्स खेलकालागी पूर्वाधार, फिटनेस सेन्ट्ररलगायत २१ वटा खेल संरचना निर्माण गरिरहेको छ ।
देशकै दोस्रो ठुलो फुटबल रंगशाला
हेटौंडा–६, स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको रंगशाला हालसम्मको अवस्तामा देशकै दोस्रो ठुलो फुटबल रंगशाला हो । बागमती प्रदेश सरकारले पहिलो चरणमा गौरिटारभित्र सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्ड अनुरूपको फुटबल रंगशाला निर्माणलाई प्राथमिकता दिदै तिव्रगतिमा काम गरि रहेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुरूपमा निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए । फुटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य भएता पनि चालु आर्थिक वर्षको पहिलो चौमासमा निर्माण सम्पन्न गरिने तयारी भएकोे प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भण्डारीले बताए । “राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु सञ्चालन गर्ने परिषद्को लक्ष्य छ”, सदस्यसचिव भण्डारीले भने “फुटबल रंगशाला देशकै पहिलो प्रविधियुक्त र दशरथ रंशालापछिको ठूलो रंगशाला बन्नेछ ।” फुटबल रंगशाको करीब ९५ प्रतिशत काम सम्पन्न भईसकेको भण्डारीले बताए । रंगशालाभित्र ४ हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष हुदै आएको राष्ट्रिय “राष्ट्रिय ए डिभिजन लिग” फुटबल प्रतियोगिताका केही खेलहरु काठमाडैमा मात्र हुदैँ आएकोमा परिषद्ले उक्त प्रतियोगिताका केही खेलहरू निर्माणाधीन रंगशालामा गर्ने र अन्तराष्ट्रिय खेल समेत गर्न सक्ने लक्ष्य सहित तीव्र गतिमा काम गरिरहेको उनले बताए ।
रातको समयमा समेत फुटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरि रंगशाला निर्माण गरिरहेको छ । रंगशाला भित्र खेलाडीहरूका लागी छुट्टै कोठाहरू, आवास गृह, सुविधा सम्पन्न शौचालयहरू,मिडिया सेन्टरका लागी विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुनसक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्नसक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्ष लगाएत थुप्रै पूर्वाधारहरू बन्नेछ । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न करिब ३० करोड खर्च लाग्ने बताईएको छ ।
रंगशाला भित्रै क्रिकेट रंगशाला
गौरिटार रंगशाला परिसरभित्रै अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशालासमेत निर्माण भईरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न मिल्ने क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने आगामी वर्षको लागी समेत बजेट विनियोजन गरेको छ ।
१२ करोड लागत अनुमान गरिएको रंगशाला निर्माणको कार्य २०८२ साल असार मसान्तमा अर्थात १५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित द्रुतगतिमा कार्य भईरहेको छ । क्रिकेट रंगशालामा ५ देखि ७ सयजना दर्शक क्षमताको निर्माणाधीन रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिताहरू समेत सञ्चालन गर्न सकिने छ । अन्तराष्ट्रिय मापदण्ड अनुसारको ग्राउन्ड, ड्रेन, स्कोर बोर्ड, साईड स्कृन लगाएत अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने सबै मापदण्ड सहितको संरचनाहरू निर्माण हुने भण्डारीले बताए ।
पौडी पोखरी, अर्को आकर्षण
गौरीटार रंगशालामा क्रिकेट रंगशालासँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न मिल्ने पौडी पोखरी निर्माणको काम पनि गत आर्थिक वर्षबाट निर्माण सुरु गरिएको छ। पौडी पोखरी पनि अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम निर्माण हुनेछ ।
प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम द्रुत गतिमा अगाडी बढाइएको भण्डारीले बताए । निर्माणाधीन पोखरी मध्ये एउटा पोखरी अभ्यासका लागी र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरि निर्माण भईरहेको छ । पौडीपोखरीका खेलका लागी एउटा ब्लकमा प्याराफिट, डे«स चेन्जिङ रुमसहित आवश्यक पूर्वाधार निर्माण हुने परिषद्ले जनाएको छ ।
२३ बिगाहा क्षेत्रफलमा बनेको गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बन्ने भण्डारीले बताए । कुल साँढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कबर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेललगायतका संरचना गरि कुल २१ वटा संरचना बन्ने उनले बताए । सदस्यसचिव भण्डारीले प्रदेश खेलकुद विकास परिषद्ले जनशक्ति विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको समेत बताए । सोही अनुसार प्रतिफल पनि देखिँदै गएको उनको भनाई थियो ।
यस्ता छन् चालु आर्थिक वर्षको थप योजना
संविधानले खेलकुदलाई तीन तहको साझा अधिकारको सूचीमा राखेको छ । यस्तै राष्ट्रिय खेलकुद ऐनले समेत ‘प्रदेश खेलकुद संरचनाहरु प्रदेश कानुन बमोजिम गठन हुने’ भनेको छ । त्यसैअनुरुप जिल्ला खेलकुद समिति प्रदेश मातहत रहेका छन ।
यसैअनुरुप प्रदेश सरकार र प्रदेश सरकार अन्तर्गत रहेको खेलकुद परिषद् विविध दीर्घकालीन लक्ष्य बोकेर अगाडी बढिरहेको छ । स्थानीय तहले खेलाडी उत्पादन गर्नुपर्ने र प्रदेशले आवश्यक सहयोग तथा समन्वय हुनुपर्ने कार्यक्रमहरू ल्याएर अगाडी बढ्ने प्रदेशको भावी योजना रहेको छ ।
तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री युवराज दुलालले ल्याएको उक्त योजनाले हालसम्म पनि निरन्तरता पाईरहेको छ । प्रदेशका १३ जिल्लामा कर्भड हल निर्माण भईसकेको र केही बाकीँ रहेका जिल्लाहरूमा आगामी आथिक वर्षभित्र सम्पन्न हुने परिषद्ले जनाएको छ ।
यस्तै प्रदेशका १३ वटै जिल्लामा मिनी रंगशाला निर्माण गर्ने लक्ष्य अनुरुप बाँकी जिल्लाहरुमा चालु आर्थिक वर्षबाट यो योजनामा समेटेर अघि बढने परिषद्को तयारी छ । चालु आर्थिक वर्षमै गौरिटारभित्र ४ हजार क्षमताको बहुउदेश्यीय कभर्डहल, अभ्यासका लागि एक दर्जन थप कभर्डहल, मोटर स्र्पोट्स ट्याक, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधीउपचार कक्षसहित विभिन्न खेलका लागि दुई दर्जन संरचना निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
अहिले स्थानीयतहहरूले खेलाडी उत्पादन गर्नुभन्दा पनि धेरै राष्ट्रिय स्तरका खेलहरू र जुन खेल हेर्न रमाइलो र बढी भिड हुने गर्दछ त्यसलाई मात्र बढी प्राथमिकता दिएको पाइन्छ । यो अवस्थामा प्रदेश परिषद् मातहत रहेका जिल्ला खेलकुद समिति मार्फत सबै स्थानीयतहहरूलाई बुझाउने प्रयास गरिरहेको छ ।
प्रदेशले १३ वटा जिल्लामा रहेका खेलाडीहरू खोज्न हालसम्म २ वटा प्रदेश स्तरीय खेलहरू सञ्चालन गरेको सदस्यसचिव भण्डारीले बताए । “प्रदेश स्तरका खेलबाट नयाँ–नयाँ खेलाडीहरू आउनुको साथै अहिले भएका खेलाडीहरूले समेत प्रतियोगिता भईरहदाँ खेलक्षेत्रमा टिकिरहने अवस्था बन्ने छ” भण्डारीले भने ।
परिषदले जनशक्ति विकासको दीर्घकालीन लक्ष्य बनाउने र अर्को पुर्वधार निर्माणको लक्ष्य बनाउदै अघि बढिरहेको जनाएको छ । खेलाडीहरूले वर्षमा एउटा पनि प्रतियोगिता हुदैन भनेर गुनासो आउने गरेकोमा परिषद्ले गत आर्थिक वर्षमा २ वटा प्रदेश स्तरका प्रतियोगिताहरू गरेको थियो ।
प्रदेश सरकारले खेलका खेलाडी उत्पादन गर्न खेल प्रशिक्षक नियुक्त गर्दे दैनिक रुपमा खेलको अभ्यास गर्ने वातावरण सिर्जना गरेको सदस्यसचिव भण्डारीले बताए । खेल प्रतियोगिताहरू हुने समयमा खेलाडीहरू खोजेर हिडनुपर्ने अवस्थाको अत्य गर्न परिषद अग्रसरता देखाएको छ । खेलकुद परिषद् गठन भएपछी बागमती प्रदेश खेलकुद परिषदले सातवटै प्रदेशका सदस्यसचिवको भेला समेत गरेको थियो । उक्त भेलाले प्रत्येक वर्ष फरक –फरक प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसरी जन्मियो गौरीटार रंगशाला
२०३९ सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालनको क्रममा हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा सुविधा सम्पन्न रंगशाला निर्माण गरिने घोषणा भएको थियो, तर कुनै पनि काम अघि बढेको थिएन । संघीयता कार्यान्वयको चरणमा बागमती प्रदेशको राजधानी हेटौंडा राखियो । प्रदेश राजधानी हेटौंडा भईकन पनि हेटौंडामा सुविधा सम्पन्न रंगशाला थिएन ।
प्रदेश सरकार स्थापनाको पहिलो वर्ष २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा खेलकुद परिषद् गठनको कार्यअघि बढाए । त्यसको मुख्य उदेश्य प्रदेशलाई खेल क्षेत्रको उर्वरभूमीको रूपमा स्थापित गदै प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा खेल क्षेत्रको विकास गर्ने विविध योजना अघि सारे । त्यसलगत्तै तत्कालीन मुख्यमन्त्री पौडेलले खेल क्षेत्र हेर्न छुट्टै निकायको आवश्यकता रहनुपर्ने आवश्यकता देखे र प्रदेश खेलकुद परिषद गठन गरे । परिषद गठन लगत्तै खेलक्षेत्रमा बजेट विनियोजन गरियो र वर्तमानसम्म निरन्तरता विशेष चासोका साथ खेलक्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
२८ जेठ २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार रंगशालामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको शिलान्यास गरेका थिए । तर काम अघि बढेन ।
त्यतिबेला पाँच वर्षमा निर्माण सक्ने भनेपनि बजेट न्यून मात्र पाउँदा रंगशालाको ’round पर्खाल लगाउने र खेलाडीको छात्रावास मात्र बनेको थियो । झण्डै १५ वर्षअघि शिलान्यास भएको रंगशालालाई प्रदेश सरकार स्थापना लगत्तै प्रदेश गौरवको योजनाको रूपमा समेटेर तिव्रगतिमा काम अघि बढ्यो ।
प्रदेश संरचना आउनुपुर्व जिल्ला खेलकुद विकास समितिको स्वामित्व रहेको रंगशालाको २३ बिगाहा जमिन हाल प्रदेश संरचनामा जिल्ला खेलकुद समिति आएसँगै प्रदेशको स्वामित्वमा आएको छ । त्यसबखत गौरीटार रंगशाला निर्माणमा संघीय सरकारले करिब ८ करोड रुपैयाँ लगानी गरेको थियो ।
५ अर्ब लागत अनुमान गरिएको उक्त योजनामा संघीय सरकारले बजेट लगानी गर्न नसक्दा लामो समय अलपत्र बनेको थियो । ४ दशक देखि संघीय सरकारले अलपत्र छाडेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले चासो दिएपछि मात्रै गति लिएको जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष भेष खड्गी बताउँछन् ।
(Visited 1 times, 1 visits today)