म नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा सन्तुष्टि मिल्छ

म नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा सन्तुष्टि मिल्छ


बेलायती नागरिक टिम गोचर ‘डोल्मा इम्प्याक्ट फन्ड’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । गोचरले लामो समय इन्भेस्टमेन्ट बैंकरका रूपमा काम गरेपछि सन् २०१४ मा नेपालको पहिलो ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) फन्डका रूपमा डोल्मा इम्प्याक्ट फन्ड सुरुवात गरे । स्थापनाको एक दशकमा गोचरले डोल्मा इम्प्याक्ट फन्डमार्फत नेपालमा अर्बौं रुपैयाँ लगानी जुटाइसकेका छन् र हजारौं रोजगारी सिर्जना गर्न सफल भएका छन् । डोल्माले हालसम्म १० करोड ८० लाख अमेरिकी डलर (साढे १४ अर्ब रुपैयाँभन्दा बढी) लगानी गरिसकेको छ ।

गत वर्षदेखि नेपालमा प्राइभेट इक्विटी फर्महरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति (लाइसेन्स) पाउन सुरु गरेका थिए । हाल सेबोनमा १३ वटा दर्ता छन् । विदेशी पीईभीसीले सेबोनमा दर्ता हुनुपर्दैन । विदेशमा दर्ता भएर नेपालमा काम गरिरहेका पीईभीसी डोल्मासहित सात छन् ।

नेपालको पीईभीसी इन्डस्ट्रीका ‘पायोनियर’ हुन् गोचर । डोल्मा इम्प्याक्ट फन्डले नेपालमा काम थालेको यो वर्ष १०औं वार्षिकोत्सव मनाएको छ ।

यही मेसोमा फन्डका सुरुवाती कथा, नेपालमा लगानी गर्दाका समस्या, फन्डका रणनीति, आगामी योजना लगायत विषयमा केन्द्रित रहेर सीईओ गोचरसँग गरिएको कुराकानी :

तपाईं बेलायती नागरिक, अन्तर्राष्ट्रिय रूपमा इन्भेस्टमेन्ट बैंकिङमै लामो करियर भएको व्यक्ति । तपाईंलाई अन्तर्राष्ट्रिय वित्तीय हबहरूमै राम्रा अवसरहरू थिए होलान्, तर किन र कसरी नेपाललाई आफ्नो कर्मथलो बनाउने सोच्नुभयो ?

मेरो विचारमा पैसा महत्त्वपूर्ण विषय हो । तपाईं हामी सबैलाई आफ्ना परिवार पाल्न र राम्रो जीवन जिउन पर्याप्त पैसा कमाउनुपर्ने आवश्यकता छ । तर, यसो भने पनि पैसा नै सबैथोक चाहिँ होइन । हो, जीवनको एक समय मैले एक अमेरिकी अर्बपतिका लागि काम गरेको थिएँ । त्यसबाहेक अधिकांश समय मैले लन्डन, न्युयोर्क र सिंगापुर जस्ता वित्त हबमा रहेका ठूला वित्तीय संस्थामा काम गरेँ ।

यद्यपि, मैले नेपालबारे मेरी श्रीमती मार्फत थाहा पाएको थिएँ । र, तुरुन्तै एउटा गैरसरकारी संस्था ‘डोल्मा फाउन्डेसन’ स्थापना गरेँ । यो सन् २००३ को कुरा हो । त्यो बेला नेपालमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यो समयमा नेपालमा कुनै निजी क्षेत्रको लगानी गर्ने विषयमा मैले सोचेकै थिइनँ किनभने यहाँको अवस्था भरपर्दो थिएन । तै पनि, म नेपालाई माया गर्थें ।

त्यही समयमा भारतका केही ग्रामीण क्षेत्र, अफ्रिका जस्ता ठाउँमा अन्य इम्प्याक्ट फन्ड सुरु हुँदै थिए र ती फन्डका सञ्चालकहरू मेरो चिनजानका थिए । त्यहीबाट प्रेरित भएर मैले नेपालमा पीईभीसी खोल्ने निर्णय गरेँ । इमान्दार भएर भन्नुपर्दा यो भनेको एक प्रकारको जोश हो । र, अझै भन्नुपर्दा यो पैसाभन्दा धेरै नै महत्त्वपूर्ण चिज हो ।

जुनबेला नेपालमा तपाईंले पीईभीसी फर्म खोल्नुभयो, त्यो बेला त यहाँ पीईभीसीबारे धेरै जानकारी पनि थिएन । तपाईंलाई गाह्रो भएन ?

हजुर, भयो । पहिलो कुरा, मेरो विचारमा हामी संसारकै सबैभन्दा अभागी फन्ड हौं जस्तो लाग्छ । तर, नेपालका कारण होइन । तै पनि हामीले सुरु गर्‍यौं, हामीले पैसा जुटाउन थाल्यौं । हामीले १० वर्षअघि सेप्टेम्बर २०१४ मा नेपालमा पहिलो लगानी गरेका थियौं ।

डोल्मा इम्प्याक्ट फन्ड स्थापनाको पहिलो सात महिना त मानिसले हामीलाई बुझ्नै सकेनन् । उनीहरू हामीलाई ‘तपाईंहरू अनुदान दिनुहुन्छ ?’, ‘तपाईंहरू बैंक हो ?’ जस्ता प्रश्न सोध्थे । मानिसहरू इक्विटीको समान वितरण सम्बन्धी हाम्रो अवधारणाप्रति त्यति घुलमिल हुन सकेनन् । किनकि, नेपालमा यो पहिलो अवधारणा थियो । त्यसकारण यो अवधारणाबारे हामीले धेरै शिक्षा र सचेतना जगानुपर्ने भयो । त्यसबेलासम्म हामीले कुनै पनि परियोजनामा लगानी गरेका थिएनौं । सबै लगानीको निश्चित आयु हुन्छ, जबसम्म परियोजनामा लगानी हुँदैन, तबसम्म लगानीकर्ता आत्तिनु स्वाभाविक हो ।

त्यसपछि एक्कासि नेपालमा नाकाबन्दी हुन पुग्यो । नाकाबन्दी अघि गएको विनाशकारी भूकम्पका कारण नेपालमा कसैले पनि कुनै प्रकारको लगानी गर्ने आँट गरेनन् किनभने त्यो बेला जीवनमरणको सवाल थियो । तर, हामीले स्थापनाको १६ महिनापछि एउटा जलविद्युत् परियोजनामा पहिलो पटक लगानी गर्‍यौं ।

१० वर्ष अगाडि र अहिले नेपालमा पीईभीसी क्षेत्रमा कस्तो परिवर्तन भएको छ ?

यसमा पूरै रूपान्तरण भएको छ । यहाँका स्थानीय प्राइभेट इक्विटी फन्डहरूसँग काम गर्दाको हाम्रो अनुभव एकदमै सकारात्मक छ । यो क्षेत्रमा सबैले आ–आफ्नो ज्ञान र अनुभव लिएका आएका हुन्छन् र हामी सबै मिलेर जोखिम उठाउँछौं । यसो गर्दा कहिले एउटाले जित्छ त कहिले अर्कोले जित्छ । यो भेन्चर क्यापिटल प्राइभेट इक्विटी हो । तर, यो ज्ञान र स्थानीय पूँजी अभावका कारणमात्र पनि होइन । पारिस्थितिक प्रणालीलाई प्रोत्साहन गर्न हामीले केही भूमिका निर्वाह गरेका थियौं भनेर सोच्दा मलाई रमाइलो अनुभूति हुन्छ ।

तपाईंले जे सोचेर डोल्मा फन्ड सुरु गर्नुभएको थियो, त्यो अनुसार परिणाम आएको जस्तो लाग्छ ? आफ्नो नेपाल यात्रालाई कसरी पुनरावलोकन (रिभ्यू) गर्नुहुन्छ ?

स्थापनाको पहिलो दिनबाट हामी निजी क्षेत्रका विदेशी संस्थागत लगानीकर्ताको पुल बनेर नेपालमा लगानी जुटाउन लागिपरेका छौं । हामीलाई थाहा थियो, त्यो एउटा दीर्घकालीन लक्ष्य हो । किनभने, नेपालका लागि लगानी जुटाउन एउटा समस्या के छ भने नेपालमा विदेशी लगानी आउने र जाने कुनै ‘ट्र्याक रेकर्ड’ छैन । तीमध्ये धेरै क्षेत्र जस्तै जलविद्युत्मा हामी पहिलो हुने छौं । जब नेपाल सरकारले ऊर्जा क्षेत्रमा साढे २६ अर्ब अमेरिकी डलर आवश्यक रहेको बताउँछ भने त्यो एकदमै राम्रो कुरा हो । तर, त्यति ठूलो परिमाणको लगानी कहाँबाट जुट्छ ? सरकारसँग अलिकति छ, बैंकहरूसँग थप अलिकति छ, तर त्यतिले मात्र साढे ४६ अर्ब डलर पुर्‍याउन सकिँदैन ।

त्यसपछि विकास वित्त संस्था (डीआईएफ) हरू छन् तर तिनले पनि ५० प्रतिशतभन्दा बढी पुर्‍याउन सक्दैनन् ।  त्यसकारण नेपालले त्यति परिमाण बराबर रकम अन्तर्राष्ट्रिय बजारबाट पाउन सक्छ । यो पूँजीबजार वा ठूला लगानीकर्ताबाट प्रत्यक्ष लगानी लिएर सम्भव हुन सक्छ । तर, त्यस्ता लगानीकर्ताले नियमित प्रतिफल भने हेर्नुपर्छ ।

यदि नीगित सुधार, निजी क्षेत्र केन्द्रित नीतिगत सुधार सही ठाउँमा भइदिएको भए सर्वेक्षणमा भनिए झैं नेपालमा बढिभन्दा बढी लगानी भित्रिने छ ।

पछिल्लो तथ्यांक हेर्दा डोल्मा इम्प्याक्ट र अन्य केहीले पाँच जलविद्युत् आयोजनामा लगानी गरेका छन् । उनीहरूले रकम लगानी गरे, सफलतापूर्वक निर्माण गरे, सूचीकृत गरे, बेचे र लगानीकर्ताको दृष्टिकोणबाट पर्याप्त नाफा कमाए । त्यो प्रतिफल मेरा लागि जोखिमको क्षतिपूर्ति दिन पर्याप्त थियो । किनभने, यहाँ ट्र्याक रेकर्ड नभएको अवस्था छ । भातरमा भन्दा नेपालमा लगानीको जोखिम बढी छ ।

डोल्माले हालसम्म पाँच जलविद्युत् आयोजनामा लगानी गरेको छ । तीबाट औसतमा १७ प्रतिशत प्रतिफल प्राप्त हुन्छ । हाम्रो विचारमा लगानीकर्तालाई आकर्षित गर्न यो नै पर्याप्त छ र हामी यही यात्रामा अगाडि बढेका छौं ।

लगानीको प्रतिफलका हिसाबले हेर्दा तपाईंहरूले नेपालका जुन–जुन कम्पनीमा लगानी गर्नुभएको छ, त्यसप्रति तपाईं आफू र तपाईंका लगानीकर्ताहरू सन्तुष्ट हुनुहुन्छ ?

अवश्य, हालसम्म भएको लगानीबाट हामी र हाम्रा लगानीकर्ता सन्तुष्ट छौं । यसमा कुनै समयसीमा तोकिएको थिएन । एक दशकअघि नेपालका लागि अर्बौं व्यवस्थापन गरेर साढे ११ हजारलाई रोजगारी सिर्जना गर्छु भन्ने मसँग कुनै ठूलो अपेक्षा थिएन । मैले गरेँ किनभने नेपालमा मसँग जे छ त्यसमा म खुसी र सन्तुष्ट छु ।

तपाईंहरूले नेपाललाई कर्मथलो बनाएर काम गर्न थालेको पनि एक दशक भयो र प्रतिफलबाट सन्तुष्ट पनि हुनुहुन्छ । यो सन्दर्भमा पछिल्लो १० वर्ष नेपालमा काम गर्दाको अनुभव कस्तो छ ?

हामी पछिल्लो १० वर्षदेखि नेपालमा अनवतरत काम गरिरहेका छौं । यहाँ पैसा दिन सजिलो छ तर प्रतिफल पाउन एकदमै गाह्रो छ । सुरुमै मलाई नेपाल कस्तो थियो भन्ने ठ्याक्कै थाहा थियो । हामीलाई थाहा छ नेपाल व्यापार गर्नका लागि सजिलो ठाउँ होइन र यहाँ अप्रत्याशित केही पनि हुँदैन । त्यसकारण नेपाल आउनुअघि नै म तयार थिएँ कि यो सिंगापुर होइन जहाँ अनलाइन मार्फत कम्पनी दर्ता हुन्छ, म यस्ता कुनै पनि भ्रममा थिइनँ । नेपाल मैले सोचे जस्तै कठिन देश थियो ।

जब म नेपाली बजार प्रवेश गरेको थिएँ, त्यो बेला नेपालका लागि म नौलो थिइनँ । नेपालमा कुनै पनि काम गर्न धेरै नै चुनौतीपूर्ण छ किनभने धेरै ठाउँमा हस्ताक्षर गर्नुपर्ने हुन्छ तर अन्य देशमा यस्तो हस्ताक्षरको आवश्यकता नै पर्दैन ।

रेमिट्यान्स भित्रिएको छ, त्यसले अर्थतन्त्र स्थिर बनाएको छ भनिए पनि यो असाध्यै पीडादायी अवस्था हो ।

मैले यस्ता सबै ज्ञान प्राप्त गरेर लगानी जुटाएँ । मेरो विचारमा यसले तपाईं नेपालमा व्यापार गर्न सक्नुहुन्छ भन्ने पुष्टि हुन्छ । यदि नीगित सुधार, निजी क्षेत्र केन्द्रित नीतिगत सुधार सही ठाउँमा भइदिएको भए सर्वेक्षणमा भनिए झैं नेपालमा बढिभन्दा बढी लगानी भित्रिने छ । मेरो विचारमा लगानीको पनि सीमा हुन्छ । नेपालमा लगानीकर्ता को हुन् ? मजस्तै मान्छे जो नेपाललाई माया गर्छ, नेपालीसँगै बिहे गरेको छ । तर, मजस्ता मान्छे नेपालमा धेरै छनन् । यो बजार निर्देशित निर्णय पनि होइन, यो नेपालका लागि एउटा जोश हो । म नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा मलाई सन्तुष्टि मिल्छ ।

नेपाल प्रवेश गर्ने यो एउटा सही निर्णय थियो किनभने तपाईंले अन्य देशका दाँजोमा जोखिमका हिसाबमा उच्च प्रतिफल पाउन सक्नुहुन्छ । तै पनि यसबारे कुनै पनि पर्याप्त लगानीले हालसम्म पुष्टि गरेको छैन । जबकि, नेपालको प्रस्तुति राम्रो थिएन तर हाम्रो प्रस्तुति राम्रो थियो । यदि तपाईंले नेपालमा आउने कूल प्रत्यक्ष वैदेशिक लगानीको पछिल्लो तथ्यांक हेर्नुभयो भने यो परिमाण कुल गार्हस्थ उत्पादन (जीडीपी) का हिसाबमा अफ्रिकी देश सोमालियाको भन्दा कम छ । यो भयावह अवस्था हो ।

तपाईंहरू त प्रतिफलमात्रै नभएर इम्प्याक्टलाई पनि त्यत्तिकै प्राथमिकता दिनुहुन्छ, तपाईंले गरेको लगानीले नेपालमा के–कस्तो इम्प्याक्ट परेको महसुस गर्नुभएको छ ?

सबैभन्दा महत्त्वपूर्ण रोजगारी हो । हामीले लगानी गरेका कम्पनीमा साढे ११ हजारभन्दा धेरै रोजगारी सिर्जना गरेका छौं । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छाड्ने युवा पुस्ताको संख्याले कसैलाई खुसी बनाउँदैन । यो दुःखद अवस्था हो, नवविवाहित जोडी छुट्टिएर विदेश जानुपर्ने अवस्था छ । हामीले तथ्यांक हेरेका छौं । रेमिट्यान्स भित्रिएको छ, त्यसले अर्थतन्त्र स्थिर बनाएको छ भनिए पनि यो असाध्यै पीडादायी अवस्था हो ।

सौर्य ऊर्जा, विद्युतीय गाडी चार्जिङ स्टेसन, ग्रिन हाइड्रोजनका सम्भावना नेपालमा ठूलो छ ।

हामी अहिले कहाँ छौं भन्ने हामीलाई राम्ररी थाहा छ । नेपालमा रोजगारी सिर्जना बाहेक अझै बढी नवीन, महत्त्वपूर्ण र आकस्मिक विषयमा काम गर्न सकिन्छ । नेपालको अर्थतन्त्र दशकौंसम्म न्यून लगानी रहन पुग्यो । सरकारको लगानी पूरै पूर्वाधारमा केन्द्रित छ । निजी क्षेत्रको लगानीबाट केही आशा गर्ने ठाउँ छ । आन्तरिक निजी क्षेत्रले हजारौं रोजगारी सिर्जना गरेको छ । त्यस्तै वैदेशिक लगानीले पनि केही सहयोग गरेको छ, तर यो अन्य देशको दाँजोमा विकासका हिसाबमा सोचेजति छैन ।

म नेपाललाई माया गर्छु, त्यही भएर यहाँ लगानी गर्दा सन्तुष्टि मिल्छ डोल्माले हालसम्म नेपालमा १० करोड ८० लाख अमेरिकी डलर बराबर लगानी गरिसकेको भन्नुभयो, अब तपाईंहरूको योजना के छ ? कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीका क्षेत्र एक्सप्लोर गरिरहनुभएको छ ?

भविष्यका लागि हामीले अर्को नयाँ फन्ड सार्वजनिक गरेका छौं । यो भनेको ‘डोल्मा क्लाइमेट फन्ड’ हो । यसका लागि फेरि लगानी जुटाउने तयारी छ । तर, लगानी जुटाउन सुरु गरिसकेका छैनौं ।

क्लाइमेट फन्डले विशेषगरी नवीकरणीय ऊर्जामा काम गर्ने छ । यो फन्डका लागि २० करोड डलरसम्मको लगानी जुटाउने लक्ष्य लिएका छौं । यति हाम्रो लक्ष्य हो । योभन्दा माथि ३० करोड डलरसम्म उठाउन पाइन्छ ।

नेपाल विद्युत् प्राधिकरणले सरकारलाई कर तिरेको छ, विद्युत् लाइसेन्स अद्यावधिक गरिरहेको छ, बैंकहरूले यो क्षेत्र बुझेका छन्, सेयर बजारमा यसको माग छ, त्यही भएर हामी ऊर्जा क्षेत्रमा बढी केन्द्रित भएका हौं । नेपालले १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेको छ ।

त्यस्तै सौर्य ऊर्जा, विद्युतीय गाडी चार्जिङ स्टेसन, ग्रिन हाइड्रोजनका सम्भावना नेपालमा ठूलो छ । यो मानेमा हामी एकदमै उत्साहित छौं । हामीले डोल्मा इम्प्याक्ट फन्ड १ र डोल्मा इम्प्याक्ट फन्ड २ व्यवस्थापन गरिरहेका छौं र अब डोल्मा इम्प्याक्ट फन्ड ३ पनि व्यवस्थापन गर्ने छौं ।

एक दशकको यात्रा अवधिमा तपाईंलाई एकदमै खुसी लाग्ने र एकदमै दुःखी तुल्याएका केही घटना सेयर गरिदिनुस् न ?

दुःखी तुल्याएका कुरा गर्न सजिलो छ । हामीले लगानी गरेका जलविद्युत् आयोजना बाढीले बगाउनु र मानवीय क्षतिसमेत हुनु असाध्यै दुःखलाग्दो घटना हो । एक लगानीकर्ताका हिसाबमा यो त एकदमै गम्भीर विषय हो ।

एकदमै सुखद घटना भनेको हामीले लगानी गरेको ‘क्लाउड फ्याक्ट्री’ बाट बाहिरिनु हो । अझै त्यसमा हाम्रो केही सेयर बाँकी छ । तर, हामीले ठूलो परिमाणको सेयर निकाल्यौं । यो नेपालमा सुरु भएको सानो कम्पनी थियो । बिस्तारै बढेर ४ हजार जनालाई रोजगारी दिन सक्ने बन्यो । यसले केन्यामा पनि कार्यालय खोल्यो । नेपालमा भूकम्पका कारण यसलाई वित्तीय संकट परेपछि हामीले लगानी गरेका थियौं ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School