२ फागुन, काठमाडौं । नेपालीको सबभन्दा धेरै कुन रोगले ज्यान जान्छ ? रोचक भन्दा पनि सर्वत्र चासोको प्रश्न हो, यो । किनभने यसको जवाफले हामी के त्यस्ता गल्ती गरिरहेका छौं, जसको कारण अकालमै ज्यान गुमाइरहेका छौं भन्ने तथ्य उजागर हुन्छ ।
नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ । तथ्यांक बमोजिम नेपालीको मृत्युको कारक प्रमुख रोग र संक्रमण सम्बन्धी विश्लेषण गरेका छौं ।
नेपालीको सर्वाधिक मृत्युको कारण हो– मुटु तथा रक्तनली सम्बन्धी रोग । यो रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको निधन हुने गर्छ । यसपछि दीर्घ श्वास–प्रश्वास रोगले लैजान्छ धेरैलाई । यो रोगका कारण वार्षिक ४० हजार, ७९२ नेपालीको मृत्यु हुने गर्छ ।
यस्तै ट्युमर र क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीको मृत्यु हुन्छ । फोक्सो संक्रमण र क्षयरोगका कारण १६ हजार २३९, पाचन प्रणाली सम्बन्धी रोगले ११ हजार ४०६ जना, मातृ तथा शिशुको समस्याका कारण १० हजार ५३ जनाले ज्यान गुमाउँछन् ।
यस बाहेक मधुमेह तथा मिर्गौला रोगका कारण ८ हजार ५०३, अप्रत्याशित दुर्घटना र चोटपटकका कारणले ८ हजार ११९, आन्द्राको संक्रमणले ६ हजार ९५९ र मानसिक समस्याका कारण ४ हजार ४४६ जनाको मृत्यु हुने गर्छ ।
हृदयघातको जोखिममा युवा
धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘जीवनशैलीमै आएको खराबीका कारणले मुटुका बिरामी अत्यधिक बढिरहेका छन् ।’ उनका अनुसार मुटु सम्बन्धी रोगलाई बढाउने विभिन्न कारकतत्व छन् । अत्यधिक धुम्रपान, निष्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, शरीरमा खराब चिल्लोको मात्रा अधिक र तनावले मुटु सम्बन्धी रोगलाई बढाइरहेको छ ।
मुटु सम्बन्धी रोगमध्ये हृदयघातको कारण ७० प्रतिशत मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् । ‘आजभोलि युवावस्थामै हृदघयात भइरहेको छ । समाजमा धुम्रपान घटेको छैन । उच्च रक्तचाप र मधुमेह भएका मानिस बढिरहेका छन्’ डा. कोजु भन्छन्, ‘जनचेतना बढेको छ, तर धुम्रपान त्यागेको वा सुरु नै नगरेको त्यति देखिंदैन । यिनै कारणले गर्दा हृदयघात बढेको छ ।’
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको देखाएको छ । केन्द्रले गरेको सन् २०२० नोभेम्बरदेखि २०२१ फेब्रुअरीसम्म हृदयघात भएर आएका ३४० जनामा गरिएको अध्ययनमा ४० प्रतिशतमा उच्च रक्तचापको समस्या थियो । यस्तै, ३९ प्रतिशतले चुरोट सेवन, ३० प्रतिशतमा मोटोपना र २१ प्रतिशतमा मधुमेहको समस्या थियो ।
तीमध्ये ४५ वर्षभन्दा मुनिका ११ प्रतिशतलाई हृदयघात भएको थियो । ‘उमेर, वंशाणुगत, लिंग (पुरुष) जस्ता कुरालाई परिवर्तन गर्न सकिंदैन । धुम्रपान, अस्वस्थकर खानपान, मधुमेह र उच्च रक्तचाप लगायत कुरालाई परिवर्तन गर्न सकिन्छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन्, ‘पछिल्लो समय धुम्रपान गर्ने धेरै युवालाई हृदयघात भइरहेको छ ।’
हृदयघात लक्षण थाहा नहुँदा पनि ढिलो गरी अस्पताल आइपुगेको चिकित्सक बताउँछन् । केन्द्रको अध्ययनमा २४ प्रतिशतमा मात्रै मुटुमा समस्या भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, ८८ प्रतिशत बिरामीले ग्यास्ट्रिक लगायत अन्य कारणले भएको आशंका गरेका थिए ।
‘छाती दुख्दा धेरै मानिसमा ग्यास्ट्रिक भएको आशंका गरेको पाइन्छ । हृदयघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्’, डा. प्रजापति भन्छन् ।
युवामा मानसिक तनाव पनि हृदयघातको अर्को कारण हो । ‘शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय, अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । ‘समाजमा अस्वस्थ प्रतिस्पर्धा छ । देखासिकीले गर्ने प्रचलन बढ्दो छ’ डा. कोजु भन्छन्, ‘पारिवारिक, सामाजिक र आर्थिक कारणले तनाव उत्पन्न भई शरीरमा नकारात्मक असर पर्छ ।’
अत्यधिक तनावले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ रसायनिक पदार्थको उत्पादनलाई बढाउँछ । चिकित्सकहरू ‘स्ट्रेस’ हामोन भन्ने गर्छन् । जसका कारण धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने हुँदा मुटुमा असर पर्छ ।
केन्द्रले गरेको अर्को अध्ययनमा ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्दा हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी देखाएको छ । त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ ।
चिकित्सकका अनुसार चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुन्छ ।
चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना अत्यधिक बढी हुन्छ । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘युवा अवस्थामा (स्कूल जाने उमेर समूहका) मानिसले चुरोट र खैनी खाने बानी रोकेमा धेरै हदसम्म हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।’
चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुनेगर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।
विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ ।
यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिंदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।
यस्तै मुटु तथा रक्तनलीको समस्याले स्ट्रोक (मस्तिष्कघात) बढाइरहेको छ । वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झाका अनुसार अहिलेकै अनुपातमा स्ट्रोकको समस्या बढ्ने हो भने आगामी ८–१० वर्षभित्रमा मृत्युको पहिलो कारण यो बन्ने निश्चित छ । उच्च रक्तचाप, मुटुको समस्या, धुम्रपान, रक्सी सेवन र मोटोपनाले स्ट्रोक बढाउने चिकित्सक बताउँछन् ।
चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमबाट हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई सयमा १०–१२ प्रतिशतलाई हुन्छ । यस्तै ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ ।
‘मुटुरोगको समस्याका कारण मस्तिष्कमा रगत लैजाने नसा बन्द हुन्छ । जसको कारण दिमागको भाग सुकेर जान्छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्याउनुपर्छ । हामीकहाँ भने अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।’
डा. झाले अगाडि थपे, ‘नेपालमा मस्तिष्कघात भएका ९५ प्रतिशत बिरामी समयमै अस्पताल पुग्दैनन् । अधिकांश बिरामी बोली हराउने, हात–खुट्टा नचल्ने, आँखा नदेख्ने जस्ता समस्या लिएर आइपुग्छन् ।’
चार घन्टा कटेपछि पनि पक्षघात भएमा १०० मध्ये १५ जना औषधि र फिजियोपछि सामान्य अवस्थामा फर्किन सक्छन् । देशको भौगोलिक, आर्थिक अवस्था, स्वास्थ्य संस्थाको पहुँच नहुँदा मस्तिष्कघात भएका ४० प्रतिशतको मृत्यु हुन्छ ।
‘नेपालमा मस्तिष्कघातकै लागि भनेर विशेष केन्द्रहरू छैनन् । सही उपचार पाउन र बाँच्न कठिन छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघातको घटना केलाउँदा धेरैजसो अस्पताल पुग्न नपाएर मृत्यु भएको देखिन्छ ।’
धुम्रपान र वायु प्रदूषणले बढ्यो श्वास–प्रश्वास
नेपालीको दोस्रो मृत्युको कारणमा दीर्घ श्वास–प्रश्वासका रोग हुन् । श्वासप्रश्वास सम्बन्धी रोगमध्ये सीओपीडी, दम र आस्थमाले ९० प्रतिशतभन्दा बढी बिरामीलाई प्रभावित पारेको छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।
उनका अनुसार दीर्घ श्वास–प्रश्वासको समस्याले फोक्सो र श्वासनली सुन्निने र खुम्चिने हुन्छ । जसले गर्दा सास फेर्न अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, छाती कस्सिने, छाती भारी हुने लगायत लक्षण देखिन्छन् । धुम्रपान र वायु प्रदूषण दम रोगका प्रमुख कारक हुन् । साथै बाल्यकालमा भएको संक्रमणले पछि गएर दम रोग निम्त्याउने गर्छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालीहरूको मृत्युलाई प्रभाव पर्ने प्रमुख तत्व धुम्रपान हो । धुम्रपानले १८ प्रतिशत, उच्च रक्तचापले १२ प्रतिशत, बाह्य वायु प्रदूषणले ९ प्रतिशत र रगतमा मधुमेहको मात्रा बढी हुने अवस्थाले ८ प्रतिशत मृत्युमा प्रभाव पारेको छ ।
‘श्वासप्रश्वास सम्बन्धी समस्यामध्ये दमरोग प्रमुख हो’, डा. पंगेनी भन्छन्, ‘धुम्रपान, वातावरणीय प्रदूषण र मौसमी परिवर्तन दमका कारक तत्व हुन् ।’ विशेषगरी ४० वर्ष माथिका व्यक्तिमा वंशाणुगत दम बढी देखिन्छ । वृद्धवृद्धाहरूमा चुरोट, बिंडी सेवन र वायु प्रदूषणका कारण ‘सीओपीडी’ (बुढ्यौलीमा देखिने श्वासप्रश्वास समस्या) को जोखिम उच्च रहने गर्दछ ।
यस्तै वायु प्रदूषणको बढ्दो जोखिमले नागरिकको स्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी दीर्घरोगी, बालबालिका र वृद्धवृद्धामा यसको तत्काल असर देखिए पनि दीर्घकालीन रूपमा सबै उमेर समूहका व्यक्ति प्रभावित हुने डा. पंगेनीको भनाइ छ ।
‘वर्तमान जीवनशैली र वातावरणीय प्रदूषणले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको छ । मिसावटयुक्त हावापानी र अस्वस्थकर खानपानका कारण मानिसको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ’, उनले भने । वातावरणमा रहेका हानिकारक जीवाणु तथा कीटाणुहरू श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा प्रवेश गर्दा दम, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या निम्त्याइरहेको चिकित्सकहरूको भनाइ छ ।
वायु प्रदूषणजन्य दम रोग विकासोन्मुख देशहरूमा तीव्र गतिमा बढिरहेको छ । ‘दम रोगबाट हुने मृत्युमध्ये ८० प्रतिशत विकासोन्मुख देशमा हुन्छ’ डा. पंगेनी भन्छन्, ‘रोगको समयमै पहिचान नहुनु र धुम्रपानको बानी यसका प्रमुख कारण हुन् ।’
विकसित देशहरूमा भने दम रोगका बिरामीहरू प्रभावकारी उपचारका कारण सामान्य जीवन बिताइरहेका छन् । तर विकासोन्मुख देशमा आर्थिक कारणले निरन्तर स्वास्थ्यको ख्याल गर्न नसक्दा धेरैको मृत्यु हुने गरेको छ । ‘दमले शरीरमा अक्सिजनको मात्रा घटाउँदै विभिन्न अंगहरूमा असर पार्छ र समयमै उपचार नपाए व्यक्तिको मृत्यु हुन्छ’, डा. पंगेनी भन्छन् ।
विशेषज्ञका अनुसार बढ्दो वायु प्रदूषणले गर्भमा रहेका शिशुलाई समेत प्रभाव पार्ने गर्दछ । पश्चिमी मुलुकहरूको तुलनामा नेपाल जस्ता विकासोन्मुख देशहरूमा जन्मिने बच्चाको जीवन दुई वर्षले कम हुनुमा वायु प्रदूषण मुख्य कारक रहेको डा. पंगेनी बताउँछन् ।
उनका अनुसार अझै पनि दम रोग समयमै पहिचान हुँदैन । यदि भइहालेको खण्डमा पनि मानिसले सजिलै चुरोट छाड्दैन् जसका कारण दमको भार घट्न सकेको छैन । ‘निरन्तर खोकी लाग्दा नजिकैको मेडिकलमा गएर खोकीको औषधि सेवन गर्दै बस्नुहुन्छ । दम रोग समयमा पहिचान समेत हुँदैन । पहिचान हुने बेलासम्म फोक्सो बिग्रिसकेको हुन्छ’, डा. पंगेनीले भने ।
खराब जीवनशैली र प्रदूषणले क्यान्सर
क्यान्सरको खास कारण भनेको खराब आनीबानी हो । यसमा खानपान, दिनचर्या, रहनसहन पर्दछन् । विशेषज्ञका अनुसार बाह्य कुरा पनि क्यान्सरको कारण बन्न सक्छ । वातावरणीय प्रदूषण, धुलो–धुवाँ, रसायन, आदि क्यान्सरको कारण हुन्छन् । यस्तै अर्कोचाहिं, वंशानुगत कारणले पनि हुन्छ ।
खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छन् । यी गिर्खामध्ये एकखाले सामान्य अवस्थाका हुन्छन् । जो दुख्दैन र धिमा गतिमा मात्रै बढ्छ । यसले शरीरलाई खासै हानि गरिरहेको हुँदैन ।

अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो । क्यान्सर विशेषज्ञ डा. विवेक आचार्य क्यान्सर रोगको मुख्य कारण खराब जीवनशैली भएको बताउँछन् । खराब खानपान, दिनचर्या र रहनसहनका कारण कोष तथा कोषिकाहरूमा अनियन्त्रित वृद्धि हुन्छ, जसले गिर्खाबाट क्यान्सर हुन्छ’, डा.आचार्य भन्छन् ।
विशेषज्ञहरूका भनाइमा, धुम्रपान, मद्यपान, प्रशोधित खाना, जंकफुड र शारीरिक निष्क्रियता क्यान्सरका प्रमुख कारक हुन् । यस्तै वातावरणीय प्रदूषण, धुलो–धुवाँ र रासायनिक पदार्थको सम्पर्कले पनि क्यान्सरको जोखिम बढाउने डा. आचार्य बताउँछन् ।
पुरुषको हकमा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । यसबाहेक घाँटी, मुख, आन्द्रा, पेटको क्यान्सर भएको पाइन्छ । पेटको क्यान्सर हुनुमा खानेकुरा जिम्मेवार छ । ‘अहिले जसरी हामी प्याकेजिङ खाना, जंकफुड एवं प्रशोधित खानेकुरा खाइरहेका छौं, त्यसले पेटको क्यान्सर हुने जोखिम बढाएको छ’, आचार्य भन्छन् ।
विशेषज्ञका अनुसार नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सरको बढी जोखिम छ । त्यसपछि स्तन क्यान्सर र फोक्सोको क्यान्सर प्रमुख रूपमा छन् । धुम्रपान गर्ने, सुर्ती र गुट्खा खाने व्यक्तिमा फोक्सो, मिर्गौला, मुख, गिजा, घाँटी र पाचन प्रणालीको क्यान्सर हुन्छ । अत्यधिक रक्सी पिउने व्यक्तिलाई आन्द्रा, कलेजो, मिर्गौलाको क्यान्सरको जोखिम हुने डा. आचार्यको भनाइ छ ।
विज्ञका अनुसार, ज्येष्ठ नागरिक, बालबालिका, कैदी–बन्दी, एचआईभी संक्रमित, मधुमेहका रोगी, दुव्र्यसनी, गर्भवती, कलकारखाना, सुरक्षा निकाय, घना बस्ती, ईंटाभट्टा र निर्माण क्षेत्रका कामदार क्षयरोगको बढी जोखिममा हुन्छन् ।
अत्यधिक मासु, नियमित जंकफुड, तारेको, भुटेको, पोलेको, प्रशोधित खानेकुरा बढी खाने व्यक्तिलाई पाचन नलीको क्यान्सरको जोखिम हुने डा. आचार्यले बताए । ‘दिनभर निष्क्रिय बसिरहने वा एकै ठाउँमा बसिरहने व्यक्ति पनि क्यान्सरको जोखिममा हुन्छन्’ डा.आचार्य भन्छन्, ‘दिनभरि एकै ठाउँमा बसेर काम गर्दा क्यालोरी खर्च हुँदैन । मोटोपन बढेसँगै क्यान्सरको जोखिम बढी हुन्छ ।’
क्षयरोगबाट ७० हजार संक्रमित : बढ्दो जोखिम
माइकोब्याक्टिरियम ट्युबरक्युलोसिस नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो, क्षयरोग । यो जीवाणुबाट प्रभावित मानिसले खोक्दा र हाच्छिउँ गर्दा निस्कने स–साना कणबाट पनि अरूलाई सर्ने सम्भावना उच्च हुन्छ ।
चिकित्सकका अनुसार यस्तो जीवाणु प्रवेश गर्दा १० प्रतिशत हाराहारी वयस्क मानिसले खोकेर वा श्वासनलीको प्रतिरोधी प्रणाली नै पखाल्ने गर्छ । ८० प्रतिशत मानिसमा फोक्सोभित्र वा शरीरका कुनै भागमा सुषुप्त अवस्थामा बस्छ, तत्काल क्षयरोग गराउँदैन । यसरी सुषुप्त बसेको जीवाणुले दीर्घरोग लाग्दा वा प्रतिरोधात्मक क्षमता घटेको बेलामा क्षयरोग संक्रमण गराउन सक्छ ।
१० प्रतिशत मानिसलाई भने फोक्सो र अन्य अंगले संक्रमण गराएर क्षयरोग देखिन्छ । यसरी संक्रमित भएकामध्ये पनि ८० प्रतिशतलाई फोक्सोमा संक्रमण गराउँछ । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार प्रति वर्ष ७० हजार नयाँ बिरामी थपिन्छन् भने पुराना समेत गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको अनुमान छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख तथा छातीरोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठका अनुसार अझै पनि ३० हजारभन्दा बढी क्षयरोग संक्रमितलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । जसको कारण संक्रमित व्यक्तिले समुदायमा भएका अन्य व्यक्तिलाई संक्रमण गरिरहेका छन् ।
क्षयरोग एक सामाजिक रोग पनि हो । गरिबी, बिरामीलाई विभेद, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएकाहरू पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले क्षयरोगीको पहिचान हुन नसकेको विज्ञहरू बताउँछन् ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई क्षयरोगका कीटाणुले छिट्टै संक्रमण गर्छन् । संक्रमण फोक्सोमा मात्रै नभएर अन्य अंगमा फैलिने भएकाले मानिसको मृत्यु हुन्छ । ‘प्रतिरोध प्रणाली नै कमजोर हुने भएकाले फोक्सोले मात्रै ब्याक्टेरियालाई घेरेर राख्न सक्दैन । जसका कारण अन्य अंगमा संक्रमण छिट्टै फैलिने गर्छ’ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी भन्छन्, ‘फोक्सो बाहेक ढाडको हड्डी, मिर्गौला, मुटु, मस्तिष्क, आन्द्रा आदिमा क्षयरोगको संक्रमण हुन सक्छ ।’
विज्ञका अनुसार, ज्येष्ठ नागरिक, बालबालिका, कैदी–बन्दी, एचआईभी संक्रमित, मधुमेहका रोगी, दुव्र्यसनी, गर्भवती, कलकारखाना, सुरक्षा निकाय, घना बस्ती, ईंटाभट्टा र निर्माण क्षेत्रका कामदार क्षयरोगको बढी जोखिममा हुन्छन् ।
‘ब्याक्टेरिया रगत मार्फत फोक्सोमा पुगेपछि शरीरका अन्य अंगहरूमा पनि संक्रमण फैलिन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा संक्रमण छिटो फैलिन्छ । भेन्टिलेटर र आईसीयूमा पुगेका ५० प्रतिशत बिरामीलाई बचाउन सकिंदैन’, डा. पंगेनीले थपे ।
बिरामीले नियमित रूपमा औषधि सेवन नगर्दा रोकथाममा थप चुनौती थपिएको डा. श्रेष्ठ बताउँछन् । चिकित्सकहरूका अनुसार, क्षयरोगको औषधि खान छुटाउँदा संक्रमितको शरीरमा औषधि प्रतिरोधी क्षमता विकास हुन्छ । सामान्य क्षयरोगीले कम्तीमा ६ देखि ९ महिनासम्म औषधि खानुपर्छ भने डीआर (जटिल खालका संक्रमित) हरूले कम्तीमा एक वर्षदेखि १८ महिना वा सोभन्दा बढी नियमित सेवन गर्नुपर्छ । साथै उनीहरूको संक्रमण गम्भीर र जटिल हुन्छ ।
‘एक महिना औषधि खाएपछि बिरामीलाई निको भए जस्तो हुन्छ । तर, बीचमा छोड्दा औषधिले नराम्रो प्रतिक्रिया जनाउँछ । यसरी डीआर भएका बिरामी झन् बढी संक्रामक हुने हुँदा समुदायस्तरमा संक्रमण बढी फैलिन्छ’, पंगेनी भन्छन् ।
साझा रोग ग्यास्ट्रिक : खानपानको शैलीले क्यान्सर
पेटमा लाग्ने दर्जनौं रोगको मुख्य कारण नै मानिसको खानपान हो । चिकित्सकका अनुसार नेपालीको खाने तरिका ठीक छैन । बिहान–बेलुका टन्न खाने प्रचलन छ । आफूले खाएको खाना कति स्वस्थकर र कहाँबाट बनेको भन्ने कुनै हेक्का राख्दैनौं । मिसावटयुक्त खानेकुरा खाँदा पेट सम्बन्धी रोगले जटिल रूप लिई अल्सर र क्यान्सर भयावह रूपमा बढ्दै गएको छ ।
ग्यास्ट्रिक नेपालीको आम समस्या भइसकेको छ । नेपालमा उमेर पुगेका मानिसहरू मात्र हैन, बच्चा समेत ग्यास्ट्रिक रोगबाट पीडित छन् । ‘ग्यास्ट्रिक’लाई चिकित्सक नेपालीको साझा रोग समेत भन्छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालीलाई अस्पताल पुर्याउने प्रमुख स्वास्थ्य समस्या मध्ये ग्यास्ट्रिक पहिलो नम्बरमा पर्छ ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति तथा ग्यास्ट्रोलोजिस्ट डा. भुपेन्द्र बस्नेतका भनाइमा प्राचन प्रणाली सम्बन्धित रोगका कारण क्यान्सर भयावह हुँदै गएको छ । उनका अनुसार आमाशय, कलेजो, खानानली, पित्तनली र ठूलो आन्द्राको क्यान्सरका बिरामी दिन प्रतिदिन बढिरहेका छन् ।
पहिला मानिस घरमै शुद्ध खानपान गर्थे । तर अहिले मानिसमा खानपानशैली बदलिएको छ । पहिलो कुरा त हाम्रो वातावरण नै स्वस्थ छैन । हावा, पानी, खाना, वातावरण र जीवनशैली सबै विषाक्त भइरहेका छन् । समयमा खाना नखाने, बढी चिल्लो, पिरो र तारेका अस्वस्थ खानेकुरा खानाले प्रायः नेपालीमा पाचन प्रणाली सम्बन्धी रोग देखिइरहेको छ ।
‘अधिकांश मानिस एकदम सिकिस्त भएर अल्सर बिग्रिसकेपछि क्यान्सरको शंकामा अन्तिम अवस्थामा आइपुग्छन् । त्यस समयसम्म ढिला भइसकेको हुन्छ’, डा. कश्यप भन्छन् ।
डा. बस्नेत भन्छन्, ‘बजारको खानेकुरामा महिनौंदेखिको तेलको प्रयोग भएको हुन्छ । जसले पाचन प्रणालीमा समस्या ल्याउनेसँगै क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।’ तरकारीमा हुने उच्च विषादी, फलफूल पकाउन वा लामो समय राख्न प्रयोग गरिने केमिकलले स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको चिकित्सक बताउँछन् ।
‘पाचन प्रणालीमा समस्या समयमै पहिचान हुँदैन । कतिपय बिरामीमा रोगको पहिचान भए पनि निको हुने गरी उपचार नहुने हुँदा मृत्युदर बढिरहेको छ’, डा. बस्नेतले भने । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यप कोलोनोस्कोपी स्क्रिनिङलाई राज्यले नै निःशुल्क गर्नुपर्ने बताउँछन् । तर सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।
कोलोनोस्कोपीबाट मलद्वारमा पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउन सकिन्छ । ‘विकसित देशमा ४५ वर्षभन्दा माथिका सबैको कोलोनोस्कोपी स्क्रिनिङ हुन्छ । जसका कारण समयमै रोग पत्ता लाग्छ’ डा. कश्यप भन्छन्, ‘तर नेपालमा पाचन सम्बन्धी रोगका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् ।’
फोक्सोको क्यान्सरपछि पेटको क्यान्सर भयावह हुनुको कारण खानपान, नियमित स्वास्थ्य जाँच नगर्नु र व्यायामको अभावका कारण हुने गरेको डा. कश्यप बताउँछन् । ‘४५–५० वर्ष उमेर समूहको मानिसले कोलोनोस्कोपी गर्दा पेटको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ’ कश्यप भन्छन्, ‘आन्द्रामा मासुको डल्लो (पोलिभ, ऐंजेरु, ट्युमर) देखियो भने त्यसलाई शल्यक्रिया गर्न सकिन्छ । क्यान्सर हुने सम्भावना न्यून हुन्छ ।’
युरोपका केही देशले नीति नै बनाएर ४५ वर्ष कटेका नागरिकलाई ‘कोलोनोस्कोपी’ गराउँदा पेटको क्यान्सरका बिरामी घटिरहेको उनले बताए । तर नेपालका धेरै मानिस कोलोनोस्कोपीबारे अनभिज्ञ छन् । जबकि काठमाडौंका केही केन्द्रीय अस्पतालमा यो प्रविधि उपलब्ध छ ।
‘अधिकांश मानिस एकदम सिकिस्त भएर अल्सर बिग्रिसकेपछि क्यान्सरको शंकामा अन्तिम अवस्थामा आइपुग्छन् । त्यस समयसम्म ढिला भइसकेको हुन्छ’, डा. कश्यप भन्छन् ।
नवजात शिशु मृत्युदर उच्च नै
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ७९ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने गरेको छ । तर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार स्वास्थ्य संस्थामा डेलिभरीको संख्या बढेसँगै जटिलता पनि बढ्दै गएको छ ।
एक दशक अगाडिसम्म घरमै सुत्केरी हुने संख्या बढी र स्वास्थ्य संस्थामा हुने सुत्केरी संख्या कम थियो । जसका कारण शिशु जन्मिंदा महिलाको मृत्यु हुने प्रमुख कारण अत्यधिक रक्तस्राव थियो । तर केही वर्षयतादेखि अस्पतालमा सुत्केरी हुने संख्या बढेको छ ।
डा. सुवेदी केही वर्षयता मातृ मृत्युको कारणमा परिवर्तन आएको बताउँछन् । ‘स्वास्थ्य संस्थामा मृत्यु हुने कारणमध्ये उच्च रक्तचाप पहिलो नम्बरमा छ । यस्तै रक्तस्राव, संक्रमण, असुरक्षित गर्भपतन, किशोरीवस्थामा गर्भवती हुनुले मृत्यु भइरहेको छ’, डा.सुवेदीले भने ।
डा. सुवेदीका अनुसार ढिलो उमेरमा विवाह, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याले समयभन्दा अगाडि बच्चा जन्मने र जटिलता बढ्ने गर्छ । स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि नवजात शिशुको मृत्युदर प्रति हजार जीवित जन्ममा २१ भन्दा तल झार्न सकिएको छैन ।
सरकारले सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने लक्ष्य राखेको छ । यही रूपमा कार्यक्रम अगाडि बढ्ने हो भने लक्ष्य प्राप्त गर्न नसकिने विज्ञ बताउँछन् ।
‘शिशु जन्मिएपछि स्वास्थ्य संस्थाबाट हुने उपचार प्रभावकारी हुन नसकेकाले नवजात शिशुको मृत्यु भइरहेको छ’ डा. चापागाईं भन्छन्, ‘अस्पतालमा हुने मृत्युदरलाई घटाउन गुणस्तरीय सेवामा जोड दिन जरूरी छ ।’
४५ लाख नेपालीको मिर्गौला जोखिममा
मिर्गौला दुई प्रकारले फेल हुन्छ– अकस्मात् र क्रमिक रूपमा । विशेषज्ञहरूका अनुसार निमोनिया, छातीको संक्रमण र झाडापखाला जस्ता रोगहरूले आकस्मिक रूपमा मिर्गौला फेल हुनसक्छ । दीर्घकालीन मिर्गौला रोगको अर्को प्रमुख कारणमा मधुमेह हो । अध्ययनहरूले देखाए अनुसार मधुमेह भएका ७०/८० प्रतिशत व्यक्तिमा १०/१५ वर्षभित्र मिर्गौला फेल हुने जोखिम रहन्छ ।
विशेषगरी आप्रवासी कामदारहरूमा देखिएको प्रोटिन चुहावटको समस्याले पनि मिर्गौला फेल हुने गरेको छ । यस्तो अवस्थामा पिसाबमा प्रोटिनको मात्रा बढ्दै जाँदा पत्थरी र उच्च रक्तचापको समस्या देखा पर्छ, जसले मिर्गौलालाई थप क्षति पुर्याउँछ ।
मिर्गौैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार एकपटक मिर्गौला फेल भइसकेपछि यसलाई पूर्ण रूपमा निको पार्न सकिंदैन । यस्तो अवस्थामा बिरामीसँग दुई विकल्प हुन्छन्– मिर्गौला प्रत्यारोपण वा नियमित डायलाइसिस ।
यद्यपि मिर्गौला प्रत्यारोपण सबैभन्दा उत्तम विकल्प मानिए पनि यो सबैका लागि सहज र सुलभ छैन । त्यसैले धेरै बिरामी जीवनभर डायलाइसिसमा निर्भर रहनुपर्ने अवस्था छ, जुन जनस्वास्थ्यको दृष्टिकोणले गम्भीर चुनौती बनेको छ ।
‘रगतमा पोटासियमको मात्रा बढ्न थालेपछि मुटु नै बन्द हुन्छ । मिर्गौैलाले काम गर्न छाडेपछि पिसाब नभएर फोक्सोमा पानी जम्मा हुन थाल्छ’ डा. काफ्ले भन्छन्, ‘शरीरमा अक्सिजन प्रवाह नभएर मानिसको ज्यानै जान्छ ।’ त्यो अवस्थामा निमोनिया, संक्रमण र हृदयघातको सम्भावना पनि बढ्छ ।
डा. काफ्लेका अनुसार मिर्गौला बिग्रिने प्रमुख कारण तत्व उच्च रक्तचाप हो । विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पनि नेपालमा करिब ४७ लाखमा उच्च रक्तचापको समस्या रहेको देखाउँछ । जसमध्ये ४ लाख मानिस उपचारको दायरामा आएका छन् । त्यसमध्ये पनि २ लाखको उच्च रक्तचाप नियन्त्रणमा आएको बाँकी ४५ लाखमा यो समस्या नियन्त्रणमा आएको छैन ।
विशेषज्ञहरूका अनुसार मधुमेह भएका ४० प्रतिशत बिरामीमा मिर्गौला सम्बन्धी समस्या देखिने गरेको छ । यसैगरी घुँडा, कम्मर र जोर्नी दुखाइका लागि नियमित रूपमा प्रयोग गरिने ‘पेनकिलर’ औषधिले पनि मिर्गौलामा नकारात्मक प्रभाव पार्छ ।
प्रत्येक वर्ष करिब तीन हजार नयाँ मिर्गौला बिरामी थपिने अनुमान गरिएको छ । ‘प्रत्यारोपणको प्रतीक्षामा हजारौं बिरामी छन्, तर वार्षिक सय जनाभन्दा बढीको प्रत्यारोपण सम्भव छैन’ काफ्लेले भने, ‘धेरै बिरामी प्रत्यारोपणको प्रतीक्षामै मृत्युवरण गर्न बाध्य छन् ।’
दुर्घटना र मानसिक समस्याले मृत्युदर बढ्दो
राष्ट्रिय ट्रमा सेन्टरमा गम्भीर बिरामीको संख्या वर्षेनि बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । देशको एक मात्र केन्द्रीय ट्रमा रिफरल अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ५ हजार ४६४ बिरामी भर्ना भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । सेन्टरमा २०७८/७९ मा ४ हजार २६२ व्यक्ति भर्ना भएका थिए ।
सेन्टरको पछिल्लो २०७९/८० को तथ्यांक अनुसार उपचार गराउने मध्ये सबैभन्दा बढी ५६ प्रतिशत विभिन्न स्थानबाट लडेका, ३० प्रतिशत सडक दुर्घटनाका, २७ प्रतिशत घुँडा तथा खुट्टाको समस्या भएका र १२ प्रतिशत टाउकोमा चोट लागेका बिरामी छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अध्ययनले ६७ प्रतिशत दुर्घटनाका बिरामी राति ९ बजेपछि अस्पताल पुग्ने गरेको देखाएको छ । त्यस्तै २८ प्रतिशत बिरामी दिउँसो ३ देखि राति ९ बजेभित्र र ३५ प्रतिशत बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अस्पताल पुग्छन् । अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. रमेश महर्जनका अनुसार अस्पताल टाढा हुनु यसको प्रमुख कारण हो ।
‘दुर्घटनास्थलमै उचित प्राथमिक उपचार र छिटो अस्पताल पुर्याउन सके धेरैको ज्यान बचाउन सकिन्छ’ महर्जन भन्छन्, ‘अस्पतालको तथ्यांकले दुर्घटनामा परेकामध्ये ४० प्रतिशत एम्बुलेन्स, ४५ प्रतिशत ट्याक्सी र ११ प्रतिशत अन्य सवारी साधन मार्फत अस्पताल आउने गरेको देखाउँछ ।’
नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको जनस्वास्थ्यविद् डा. रिता थापा बताउँछिन् । उनका अनुसार विलासी जीवनशैली र खानपानमा गरिने लापरबाही, उच्च रक्तचाप, मधुमेहसँग सम्बन्धित समस्या बढेको कारण नसर्ने रोग बढिरहेको छ ।
डा. महर्जन दुर्घटनास्थलमै प्राथमिक उपचारको व्यवस्था र सही तरिकाले बिरामी ओसारपसार गर्ने पद्धतिको विकास गर्नुपर्ने बताउँछन् । दुर्घटनापछिको पहिलो दुई घन्टा घाइतेको ज्यान बचाउन निर्णायक हुन्छ । तर नेपालमा उचित प्राथमिक उपचार र यातायातको अभावमा यो महत्वपूर्ण समय खेर जान्छ ।
राष्ट्रिय ट्रमा सेन्टरका स्पाइन सर्जन डा. समाज गौतमले दुर्घटनापछिको ६ घन्टाभित्र अस्पताल पुर्याउन सके पनि घाइतेको अवस्था जटिल बन्नबाट जोगाउन सकिने बताउँछन् । ‘एम्बुलेन्सको अभाव र अस्पताल टाढा हुनु जस्ता कारणले धेरै घाइतेको बाटैमा मृत्यु हुने गरेको छ’ डा. गौतमले भने, ‘जनचेतनाको कमी र ढिलाइले पनि मृत्युको जोखिम बढाएको छ ।’
यसैगरी नेपाली समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्याले गम्भीर चुनौती सिर्जना गरेको छ । विशेषज्ञहरू मानसिक रोगको समयमै पहिचान र उपचारको आवश्यकतामा जोड दिन्छन् । वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुनेगर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ९५ प्रतिशत आत्महत्या मानसिक समस्यासँग जोडिएका हुन्छन् ।
आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगत लगायत तनावले कडा डिप्रेसन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्ने गरेको विज्ञ बताउँछन् । ‘अहिले मानसिक समस्या जनस्वास्थ्यमा ठूलो चुनौतीको रूपमा देखिएको छ’ वरिष्ठ मनोचिकित्सक डा. सरोज वझा भन्छन्, ‘२० देखि ४० वर्षसम्मको उत्पादनशील ठूलो हिस्साले आत्महत्या गर्नुले मानसिक स्वास्थ्य भयावह भएको देखाउँछ ।’
विज्ञका अनुसार आजभोलि मानिसको तनावपूर्ण जीवन नै मानसिक रोगको मुख्य कारण बनेको छ । डा. वझाले थपे, ‘आफूमा आएको तनाव वहन गर्न नसकेको अवस्थामा कतिपय मानिस मानसिक रोगको सिकार बन्न पुग्छन् ।’
मनोविद् गृष्मा पनेरुका अनुसार, मानिसमा महत्वाकांक्षा हुन्छ । काममा सफलता नपाउँदा आफ्नो जीवनलाई मूल्यहीन ठान्न पुग्छ । बाँच्नुपर्ने र मर्ने कारण तौलिन थालेपछि आत्महत्या उन्मुख हुने उनी बताउँछिन् । मनोचिकित्सक डा. सगुनबल्लभ पन्तका अनुसार अहिले युवापुस्तामा मानसिक समस्या व्यापक रूपमा बढ्दै जानुका विभिन्न कारणमध्ये वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो ।
‘सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो भार’
मृत्यु हुने प्रमुख १० दश रोग र संक्रमणमध्ये नसर्ने रोग ८ वटा छन् । नसर्ने रोग फैलिनुमा हाम्रो खानपान, आनीबानी र जीवनशैली मुख्य जडको रूपमा देखापरेका छन् । पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोग ‘सुषुप्त’ प्रकोपको रूपमा बढिरहेको विशेषज्ञ बताउँछन् । त्यसैको अनुपातमा मृत्युदर पनि बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१६ देखि २०१८ सम्म समुदायकेन्द्रित सर्वेक्षण गरेको थियो । सन् २०१९ मा प्रकाशित सो सर्वेक्षण अनुसार, नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट भएको छ ।
स्वास्थ्य मन्त्रालयको तंथ्याक अनुसार सन् १९९० अर्थात् ३४ वर्ष अगाडि नसर्ने रोगका कारण कुल मृत्युमध्ये प्रति सयमा ३१ जनाको मृत्यु हुनेगर्थ्यो । उक्त समयमा सरुवा रोगका कारण ६२ जनाको मृत्यु हुने गरेको थियो । तीन दशकपछि सरुवा रोगको ठाउँ नसर्ने रोगले लिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार (सन् २०१९) सय जना मृत्यु मध्ये सरुवा रोगले २१ जना, चोटपटकका कारण ७ र नसर्ने रोगका कारण ७१ जनाको मृत्यु भइरहेको छ ।
नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको जनस्वास्थ्यविद् डा. रिता थापा बताउँछिन् । उनका अनुसार विलासी जीवनशैली र खानपानमा गरिने लापरबाही, उच्च रक्तचाप, मधुमेहसँग सम्बन्धित समस्या बढेको कारण नसर्ने रोग बढिरहेको छ ।
डा. थापाका भनाइमा, कारणहरू हाम्रै हातमा छन् । हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनीबानी, रहनसहन, कलिलैमा सुर्तीजन्य पदार्थको प्रयोग, व्यायाम नगर्दाको परिणाम हो । ‘कलिलै उमेरका बालबालिकाले सुर्तीजन्य पदार्थ, मद्यपान सेवन गर्छन् । अभिभावकले स–साना केटाकेटीलाई खाजामा जंगफुड दिन्छन्’ डा. थापाले स्पष्ट पार्दै भनिन्, ‘शारीरिक परिश्रम कम हुँदा र अत्यधिक तनावले नसर्ने रोगको भार बढिरहेको छ ।’
नसर्ने रोग जीवनशैलीसँग सम्बन्धित भएकाले खानपान र शारीरिक व्यायाममा ध्यान दिंदा मात्रै न्यून गर्न सकिने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । विकसित देशमा पुराना सरुवा रोग पूर्ण रूपमा नियन्त्रणमा आएसँगै अब नसर्ने रोगको रोकथाम तथा उपचारमा केन्द्रित छन् । तर, नेपालमा सरुवा रोगसँगै नसर्ने रोगको दोहोरो भार रहेको डा. वन्त बताउँछन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा. मधुसूदन सुवेदी नसर्ने रोगको नीति मात्रै कार्यान्वयन भए पनि भार एकदमै कम हुने बताउँछन् । ‘हाम्रा नीति तथा कार्यक्रम राम्रा छन् । तर तिनको कार्यान्वयन गर्न नै समस्या देखिएको छ’, डा. सुवेदी भन्छन् ।