अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्रीको आग्रह



प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार


उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । बिहीबार मन्त्रालयमा भएको नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँगको भेटवार्तामा उद्योगमन्त्री यादवले यस्तो आग्रह गरेकी हुन् ।

उनले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरिन् ।

मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।

नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उनले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताइन् ।

मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताएका थिए ।





Source link

Leave a Comment