देश र परिवार आफैँमा परिपुरक छन्। देशलाई परिवार चाहिन्छ अनि परिवारलाई देश चाहिन्छ। अधिकार कार्यप्रणालीका हिसाबले देश र परिवार फरक जस्तो लागे तापनि सूक्ष्म तवरले हेर्ने हो भने राज्य र परिवारमा धेरै समानता पाउन सकिन्छ। हाम्रो देश नेपालको वर्तमान आर्थिक सामाजिक अवस्थालाई परिवारसँग दाँजेर हेर्दा कस्तो देखिन्छ भनेर यहाँ चर्चा गरिएको छ।
मानव समाजको विकासक्रममा राज्यभन्दा पहिल्यै परिवारको उत्पत्ति भएको पाइन्छ। मानवशास्त्री मोर्गनले परिवारको विकासक्रमलाई मानव समाजको विकासको आधारका रूपमा प्रस्तुत गरेका छन्। सामाजशास्त्रीहरूले परिवारलाई सामाजिक संस्था भन्ने गर्छन् भने राजनीतिशास्त्रीले परिवारलाई राजनीतिक समाजको आधारभूत तहको सत्ताका रूपमा लिने गर्छन्। एरिस्टोटलले परिवारलाई समग्र मानव समाजको आधारभूत तन्तु तथा मानव जातिको प्रारम्भिक संगठनका रूपमा व्याख्या गरेका छन्।
व्यावहारिक रूपमा हेर्दा परिवार भन्नाले जन्म, विवाह, सन्तान ग्रहणको आधारमा नाता सम्बन्ध रहेका मानिसहरूको सम्बन्ध हो। परिवार केवल जैविक वा कानुनी सम्बन्धको आधारमा मात्र सीमित नभएर सदस्यहरूबीच एकअर्काको भावनात्मक, आर्थिक र सांस्कृतिक सहयोगका आधारमा समाजको आधारशीला निर्माण गर्ने र व्यक्तिगत पहिचान, मूल्य र आचरणको विकासमा महत्त्वपूर्ण भूमिकामा रहने सामाजिक संरचना हो। त्यसैले परिवारमा नेतृत्व, कार्य विभाजन, आर्थिक प्रणाली, उत्पादन, स्वामित्व, वितरण, उपयोग, सुरक्षा, नियम तथा आचरणको नियमित अभ्यास भइरहेको हुन्छ।
अर्कोतर्फ देश भनेको भूगोल, जनसंख्या, सरकार र सार्वभौमसत्तासहितको एकाइ हो जसले आफ्नो पहिचान र अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्छ। देशमा जनसंख्यालाई आवश्यक पर्ने स्रोतसाधन, नियम तथा कानुन हुन्छ र त्यसलाई सञ्चालन गर्न सरकार हुन्छ, नेतृत्व हुन्छ। सरकारको निश्चित जिम्मेवारी र जवाफदेही हुन्छ अनि नागरिकका अधिकार र कर्तव्य सुनिश्चित गरिएको हुन्छ। शासन सञ्चालन सही तरिकाले भएन भने देशमा बेथिति बढ्छ। यसरी हेर्दा परिवार र देशका विशेषतामा समानता पाउन सकिन्छ।
अहिले देशको अवस्था कस्तो छ भन्ने विश्लेषण गरौँ। आर्थिकरूपमा हेर्दा देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सकेको छैन। वार्षिक बजेटमा ऋणको हिस्सा बढ्दो छ। ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा ऋण तिर्ने स्रोत अनिश्चित छ। राजस्वले चालु खर्च धान्न मुस्किल छ। सरकारको आम्दानीभन्दा खर्च झण्डै एक खर्बको हाराहारीमा पुगेको छ।
आयातको तुलनामा निर्यात कमजोर छ। व्यापार घाटा चुलिएको छ। वस्तु व्यापारतर्फको दैनिक घाटा चार अर्ब छ। आर्थिक वर्ष २०८०/ ८१ मा वस्तु व्यापारतर्फको व्यापार घाटा रु. १४४० अरब पुगेको छ। कृषि उत्पादन न्यून छ। दैनिक उपभोग्य खाद्य सामग्रीसमेत निर्यातमा भर पर्नुपरेको अवस्था छ।
गत आर्थिक वर्षमा चामल, धान, मकै र दाल मात्र ७५ अर्बको आयात भएको छ। खेतीयोग्य जमिन बाँझो हुँदै गएको छ। दैनिक हजारौँ युवा विदेशिएका छन्। विभिन्न सरकारी प्रतिवेदनअनुसार नेपालबाट दैनिक दुई हजारभन्दा बढी युवा विदेशिने गरेका छन्। विदेशिएका युवाहरू पाएसम्म देश फर्किन चाहँदैनन्। नेपालमा प्राप्त हुने विप्रेषणमध्ये ८० प्रतिशत उपभोगमा खर्च हुन्छ। प्रत्यक्ष वैदेशिक लगानी भित्रन सकेको छैन।
विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएअनुसार वैदेशिक लगानी आउन सकेको छैन। सुशासनको अवस्था एकदम कमजोर छ। सरकारी सेवाप्रति नागरिक सन्तुष्ट छैनन्। नेता र सरकारी कर्मचारीहरूप्रति सामाजिक सञ्जालमा देखिएका आक्रोशलाई हेर्ने हो भने लजाएर हिँड्नुपर्ने अवस्था छ।
सामाजिक सञ्जाल प्रयोग पनि अधिकांश नकारात्मक कुराले अभिप्रेरित हुने गरेको छ। सबै नीतिको मूल नीति राजनीति स्वच्छ छैन। मुलुकको अभिभावकत्व बहन गर्ने राजनीतिक नेतृत्व जनताप्रति पूर्ण उत्तरदायी बन्न सकेको छैन।
देशमा सरकारको नेतृत्व परिवर्तन भइरहने गरेकाले राजनीतिक अस्थिरता छ। राष्ट्रिय सरोकारका विषयमा राजनीतिक एकता छैन। नेताहरूमा एकअर्कालाई आरोप लगाउने, घोचपेच गर्ने, खुट्टा तानातान गर्ने प्रवृत्ति सामान्य जस्तै भएको छ। सत्तामा भएका बेला भ्रष्टाचारको मुद्दामा अरूलाई जेल हाल्ने र सत्ताबाहिर गएपछि कसरी आफ्ना गल्तीहरूलाई ढाकछोप गर्ने भन्नेमा राजनीतिक पार्टीहरू अल्झिएका देखिन्छ। राजनीतिक आडमा सरकारी सम्पत्तिको दोहन गर्ने कार्य नियन्त्रण हुन सकेको छैन।
प्रशासन संयन्त्र आफ्नै स्वार्थको घनचक्करमा फसेको छ। दोहनकारी शासकीय शैलीले भ्रष्टाचार र अनियमितालाई बढावा दिएको छ। जसले गर्दा भ्रष्टाचारमा नेपाल विश्वका एक सय ८० देशमध्ये एक सय १७ औं स्थानमा रहेको छ। छिमेकीसँगको सम्बन्ध सन्तुलित नै छ तर उपस्थिति सशक्त छैन। आर्थिक कूटनीति कमजोर छ।
मुलुकको सूक्ष्म व्यवस्थापनमा समेत विदेशीको चासो रहने गरेको गुनासो सुनिने गरिएको छ। देशलाई यसरी हेर्दा नकरात्मकरूपले मात्र प्रस्तुत गरिएको देखिए तापनि मुलुकको विकासका लागि टड्कारो देखिएका यिनै विषयमा सुधार हुनैपर्छ।
सत्ता समाज र परिवारकै विम्ब पनि हो। त्यसैले देशको यस्तो अवस्थालाई एउटा संयुक्त परिवारसँग तुलना गर्दा कस्तो देखिन्छ हेरौँ है त। यो परिवार अलिक पहिलाको परिवार जहाँ हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी, भाइ, बुहारीहरू, नातिनातिनाहरू छन्। यो परिवारको आम्दानीको गतिलो स्रोत छैन। खेतीपातीबाट उब्जिएको अन्नले खान पुग्दैन।
खाद्यान्न किनेर खानुपर्छ। किन्नका लागि पैसा आउने स्रोत भनेको अरूकोमा काम गर्न गएर ल्याएको ज्याला हो। घरमा आफैँ फलाएका र उब्जाएको खाद्यान्न दुई मुरी धानबाहेक केही छैन। अरूकोमा काम गर्न जाँदा लिएर आएका केही सरसमान छन्। उब्जनी हुने जग्गा बाँझो छ। काम गर्न कसैलाई मन छैन। अरूकैमा ज्यालादारी गर्न रुचाउँछन् तर आफ्नोमा काम गर्न मान्दैनन्, अल्छी गर्छन्, लजाउँछन्। भरसक अरूकैमा बस्न रुचाउँछन्। ज्यालादारीबाट आएको पैसा र अन्नले बिहान बेलुकाको छाक टार्छन्। बचेको बाँकी पैसाले कसैले ट्याटु खोप्छन्, कपाल रंगाउँछन्, फिल्म हेर्छन्, मोबाइल किन्छन्। मोबाइल डेटा चलाएर सिध्याउँछन्।
दैनिक घर खर्चकै लागि ऋण काढ्नुपर्ने अवस्था छ। चाडवाड र केही परम्परागत कर्म गर्नका लागि लिएको ऋण तिर्न सक्ने अवस्था छैन किनकि त्यो ल्याएर भोज खाएर पचाइसकियो अब तिर्ने स्रोत छैन। पहिलेपहिले दया मायाले सहयोग गर्नेहरू पनि थिए तर हिजोआज घरको तमासा देखेर कसैले सित्तैमा केही दिँदैन। घर खर्चकै लागि फेरि ऋण गर्नुपर्ने अवस्था छ। अबको विकल्प पत्याए पहिलेकै साहूबाट नपत्याए नयाँ साहूबाट ऋण खोज्नु छ। कृषि विकास बैंकबाट पशु पाल्न र खेती गर्न भनेर ल्याएको पैसाले किनेर पालेका बाख्राहरू पनि स्याहार नपुगेर त्यत्तिकै ठिमुरिए, आम्दानी दिने अवस्थामा छैनन्। आधाउधी त मरिसके।
कुखुरा पाल्न भनेर खोर बन्यो, केही चल्ला लिएर खोरमा हालेको कुन नाति केटाले कहिले पोलेर खायो पत्तै भएन। त्यसपछि खुकुराको खोर पनि अलिअलि गरेर जाडोमा दाउरा बालेर सकियो। बारीका पाटामा केही बन्दा र काउली रोपेको थियो। मल र पानी नपुगेर बन्दा ठिमुरिएर त्यत्तिकै बिलायो। अलिअलि फलेको काउली किन्न कोही आएन। परिवारले खाएर बचेको बारीमै सुक्यो। चेलीबेटीहरूले सुरक्षित ठानेर हजुरबालाई राख्न दिएका सुनका गरगहना पनि हजुरबाको विश्वासिलो नाति केटाले गर्लफ्रेन्डलाई लगेर दिएछ।
बोल्न, बाझ्न, झगडा गर्न सबैले जानेका छन् तर काम गर्ने जाँगर र सिप थोरै जनासँग मात्र छ। जागर र सिप हुनेहरूको कुनै सुनुवाइ हुँदैन। परिवारमा कोही पढेलेखेका र सिप जानेका पनि छन्। केही उद्यम गर्छु भन्ने पनि छन् तर उनीहरू निरीह छन्। एउटाले किराना पसल गर्छु भनेर सुरु गरेको व्यापार घरकै मान्छेले खाएर सकाइदिए। अर्को एकजना जागिर गर्ने पनि छन्। घरमा आउँदा उनको पैसा खल्तीबाटै गायब हुन्छ। त्यसैले उनी घरमा आउनै मान्दैनन्।
परिवारमा अभिभावकबीच झै–झगडा भइरहन्छ। कहिलेकाहीँ कुटाकुट पनि हुन्छ। मनपरि भनाभन गर्छन्। घरको अरनखटन हजुरबा आफैँले गर्छन्। तालाचाबी उनैसँग हुन्छ। बाबु, काकाहरू र हजुरबाबीच घरमूली बन्न तँछाडमछाड भइरहन्छ। हजुरबा भन्नुहुन्छ, म बाँचुन्जेल मेरो तालाचाबी र जगरबगर कसैलाई दिन्न। म मरेपछि जेसुकै गर। परिवारमा आमा, दिदीबहिनी, भाउजू काकीहरूको खासै हैसियत छैन।
घरमूली बन्ने विषयमा उनीहरूको खासै नाम आउँदैन। परिवारभित्रै झैझगडा देखेर छिमेकीहरूले कहिले एउटालाई उकास्ने कहिले अर्कोलाई उकास्ने गरिरहन्छन्। नातिनातिना पनि ठूला भइसकेका छन् तर हजुरबा, बाबु र काकाहरूको घरमूली को बन्ने भन्ने झगडाले उनीहरू घर बस्ने मन गर्दैनन्।
देशको वर्तमान अवस्थालाई परिवारसँग दाँज्दा देखिने दृष्य यही नै हो। आफ्नो परिवार र नातागोताका लागि देशलाई दोहन गरेर सुखी परिवार बनाएँ भन्नेहरूले सोच्नुपर्छ, देश बनाए मात्र परिवार बन्छ किनकि हामी सबै यही देशका परिवार सदस्य हौँ। त्यसैले परिवारको हित सोचिरहँदा देशको हित भुल्नु हुँदैन।