मेस्सी : ‘फुटबलका राजा’


चार वर्षअघि धेरैलाई लागेको थियो लियोनेल मेस्सीको कथा सकियो। सन् २०२२ मा कतारमा विश्वकप जितेपछि उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरेका थिए।

३५ वर्षको उमेरमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी उचाल्दै उनले आफूलाई इतिहासकै महान् खेलाडीमध्ये एकको रूपमा स्थापित गरे। त्यतिबेला उनले त्यो आफ्नो अन्तिम विश्वकप हुने संकेत पनि दिएका थिए।

तर चार वर्षपछि ३९ वर्षका मेस्सी फेरि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उभिएका छन्। यसपटक पनि उनी केवल टोलीका कप्तान मात्र होइनन्, अर्जेन्टिनाको सफलताको केन्द्रबिन्दु बने। इंग्ल्याण्डविरुद्ध सेमिफाइनलमा दुई उत्कृष्ट असिस्ट गर्दै उनले अर्जेन्टिनालाई २–१ को पुनरागमन जित दिलाए र लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याए।

अब आइतबार न्यु जर्सीमा हुने फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। उनले त्यही देशसँग भिड्दैछन् जहाँ मेस्सीले बार्सिलोनाको जर्सीमा आफ्नो करियरका सुनौला वर्ष बिताएका थिए।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीका लागि मेस्सीले अब कसैलाई केही प्रमाणित गर्न बाँकी राखेका छैनन्।

‘उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्। मलाई थाहा छैन उनले अझै के प्रमाणित गर्नुपर्छ। स्पेनका धेरै समर्थकहरूले पनि उनलाई माया गर्छन्’, स्कालोनीले खेलपछि भने।

पूर्व इंग्ल्याण्ड डिफेन्डर मीका रिचर्ड्सले पनि मेस्सीको प्रदर्शनलाई शब्दमा बयान गर्न कठिन भएको बताए।

‘अर्जेन्टिनासँग लियोनेल मेस्सी छन्। उनी ‘द ग्रेटेस्ट अफ अल टाइम’ हुन्’, उनले भने, ‘हामीले सोचेका थियौं कि निर्णायक क्षण जुड बेलिङ्घम वा ह्यारी केनले सिर्जना गर्नेछन्। तर मेस्सीले त्यसो हुन दिएनन्। त्यसैले त उनी राजा हुन्।’

मेस्सीले इंग्ल्याण्डको आशा कसरी तोडे ?

पहिलो हाफमा मेस्सीले सामान्यभन्दा केही गहिरो भूमिकामा खेल्दै खेलको गति नियन्त्रण गरे। उनले केही उत्कृष्ट पास र स्पर्श देखाए पनि खेल गोलरहित बराबरीमा थियो।

दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएपछि अर्जेन्टिना दबाबमा पर्‍यो। तर त्यही क्षणबाट खेलको दिशा परिवर्तन भयो।

मेस्सी दायाँ विङतर्फ सरे र लगातार आक्रमण निर्माण गर्न थाले। प्रशिक्षक थोमस टुचेलले अतिरिक्त डिफेन्डर उतारे पनि अर्जेन्टिनाले अन्तिम ३७ मिनेट बलमा लगभग पूर्ण नियन्त्रण कायम गर्‍यो।

गोलकिपर एमिलियानो मार्टिनेजले खेल पछि भने, ‘मेस्सीलाई विङमा राख्नु हाम्रो रणनीतिक निर्णय थियो र त्यसले खेल परिवर्तन गरिदियो।’

इंग्ल्याण्डविरुद्ध मेस्सीको प्रदर्शन यस्तो रह्योः

२ असिस्ट

९ सफल ड्रिब्ल

विपक्षी पेनाल्टी क्षेत्रमा ७ टच

४ स्पष्ट अवसर सिर्जना

९ सफल क्रस

सन् १९६६ पछि विश्वकपको नकआउट खेलमा ९ सफल ड्रिब्ल र २ असिस्ट गर्ने उनी पहिलो खेलाडी बने। उता, इंग्ल्याण्ड टोलीले खेलभर जम्मा ७ सफल ड्रिब्ल मात्र पूरा गरेको थियो।

दुवै गोलमा मेस्सीको भूमिका

अर्जेन्टिनाको पहिलो गोल कर्नरबाट सुरु भएको चलाख संयोजन थियो। मेस्सीले छोटो पासमार्फत एन्जो फर्नान्डेजलाई बल दिए। फर्नान्डेजले बक्सबाहिरबाट शानदार प्रहार गर्दै बराबरी गोल गरे।

इन्जुरी समयमा फेरि मेस्सी नै निर्णायक बने। उनको सटिक क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए।

डिफेन्डर मीका रिचर्ड्सले भने,‘मेस्सी मैदानभरि धेरै दौडँदैनन्। तर बल उनको खुट्टामा पुगेपछि उनी अचानक जीवन्त हुन्छन्। त्यही प्रतिभाले खेल जिताउँछ।’

यस्तै, पूर्व इंग्ल्याण्ड डिफेन्डर गोलकिपर जो हार्टले भने,‘इंग्ल्याण्डले लामो समयसम्म राम्रो रक्षा गरिरहेको थियो। तर अन्तिम १५ मिनेटमा मेस्सीसँग सबै ढोका खोल्ने चाबी थियो।’

इंग्ल्याण्डका कप्तान ह्यारी केनले पनि हारपछि मेस्सीको खुलेर प्रशंसा गरे। उनले भने, ‘धेरै समयसम्म हामीले उनलाई राम्रोसँग नियन्त्रण गर्यौं। तर संसारका महान् खेलाडीहरूलाई एउटा अवसर नै पर्याप्त हुन्छ। मेस्सी त्यही स्तरका खेलाडी हुन्।’

गोल्डेन बुटको दौडमा मेस्सी

यस विश्वकपमा मेस्सीले ८ गोल र ४ असिस्ट गरेका छन्। उनी प्रतियोगिताका संयुक्त सर्वाधिक गोलकर्ता हुन्।

फ्रान्सका केलियन एमबाप्पे पनि ८ गोलमा बराबरी छन्। तर टाइब्रेकरमा असिस्ट गनिने भएकाले हाल मेस्सी अगाडि छन्।

कहिल्यै नरोकिने मेस्सी

सन् २०१६ मा कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए।

त्यसबेला धेरैले उनको राष्ट्रिय टोलीको यात्रा समाप्त भएको ठाने। तर केही महिनापछि उनले निर्णय फिर्ता लिए।

त्यसपछि उनले अर्जेन्टिनालाई दुई कोपा अमेरिका, एक फिनालिसिमा, एक विश्वकप र अब लगातार दोस्रो विश्वकप फाइनलसम्म पुर्‍याइसकेका छन्।

‘विश्वकपको यात्रा फाइनलमा समाप्त गर्न पाउँदा, अन्तिम खेल फाइनलमा खेल्न पाउँदा म धेरै खुसी छु। यो साँच्चै धेरै सन्तोषजनक छ’, उनले २०२२ को फाइनल अघि भने, ‘यस वर्षदेखि अर्को वर्षसम्म धेरै वर्षहरू छन्। मलाई लाग्दैन कि म त्यो गर्न सक्षम हुनेछु। यसरी अन्त्य गर्नु उत्कृष्ट छ।’

उनको खेल्ने शैली समयसँगै परिवर्तन भएको छ। पहिले जस्तो लगातार दौडने खेलाडी अब उनी छैनन्। बरु सही समयमा सही स्थानमा पुग्ने, खेलको गति नियन्त्रण गर्ने र निर्णायक पास दिने क्षमता नै उनको सबैभन्दा ठूलो हतियार बनेको छ।

विश्वकपभर उनले धेरै समय हिँडेरै बिताए। तर जब बल खुट्टामा आउछ उनले खेलको सम्पूर्ण दिशा परिवर्तन गरे। उनले यस प्रतियोगितामा तय गरेको दूरीको ४७५ हिँडेका थिए, जुन कुनै पनि आउटफिल्ड खेलाडीको उच्चतम प्रतिशत हो।

अर्को इतिहास लेख्ने अवसर

मेस्सीले अहिले इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका छन्।

यदि उनले स्पेनविरुद्धको फाइनलमा पनि गोलमा प्रत्यक्ष योगदान दिए भने सन् २०११ मा बनाएको लगातार १४ खेलमा योगदान दिने व्यक्तिगत कीर्तिमान बराबरी गर्नेछन्।

त्यससँगै उनी ब्राजिलका काफुपछि तीन विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्नेछन्।

३९ वर्षको उमेरमा पनि मेस्सीले विश्व फुटबललाई फेरि एउटा कुरा सम्झाइदिएका छन्— महान् खेलाडीहरू केवल तथ्याङ्कले चिनिँदैनन्। उनीहरू सबैभन्दा कठिन क्षणमा खेलको भाग्य परिवर्तन गर्ने क्षमताले अमर बन्छन्।

त्यसैले धेरैका लागि लियोनेल मेस्सी केवल एक कप्तान होइनन्— उनी अझै पनि फुटबलका राजा हुन्।

प्रकाशित: ३२ असार २०८३ १६:४५ बिहीबार





Source link

Leave a Comment