सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अचेल मदन भण्डारी फाउन्डेसन मार्फत सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय देखिन्छिन् । अनलाइनखबरसँग यो अन्तर्वार्तामा भण्डारीले आफ्नो विगत विरासत सम्झाउँदै फेरि एमाले नेतृत्वमा फर्कन सक्ने प्रस्ट संकेतहरू गरेकी छन् । उनले यसअघि सार्वजनिक मञ्चमा गएर बोलेका अभिव्यक्तिलाई लिएर टिप्पणीहरू भइरहेका छन् । खासगरी राष्ट्रको अभिभावक, अनि संविधानको संरक्षक र पालकको भूमिका निर्वाह गरिसकेको व्यक्ति फेरि दलनिकट भएर काम गर्नुहुन्छ कि हुँदैन भनेर बहस समेत चलिरहेको छ ।
यसै पृष्ठभूमिमा भण्डारीले अनलाइनखबरसँग आफूले विगतमा एमालेभित्र महिला अध्यक्ष हुनुपर्छ भनेर राख्दै आएका मतहरू अझै टरिनसकेको ठोकुवा गरेकी छन् । उनले पार्टीको अध्यक्षमा महिला आउन सक्ने, र आफू विभिन्न कारणले योग्य पात्रमा पर्न सक्ने भनी विगतमा राखेको मतको औचित्य अझै नटरेको बताइन् । बीचमा राष्ट्रप्रमुखको संवैधानिक दायित्व पूरा गरी फर्केपछि अब आफूले पार्टी सदस्यता नै नवीकरण गरेमा अरूले अनौठो मान्न नहुने उनले धारणा दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीसँग अनलाइनखबरका बसन्त बस्नेत र सइन्द्र राईले गरेको यो विस्तृत वार्ता
तपाईं राजनीतिक योद्धा हुँदै सर्वोच्च पद राष्ट्रपति समेत हुन पुग्नुभयो । अहिले फर्केर हेर्दा आफूलाई कुन भूमिका ज्यादा मन परेको छ ?
मेरो भूमिकाबारे आम दाजुभाइ, दिदीबहिनीमा जिज्ञासा होलान्, त्यसैले आफ्नो मिडिया मार्फत आम जनतासम्म मेरो भूमिकाबारे सन्देश लैजान चाहनुभएको छ । भूमिका भनेको हरेकको आ-आफ्नै हुन्छन् । तर हामी जस्तो पृष्ठभूमिबाट आएका छौं, बाहिर पनि त्यही पृष्ठभूमिबाटै हेर्ने गरिन्छ । कस्तो खालको भूमिका निर्वाह गर्न सक्लान् भन्दा पनि जे गरिआएको छ, त्यही पृष्ठभूमिमा राखेर हेर्ने गरिन्छ ।
मैले आजसम्म जुन-जुन जिम्मेवारी प्राप्त गरें, त्यो पूरा गर्दै आएँ । अहिले स्वतन्त्र नागरिक हो । तर म आफूलाई त्यति धेरै स्वतन्त्र पनि मान्दिनँ । किनभने हिजो जुन–जुन जिम्मेवारीमा रहेर काम गरें, त्यसको एउटा अनुशासन हुन्छ, एउटा परिधिभित्र रहनुपर्थ्यो। देशको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेर आइसकेपछि त्यसको निश्चित एउटा अनुशासन हुन्छ । यसअर्थमा म संवैधानिक जिम्मेवारीबाट त स्वतन्त्र छु, तर हिजोदेखि लामो समय सांसद पनि भएँ, राज्यको मन्त्री भएर पनि काम गरें, र राष्ट्रपतिसम्म भइसकेपछि त्यो कुराहरूलाई निर्वाह गर्न, मर्यादालाई निर्वाह गर्नुपर्ने मेरो आफ्नो कर्तव्य हुन्छ ।
तर अब के गर्ने ? बाँकी जीवन अगाडि बढाउने ? कस्तो भूमिका खेल्ने भन्ने प्रश्नमा पहिलो कुरा त देशको आवश्यकता कस्तो हुन्छ भन्ने हो । किनभने आवश्यकताले नै निर्धारण गर्छ । म राजनीतिक जीवनमा किन सक्रिय भएँ भने त्यतिखेर मैले त्यही आवश्यकता महसुस गरें ।
हामी जुन जिल्लामा जन्मियौं, त्यहाँको आर्थिक-सामाजिक, सांस्कृतिक जीवनलाई हेर्दा हामीले केही गर्नुपर्ने रहेछ भन्ने महसुस भयो । त्यही भएर अरू प्राज्ञ लाइन भन्दा पनि राजनीतिक लाइनतिर लागियो । र आज जे परिचय छ, त्यो निर्माण हुन पुग्यो ।
त्यसैले देश र जनताका लागि गर्नुपर्ने के आवश्यकता छ ? समयानुकूल आवश्यक अनुसार राष्ट्रको सेवा गर्नुपर्छ भन्ने नै लाग्छ । त्यसो हुँदा कुन विधामा त ? राजनीतिक विधा पनि खुला छ । आर्थिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा पनि स्वयंसेवकका रूपमा गर्न सक्छौं । सामाजिक क्षेत्रको कामहरू गर्न सक्छौं । त्यसमा मैले राष्ट्रिय राजनीतिबाट अलग छु भन्न मिल्दैन ।
पार्टी राजनीतिमा सबै पक्षलाई समान रूपमा हेर्ने कोसिस गरे पनि मलाई एउटा पक्षमा राखिहाल्छन् । किनभने नेकपा एमालेबाट म अगाडि बढें । त्यसो हुँदा मेरो परिचय वामपन्थी खेमाको पार्टी, त्यसमा पनि नेकपा एमालेसँग जोडिएर आउँछ नै !
तपाईं राष्ट्रपति हुँदा एमाले परित्याग गर्नुभएको थियो ? वा तपाईंको सदस्यता निष्क्रिय मात्रै भएको थियो ?
त्यतिखेर के भाषा प्रयोग गरियो भन्ने हेर्नुपर्छ । नेकपा एमालेको सदस्य बस्दा हुनुपर्ने अनुशासनबाट स्वतन्त्रता त लिएको हो । तर के शब्द प्रयोग गरियो भन्ने त्यसबेलाको वक्तव्य नै हेर्नुपर्छ ।
मदन भण्डारी फाउण्डेसनमा एमाले कार्यकर्ता छन् । त्यसमा तपाईंको सक्रियता छ, र तपाईंलाई उनीहरूले नेताको भूमिकामा खोजिरहेको अभिव्यक्ति पनि सुनिन्छ । तपाईंले चाहिं के सोचिरहनुभएको छ ?
पार्टीबाट मलाई खोजेको हुनसक्छ, आमपंक्तिले । किनभने हिजो लामो समयदेखि नै पार्टी जीवनमा सक्रिय भएँ । त्यसैले पार्टीपंक्तिले पनि मलाई खोजेको हो । अर्को कुरा, म जुन पृष्ठभूमि र स्कूलिङबाट यहाँसम्म पुगें, त्यो पार्टीको उन्नति, भलो मैले त चाहनु पर्यो ।
यसको अर्थ नलागोस् कि अरू पार्टी बेठिक र फलाना नै ठिक भनेर । तर मैले देखेको, मैले काम गरेको पार्टी भएको हुनाले मलाई के पूर्ण विश्वास छ भने देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र जनताको हितको लागि काम गर्न सक्ने, सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपले समृद्ध पार्टी नेकपा एमाले हो भन्ने लाग्छ ।
तर म सबै पार्टीको शुभेच्छुक पनि हो । अरू पार्टीले पनि जिम्मेवारी पूरा गर्न सक्छ भने गर्नुपर्यो । विकल्प त खुला छ नि ! हामी बहुदलीय प्रणालीमा छौं ।
तपाईंले एमालेबाटै राष्ट्रपति, प्रधानमन्त्री सबै हुनुपर्छ भनेर अभिव्यक्ति दिंदा अलिक आलोचना पनि भइरहेको छ नि !
त्यो त म जुन प्रोग्राममा गएँ, त्यो कार्यक्रममा सबै एमालेका कार्यकर्ता हुनुहुन्थ्यो । म जुन पार्टीबाट देशको राष्ट्रपतिसम्म भएँ, त्यो पार्टीप्रति मेरो शुभेच्छा हुनैपर्छ । मैले ‘तपाईंहरू देशको निर्णायक तहमा पुग्नुहोस्, आउने निर्वाचनमा त्यो शक्ति आर्जन गर्नुहोस्’ भन्ने चाहन्छु भनेकै हो, र अहिले पनि भन्छु । यसको अर्थ अरूलाई गाली गरेको त छैन नि ! (हाँसो…)
तर तपाईंको यो अभिव्यक्तिलाई पूर्वराष्ट्रपतिको भूमिका खेलेको भन्दा पनि अमूक पार्टीलाई धेरै माया देखाएको भनी टिप्पणी गरिरहेका छन् नि !
देशको माया भएरै मैले यो कुरा भनेको हो । देश र जनताको माया भएपछि कुन मेसिनरीबाट काम गर्दा सफल भइन्छ, त्यो कुरा हेर्नुपर्यो नि ! मैले भनेको यही हो । मलाई ढोंगी कुरा गर्न मन पर्दैन, र गर्दा पनि गर्दिनँ ।
प्रधानमन्त्री हुने पक्का भएपछि केपी शर्मा ओली तपाईंलाई भेट्न आउनुभएको थियो । र, बीचमा पनि आउनुभयो । प्रधानमन्त्रीले तपाईंलाई भेट्न आइरहनुमा शिष्टाचार मात्रै बुझ्ने कि अरू राजनीतिक अर्थ पनि छ ?
यसलाई शिष्टाचार, सम्मान र मप्रतिको विश्वास भनेरै बुझ्दा हुन्छ । हामी लामो समयदेखि सँगसँगै काम गरिरहेका छौं । त्यसैले उहाँले सम्झनुभयो । फेरि कुराकानी त नेपालका सबै नेताहरूसँग हुन्छ नि ! तर सबै भेट सबैले थाहा नपाउन सक्छन् ।
मेरो सबै नेताप्रति सम्मान र शुभेच्छा छ । त्यसमा पनि विश्वास भन्ने पनि हुन्छ । जति जना छोराहरू भए पनि यो छोराले चाहिं अलि गरिखान्छ कि भने जस्तो हुन्छ बाआमालाई । म त यो देशको अभिभावकीय भूमिकामा रहेको र देशको लागि लडिरहने एउटा योद्धा पनि हो । त्यसैले सबैप्रति सम्मान हुँदाहुँदै पनि त्यसमध्ये कसले राम्रो गर्छ, को चाहिं सुध्रिनुपर्छ भन्ने चाहिं हुन्छ, हुन्छ ।
एमाले राजनीतिको कुरा गर्दा मदन भण्डारीपछि माधवकुमार नेपाल, झलनाथ खनाल र अहिले केपी शर्मा ओलीले दश वर्षभन्दा लामो समय नेतृत्व गरिसक्नुभयो । नेतृत्वको कार्यशैलीप्रति समीक्षा गर्नेबारे के भन्नुहुन्छ ?
समीक्षा समय-समयमा गर्नैपर्छ । पार्टीको समग्र समीक्षा पाँच-पाँच वर्षमा हुन्छ, महाधिवेशन वा सम्मेलन मार्फत । र, त्यो औपचारिक समीक्षा हो ।
अनौपचारिक पनि समीक्षा हुन्छ, हुनुपर्छ । हिजो पनि भएको थियो, आज पनि हुनुपर्छ । र, हिजोआजमा समय परिस्थिति पनि बदलिएको छ । समय परिस्थिति बदलिएकाले हिजोको एउटा समीक्षा हुन्छ, उहाँहरूले प्राप्त गरेको जुन समय थियो, त्यो समय कस्तो थियो र कति काम गर्नुपर्थ्यो ? र गर्न सकियो कि सकिएन एउटा समीक्षा हुन्छ ।
अहिले भनेको २०७० सालपछिको हो । २०७० सालपछिको समय सन्दर्भ कस्तो थियो र काम गर्न सकियो कि सकिएन ? भनेर समीक्षा गर्नुपर्ने हुन्छ ।
२०७४ सालमा एमाले र माओवादी मिल्दा एउटा अवसर सिर्जना भएको थियो । त्यस्तो दिन फेरि आउन सक्ला ?
अहिले वामपन्थी पार्टीहरूका बीचमा अलिक तिक्तता बढेको देखिन्छ । तर वार्ता संवादको माध्यमबाट उहाँहरूको बीचमा सद्भाव विकास भएर पनि जान सक्छ । त्यो सम्भावना छैन भनेर भन्न सक्दिनँ । र त्यो सम्भावना नहोस् भन्ने पक्षमा पनि छैन । किनकि नेपालका वामपन्थीहरू एकठाउँमा हुँदा राम्रो हुन्छ भन्ने लाग्छ । तर उहाँहरू वैचारिक र कार्यक्रमिक रूपमा स्पष्ट चाहिं हुनुपर्छ, क्षणिक लाभभन्दा पनि देशको लागि मित्रता हुनुपर्छ । र अरू पार्टीहरूसँग पनि सहकार्य गर्नुपर्छ ।
तर मैले यो कुरा समसामयिक परिवेशमा भनिरहेको छैन । हिजो पनि केपी शर्मा ओलीले वाम पार्टीहरू बीच एकता गरेर जाने प्रयास गर्नुभयो, त्यो जस दिनुपर्ने कुरा हो ।
तर एमालेमाथि बेलाबेला प्रहार भइरहेको छ । २०५० सालमा मदन भण्डारीको निधन भयो, त्यो षडयन्त्र हो । अहिलेसम्म पत्ता लागेको छैन । २०५४ सालमा पार्टी विभाजन भयो । तर २०७७ सालमा फेरि पार्टी विभाजित भयो ।
केपी ओलीले नेकपा एमालेलाई मूलधारको कम्युनिष्ट पार्टी र निर्णायक शक्तिका रूपमा लैजान कोसिस गर्नुभएको छ, उहाँलाई सबैले मानेको कारण त्यो हो । एउटा व्यक्ति सर्वगुण सम्पन्न हुन्छ त भन्न सकिंदैन । तर मुख्य कुरा उहाँले पार्टी एकता जोगाउँदै मूलधारको पार्टी बनाउन कोसिस गर्नुभयो ।
यो सबैका बाबजुद केपी ओलीले नेकपा एमालेलाई मूलधारको कम्युनिष्ट पार्टी र निर्णायक शक्तिका रूपमा लैजान कोसिस गर्नुभएको छ, उहाँलाई सबैले मानेको कारण त्यो हो । एउटा व्यक्ति सर्वगुण सम्पन्न हुन्छ त भन्न सकिंदैन । तर मुख्य कुरा उहाँले पार्टी एकता जोगाउँदै मूलधारको पार्टी बनाउन कोसिस गर्नुभयो ।
नेपाली कांग्रेस सबभन्दा जेठो पार्टी हो । कांग्रेससहित वाम पार्टीहरू मिलेर एमालेलाई एक्ल्याउन खोजेको हो नि ! पार्टी विभाजन पनि भयो, २०७७ सालमा । तीन भाग भयो । एमाले र माओवादीको एकता भंग भयो, दोस्रो एमालेभित्रै स्थापित नेताहरूले एउटा सेक्सन लिएर जानुभयो । सबै ठूलो चोट एमालेलाई पर्यो ।
त्यतिखेर निराशा पनि छाएको थियो, पाँच-पाँच भाइ एकातिर मुट्ठी कसेर एमाले एक्लैको विरुद्ध उभिएका थिए, तर एमाले आएको छ । अहिले लार्जेस्ट पार्टीमा एमाले छ । त्यही दश सिटको फरक न हो । यसको जस त केपी ओलीलाई जान्छ । मैले केपी कमरेडको बढी प्रशंसा गरेको भन्ने हुन्छ, मूल्यांकन त निष्पक्ष गर्नुपर्छ नि !
२०५४ सालको विभाजनमा म पार्टीमै थिएँ, त्यसअनुसार कोसिस गरें । २०७७ सालमा म एउटा संवैधानिक पदमा थिएँ, दर्शक जस्तो मात्र थिएँ । तर केपी ओलीले सम्हालिएर लैजानुभयो । दुई वर्ष अगाडि यही असारमा परमादेश जारी गरेर उहाँलाई प्रधानमन्त्रीबाट हटाएको, तर फेरि प्रधानमन्त्री हुनुभएको छ ।
तत्कालै नभए पनि दीर्घकालमा वाम शक्तिहरू मिल्नुपर्ने कुरामा धेरै नेताहरू सहमत देखिन्छन् । तर केपी ओली, प्रचण्ड र माधवकुमारबाट एकता सम्भव छैन भन्ने निष्कर्ष पनि सुनिन्छ । अनि दोस्रो तहका नेताहरूले हिम्मत नगर्दा तपाईंको राजनीतिक सक्रियता यसै सन्दर्भमा जोडिएको देखिन्छ । के भन्नुहुन्छ ?
नेताहरूको व्यक्तिगत कार्यशैलीप्रति मेरो भन्नु केही छैन । कुनै टिप्पणी गर्न चाहन्नँ । मान्छेको आफ्नो स्वभाव पनि हुन्छ । जहाँसम्म मेरो पार्टीभित्रको सक्रियताको सन्दर्भ छ, बाँचुञ्जेल देश र जनताका लागि सक्रिय जीवन नै बाँच्नुपर्छ भन्ने लाग्छ । जुन बेलादेखि सचेत भएर लागियो, यो संकल्प नै हो ।
पार्टीमा बसेर मात्रै काम गर्न सकिन्छ भन्ने पनि होइन । पार्टी बाहिर बसेर पनि राष्ट्रिय जीवनका महत्वपूर्ण कामहरू गर्न सकिन्छ र, राम्रो काम गरिरहेको पार्टीहरूलाई बाहिरै बसेर पनि सहयोग गर्न सक्छौं । यो विकल्प पनि छ ।
जहाँसम्म कार्यकर्ताले खोजी गरेको सन्दर्भको कुरा छ, खास गरेर लेफ्ट खेमाको । लेफ्ट मात्र नभएर सबै पार्टीका कार्यकर्ता, जो देशको राम्रो होस् भन्ने चाहन्छन्, उनीहरू असल पात्रको खोजीमा छन् ।
मलाई सोध्नुभयो-तपाईं के गर्नुहुन्छ त ? यसमा मैले अलिकति समय पर्खेको हो । सकेसम्म नयाँ नेतृत्व हामीले स्थापित गर्न सक्दा राम्रो भन्ने लाग्छ । तर त्यस्तो भएन भने कार्यकर्ताको चाहना भावनालाई कुठाराघात गर्नु पनि हुँदैन । कदर गर्नुपर्छ भन्ने लाग्छ । तर यसमा खुलेर नेतृत्व पंक्तिसँग मेरो कुराकानी भा’को छैन, तर उहाँहरू पनि अञ्जान त हुनुहुन्न होला ! (हाँसो…)
फेरि पार्टी नेतृत्व निर्माणको एउटा प्रक्रिया हुन्छ । एमालेको महाधिवेशन हुन्छ । महाधिवेशन आएको छैन, साढे दुई वर्ष अझै बाँकी छ । महाधिवेशन अवधिसम्म के हुन्छ, समय छ ।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । केपी शर्मा ओली के भन्नुहुन्छ, तर अहिले पार्टी नेतृत्वको बारेमा मुख खोलिहाल्ने बेला भएको छैन । उहाँको धारणा के हुन्छ, नेतृत्वको बारेमा ? पहिलो प्राथमिकता उहाँको विचारले पाउँछ । उहाँको विचार सुनिसकेपछि अरू नेतृत्वले धारणा बनाउने हो ।
तपाईंलाई राजनीतिमा ल्याउन खोज्नेहरूको तर्क छ, मुलुकको कार्यकारी प्रमुखमा विद्या भण्डारीलाई ल्याउन सकियो भने त्यो ऐतिहासिक क्रान्ति हुनेछ । उनीहरूको भनाइलाई मान्दा क्रान्ति त योद्धाले गर्ने हो, तर तपाईंलाई सुन्दा आशीर्वादकै पर्खाइमा ….
(हाँसो…) आशीर्वाद मागिञ्जेल त माग्नै पर्यो नि ! अब लड्नुपर्ने बेला आयो भने लड्ने हो । त्यो त समयको कुरा हुन्छ । तपाईंहरूको कुरा चाहिं ‘बा’श्रीहरू मात्रै निर्णायक ठाउँमा बसे, अब माताश्री आउनु पर्यो भन्ने हो !
यो हाम्रो भनाइ होइन, तपाईंलाई राजनीतिमा ल्याउनुपर्छ भन्नेहरूको मत हो !
विचारमाथि उभिएर कुरा गर्ने हो भने मैले धेरै अगाडि पनि भनेकी थिएँ (२०७२ सालको भूकम्पलगत्तै) पार्टीहरूको नेतृत्वमा (हिजो महासचिव थियो, अहिले बहुपदीय प्रणालीमा गएको छ) महिलाहरूले मौका पाएको छैन। त्यसैले नेपालको राम्रो कम्युनिष्ट पार्टीको अध्यक्ष महिला भयो भने राम्रै हुन्छ र, त्यो ठाउँमा विभिन्न कारणले म योग्य पात्रमा पर्न सक्छु भनेर त्यतिखेरै भनेकी थिएँ।
मैले तीन वटा कुरा भनेकी थिएँ– एउटा इतिहासमै ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष भएका छैनन् महिला । त्यसैले त्यो आवश्यकता छ । अर्को, जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले अगुवाइ गरेर ल्याउनुभयो, म त्यो परिवारबाट यहाँ आएकी छु । मसँग मदन भण्डारीको परिवारको लिगेसी छ । तेस्रो– म सक्रिय छु, र पार्टीको दुईपटक उपाध्यक्ष पनि भइसकें । त्यसैले सम्भावना छ भनेर त्यही बेला भनेकी थिएँ । त्यो विचार अहिले टरेको छ जस्तो त लाग्दैन ।
तर (बीचमा) मेरो जिम्मेवारी अर्को भयो ! जिम्मेवारी अर्को भएर बीचमा संवैधानिक काम भए । तर सफलतापूर्वक आफ्नो कार्यभार सकेर म आएकी छु ।
सुरुमै मैले भनेकी छु, राष्ट्रको आवश्यकता अनुसार हामीले काम गर्नुपर्छ भन्ने हो । आजसम्म जे–जति जिम्मेवारी निर्वाह गर्दै आएँ, सबै आवश्यकताले गर्दा हो । धेरै ठाउँ भनेकी छु, मेरो जीवन खुला किताब जस्तै छ ।
राष्ट्रपति भइसकेको मान्छे फेरि सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने टिप्पणीले पनि तपाईंलाई दोधारमा पारेको हो ?
यसमा म प्रस्ट छु । राष्ट्रपति भएको मान्छेले राजनीति गर्नुहुन्छ कि हुँदैन भन्नेबारे हामीले अघि अनौपचारिक कुराकानी पनि गरेका थियौं । राष्ट्रपति पद नै राजनीतिक संस्कारबाट आएको छ । पार्टीगत संस्कारबाटै आएको छ । हाम्रो देशमा लामो इतिहास पनि भएको छैन, १७ वर्ष भयो । त्यसैले राष्ट्रपतिले दलीय राजनीति गर्नुहुँदैन भन्ने हामीले मान्यता राख्नुहुन्छ जस्तो मलाई लाग्दैन । गर्ने कि नगर्ने भन्ने व्यक्तिमा भर पर्छ, सम्बन्धित पार्टीको आवश्यकता र व्यक्तिमा भर पर्छ ।
राष्ट्रपति भएको मान्छे फेरि पार्टी पोलिटिक्स गर्नुहुँदैन भनेर कसैले भन्छ भने पूर्वराष्ट्रपतिहरूलाई वर्तमान राष्ट्रपति भन्दा पनि माथिल्लो दर्जामा राख्नुपर्ने स्थिति हुन्छ । त्यस्तो प्रोटोकल निर्माण गरेर राख्नुपर्ने हुन्छ ।
लड्नुपर्ने बेला आयो भने लड्ने हो । त्यो त समयको कुरा हुन्छ । तपाईंहरूको कुरा चाहिं ‘बा’श्रीहरू मात्रै निर्णायक ठाउँमा बसे, अब माताश्री आउनु पर्यो भन्ने हो !
हामी पूर्ण लोकतन्त्रको युगमा छौं । गणतन्त्रात्मक प्रणालीमा नेपाली नागरिकहरू मध्येबाटै राष्ट्रपति हुन्छन्, प्रधानमन्त्री हुन्छन् । राष्ट्रिय सभाको अध्यक्ष, सभामुख सबै हुन्छन् । त्यसैले प्रतिबन्धात्मक ढंगले सोच्नुहुँदैन । त्यस्तो कुराको कुनै तर्क छैन । गलत चाहिं कसैले गर्नुहुँदैन, सही काम गर्न हुन्छ ।
तर राष्ट्रपतिले पछि राजनीति गर्न सक्छु भन्ने मनमा राखेर कार्यसम्पादन गर्न थाल्ने हो भने उसको कार्यकालमा स्वार्थ बाझिने निर्णयको खतरा हुँदैन ?
त्यो हुँदैन । हामीले राजनीति गर्ने भनेको त राष्ट्रप्रति निष्ठावान् रहेर गर्ने हो नि त ! अहिले देशको गति धिमा भइरहेको छ, किनभने राष्ट्रिय हित, स्वार्थ र आकांक्षाभन्दा व्यक्तिको पद र आकांक्षामा गयो राजनीति । जस्तो– हिजो २०७७ सालमा पार्टी किन फुट्नुपर्थ्यो ?
ल, प्रचण्डजी त छुट्टै धारबाट आउनुभएको थियो, तिमीहरूसँग मिल्न सकिनँ भन्नुभयो, जानुभयो । माधवकुमार नेपालले चाहिं पाँच महिना, दुई वर्ष पर्खिन सक्नुहुन्नथ्यो ?
यो कुरा माधवकुमार नेपाललाई भन्नुभएको थियो ?
तपाईंहरूको व्यक्तिगत कुरा (माधवकुमारसँग) हुन्छ भने सोध्नु न ! महाधिवेशनमा माधवकुमार नेपालसँग कुरा गरें कि गरिनँ ? राष्ट्रपति भएको बेला मैले कुरा गरें कि गरिनँ भन्ने उहाँबाटै थाहा पाउँदा राम्रो होला नि ! म उहाँको पनि राम्रो शुभेच्छुक हुँ ।
अचेल कुरा भएको छ कि छैन ?
अहिले भएको छैन ।
तपाईंले मुलुकको हितबारे चिन्ता गर्नुभयो, वाम एकताको हितमा देखिनुभयो । यति भनिसकेपछि तपाईंले २०७७ सालमा प्रतिनिधिसभा विघटनको निर्णय चाहिं किन सदर गर्नुभयो ?
संसद् विघटन त प्रधानमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर आउनुभयो । क्याबिनेटबाट निर्णय सदर गरेर मैले बेठिक गरें भन्ने पनि लाग्दैन । त्यतिखेर समयको जस्तो माग थियो, आवश्यकता थियो, त्यही अनुसार मैले गरेको हो ।
र, चुनावमा गएको भए अझ सबै पार्टीलाई राम्रो हुन्थ्यो । चुनावमा जाने कुरामा तर्सिनुहुँदैन नेताहरू । समय-समयमा चुनाव भएपछि मान्छेहरू खारिंदै आउँछ र, सही नेतृत्व स्थापित हुन्छ भन्ने कुरामा विश्वास गर्छु । चुनाव हुँदा लोकतन्त्र खतरामा पर्ने होइन, नेताहरू खारिएर आउँछन् भन्ने हो ।
तर प्रतिनिधिसभा विघटनको निर्णयकै कारण मुलुकको राजनीति अस्थिरतातिर गएको निष्कर्ष प्रचण्ड र माधवकुमार नेपालहरूले निकालिरहनुभएको छ नि !
त्यो उहाँहरूले आफूलाई प्रतिरक्षा गर्न मात्रै भन्नुभएको हो । यदि मलाई दोष लगाएर उहाँहरूको प्रतिपक्ष हुन्छ भने होओस् ।
तपाईंले सदर गर्नुभएको थियो, सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै त्यसलाई बदर गरिदियो । फैसलाबारे टिप्पणी के छ ?
मैले गर्नुपर्ने आफ्नो कर्तव्य पूरा गरें, सर्वोच्चले आफ्नो काम गर्यो । त्यसमा भन्नु केही छैन । व्यक्तिगत रूपमा चित्त बुझेको छैन होला, तर मेरो कुनै प्रतिक्रिया छैन ।
अन्त्यमा, तपाईंले एमालेको संगठित सदस्यता नवीकरण गरेको बारे चर्चा भइरहन्छ । खास कुरा के हो ?
मैले सदस्यता नवीकरण गरें भने पनि त्यसमा अनौठो मान्नुपर्ने कुरा के छ र ? २०७२ साल कात्तिकदेखि पद बहाल भएर २०७९ साल फागुन २९ गतेसम्म मैले जुन तटस्थता अपनाउनुपर्ने थियो, त्यो मैले अपनाएँ । तर हिजो पनि म पार्टी सदस्य हो, अहिले पनि पार्टी सदस्य सरह हो । म एमालेको सदस्य भएँ भनेर कसैले दुःखमनाउ गर्नुपर्दैन ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर