योग, प्राणायाम र ध्यान

योग, प्राणायाम र ध्यान


‘ध्यान-योग स्वास्थ्य, शान्ति, सफलता र मुक्तिको राजमार्ग हो।’

अंग्रेजीमा एउटा उखान छ ‘औषधी खानुभन्दा पहिला नै सावधानी अपनाउनु राम्रो’। योगबिना सुखी र स्वस्थ जीवनको कामना गर्न सकिँदैन। ‘शरीर हाम्रो आत्माको मन्दिर हो। यसलाई स्वस्थ राख्नु हाम्रो प्रथम कर्तव्य हो।’ एउटा भनाइ छ-‘सबै स्वर्गवासी हुन चाहन्छन् तर मर्न कोही चाहँदैनन्।’ त्यस्तै, सबै सुखी र निरोगी रहन चाहन्छन् तर यसका लागि आवश्यक उपाय कोही पनि गर्दैन।

वर्तमान समयमा थुपै प्रकारका रोग हामीलाई लाग्दै छन्। अति व्यस्तताका कारण हामी शरीरमाथि ध्यान दिँदैनौं। धन कमाउनका लागि स्वास्थ्य खराब बनाइदिन्छौं। फेरि कुनै रोग लागेपछि त्यसै धनलाई स्वास्थ्य ठिक पार्नमा लगाउँछौं। हामी तीन ‘डी’को बन्धनमा छौं-डाक्टर, ड्रग र डिजिज।

विश्व स्वास्थ्य संगठनका अनुसार बजारमा उपलब्ध ३५ प्रतिशतभन्दा बढी औषधी नक्कली छन्। जति पनि रोग हामीलाई लाग्छन्, तीमध्ये ६० प्रतिशत ‘साइको सोमेटिक’ रोग हुन्छन्। साइको सोमेटिक भन्नाले मानसिक समस्या हो। साइको सोमेटिक रोगहरूको प्रभाव मनमा मात्र हुन्छ, शरीरमा हुँदैन। यसकारण पहिला मनको उपचार जरुरी हुन्छ। मनलाई स्वस्थ राख्नका लागि शुद्ध विचार, योगासन, प्राणायाम र ध्यानबाहेक अरू कुनै उपाय छैन। यसबाट नै हाम्रो मन स्वस्थ, बलियो र सकारात्मक रहन्छ।

आयुर्वेदमा स्वस्थ शरीर, दैनिक आम्दानी, आज्ञाकारी पुत्र र मिठो कुरा गर्ने जीवनसाथीलाई चार महासुख मानिएको छ। स्वस्थ जीवन सबैभन्दा ठुलो सुख हो तर अति व्यस्तता, लापरबाही र अल्छीपनले हामी स्वास्थ्यमैत्री कार्य गर्दैनौं।

योगासन

धेरै मान्छेलाई योगासन, प्राणायाम र ध्यानको अन्तर थाहा छैन। योगासन शारीरिक व्यायाम हो। यो प्राणायामको व्यायाम हो। ध्यान मानसिक व्यायाम हो।

वज्रासन

यो बसेर गर्ने योगासनको क्रिया हो। हाम्रो शरीरमा वज्र नामको एउटा नाडी छ। यसैकारण यस आसनको नाम वज्रासन राखिएको हो। यो आसन गर्नका लागि कम्बल वा चकटीमाथि घुँडा दोबारी आफ्नै कुर्कुचामाथि बस्नुहोस्।

यसरी बस्दा खुट्टाका दुवै बुढी औंला एकआपसमा छोएको तर कुर्कुचा चाहिँ फाटिएको हुनुपर्छ। हात दुवै घुँडामाथि राख्नुहोस्। ढाड र गर्दनलाई एकदमै सिधा राख्ने। यो कम्तीमा १० मिनेट गर्नुहोस्। यसमा लामो र गहिरो सास बिस्तारै लिनुहोस् र छाड्नुहोस्। वज्रासनमा बस्न गाह्रो हुनेले यो आसनमा नबस्नुहोस्।

लाभ: आमाशय र मस्तिष्कलाई शक्ति दिन्छ। आँखाको ज्योति तेज गर्छ। ढाड, कम्मर, तिघ्रा, घुँडा र सम्पूर्ण पाचन प्रणालीलाई बलियो बनाउँछ। हर्निया, ग्यास्ट्रिक, साइटिका तथा कब्जियतमा फाइदा गर्छ।

पृथ्वी नमस्कार

यो आसन गर्नका लागि पहिला वज्रासनमा नै बस्ने। दुवै हात पछाडितिर लगेर एकअर्कालाई समात्ने। सास लिने, त्यसपछि सास निकाल्दै तलतिर टाउको झुकाउने तथा एकछिन रोकेर सास लिँदै माथि आउने। यस क्रियालाई तीनदेखि पाँचपटक गर्नुहोस्।

लाभ: पेटको बोसोलाई नियन्त्रण गर्छ। ढाड र कम्मरलाई बलियो बनाउँछ। मानसिक शान्ति, धैर्य वृद्धि र तनावबाट मुक्ति दिन्छ।

मत्स्यासन

यो आसन गर्नका लागि पद्मासन वा सुखासनमा बस्नुहोस्। त्यसपछि बिस्तारै पछाडितिर फर्केर पल्टेर सुत्नुहोस् तथा दुवै हात जोडेर टाउकोमुनि राख्नुहोस्। यसै स्थितिमा १० पटक लामो र गहिरो सास लिनुहोस् र छोड्नुहोस्। त्यसपछि पूर्व स्थितिमा आउनुहोस्।

यो क्रिया मोटो शरीर भएका मान्छे र डराउने समस्या भएका मान्छेले गर्न मिल्दैन।

लाभ: थाइराइड ग्रन्थी, स्पाइनल कर्ड, पिठ्यु र फोक्सोको कार्य क्षमतामा वृद्धि, दम, सर्दी, खोकीबाट मुक्ति र मस्तिष्कमा रगत अतिरिक्त आपूर्ति गर्छ साथै मानसिक क्षमता वृद्धि हुन्छ।

ताडासन

यसलाई वृक्षासन पनि भनिन्छ। ताडासन गर्नका लागि सिधा उभिनुहोस्। त्यसपछि सास लिँदै दुइटै कुर्कुचालाई उठाउनुहोस् र दुइटै हात माथितिर तन्काउँदै लानुहोस्। कुर्कुचा उठाई पैतालाले उभिनुहोस् र सकेसम्म रोक्नुहोस्। फेरि बिस्तारै बिस्तारै सास छोड्दै हात तल गर्नुहोस्। यस क्रियालाई १० पटक गर्नुहोस्।

लाभ: आमाशय, मलाशय र मुुटुको स्नायुलाई बलियो बनाउँछ। बात र जोर्नी दुखाइबाट मुक्ति दिन्छ।

त्रिकोणासन

आसनमाथि दुई फिटको दुरीमा खुट्टा पैmलाएर सिधा उभिनुहोस्। सास छोड्दै अगाडितिर झुक्नुहोस् र दायाँ हातबाट बायाँ खुट्टालाई स्पर्श गरेर सास लिँदै फिर्ता आउनुहोस्।

त्यसैगरी फेरि सास छोड्दै झुक्नुहोस् र बायाँ हातबाट दायाँ खुट्टालाई स्पर्श गर्नुहोस्। त्यसपछि सिधा पूर्वस्थितिमा आउनुहोस्। यसलाई बीस पटक गर्नुहोस्। आवश्यकताअनुसार यसलाई बढाउन सकिन्छ।

लाभ: शारीरिक र मानसिक तनाव तथा निराशाबाट मुक्ति दिन्छ। कब्जियतलाई ठिक गर्छ। अनावश्यक बोसोलाई नष्ट गर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ तथा यौन समस्या निराकरणमा सहायक बन्छ।

अर्धवक्रासन

सिधा उभिनुहोस्। दुवै हात कम्मरमाथि राख्नुहोस्। शरीरको माथिको भागलाई सास लिँदै घुमाउँदै पछाडितर्पm हेर्नुहोस् र सास छोड्दै पूर्वस्थितिमा आउनुहोस्। दायाँबायाँ तीन तीन पटक गर्नुहोस्।

लाभ: मधुमेहलाई नियन्त्रित गर्छ। पेन्क्रियाजको कार्यक्षमतामा वृद्धि गर्छ तथा कम्मरलाई बलियो बनाउँछ। बाथरोग, घाँटी रोग, टाउको र पिठ्युँ दुख्ने समस्यामा लाभ गर्छ। शरीरको रक्तसञ्चारलाई तेज गर्छ।

पवन मुक्तासन

उत्तानो परेर सुत्नुहोस्। दुवै घुँडालाई मोडेर पेटमाथि राख्नुस र दुवै हातले समातेर सास निकाल्दै थिच्नुहोस्। टाउकोलाई घुँडासँग छुवाउनुहोस्। यस्तो गर्ने बेलामा तिघ्राले पेटलाई थिच्ने, पाँच सेकेन्डपछि गहिरो सास लिँदै बिस्तारै टाउकोलाई तल राख्नुहोस् र पूर्वस्थितिमा आउनुहोस्। यस क्रियालाई पाँचपटकसम्म गर्नुहोस्।

लाभ: पाचनक्रिया राम्रो हुन्छ। ग्यास्ट्रिक, मुटु रोग, कब्जियत र पेटसम्बन्धी धेरै रोगबाट मुक्ति दिन्छ। कम्मर, तिघ्रा, आन्द्रा र घुँडामा रक्तसञ्चार तेज गर्छ साथै यसलाई स्वस्थ र बलियो बनाउँछ। पेटको दूषित वायुलाई बाहिर निकाल्छ।

अर्धपवन मुक्तासन

उत्तानो परेर सुत्नुहोस्। एउटा घुँडालाई मोडेर पेटमाथि राख्नुहोस् र दुवै हातले समातेर सास निकाल्दै थिच्नुहोस्। टाउको घुँडासँग छुवाउनुहोस्। यस्तो गर्ने बेलामा तिघ्राले पेटलाई थिच्ने, पाँच सेकेन्डपछि गहिरो सास लिँदै बिस्तारै टाउकोलाई तल राख्नुहोस् र पूर्वस्थितिमा आउनुहोस्। यस क्रियालाई पाँच पाँच पटकसम्म गर्नुहोस्।

लाभ: पाचनक्रिया राम्रो हुन्छ। ग्यास्ट्रिक, मुटुरोग, कब्जियत र पेटसम्बन्धी धेरै रोगबाट मुक्ति दिन्छ। कम्मर, तिघ्रा, आन्द्रा र घुँडामा रक्तसञ्चार तेज गर्छ, साथै यसलाई स्वस्थ र बलियो बनाउँछ। पेटको दूषित वायुलाई बाहिर निकाल्छ।  

सर्पासन

यस आसनलाई भुजङ्गासन पनि भनिन्छ। घोप्टो परेर लम्पसार सुत्ने, दुवै हत्केला छातिको दुवै छेउमा टेकाउने र खुट्टा सँगसँगै राख्ने। त्यसपछि लामो सास लिँदै हातले टेक्ने, सर्पले फणा उठाएजस्तै माथितिर उठ्ने र सास ३० सेकेन्डसम्म रोक्ने, माथि छततिर हेर्ने तथा सास छोड्दै फेरि पूर्वस्थितिमा आउने। यस आसनलाई चारदेखि ६ पटक गर्ने। यो आसन पेटको घाउ, हर्निया, आन्द्राका बिमारी तथा कुनै पनि पेटको अप्रेसन गराइसकेको मानिसले गर्नु हुँदैन।

सर्वाङ्गासन

यस आसनमा हलासन र पश्चिमोत्तासनलाई पनि सामेल गरिएको छ। यस आसनका लागि पहिला उतानो सुत्नुहोस्, दुवै हात अलि फरक फरक राख्नुहोस् र सास निकालेर दुवै खुट्टालाई माथि उठाउनुहोस्। खुट्टा जहाँसम्म सकिन्छ, माथि लानुहोस्। फेरि पूर्वस्थितिमा आउनुहोस् र सास लिनुहोस्। यसलाई चारदेखि ६ पटकसम्म गर्नुहोस्।

दोस्रो चरणमा दुवै हात टाउकोमुनि राख्नुहोस्। सुतेकै अवस्थामा कम्मरभन्दा माथिको भागलाई सासबाहिर रोकेर उठाउनुहोस् र घुँडामा टाउकोलाई छुवाउनुहोस्। फेरि पहिलाको अवस्थामा आउनुहोस् र सास छोड्नुहोस्। यसलाई चारदेखि ६ पटकसम्म गर्नुहोस्।

लाभ: मानसिक शान्ति, पाचन क्रियामा वृद्धि गर्छ। अनुहारलाई सुन्दर र आकर्षक बनाउँछ। पेटको अनावश्यक बोसोलाई हटाउँछ। डन्डीफोर र चर्मरोगमा नियन्त्रण गर्छ। स्मरण शक्ति बढाउँछ र दिमागलाई बलियो पार्छ। कुनै पनि मानसिक समस्या, दम, यौन समस्या, खोकी, हात र खुट्टा दुख्ने समस्याबाट मुक्ति दिन्छ तथा मधुमेह, मोटोपन तथा पेटसम्बन्धी रोगमा लाभ गर्छ।

शवासन

उत्तानो मुद्रामा दुवै हात र खुट्टा केही फरक दुरीमा राखेर सुत्नुहोस्।सम्पूर्ण शरीर शिथिल भइरहेछ भन्ने सोच्नुहोस्। मन शान्त भइरहेछ तथा हिँडडुल नगरीकन बिस्तारै र सहज तरिकाले लामो र गहिरो सास तान्नुहोस् र छोड्नुहोस्। यसलाई कम्तीमा १० मिनेटसम्म र बढीमा ३० मिनेटसम्म गर्न सकिनेछ।

लाभ: केन्द्रीय स्नायु प्रक्रियालाई शान्त गर्छ र त्यसलाई बलियो पार्छ। तनाव, क्रोध, अनिद्रा, मुटुरोग, जोर्नी दुखाइ, टाउको दुखाइ र उच्च एवम् निम्न रक्तचाप मुक्ति दिन्छ तथा पाचनक्रियालाई राम्रो गर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

सरल प्राणायाम

यो प्राणायाम गर्नका लागि पद्मासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने। नाकबाट बिस्तारै बिस्तारै लामो र गहिरो सास लिने र छोड्ने। यो क्रिया लगातार पाँच मिनेटसम्म गर्ने।

अन्तर्कुम्भक प्राणायाम

यो प्राणायाम गर्नका लागि पद्मासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने। नाकबाट बिस्तारै बिस्तारै लामो र गहिरो सास लिने। सकेसम्म सास रोक्ने र बिस्तारै छोड्ने। यसलाई पाँचदेखि सातपटक गर्ने।

प्रकाशित: ८ असार २०८१ ११:५४ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School