उपेन्द्र सुब्बालाई साहित्य पारखीहरू कविका रूपमा चिन्छन् । साहित्यकी आन्दोलनमा रुचि हुनेले सिर्जनशील अराजकता अभियानका तीनमध्येका एक अराजकका रूपमा चिन्छन् । उनको ‘लाटो पहाड’ कथासंग्रह पढ्नेले कथाकारका रूपमा पनि चिन्छन् । यसमाथि किरण चाम्लिङले बनाएको नाटक हेर्नेले नाटककार पनि मान्न सक्छन् ।
‘कबड्डी’ शृंखला र ‘फूलबारी’ हेर्नेले फिल्म लेखकका रूपमा चिन्छन् भने ‘जारी’का दर्शकले निर्देशकका रूपमा उपेन्द्रलाई चिन्छन् । पछिल्लो समय टेलिभिजनका दर्शकले उनलाई ‘पोयट आइडल’को जजका रूपमा पनि चिन्छन् । मुन्धुम र लिम्बू परम्परालाई आफ्नो कथा संसारको मियो मानेर कथा वाचनको संसारमा विभिन्न माध्यममा काम गरिरहेका उपेन्द्र सुब्बा अहिले आफ्नो नयाँ फिल्म ‘मनसरा’को अन्तिम काम र प्रमोसनमा व्यस्त छन् । व्यस्तताका बीच अनलाइनखबरले गरेको कुराकानीमा उपेन्द्रले दिल खोलेर जवाफ दिए ।
हिजआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
मेरो निर्देशन रहेको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । त्यसैको काममा व्यस्त छु । फिल्मको म्युजिक, साउन्ड र कलरको काममा कुदेको कुद्यै छु । शुक्रबार–शुक्रबार पोयट आइडलको सुटिङमा व्यस्त हुन्छु । आउने हप्ताबाट ‘मनसरा’को प्रोमोसनमा बुटवल, पोखरा, दमक, धरान, इटहरीमा कविता कन्सर्ट गर्दैछु । यो फिल्मकै प्रोमोसन पनि हुने भएकाले कन्सर्टको तयारीले पनि व्यस्त बनाइरहेको छ ।
२. हालै भएको कुन कुरा वा कुन समाचारले खुशी हुनुभयो ?
म समाचार खासै हेर्दै छैन । आफ्नै समाचार आउला भन्ने पीर मलाई छ । तैपनि फिल्म बनाइँदैछ, गाली खाइएला, समाचार बनिएला जस्तो पीर लाग्छ हो…।
खुशी भएको कुराचाहिं दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का हानेको कुराले हो । यो समाचारले साह्रै खुशी भइयो ।
३. कुन कुराले दिक्क बनायो ?
आफ्नै अन्तर्वार्ताहरू सुनेर म दिक्दार छु । एउटा कुरा बोल्छु भन्यो, अर्को बोल्दो रहेछु ! के बोल्छु भनेको हुन्छु, के बोल्छु म । मेरो दिमागले दुइटा उत्तर ठेल्छ । खै के भाको हो, के हो । म आफ्नै अन्तर्वार्ता हेरेर, पढेर दिक्क हुन्छु ।
४. अबका योजना के छन् ?
म अब १० वर्ष फिल्म नै बनाउँछु । ‘मनसरा’ पछाडि साथीभाइले ‘जारी २’ बनाउँ भन्ने जोडबल गरेका छन् । म यसमा अझैसम्म पनि कन्भिन्स भइसकेको छैन । किनभने ‘जारी २’ बनाउनलाई ‘जारी’ भन्दा राम्रो कथा चाहिन्छ । त्यस्तो कथा लेख्न सकें भने मात्रै ‘जारी २’ बनाउँछु । पैसा कमाउने उद्देश्यले बनाउँदिन । बरु मसँग अर्कै कथा छ । त्यसमै बनाउँछु । यो बीचमा एउटा कथा संग्रह र कविता संग्रह निकाल्छु भन्ने योजना छ ।
५.आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
के र छ हो ? यसबारेमा त सोचेकै रहेनछ कि ? परिवार होला हौ ! परिवारभन्दा महत्वपूर्ण दोस्रो त केही लाग्दैन । परिवारै हो । समय फिल्मलाई दिएको छु, महत्वपूर्णचाहिं परिवार नै हो । यसरी त मैले सोचेकै रैनछु त !
६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
फिल्मले मलाई यति साह्रो मग्न बनाएछ, मलाई अरू धेरै कुरा याद नै पो छैन । यो फिल्म बनाउने क्रममै छु । मलाई रोचक लागिरहेको पनि ‘मनसरा’ नै हो ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो लागेको पक्ष– साहै्र सुन्दरगरी मिलेर बसेका छौं । एकआपसमा भाइचारा छ । एकआपसलाई बुझ्ने कोसिस गर्छौं । नराम्रो कुराचाहिं– हामी हाम्रै मात्रै कुरा गर्दैछौं । त्यो भनेको कस्तो भने, म मेरै कुरा गरिराहुन्छु । आफ्नै कुरा गर्दा अरूलाई कम सुनिराछौं कि, बुझ्ने कोसिस कम गरिराछौं कि जस्ता पनि लाग्छ । सप्पैमा आइडेन्टिटीको क्राइसिस हो कि के भन्छ छ । जस्तो कि हामी विविध संस्कृति र आस्था विश्वासका मान्छे छौं यो सबल पक्ष हो, हाम्रो ठूलो सम्पदा हो । तर, गहिराइमा पुगेर एकआपसलाई नबुझिरहेको हो कि जस्तो लाग्छ । यो केमार्फत समाधान हुन्छ त भन्दा साहित्य मार्फत होला, कला मार्फत होला । भन्न सकिने र बुझ्ने–बुझाउने विधा यिनै हुन् । यो प्रयासचाहिं जारी राख्नुपर्छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? तपाईंलाई नेपालको पत्रकारिता कस्तो लाग्छ ?
हेर्छु । समाचार र सूचनाका स्रोत त तिनै भए । ठिकै लाग्छ । यो भन्दा बढी वा राम्रो हुनलाई के हुनुपर्छ भन्ने मलाई आइडिया नभएर पनि होला, मलाई त भएको जति ठिक लागेको छ ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
म विगतमा फर्किनै नचाहने मान्छे । म पछाडि फर्केर सुधार गर्ने पक्षमा छैन । जे बिगार गरियो भइसक्यो, जे सुन्दर भयो बाँचिसकियो । आउने दिनलाई कसरी सुन्दर बनाउने भन्नेमा सोच्न सकिन्छ । हिजोमा फर्किन्न । जेजस्तो बाँचें, बाँचें, सक्कियो ।
१०. आउँदा पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
कथा भन्नु नै हो । हाम्रो पुस्तान्तर त कथा मार्फत नै भएको हो । म लिम्बू, मेरो सबै कुरा लिम्बू कथामै छ । मेरो विश्वास आस्था सबै कथाबाटै हो । तपाईं अर्को कुनै किसिमको कथा सुन्दै आउनुभयो होला । त्यसैले कथा नै हाम्रो मूल कुरा हो । कथा मार्फत केके भन्नुहुन्छ भन्ने कुरा व्यक्तिको अलग होला ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ?
पढ्नेचाहिं… ऊ बेला मनोरञ्जनको साधन केही थिएन । अहिले जस्तो फेसबुक, टिभीहरू थिएनन् । समय कटाउने भन्ने नै के थियो र ? अलिअलि पढेको र साहित्यमा रुचि भएकाले पढ्ने नै आदत बन्यो । जति पढें, यो फेसबुक आउनुभन्दा अगाडि नै पढें होला । त्यसयता त दुई–चारवटा भन्दा किताबै पढ्दिनँ ।
२. पढ्न मनपर्ने विधा ?
कविता र जीवनीहरू । आख्यान कम पढ्छु म । के भाको ? यसो सम्झिंदा मैले फिक्सन कम पढेको रहेछु । जुनचाहिं मलाई चाहिने हो, त्यही चाहिं पो कम पढेको रहेछु !
३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?
खप्तड बाबाको ‘आहार विज्ञान’ र ‘विचार विज्ञान’ । २०६३/६४ तिर यो पढेको हुँला । त्यो पढेपछि मैले मासु, रक्सी छोडें । यसकै प्रभाव त होला । तपाईंले के सोच्नुहुन्छ, के गर्नुहुन्छ भन्ने कुरा तपाईंको खानेकुराले निर्देश गर्छ भन्ने कुरा मेरो दिमागमा बेस्सरी बस्यो ।
४. निराश बनाएको पुस्तक ?
छन त छ नै । तर, नाम चाहिं नलिऊँ ! नाम नलिएकै राम्रो होला ।
५.पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रण कायम गर्नका लागि ?
लेखकको उद्देश्य त आफ्नो विचारको प्रचार र प्रसार नै हुन्छ होला । लेखकको विचार कुरुप त हुँदैन । तर, उसको विचारले पाठकमा नियन्त्रण त राख्छ होला । उसको विचारले डोर्याएर विचार बनाउने कुरामा अर्कैतिर पनि लान्छ होला ।
६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?
इतिहासै लेख्नुपर्छ जस्तो लाग्छ मलाई छ । इतिहासबारे नै लेख्नुपर्छ । शाह, राजा, राणाको मात्रै इतिहास लेखेर त पूर्ण बन्दैन होला नि ! नेपालीजनको इतिहास लेखिनुपर्छ भन्ने लाग्छ ।
७. तपाईंका प्रिय लेखकहरू ?
मेरो पुस्तामा नेपालीमा लेख्ने कुमार नगरकोटी, राजन मुकारुङ र बुद्धिसागर । आख्यानमा यी तीन जनाको नाम मैले सगर्व लिने गरेको छु । कविमा चाहिं मलाई एक्लो स्वप्निल स्मृति मनपर्छ । हामी एउटै संस्कृतिको । उसले के सोच्छ भन्ने म बुझ्दछु । उसको कविताको म खुब मजा लिन्छु । अंग्रेजी म खासै पढ्दिनँ । हिन्दीको सबैलाई थाहा छ, के नाम लिनु !
८. लेखकहरूले पढ्नुपर्ने पुस्तक ?
त्यो नाम लिन म सक्दिनँ । लेखकहरूले मलाई कम पढ्ने भनेर चिन्छन् । तिनैलाई सल्लाह दिन थाल्यो भने मैले गाली खान्छु । त्यति पाखण्ड म गर्न सक्दिनँ ।
९. एक दिन बिताउन पाए कुन लेखक वा पात्रसँग बिताउनुहुन्थ्यो ?
म लु सुन छान्थें । जिउँदो भएको भए एक दिन ओशोलाई पनि भेट्न चाहन्थें । म बोल्नै नसक्ने, आफ्नो कुरा भन्न नसक्ने मान्छे थिएँ । मेरो बोली फुटेकै ओशो पढेर हो । उनका किताब पढेपछि यत्तिको बोल्न सक्ने भएको हुँ ।
सिनेमा
संसारमा लडाइँ खानका लागि त छैन होला हो । भोक टार्नलाई त लडाइँ छैन होला । तर, अर्कै किसिमको भोक होला । भोक त भोककै लागि होला
१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?
म १४ वर्षको हुँदा होला । दमकको गुराँस हलमा हेरेको । साह्रै गर्मी भएको सम्झना छ । अहिले त्यो हल छैन । हिन्दी फिल्म थियो । भाषा एउटै बुझिनँ । एउटा दृश्य चाहिं याद छ । बच्चालाई भिलेनले फाल्छ, हिरोले च्याप्पै समात्छ । पछि मेरो दाइले भनेअनुसार त्यो बच्चा हृतीक रोशन हो रे ! फिल्मको नाम मलाई थाहा छैन ।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
म त सोसल ड्रामा नै हेर्छु । त्यही धेरै मन परेर होला । मलाई स्नाइपरवाला एक्सन फिल्म पनि मन पर्छ । ती कसरी मन परे भन्ने थाहा छैन । तर, भएभरका हेरेर सिध्याएँ ।
३. साह्रै मन परेका फिल्म ?
चिनियाँ निर्देशक झ्याङ यिमाउको ‘टु लिभ’ । त्योचाहिं साह्रै मन परेको । जुवामा हारेर धन्न बाँचेको जमिनदार मन परेको ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
त्यस्तो कुनै सम्झना छैन । त्यति साह्रो मनमा नराख्दो रहेछु म । तर, नबुझेर हो कि किन हो, इरानी फिल्म ‘ब्ल्याकबोर्ड’ चाहिं त्यस्तै लाग्यो । भीसीडीको जमानामा भयंकर छ भनेर हेरेको तर केही पाइनँ । बुझिनँ होला ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
मुख्य त डिरेक्टर हेर्छु । डिरेक्टरबारे पहिला गुगलमा सर्च गर्छु । डिरेक्टरका अरू फिल्म र उसको कामबारे हेर्छु । त्यसकै आधारमा छान्छु ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
मैले धेरै हेरेर हो कि झ्याङ यिमाउ नै मन पर्यो । पछि पो थाहा पाएँ, उसले अधिकांश फिल्म उपन्यासमाथि बनाएको रहेछ । फिल्म गतिलो हुनलाई लिटरेचर दह्रो हुनुपर्दो रहेछ । लिटरेचर नै कमजोर भयो भने फिल्म दह्रो हुँदैन होला । जापानतिर हेर्दा पनि त्यस्तै लाग्छ ।
७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?
नेपालमा त धेरै कुरा बन्न बाँकी छ हो । कस्तो होइन, धेरै फिल्म नै बन्न बाँकी छ ।
८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
यो चाहिं दुइटै कुरा ठिक हो । नेपाली सिनेमाको सन्दर्भमा चाहिं यथार्थै देखाउन बाँकी छ । तामाङ, शेर्पा, मेरो लिम्बूकै कथा, दुःख देखाउन बाँकी छ । एकअर्कामा बुझाबुझ भएर सकिएपछि कल्पनाको संसारतिर पनि लैजाउँला । नेपालमा चाहिं कलाले समाजलाई दिनसक्ने कुरा यथार्थ मार्फत नै बढी होला जस्तो लाग्छ । यथार्थमै अर्को दुनियाँजस्तो छ । ‘नुमाफुङ’ हेर्दा तपाईंलाई लागेन ? यस्तो पनि छ र हाम्रो नेपालमा भन्ने लागेन ?
खाना
१.नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सौखिन हुनुहुन्छ ?
मासु छोडेर झन् साह्रो मोटाएँ म । खानचाहिं जान्दिनँ म । भोक नथाम्ने खालको छु । मासु छोडेपछि यो खान्छु भन्ने छैन । छेउमा आएको जे पनि खाइदिन्छु । म थोरै खान जान्दिनँ । एक टोकरी मकै–भटमास राख्नुभयो भने कतिखेर हो म खाइसक्छु । खाएको थाहै पाउँदिनँ ।
२. सबभन्दा मनपर्ने खाना ?
भातै हो । मासु छोडेपछि यो खाने यो नखाने भन्ने नै छैन । सारा रुचि मासुसँगै गयो कि जस्तो पनि लाग्छ । एउटा स्वादसँग छुट्टिएपछि स्वादै हराउँदो रहेछ कि ! नमिठो लाग्ने पनि केही छैन । आज चाहिं यो खाउँ भन्ने पनि हुँदैन ।
३. खाएको सबभन्दा मिठो परिकार ?
विश्वप्रकाश शर्मासँग एक दिन पूरा बिताउन चाहन्छु । त्यसरी समय बिताउन पाएको छैन । राजनीतिको कुरा नगरिकन गीत, कविताका कुरा गरेर बस्न चाहन्छु
ठूलो भएर खाएर होला मिरिन्डा । पहिलोचोटि खाएको मिरिन्डाको सम्झना अझै छ । जिन्दगीमा खाएर त्यति मिठो लागेको चिज कुनै छैन । २०४४/४५ सालतिर धरानमा खाएको । गर्मीको बेला थियो । चिसो, गुलियो मिरिन्डा । त्यसको स्वाद म कहिल्यै बिर्सिन्न । त्यसपछि पहाड गइयो । एक वर्षसम्म मिरिन्डाका लागि तड्पिएँ, पहाडमा कहाँ पाउनु ! एक वर्षपछि दमक झरेपछि पहिलो काम मिरिन्डा खाएँ । ५ रुपैयाँ पथ्र्यो जस्तो लाग्छ । दमकमा बत्ती थिएन । चिसो पानीको माटोको घैलामा आइस हालेर चिसो बनाएर राखेको हुन्थ्यो ।
४. सबभन्दा नमिठो परिकार ?
सिमल तरुल । योचाहिं पहाडमै हो । हाम्रो पाँचथरमा सिमल तरुल थिएन । तर, सिमल तरुल सारै मिठो हुन्छ भन्ने कथा सुनेको थिएँ । मधेश झर्नेबेला त्यसकै कथा बोकेर झरेको थिएँ । बाउसँग झरेको थिएँ, ढुकुरपानी भन्ने ठाउँमा खाजा दिए तर कत्ति मिठो लागेन । म त सिमल तरुल खान्छु भनेर आको नि ! बेलडाँगी झरेपछि मधेश आयो भन्ने भयो । बाउले के खान्छस् भनेर सोध्दा फ्याट्ट मुखबाट सिमल तरुल निस्कियो । ल्याइदिए । मैले यो त खान्न भनें । बाउले भने– यही त हो सिमल तरुल । त्यो त मैले ढुकुरपानीमा साह्रै खल्लो लागेर नखाएकै कुरा रहेछ । मलाई सिमल तरुल कहिल्यै मन परेन ।
५. संसारमा लडाईं खानाका लागि छ कि लड्नका लागि खाना जम्मा गर्नलाई छ ?
खानका लागि त छैन होला हो । भोक टार्नलाई त लडाइँ छैन होला । तर, अर्कै किसिमको भोक होला । भोक त भोककै लागि होला ।
६. तपाईंलाई मिठो पकाउन आउने परिकार ?
मलाई जर्दारी मिठो पकाउन आउँछ । जर्दारी मेरो आफ्नै रेसिपी हो । यो मासुकै परिकार हो । जर्दारी नाम राखेको साम्तेन भुटियाले हो । ‘देश खोज्दै जाँदा’ फिल्म बनाउँदा म दमक बसेको थिएँ । एउटा गाउँदेखि कुखुरा लिएर आएको थियो । तर, कोही पनि त्यो भाले काट्न तयार भएन । चार दिन भइसक्यो, कसैले नमारेपछि मैले नै त्यसलाई मारें । म त्यतिबेला मासु खान्थें । मलाई पकाएर दिएनन् भन्ने रिसमा नमिठो होस् भनेर पकाको त्यहीचाहिं साह्रै मिठो भएछ । त्यसपछि एक महिना मलाई मासु पकाउन लगाए । म माछा पनि मिठो पकाउँछु ।
७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?
सारै राम्ररी थाहा पाउन सकिन्छ । अहिले त अलि हरायो होला, नत्र भान्सा भनेको आहार संस्कृतिको कुरा हो नि ! यसमा कुन भेक हो, भूगोल हो, संस्कृति हो भन्नेले फरक पार्छ ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्यो भने के भन्न सकिन्छ ?
जुन जोगी आए पनि कानै चिरेका !
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
व्यवस्था समस्या होइन । थुप्रै समस्या जेलिएका होलान् । एउटा मात्रै भन्न त गाह्रो होला । हामीले व्यवस्था पनि फेरेर हेर्यौं, राजनीतिज्ञ पनि फेरेर हेर्यौं, संविधान पनि फेरेर हेर्यो । तर, उस्तै रह्यो । एक वाक्यमा भन्न नसकिएला ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
पद, शक्ति र धनको लोलुपता सुधार्ने थिएँ । एक दिन मरिन्छ भन्ने कुरा राजनीतिज्ञले पनि याद चाहिं गर्नुपर्छ ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
छैन हो । नेताप्रति मेरो त्यति चासो नभएर होला । नेताले मलाई कहिल्यै पनि आकर्षित गरेनन् ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला काम के गर्नुहुन्छ ?
पहिलो काम म राजीनामै दिन्छु । किन टाउको दुखाइरहने ? गर्न सकिने केही हैन रहेछ, माखो मार्न नसक्ने भएपछि किन बसिरहनु !
६.एक दिन बिताउनुपर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?
म उहाँसँग समय बिताउन त पाउँछु होला, राम्रै चिनजान पनि छ, कुराकानी पनि हुन्छ । तैपनि, विश्वप्रकाश शर्मासँग एक दिन पूरा बिताउन चाहन्छु । त्यसरी समय बिताउन पाएको छैन । राजनीतिको कुरा नगरिकन गीत, कविताका कुरा गरेर बस्न चाहन्छु ।
सामाजिक सञ्जाल
१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
लगभग ५-६ घण्टा बिताउँछुहोला । फुर्सद हुनासाथ मेरो समय त युट्युब र रिल हेरेर बर्बाद हुँदोरै’छ । म बिग्रेकै सामाजिक सञ्जालले हो । फुर्सद नहुँदा पनि डेढ दुई घण्टा त चलाउँछु । धेरै युट्युब र फेसबुक नै चलाउँछु ।
२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
त्यही चाहिं बानी खराब छ । हरेक दिन बिहानै गुड मर्डिङ सन्देश पठाउने १२–१३ जना हुनुहुन्छ । उहाँहरूलाई गुड मर्निङ भनेर सुरु हुन्छ । बेलुका चाहिं देश–विदेश भएका साथीभाइसँग कुरा गर्छु । फिल्म चलाउने बेलामा यो क्रम झन् बढ्छ ।
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रोचाहिं जोडिनलाई सजिलो छ । बात मार्नु, गफ गर्नु, दुःख-सुख सेयर गर्नु । तात्तातो समाचार थाहा पाइन्छ । कति घटना त घट्दा घट्दै तात्तातै भिडियो सहितै थाहा पाइन्छ । नराम्रोचाहिं कुनै कुनै विषयमा अनावश्यक सेन्सेसनल गराइदिने कुरा मन पर्दैन । यो खराब छ ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?
दुइटै गरिरा’छ ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई असर गरिराछ वा विस्थापित गर्नेछ भन्ने गरिन्छ; त्यस्तो लाग्छ ?
विस्थापितै त नगर्ला । किनभने, आधिकारिकताको पनि कुरा छ । प्रभाव त पार्यो होला ।
पेशा/व्यवसाय
१. फिल्ममेकरका रूपमा तपाईंको कामको सबभन्दा राम्रो र नराम्रो कुरा के लाग्छ ?
आफूलाई मन लागेको कथा भन्न, फिल्म बनाउन पाउनु नै राम्रो कुरा हो । मन लागेको काम गर्न पाउनु धेरै राम्रो कुरा हो । नराम्रो खासै केही लागेको छैन ।
२. कुन समयमा तपाईंलाई मैले फिल्म बनाउनुपर्छ भन्ने लाग्यो ?
कहिलेदेखि लाग्यो भन्ने थाहा भएन । लेखन गर्दागर्दै यसमा मन पलायो ।
३. यो काम नगरेको भए के बन्नुहुन्थ्यो होला ?
कवि छँदै थिएँ । कवि नै नभाभएचाहिं गाउँमै हुन्थें होला । आनन्दको जिन्दगी हुन्थ्यो होला गाउँमै ।
४. तपाईंको कोही रोलमोडल छ ? भेटेका को मानिसबाट प्रभावित हुनुभयो ?
मेरो सम्झनामा छैन । अहिले पनि यो जस्तो बनुम्, यस्तै बाँचु भन्ने छैन । त्यो पहिला पनि थिएन, अहिले पनि छैन ।