मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ? : RajdhaniDaily.com


काठमाडौं । ९० मिनेटको अवधिमा ‘फुटबल खेलको दिशा जुनसुकै बेला परिवर्तन हुन सक्छ’ भन्ने मान्यतालाई फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’मा अर्जेन्टिना र इजिप्टबीच भएको प्रतिस्पर्धाले पुनः प्रमाणित गरेको छ । दुई गोलले पछि परेको विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल गर्दै ३–२ को अविस्मरणीय जित निकाल्यो र क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो । यो नतिजा अर्को चरणमा प्रवेशको उपलब्धिमात्रै होइन, यसले अर्जेन्टिनाको मानसिक दृढता, सामूहिक आत्मविश्वास, प्रशिक्षक लियोनेल स्कालोनीको रणनीतिक धैर्य र कप्तान लियोनेल मेस्सीको नेतृत्व क्षमताको नयाँ परिचयसमेत बनेको छ ।

‘नकआउट’ चरणका खेल सामान्य लिगभन्दा भिन्न हुन्छन् । एउटा गल्तीले प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था आउँछ भने एउटा सही निर्णयले इतिहास रच्न सक्छ । इजिप्टविरुद्ध अर्जेन्टिना यस्तै दोबाटोमा उभिएको थियो । खेलको प्रारम्भदेखि नै इजिप्टले उच्च ऊर्जा, अनुशासित र आक्रामक फुटबल प्रस्तुत ग-यो । उनीहरूले अर्जेन्टिनालाई सहजरूपमा आफ्नो लय समात्न दिएनन् । बलमाथिको नियन्त्रणमा अर्जेन्टिना अगाडि देखिए पनि इजिप्टले अवसर सिर्जना गर्ने र त्यसलाई सदुपयोग गर्ने मामिलामा प्रभावशाली प्रदर्शन ग¥यो । दुई गोलको अग्रतापछि विश्व च्याम्पियन टोली दबाबमा परेको स्पष्ट देखिन्थ्यो ।

लियोनेल स्कालोनी, मुख्य प्रशिक्षक, अर्जेन्टिना

त्यस समय धेरै दर्शक र विश्लेषकले अर्जेन्टिनाको विश्वकप यात्रा समयअघि नै टुंगिने अनुमान गर्न थालेका थिए । विश्व फुटबलमा दुई गोलले पछि परेको अवस्थामा पुनरागमन सम्भव भए पनि ‘नकआउट’ चरणमा त्यसलाई व्यवहारमा उतार्नु अत्यन्त कठिन मानिन्छ । समयसँगै दबाब बढ्दै जान्छ, खेलाडीको मानसिक अवस्था कमजोर हुन सक्छ र विपक्षी टोली रक्षात्मकरूपमा अझ संगठित बन्छ । तर, अर्जेन्टिनाले यही कठिन समीकरणलाई आफ्नो पक्षमा बदल्न सफल भयो ।

खेलपछि मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले दिएको प्रतिक्रिया पनि यही सन्दर्भमा अर्थपूर्ण लाग्छ । उनका अनुसार यो जित अर्को चरणमा पुग्ने उपलब्धि नभई टोलीको वास्तविक क्षमताको परिचय हो । उनले अर्जेन्टिनाले कठिन अवस्था स्वीकार गर्दै अन्तिम क्षणसम्म संघर्ष गर्ने संस्कृतिलाई मैदानमा उतारेको बताए । स्कालोनीले खेलाडीले केही समय समर्थकको धड्कन अवश्य बढाएको स्वीकार गरे, तर अन्ततः उनीहरूले प्रदर्शन गरेको धैर्य, विश्वास र सामूहिक प्रयास नै सबैभन्दा महइभ्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे ।

स्कालोनीले कुनै पनि समय खेल पूर्णरूपमा आफ्नो नियन्त्रणबाहिर गएको अनुभव नगरेको दाबी गरे । सतहमा हेर्दा दुई गोलले पछि परेको टोलीका प्रशिक्षकबाट यस्तो अभिव्यक्ति अस्वाभाविक लाग्न सक्छ । तर, फुटबलको प्राविधिक विश्लेषणले उनको भनाइलाई केही हदसम्म पुष्टि गर्छ । अर्जेन्टिनाले खेलभर अवसर सिर्जना गरिरहेको थियो, तर सुरुवाती समयमा ती अवसर गोलमा परिणत गर्न सकेन । इजिप्टले भने सीमित अवसर प्रभावकारीरूपमा उपयोग ग¥यो । यही कारण ‘स्कोरलाइन’ अर्जेन्टिनाविरुद्ध गयो, यद्यपि खेलको समग्र लयमा उनीहरू पूर्णरूपमा हराएका थिएनन् ।

प्रशिक्षक स्कालोनीले इजिप्टको प्रदर्शनप्रति सम्मान व्यक्त गर्नु पनि उल्लेखनीय छ । उनले विपक्षी टोलीले अनुशासित र प्रभावकारी खेल प्रस्तुत गरेको स्वीकार गरे । विश्व फुटबलमा ठूला टोलीका प्रशिक्षकले हार्ने पक्षको प्रदर्शनलाई कम आँक्ने प्रवृत्ति देखिने गर्छ, तर स्कालोनीले इजिप्टले सिर्जना गरेको चुनौती खुलेर स्वीकार गर्दै आफ्ना खेलाडीले त्यसलाई पार गर्न असाधारण मानसिक शक्ति प्रदर्शन गरेको बताए ।

खेलको निर्णायक मोड अन्तिम ११ मिनेटमा आयो । ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गरेपछि अर्जेन्टिनाको आत्मविश्वास फर्कियो । त्यो गोल स्कोर घटाउने प्रयासमात्रै थिएन, त्यसले खेलको मनोवैज्ञानिक सन्तुलन नै बदलिदियो । त्यसपछि कप्तान लियोनेल मेस्सीले ८३औं मिनेटमा बराबरी गोल गर्दै खेललाई पुनः खुला बनाए । त्यस समयसम्म दबाबमा रहेको इजिप्ट रक्षात्मकरूपमा अस्थिर देखिन थाल्यो । अन्ततः इन्जुरी समय एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई अविश्वसनीय जित दिलाए ।

खेलपछि मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले दिएको प्रतिक्रिया पनि यही सन्दर्भमा अर्थपूर्ण देखिन्छ । उनका अनुसार यो जित अर्को चरणमा पुग्ने उपलब्धि नभई टोलीको वास्तविक क्षमताको परिचय हो । अर्जेन्टिनाले कठिन अवस्था स्वीकार गर्दै अन्तिम क्षणसम्म संघर्ष गर्ने संस्कृति मैदानमा उतारेको उनले बताए । स्कालोनीले खेलाडीले केही समय समर्थकको धड्कन अवश्य बढाएको स्वीकार गर्दै अन्ततः उनीहरूले प्रदर्शन गरेको धैर्य, विश्वास र सामूहिक प्रयास नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गरे ।

यस पुनरागमनमा सबैभन्दा बढी चर्चा कप्तान लियोनेल मेस्सीको भूमिकाको भयो । पहिलो हाफमा उनले पेनाल्टी अवसर गुमाए । सामान्य अवस्थामा यस्तो घटनाले कुनै पनि खेलाडीको आत्मविश्वासमा असर पार्न सक्छ । विशेषतः ‘नकआउट’ चरणको ठूलो प्रतियोगितामा पेनाल्टी गुमाउनु मनोवैज्ञानिकरूपमा निकै कठिन अवस्था मानिन्छ । तर, स्कालोनीका अनुसार मेस्सीले त्यसलाई आफ्नो खेलमा प्रभाव पर्न दिएनन् । उनी निरन्तर बल माग्दै, आक्रमणको नेतृत्व गर्दै र साथी खेलाडीलाई प्रेरित गर्दै मैदानमा सक्रिय रहे । बराबरी गोलसँगै उनले टोलीलाई पुनः विश्वास दिलाए कि ‘खेल अझै सकिएको छैन ।’ यही कारण स्कालोनीले मेस्सीलाई ‘कप्तान वा स्टार खेलाडीका रूपमा मात्रै होइन, सम्पूर्ण टोलीको सबैभन्दा ठूलो प्रेरणा’का रूपमा चित्रण गरे । उनका अनुसार मेस्सीको योगदान गोल र असिस्टमै सीमित छैन । कठिन परि स्थितिमा उनले देखाउने शान्त स्वभाव, निरन्तर संघर्ष गर्ने मानसिकता र टोलीलाई एकताबद्ध राख्ने क्षमता नै अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति हो ।

विश्व फुटबलमा नेतृत्वको परिभाषा कप्तानी ‘आर्मब्यान्ड’ लगाउनुमात्रै पनि होइन, वास्तविक नेतृत्व संकटका बेला देखिन्छ । इजिप्टविरुद्धको खेलमा मेस्सीले त्यही नेतृत्व प्रस्तुत गरेको स्कालोनीको बुझाइ छ । पहिलो हाफको निराशा दोस्रो हाफको आत्मविश्वासमा रूपान्तरण गर्नु, खेलाडीलाई संयमित राख्नु र निर्णायक क्षणमा आफू अघि बढ्नु नेतृत्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ ।

मेस्सी किन बने टोलीकै सबैभन्दा ठूलो प्रेरणा ? : RajdhaniDaily.com

खेल सकिएपछि जे देखियो…
खेल सकिएपछिको मैदान निकै भावुक थियो । अर्जेन्टिनाका खेलाडी एकअर्कालाई अँगालो हाल्दै खुसी साटिरहेका थिए । प्रशिक्षक स्कालोनी र कप्तान मेस्सी दुवै भावुक देखिए । स्कालोनीले ‘फुटबल यस्तै भावनाले भरिएको खेल भएको’ उल्लेख गर्दै ‘लामो खेल जीवनमा धेरै ऐतिहासिक क्षण देखे पनि यस्ता पुनरागमनले छुट्टै अनुभूति दिने’ बताए । उनका अनुसार यस्ता जितले प्रतियोगिताको अर्को चरणमा पुग्ने अवसरमात्र प्रदान गर्दैन, टोलीभित्रको विश्वास र सम्बन्ध अझ बलियो बनाउँछ ।

यद्यपि, मैदानभित्रको रोमाञ्चक खेलसँगै अन्तिम समय उत्पन्न विवादले पनि व्यापक चर्चा पायो । खेल अन्त्यतिर अर्जेन्टिनाका कप्तान मेस्सी र इजिप्टका मुख्य प्रशिक्षक होसम हसनबीच ‘टचलाइन’मा भनाभन भयो । विवाद बढ्न थालेपछि म्याच अधिकारीले हस्तक्षेप गरे भने अर्जेन्टिनाका खेलाडीले मेस्सीलाई त्यहाँबाट हटाउँदै खेलकेन्द्रित हुन आग्रह गरे । घटनाक्रममा रेफ्रीले टोलीका एक कर्मचारीलाई रातो कार्ड देखाउँदै प्राविधिक क्षेत्रबाट बाहिर पठाएए । त्यस घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको छ ।

खेलपछि इजिप्टका प्रशिक्षक होसम हसनले भने नतिजाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निष्पक्ष व्यवहार नपाएको आरोप लगाए । उनका अनुसार इजिप्ट वर्तमान विश्व च्याम्पियनभन्दा कमजोर देखिएको थिएन, तर अन्तिम नतिजामा मैदानभित्रको प्रदर्शनले मात्र भूमिका खेलेको आफूलाई नलागेको दाबी गरे । विश्वकपमा ‘फेयर प्ले’ र निष्पक्षताको सिद्धान्तमाथि प्रश्न उठाउँदै उनले आफ्नो टोलीमाथि अन्याय भएको अभिव्यक्ति दिए । उनले भावनात्मकरूपमा ‘अब प्रतियोगिताका बाँकी खेल नहेर्ने’ प्रतिक्रियासमेत दिएका छन् ।

यद्यपि, उनका यी आरोप’bout आयोजक पक्ष वा म्याच अधिकारीले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । हालसम्म सार्वजनिक तथ्यले पनि खेलको नतिजा कुनै बाह्य प्रभावबाट प्रभावित भएको पुष्टि गरेका छैनन् । त्यसैले उनका भनाइलाई खेलपछिको ‘भावनात्मक प्रतिक्रिया र व्यक्तिगत असन्तुष्टि’का रूपमा हेरिएको छ ।

‘अन्तिम ८’का खेल शुक्रबारबाट
उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिकोमा जारी ‘फिफा विश्वकप २०२६’अन्तर्गत ‘अन्तिम ८’का खेल शुक्रबार (भोलि)देखि सुरु हुँदै छन् । ‘राउन्ड अफ १६’का सबै खेल सकिएसँगै उपाधि होडमा अब आठ टोलीमात्र बाँकी छन् । क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले स्थान सुरक्षित गरेका छन् । यी टोलीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि शुक्रबार स्पेन र बेल्जियम, शनिबार नर्वेले इंग्ल्यान्डसँग खेल्दा अर्को खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डको चुनौती सामना गर्ने तालिका छ ।

‘राउन्ड अफ १६’मा अर्जेन्टिनाले इजिप्टमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै ‘अन्तिम ८’मा स्थान बनाएको थियो भने स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी ‘सुटआउट’मा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

यसअघि स्पेन, बेल्जियम, फ्रान्स, मोरक्को, नर्वे र इंग्ल्यान्डले पनि प्रभावशाली प्रदर्शन गर्दै ‘अन्तिम ८’मा स्थान बनाइसकेका छन् ।

(Visited 141 times, 1 visits today)





Source link

Leave a Comment