काठमाडौं । आगामी जेठ १७ गते अभिनेता प्रदीप खड्काको फिल्म करिअरले ठीक १० वर्ष टेक्दैछ । उनले निर्माण गरेको पहिलो फिल्म ‘ठूलो मान्छे’ सोही मितिमा रिलिज भएको थियो । जेठ १० गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘पुजार सार्की’ प्रदीपको करिअरको दशौं र अभिनेताको हिसाबले नवौं फिल्म हो । उनको फिल्म करिअर चाहिं निर्माण र लेखनबाट सुरु भएको हो ।
सामाजिक यथार्थवाद र रोमान्टिक दुवैथरी फिल्ममा आफ्नो क्षमता प्रस्तुत गरेका प्रदीपको आगामी फिल्म ‘पुजार सार्की’ले जातीय विभेदविरुद्धको कथा भन्छ । फिल्ममा उनी मैते नामक रोलमा छन् । यसबाहेक एक्टर, पिताम्बर, ऐरी र एक्लो उनका आगामी फिल्म हुन् । दर्शकीय रुचि र ट्रेन्डअनुसार आफूलाई अघि बढाउन चाहने प्रदीपले हामीसँग फिल्म, अभिनय, बजार र ‘पुजार सार्की’ बारे कुरा गरेका छन् । प्रस्तुत छ, अभिनेता प्रदीप खड्कासँगको कुराकानीको सम्पादित अंश :
‘पुजार सार्की’ जातीय विभेदविरुद्धको कथामा बनेको फिल्म हो भन्ने अवधारणा यतिबेला भइरहेको छ । के यो जातीय विभेदविरुद्धको फिल्म मात्र हो ?
यो ऐतिहासिक डकुमेन्टेसन जस्तो पनि हो । जातीय विभेद कहिलेदेखि सुरुवात भयो, समाजका को–को व्यक्तिले यसविरुद्ध लडाइँ लडे, संघर्ष गरे भन्ने कुरा यसमा छ । यसमा भिन्न दृष्टिकोण पनि छ । समाजको पीडित पात्रले प्रतिनिधित्व गर्दैगर्दा चाहिं पीडित नै रहेको, निमुखा र बोल्न नसक्ने देखाइएको हुन्थ्यो भने यसमा दलित समुदायका पात्रहरु ‘भोकल’ छन् । आफ्नो कुरा भन्न सक्ने सामर्थ्य भएका पात्र देखाइएको छ । यस हिसाबले भिन्न दृष्टिकोण देखिन्छ ।
तपाईंले निर्वाह गरेको चरित्र ‘मैते’ले तपाईंको अभिनयमा के अर्थ राख्छ ?
मैते भनेको नेपाली जनता जस्तै हो । कसैले शास्त्र लिएर पढ्यो भने त्यही कुरा पत्याउँछ । जनताको पीडा बुझ्दिए जस्तो बहाना गर्ने केही पपुलिस्ट व्यक्तिलाई जनता फलो गर्छन् । नेपाली जनताको राजनीतिक चेतना पनि यही हो । यस्तो खालको पात्र जसले बहुसंख्यक नेपाली जनतालाई प्रतिनिधित्व गर्छ ।
अहिलेको ‘टाइम एण्ड स्पेस’मा ‘पुजार सार्की‘ हेर्नु किन जरुरी देख्नुहुन्छ ?
३०–४० वर्षदेखि जातीय विभेदविरुद्धको संघर्ष चलिरहेको छ । यत्तिका वर्षसम्म यो कुरा उन्मूलन भइसक्नुपर्ने हो । मिडियामा पनि देखिराखेको चीज भएर अहिले पनि सान्दर्भिक छ । सहरीकरण भएका ठाउँमा अलि कम होला तर गाउँमा त्यो विद्यमान छ । हाम्रो फिल्मले विभेद रोकिनुपर्छ भनेर रोकिंदैन, जुन दिन मैले विभेद गरिराखेको छु भनेर महसुस हुन्छ, त्यो बेलामा रोकिन्छ भन्छ । किनभने जसले थिचोमिचो, विभेद र दमन गरिराख्या छ उसले स्वीकार्नुपर्यो नि त ।
उसले सोच्नुपर्यो, उसको हर्कतमा नियन्त्रण हुनुपर्यो । यो विषयमा ‘पुजार सार्की’ बन्नुपर्थ्यो । यो फिल्मले हामीलाई जुन खालको सन्देश दिएको छ, हामीलाई एक कदम अघि जान मद्दत गर्छ । जुन विभेद दलितले भोगेका छन्, उनीहरुको कोणबाट यो फिल्म अहिले पनि सान्दर्भिक छ ।
पछिल्लो समय बन्ने फिल्ममा एजेण्डा हाबी हुँदा सिर्जनात्मक शिल्प कमजोर हुने समस्या देखिएको छ । यो जोखिमबाट ‘पुजार सार्की‘ कति सतर्क र मुक्त छ ?
कथा भन्ने धेरै माध्यम हुन्छन् । चलचित्र पनि कथा भन्ने एउटा माध्यम हो । कतिले साहित्य, किताब, रेडियो, नाटकबाट भन्नुहोला । सबै चीज सबैलाई उपयुक्त हुन्छ जस्तो लाग्दैन । मेसेज दिने खालका फिल्म बनाउँदा दायाँबायाँ भड्किएर सिर्जनात्मक कम देखिएको पनि होला । तर हामी यो फिल्म बनाउँदैछौं र यो फिल्मको विषय जातीय विभेद, हामी डकुमेन्ट्री बनाइरहेको होइन, हामीले जातीय विभेदको तथ्यांक र तथ्यमा बसेर फिल्म बनाएको होइन भन्ने कुरामा सचेत थियौं ।
त्यही भएर यसमा मनोरञ्जन, कथा र मुद्दा पनि छ । सिर्जनात्मक पक्ष पनि राम्रो देखिन्छ यसमा । किनभने हामी सुरुदेखि नै सचेत छौं यस विषयमा ।
जेठ १७ गते तपाईंको फिल्म करिअरले ठ्याक्कै १० वर्ष पूरा गर्ने रहेछ । सन् २०१४ को मे ३० मा तपाईंले निर्माण गरेको फिल्म ‘ठूलो मान्छे’ रिलिज भएको थियो । करिअरको दशकलाई तपाईंले कसरी हेर्नुहुन्छ ? के कुरा हासिल गर्नुभयो ?
‘ठूलो मान्छे’मा निर्माताको रुपमा मैले रहर र बाध्यताले काम गरें । प्रत्येक प्रोजेक्ट मेरा लागि भिन्न थिए । निश्चय नै ‘प्रकाश’ले मलाई नयाँ चीज दियो । ‘प्रेमगीत’ सिरिजले पनि अर्को एंगलको नयाँ चीज दियो । ‘पुजार सार्की’सम्म आइपुग्दा यो १० वर्षको उत्कृष्ट भर्सन आयो कि भन्ने लाग्छ । किनभने यो फिल्ममा प्रेमगीत जस्तो व्यावसायिक तत्व पनि देखिएको छ, प्रकाशको जस्तो पर्फमेन्स पनि देखिएको छ । दश वर्षमा मैले आफूले आफूलाई प्रमाणित गर्न खोजिरहेको थिएँ ।
सबैजनाको अप्रिसिएसन एकै ठाउँमा थुप्रिएको जस्तो लागिरहेको छ मलाई । एक दशकको मेरो अनुभव ‘पुजार सार्की’को बिन्दुमा आएर जम्मा भयो कि । ठूलो मान्छे र प्रेमगीतमा केही चीज सिकियो भने सबै सिकाइको ढुकुटी पुजार सार्की बनेर निस्कियोस् ।
तपाईंको करिअरका १० फिल्ममध्ये चारवटा व्यावसायिक हिट देखिए । अन्य खासै चलेनन् । चलेका फिल्ममध्ये एउटा सामाजिक यथार्थवादी र बाँकी रोमान्टिक विधाका थिए । यसले के संकेत गर्छ ?
कलाकारको रुपमा मैले केही कन्टेन्टमा आधारित फिल्महरु जस्तै, ‘रोज’ गरें । त्यो आफैंमा गीत फाइट भएको मसालेदार पनि थिएन । दर्शकले मप्रति देखाएको मायालाई म शुक्रबार र शनिबारको लागि मात्र मापन गर्छु, आइतबारदेखि त फिल्म कस्तो थियो भन्ने कुराले पनि अर्थ राख्ला । फिल्म कस्तो बनाउने र नबनाउने भन्ने कुरा मेरो हातमा हुँदैन । कलाकारले आफ्नो हिसाबले काम गर्ने हो । व्यक्तिगतरुपमा म जुन फिल्ममा आबद्ध भएँ, शुक्रबार र शनिबार ती फिल्मको दयनीय व्यापार कमै थियो होला ।
मप्रति दर्शकको रुचि शुक्रबार र शनिबार मात्रै हो । त्यसपछिको व्यापार फिल्ममै निर्भर हुन्छ । दर्शकलाई पानीपुरी मनपर्छ, तर हेल्दी चाहिं सागपात हुन्छ । पानीपुरी खोजिरहेको दर्शकलाई सागपात मात्र पनि दिनुभएन । विस्तारै विस्तारै सागपात पनि मिसाएर बेच्नुपर्छ भन्ने अवधारणा अघि सार्दा हेल्दी पनि हुन्छ ।
पछिल्लो समय स्टारभन्दा कन्टेन्टमा आधारित फिल्मले बक्स अफिसमा आफूलाई अब्बलरुपमा प्रस्तुत गरिरहेका छन् । बक्स अफिसको ट्रेन्डले तपाईंलाई फिल्म छनोटमा कति मद्दत गरेको छ ?
म एकदमै ‘मार्केट ड्रिभन (बजार निर्देशित) मान्छे हुँ । मलाई तत्काल जुन ट्रेन्ड चलिराख्या छ, त्यहीअनुसार जानुपर्छ । अहिलेको विरुद्ध जाँदा मेहनत धेरै गर्नुपर्छ । त्यो हिसाबले लहरअनुसार अघि जाँदाखेरि नै ‘प्रकाश’ र ‘पुजार सार्की’ खेलेको हुँ । भोलिको दिनमा एक्सनको ट्रेन्ड आयो भने एक्सनमा आफूले आफूलाई ट्राइ गर्छु । सदाबहादुर कन्टेन्टमा आधारित फिल्म त छँदैछ । एक्टरको रुपमा म बजार निर्देशित नै हुन चाहन्छु । मेरो छनोट भन्दा पनि दर्शक र निर्माताको छनोटको माध्यम मात्र हो भनेर बुझ्छु ।
अभिनेताको रुपमा तपाईंको आफ्नो रुचि र चाहना त होलान् नि ?
पहिलो कुरा त, अभिनय के हो र अभिनेता के हो भन्ने कुरामै अनभिज्ञ थिएँ । म त्यति धेरै जानकार मान्छे होइन । न म फिल्मको विद्यार्थी, न त अभिनयको विद्यार्थी । सिक्दै–सिक्दै, बुझ्दै–बुझ्दै आएँ । यसलाई राम्रो वा नराम्रो पक्ष के भनौं– मेरो फेवरेट भन्ने चीज नै छैन । न कलरको हिसाबले, न लाउने र खाने हिसाबले । जहाँ फेवरेट चीज हुन्छ, त्यहाँ नन–फेवरेट चीज पनि हुन्छ । म चाहनाभन्दा पनि आवश्यकताको आधारमा चल्छु । मेरो इच्छा त कहिल्यै पनि पूर्ति हुँदैन, मेरो आवश्यकता पूर्ति भयो भने मात्र खुसी हुन्छु । मलाई यस्तो खालको फिल्म गर्न पाए भन्ने हुन्थ्यो भन्ने छैन । म आवश्यकताको हिसाबले चल्ने मान्छे हो । म त्यहीअनुसार चल्छु ।
अब ज्यादा ‘फिक्सन’ फिल्ममेकिङतर्फ अघि बढ्नुपर्छ भन्ने मत आइरहेको छ । यसबारे तपाईंको धारणा के छ ?
यसपछि यो आयो, यो ल्याउनुपर्छ भन्दापनि फिल्म इन्डस्ट्री सिर्जनात्मक क्षेत्र हो । सूर्यमुखी नै सूर्यमुखी भएको बगैंचा एउटा खालको राम्रो होला तर मान्छेहरु थरीथरीका फूलबिरुवा भएको बगैंचामा रमाउने होला । फिल्म क्षेत्रलाई एउटा बगैंचाको रुपमा विस्तार गरौं, सबै टाइपका फिल्म आओस् ।
बजारको ट्रेन्ड हेर्दा सुरुमा आउने इनोभेटरले कमाउने रहेछ, अन्तिमले कमाउन सक्दो रहेनछ । फिल्ममा पनि यही ट्रेन्ड देखिराख्या छु ।
‘लुट’ टाइपको फिल्ममा उनीहरु इनोभेटर (अन्वेषक) भएर आए भने त्यसपछिको इनिसिएटरले कमाउँदैन । यस्तो बगैंचा हराभराभन्दा पनि सिजनअनुसारको फूल फूलोस् भन्ने लाग्छ । मालीको रुचिअनुसारले विविध प्रजातिका फूल फुलून् ।
तपाईंको फिल्म करिअर निर्माण र लेखनबाट सुरु भएको हो । अभिनयबाहेक पुनः पुरानै विधामा फर्किने तपाईंको तयारी के छ ?
‘इस्केप’को बेलामा म आफ्नै लागि उपयुक्त कथाको खोजीमा थिएँ । अब निर्माताको रुपमा आउनुपर्छ कि भन्ने महसुस भएको छ । स्क्रिप्टहरु खोजिरहेको छु ।
अन्त्यमा, ‘पुजार सार्की’को अपिलिङ फ्याक्टर के देख्नुहुन्छ ?
यो फिल्मले भोलि अन्य मेकरलाई पनि यस्तै खालको बनाउन हौसला मिल्छ । यो सशक्त पक्ष हो । यो आफैंमा मझदार सोचाइको फिल्म हुनसक्छ जस्तो लाग्छ ।