यसरी हावातालमा, हतारमा फिल्म बनाउँदा केही राम्रो हुँदैन : सौगात मल्ल


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता सौगात मल्लले नेपाली फिल्मको मुख्य समस्या स्क्रिप्ट लेखनमा रहेको र हतारमा फिल्म बनाइने प्रचलनले उद्योगलाई कमजोर बनाएको बताए।

नेपाली फिल्म उद्योग अहिले संक्रमणकालबाट गुज्रिरहेको छ । एकाध फिल्मबाहेक अधिकांश फिल्म फ्लप छन् । पहिलेको तुलनामा फिल्ममा लगानी झन् बढ्दै गएको छ । तर, निर्माताको लगानी फिर्ता हुन त परको कुरा, फिल्म चल्छ कि भनेर माउथ पब्लिसिटीका लागि टिकट काटेर दर्शकलाई ‘फ्रि’ मा फिल्म देखाउनुपर्ने बाध्यता छ ।

न डिजिटल राइट्स गतिलो मूल्यमा बिक्री हुन्छ, न ओभरसिज । चिनेजानेका साथिभाइ र संघसंस्थाहरूसँग अत्यन्तै सम्झौता गरेर विदेशमा रहेका नेपालीहरूलाई फिल्म देखाउनुपर्ने अर्को बाध्यता छँदैछ ।

खासमा फिल्म चल्दैन भन्ने सिनारियो देख्दा-देख्दै शतप्रतिशत जोखिममा लगानी गरिरहेका निर्माताका दुःख बयान गरिसाध्ये छैन । अझ कतिसम्मका दुःख देख्नुपर्छ भने नि, टिकट किनेर फिल्म सुपरहिट भयो भनेर प्रचार गरिन्छ । त्यसपछि हिट भएको भनेर पार्टी गरिन्छ । फिल्ममा जसरी कहानी बुनिन्छ, निर्माता स्वयं त्यस्तै कहानीको हिरो बनेर वास्तविक जीवनमा अभिनय गरिरहनुपरेको छ ।

‘सुरुमा लोभले, त्यसपछि बाध्यताले फिल्ममा निर्माता फस्दै गएर निस्कनै नसक्ने अवस्थामा पुग्ने गर्छन् । फिल्मको ऋण तिर्न पशुपति गौशाला चोकनजिकै रहेको ४ करोड हाराहारीको घर बेचेर पनि उठ्नै नसक्नेगरी भुइँमा पछारिएका एक निर्माताको यो दुःख र पीडा बयानगरी नसक्नुको छ । नेपाली फिल्मका निर्माताहरूको हरिबिजोग कतिसम्म हुन्छ भनेर देखाउनका लागि एक उदाहरण हुन् उनी ।

निर्माताका दुःख र उनीहरूका कथा आगामी दिनमा भन्दै गरौँला । आज भने, हामीले तिनै डुबिरहेका धेरै निर्माताहरूका फिल्ममा अभिनय गरिरहने सर्वाधिक व्यस्त अभिनेता सौगात मल्लसँग अलिकति गम्भीर विषयमा बहस गर्‍यौँ ।

सुरुमा जहाँ जसरी हामीले प्रसंग निकालेका थियौँ, त्यसै वरिपरि विषय घुमिरह्यो ।

सौगात मिडिया फ्रेन्ड्ली अभिनेता होइनन् । बाध्यताले फिल्म रिलिजको समयमा मिडियाहरूमा सोही फिल्मको विषयमा केही न केही बोल्दै हिँड्नु पर्ने अवस्था आउँछ ।

कुनै जमघट तथा अनौपचारिक भेटघाटहरूबाट असाध्यै टाढा छन् उनी । सामाजिक सञ्जाल असाध्यै कम चलाउँछन् । फेसवुक, इन्स्टाग्राममा केही पोस्ट गर्नु परे सहयोगीको सहारा लिनुपर्छ ।

किन ?

किनभने, सौगात कुनै फिल्मको क्यारेक्टरमा डुबे भने त्यो दिनको सुटिङ नसकिँदासम्म मोबाइल हेर्दैनन् । सेटमा निर्देशक, असिस्टेन्ट निर्देशकभन्दा अर्को बोल्ने भनेको मेकअप आर्टिस्टसँग मात्रै हो । त्यो बेला अर्का व्यक्तिले सौगातलाई डिस्टर्ब पनि गर्दैनन् । कारण सौगात सेटमै यस्तो खतरनाक अभिनय गरिदिन्छन् कि निर्देशकले ‘कट’ कतिबेला भन्नु पर्ने हो भन्ने निर्णय गर्नसमेत केही सेकेन्ड ढिला हुन्छ । उनी अभिनय गरिरहेका हुँदैनन्, उनी बाँचिरहेका हुन्छन्– त्यही क्यारेक्टरभित्र ।

अभिनयबाट सारा नेपालीको मन जितेका, निर्देशक र निर्माताहरूको पहिलो रोजाइ बनेका सौगातले हाउसफुलका साथ हिट फिल्मको स्वाद नचाखेको धेरै भयो ।

किन?

यसको उत्तर सौगात आफैंसँग छ । तर नबोलेका मात्रै हुन् रे ।

‘यो किन भइरहेको छ, मलाई थाहा छ’ सौगात भन्छन्, ‘म पैसामुखी भएर कुनै फिल्म खेलिरहेको छैन । बाध्यता र प्रेसर थेग्न नसकेर फिल्ममा काम गरिरहनुपरेको छ । मेरो विकल्प धेरै छन् भनेर अरू कलाकारको अप्सन दिँदा समेत उम्किँन पाएको छैन ।’

सम्भवतः फिल्म उद्योगमा काम गरेको २० वर्षको यात्रामा अहिलेको परिस्थितिले नै सौगात मल्ललाई सबैभन्दा गम्भीर मोडमा ल्याइपुर्‍याएको छ । उनी खुलेर भन्छन्– समस्या कलाकारमा मात्र छैन, समस्याको जरा नै स्क्रिप्टमा छ ।

‘यहाँ लेखाइलाई समय दिने चलनै छैन,’ उनी भन्छन्, ‘स्क्रिप्ट लेख्न न मैले जानेको छु, न तपाईंले । जसले जानेको छ, उसलाई अत्यन्तै कम पारिश्रमिक दिएर हतार–हतार काम सक्न दबाब दिइन्छ ।’

उनको यो अभिव्यक्तिमा निराशा मात्र होइन, एक प्रकारको व्यंग्य पनि मिसिएको हुन्छ ।

‘मसँग फिल्म साइन गर्न आउँदा मेकर्सहरूले भन्नुहुन्छ अब दुई महिना बाँकी छ, तपाईंको समय छ भने एक महिनामै सुटिङ सुरु गरौँ’ सौगात सुनाउँछन्, ‘आफैँलाई हाँसो लाग्छ । यो कुरालाई यहाँ सामान्य रूपमा लिइन्छ । कहिलेकाहीँ त लाग्छ- म कुन संसारमा छु ?’

सौगातको तर्क स्पष्ट छ– जबसम्म नेपाली फिल्मको स्क्रिप्ट लेख्ने परम्परा बदलिँदैन, तबसम्म स्तरोन्नति सम्भव छैन । एकै ठाउँ बसेर एक/दुई महिना लेखेकोलेखै गरेर ‘स्क्रिप्ट तयार’ गरिदिने चलनले गहिराइ दिन सक्दैन । ‘स्क्रिप्ट लेख्नु भनेको खेतबारी जस्तै हो’ उनी भन्छन्, ‘मौसम फरक–फरक चाहिन्छ । कहिले घाम लाग्नुपर्छ, कहिले पानी । बीच–बीचमा मलजल गर्नुपर्छ ।’

कम्तीमा एक वर्ष जस्तो समय स्क्रिप्टका लागि दिन सकियो भने त्यो फिल्म धेरै राम्रो हुने उनको बुझाइ छ । ‘बीउ रोपेर भोलिपल्टै फल लाग्दैन’ उनी भन्छन् ‘विभिन्न ठाउँ, परिवेश, मानिस, मौसम अनुभव गर्दै लेख्दा पो कथा बलियो हुन्छ । घुम्दै, देख्दै, बाँच्दै लेखिएको स्क्रिप्टले मात्र दर्शकलाई छुन्छ ।’

यसरी हावातालमा, हतारमा फिल्म बनाउँदा केही राम्रो हुँदैन : सौगात मल्ल

उनको भनाइमा एउटा गम्भीर प्रश्न लुकेको छ– हामी नाम मात्रैको फिल्म बनाउन हतारमा छौँ कि राम्रो फिल्म बनाउन ? नेपाली फिल्म उद्योग अहिले प्राविधिक रूपमा अगाडि बढ्न खोजिरहेको छ, तर कथाको जग नै कमजोर हुँदा माथि बनाइएको संरचना कति टिकाउ होला ? सौगातको चिन्ता त्यही हो । किनभने, बलियो स्क्रिप्टबिना स्टारडम पनि टिक्दैन, लगानी पनि सुरक्षित हुँदैन, र उद्योग पनि उठ्दैन ।

सौगात मल्लका अनुसार सुरुमा प्रस्ताव आउँदा सबै कुरा सुन्दर सुनिन्छ । हामी समय दिएर काम गर्छौं, स्क्रिप्टमा पर्याप्त मिहेनत गर्छौं, कथालाई न्याय गर्ने गरी तयार हुन्छौं भन्नुहुन्छ । तर, वास्तविकता भने सम्झौता भइसकेपछि सुरु हुन्छ ।

‘पारिश्रमिक दिएर सम्झौता गरिसकेपछि अचानक भनिन्छ– यति समयमा सुटिङमा जानैपर्छ । स्क्रिप्ट सकिएको छैन रे ! तै पनि जानुपर्‍यो’ सौगात भन्छन्, ‘लोकेसन बुक भइसकेको छ, डेट फिक्स भइसकेको छ, अब पछि सर्न मिल्दैन भनिन्छ ।’

यो बाध्यता सुरु भएपछि छायांकनमा जानुअघि नै सौगातलाई थाहा हुन्छ– ल, डुब्यो फिल्म । तर उनी कसैलाई भन्दैनन् । कसैको मनोबल नखस्कियोस् भनेर चुपचाप काम गर्छन् ।

तर, यो मौनता असन्तुष्टिको संकेत हो, तर पेशागत जिम्मेवारीको पनि । उनी थप्छन्, ‘यस्ता हतारमा बनाइएका, कामचलाउ फिल्महरूको त म सम्पादनमा समेत जान छोडिदिएँ । किनभने हामी स्क्रिप्टमै पास हुन सकेका छैनौं भने पोस्ट–प्रोडक्सनको कुरा गरेर के फाइदा ?’

उनको दृष्टिमा समस्या स्क्रिप्टमा मात्र सीमित छैन । कतिपय फिल्महरू छायांकनसम्म राम्रै बनिरहेका हुन्छन् । तर पोस्ट–प्रोडक्सनमा भइरहेका प्राविधिक गल्तीहरूले फिल्मलाई कमजोर बनाइदिन्छ ।

‘निर्देशन पढ्न, क्यामेरा सिक्न विदेश जानेहरू छन् । तर स्क्रिप्ट लेख्न, साउण्ड डिजाइन पढ्न को जान्छ ?’ उनी प्रश्न गर्छन्, ‘यहाँ जसले कामचलाउ सिकेको छ, उसैसँग सिकेर काम भइरहेको छ । यसरी के आशा गर्नु ?’

खासगरी नेपाली फिल्म नराम्रो बन्नमा धेरै विधाको कमजोरीहरू मिसिने गरेको उनको बुझाइ छ । विशेष गरी ध्यनिको विषयमा नेपाली फिल्म मेकर्स सधैं चुकिरहेको महसुस सौगातलाई हुन्छ । दुःखको सिनमा यस्तो साउण्ड किन राखिएको होला भन्ने लाग्छ । सुखको क्षणमा किन अनावश्यक धुन हालिएको होला भन्ने हुन्छ । ‘सधैं सुनिरहेको एउटै ढाँचाको साउण्डमा फिल्म बनाउनु भनेको कति दु:खको कुरा होला’ सौगातले भने ।

सौगातलाई लाग्छ- समस्या प्रतिभाको अभाव हुनुमा होइन, दृष्टिकोण र गहिराइको अभावमा छ । समस्या लगानीको मात्र होइन, तयारीको हो । र सबैभन्दा ठूलो समस्या— हतारको हो ।

फिल्म बनाउनु सुटिङ सक्ने मात्रै हैन फिल्म बनाउनु भनेको विचार पकाउनु हो । तर यहाँ, विचार पाक्नुअघि नै प्लेटमा पस्किने प्रचलन छ ।

सौगातले कतिपय निर्मातालाई सिधै भनेका पनि छन्, ‘यसरी हतार गरेर फिल्म बनाउनु भन्दा नबनाऔँ ।

यसरी हावातालमा, हतारमा फिल्म बनाउँदा केही राम्रो हुँदैन : सौगात मल्ल

मिडियासामु आफूले पहिलोपटक यसरी खुलेर बोलेको दावी उनको छ । ‘मलाई फिल्मको प्रस्ताव ल्याउने मेकर्सको कुरा सुन्दै जाँदा भनिहाल्छु- यसरी हावातालमा, हतारमा, दबाबमा फिल्म बनाउँदा केही राम्रो हुँदैन । क्यान्सिल गरौं । काम नगरौं । यो पैसा सही ठाउँमा लगानी गर्नुस् ।‘

तर धेरैजसो निर्माताहरू निकै सजिलो सोचेर आउने गरेको सौगात सुनाउँछन् ।

कार्यक्रमहरूमा बहस हुन्छ । फिल्म डुबिरहेको देखिन्छ । फेरि अर्को फिल्म सुरु हुन्छ । यो चक्र चलिरहेको छ । यदि सुरुमै स्पष्ट रूपमा कुरा गर्न सकियो भने प्रोड्युसर निर्माताहरू पनि बुझेर मात्र फिल्ममा लगानी गर्न आउने उनको बुझाइ छ ।

‘फिल्म बनिरहँदा काम हामीले पाएका छौँ । प्राविधिकले काम पाएका छन् । धेरैले रोजगारी पाएका छन् तर यत्तिमै सन्तुष्ट भएर त भएन नि’ उनी भन्छन्, ‘यसरी त उधोगले छलाङ मार्न सक्दैन ।’

नयाँ स्टाइल, फरक विषय, फरक धारको फिल्म बनाउन आम फिल्म निर्मातालाई सौगातको विनम्र अनुरोध छ । ‘त्यस्ता फिल्मको प्रस्ताव आयो भने मज्जा आउँथ्यो’ सौगात भन्छन्, ‘मलाई प्रस्ताव नआएर अर्कोलाई गएपनि हुन्छ । तर, म पनि दर्शक हुँ । म पनि राम्रो फिल्म हेर्न चाहन्छु । म पनि सन्तुष्ट हुन चाहन्छु ।’

सधैं उस्तै अवस्था नहरने र निर्माताहरूले कुरा बुझ्ने समय पनि आउनेमा उनी आशावादी छन् । ‘आशा छ, एक दिन मेहनत गरेर काम गर्ने परम्परा विकास हुनेछ’ सौगात भन्छन्, ‘हतार होइन, तयारीलाई प्राथमिकता दिने समय आउनेछ ।’





Source link

Leave a Comment