प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार

फोटो: एपी/रासस
इरानले अमेरिकासँगको युद्ध अन्त्यका लागि २० वर्षसम्म आणविक कार्यक्रम स्थगित गर्ने प्रस्ताव गरेको छ। इरानी प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव स्वीकार गर्न सकिने संकेत दिएका हुन्।
यससँगै इरानलाई पूर्ण रूपमा आणविक कार्यक्रम अन्त्य गर्न दबाब दिँदै आएको अमेरिकी अडानमा परिवर्तन आएको देखिएको छ।
यसअघि ट्रम्पले इरानले युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्नुपर्ने र कहिल्यै पनि आणविक हतियार हासिल गर्न नपाउने बताएका थिए।
तर, पछिल्लो अभिव्यक्तिमा उनले “२० वर्षको अवधि भने वास्तविक हुनुपर्छ” भन्नेमा जोड दिएका छन्।
बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानलाई आणविक हतियार राख्न नदिने विषयमा सहमति भएको बताए।
साथै, उनले इरानले अवरुद्ध गरेको होर्मुज जलमार्ग पुनः खोल्नुपर्ने पनि बताएका छन्। इरानले जलमार्ग अवरुद्ध गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
“२० वर्षको स्थगन पर्याप्त हो, तर त्यसको सुनिश्चितता वास्तविक हुनुपर्छ,” उनले भनेका छन्। तर, त्यो सुनिश्चितता कसरी गर्ने भन्नेबारे उनले केही खुलाएका छैनन्।
गत अप्रिलमा पाकिस्तानको राजधानी इस्लामावादमा भएको वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको पाँच वर्षका लागि युरेनियम प्रशोधन रोक्ने प्रस्ताव अस्वीकार गर्दै कम्तीमा २० वर्षको अवधि माग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका थिए।
तर, २० वर्षको समयसीमाबारे ट्रम्प स्वयंले सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक मानिएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१५ मा तत्कालीन राष्ट्रपति बराक ओबामा प्रशासनले इरानसँग गरेको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। उनले त्यसबेला सम्झौतामा रहेको “समयसीमा समाप्तिपछि प्रतिबन्ध हट्ने व्यवस्था” को विरोध गरेका थिए।
यता इजरायलले भने ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे औपचारिक प्रतिक्रिया दिएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँग रहेको प्रशोधित युरेनियमको भण्डार पूर्ण रूपमा हटाइनुपर्ने अडान दोहोर्याएका छन्।
इजरायल र अमेरिकी सेनाले गत फेब्रुअरी २८ देखि इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए। गत महिनादेखि लागू गरिएको युद्धविराम अधिकांश रूपमा कायम रहे पनि केही स्थानमा छिटफुट झडप जारी रहेको जनाइएको छ।
पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको भए पनि युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा अमेरिका र इरानबीच अझै ठूलो मतभेद रहेको बताइएको छ।