मूल्यांकन पद्धतिको मूल्यांकन


तीन घन्टे परीक्षाले विद्यार्थीका उपलब्धिको वास्तविक मूल्याङ्कन हुन नसक्ने भनी सर्वत्र आलोचना हुँदै आएको थियो। यसका पछाडि मूल्याङ्कनमा सिकारुका ज्ञान, सिप, अभिवृत्ति, तत्परता र मूल्यगत उपलब्धिसमेत समेटिनुपर्ने धारणाले काम गरेको थियो। त्यसैले २०७६ मा विद्यालय स्तरमा सक्षमतामा आधारित पाठ्यक्रम लागु गरियो।

पाठ्यक्रममा उद्देश्य, शिक्षण विधि र मूल्याङ्कन मुख्य तीन तत्व हुन्छन्। अर्थात् पाठ्यक्रमका तत्वअन्तर्गत रहेको मूल्याङ्कनले विद्यार्थी, समग्र पाठ्यक्रम र शिक्षक वा शिक्षण विधिकै समेत मूल्याङ्कन गरी आवश्यक पृष्ठपोषण दिने काम गरेको हुन्छ। यस अर्थमा पाठ्यक्रम, शिक्षण विधि र विद्यार्थीको स्तर बुझ्नका लागि मूल्याङ्कन अपरिहार्य ठहर्छ।

त्यसो त सक्षमताले प्रथम, द्वितीय र तृतीयलाई जोड नदिई हरेक क्षेत्रमा विद्यार्थीको फरक फरक उपलब्धिलाई मान्यता दिने काम पनि गर्छ। यही मान्यतालाई आधार मानेर नेपालमा लेटर ग्रेडिङ (पछि अक्षराङ्कन विधि भनिएको) पद्धति लागु गरियो। अक्षराङ्कन विधिमा ए प्लस देखि इ गे्रडसम्मको स्तरीकरण गरियो तर पछि संशोधन गरी एनजीसमेत राखेर प्रचलनमा ल्याइएको छ।

अक्षराङ्कन विधि के र कसका लागि अनि कुन उद्देश्य पूरा गर्नका लागि लागु गरिँदैछ भन्ने कुरालाई स्पष्ट पार्ने दिशामा ध्यान नजाँदा यसको अनर्थ नै वास्तविक अर्थ हो भन्ने किसिमले आमव्याख्या भयो। अर्थात् पास फेल पद्धति हटेको र सबै विद्यार्थी पास हुने पद्धतिका रूपमा अक्षराङ्कन पद्धति आएको कुराले मान्यता पायो। यसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा पर्‍यो। फेल नहुने भएपछि किन मेहनत गर्नुपर्‍यो र भन्ने सोच विद्यार्थीमा विकास भयो।

त्यसो त उत्तीर्ण प्रतिशत बढाउन ल्याइएको आन्तरिक मूल्याङ्कनको अङ्क शिक्षकले आफूखुसी दिएपछि विद्यालय तहको शिक्षा वास्तवमै धरापमा परेकै थियो। कोभिडका कारण भएको सिकाइ क्षति भने पनि नेपालको विद्यालय शिक्षा तहस नहस पार्न कोभिडले भन्दा धेरै गुणा परीक्षा र मूल्याङ्कनसम्बन्धी अस्थिर नीतिहरूले भूमिका खेलेको देखियो।

हामीकहाँ पछिल्लो समय आफ्नै देशमा केही गरौँ भन्नेभन्दा १० जोड दुई पछि विदेश जान प्रेरित गर्ने शिक्षा नीति छ। विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि भइरहे पनि गुणस्तर ह्रासोन्मुख मात्र छैन विश्वविद्यालयले क्यालेन्डर लागु गर्नै सकेका छैनन्। परीक्षा र नतिजाको टुङ्गो नभएकाले नेपालका कलेज वर्तमान पुस्ताका विद्यार्थीका लागि आकर्षक बन्नै सकेका छैनन्। हाम्रो शिक्षा नीतिले राष्ट्र र राष्ट्रियता, नैतिक मूल्य, सामाजिक संस्कार र आत्मगौरवका कुरा सिकाउन सकेको छैन बरु समयमै विदेश पलायन भई आफूलाई उतै स्थापित गर्नुपर्छ भन्ने मनोविज्ञान विकास गरेको छ।

देशभित्र नराम्रो र बेथिति मात्र छ, यहाँ कसैको पनि भविष्य छैन र यहाँ बस्नु दुर्भाग्य हो भन्ने मनोविज्ञान सिर्जना गर्ने साथै अर्थोपार्जन र आधुनिक सुविधा प्राप्त गर्नु नै जीवनको सबैभन्दा ठूलो लक्ष्य हो भन्ने सन्देश प्रत्यक्ष अप्रत्यक्षरूपमा आजको शिक्षाले दिइरहेको छ। यद्यपि यस विषयमा अनुसन्धान गरिएको छैन तर स्पष्टरूपमा के भन्न सकिन्छ भने शिक्षाले समाज, परिवार, राष्ट्र, राष्ट्रियता र नैतिकताका कुरा विद्यार्थीलाई बुझाउनै सकेको छैन। यसैले संस्कृत र नैतिक शिक्षाका घोर विरोधीका रूपमा चिनिएका राजनेताले पनि आजकल शिक्षामा नैतिकता हराएकामा चिन्ता व्यक्त गरेका विचार सार्वजनिक हुन थालेका छन्।

कहिले धेरै उत्तीर्ण गराउने त कहिले नतिजा निस्कने बेला नीति परिवर्तन गर्ने विधिले विद्यालय शिक्षा अस्तव्यस्त भएको कुरामा दुईमत हुन सकिन्न। सबै उत्तीर्ण र जथाभावी अङ्क दिँदा पठन संस्कृति हराउने अवस्था सिर्जना भयो र परीक्षा बोर्ड पुनः ‘ब्याक टु द प्याबिलियन’ अर्थात् पास फेल विधिमै प्रवेश गर्‍यो। त्रुटि सच्याउँदै सही पथमा आउनुलाई सकारात्मकरूपमै लिन सकिन्छ तर अहिले हामी संसारमै कहीँ नभएको ग्रेडिङ अनि ३५ र ४० प्रतिशत नल्याउने फेल हुने उँटविधि लागु गरेर दङ्ग परेर बसेका छौँ।

आन्तरिकको अर्को महाजात्रा

सर्वत्र आलोचना भएपछि आधा सच्चाएर पासफेल विधिमै प्रवेश गरेको परीक्षा प्रणाली टुप्पामा मात्र सच्चियो वा पश्चगमन गर्‍यो अन्य कक्षामा भने जस्ताको तस्तै नै रह्यो। नयाँ पाठ्यक्रम २०७६ अनुसार कक्षा १-३ मा पूर्ण रूपमा आन्तरिक मूल्याङ्कन, कक्षा ४-८ मा ५०% आन्तरिक मूल्याङ्कन र ९-१२ मा २५% आन्तरिक मूल्याङ्कनको व्यवस्था गरिएको छ।

एसइईमा लिखित वा बाह्य परीक्षामा ७५ मा १० वा सोभन्दा कम अङ्क ल्याउने विद्यार्थी आन्तरिकमा २५ मा २५ अङ्क दिइएका कारण उत्तीर्ण भए। गाउँका ठूला इन्जिनियर भनेर डोजर चालकलाई चिनिन्छ। बाटो कताबाट लैजाने भनी भद्र भलाद्मीले विवाद गरे पनि अन्ततः डोजरचालकले भनेकै कुरा सर्वमान्य हुन्छ।

यस्तै बोर्डले पनि अध्ययन, विश्लेषण र अनुसन्धानबिनै आन्तरिक र बाह्य दुवैमा उत्तीर्णाङ्क ल्याउनैपर्ने नयाँ नियम ल्याइदियो। यहाँसम्म पनि ठीकै छ तर हरेक कक्षाका त्रैमासिक र वार्षिक परीक्षाको मूल्याङ्कन विधि हेर्ने हो भने पाठ्यक्रम विकासका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको स्पष्ट हुन्छ।

कक्षा ४-८ मा ५० अङ्कको त्रैमासिक लिखित परीक्षा लिने ४० अङ्क जीवनोपयोगी सिपसम्बन्धी आन्तरिक अङ्क दिने, लिखित परीक्षामा ५० पूर्णाङ्कमा पाएको अङ्कलाई १० पूर्णाङ्कमा परिवर्तन गर्ने र ४० जोड १० बराबर ५० बनाउने अनि विद्यार्थीको उपलब्धि भनेर आकर्षक ग्रेडसिट उपलब्ध गराउने विधि अहिले प्रचलनमा रहेको छ।

शिक्षकलाई हाइसन्चो, अभिभावक दङ्ग, परीक्षामा शून्य अङ्क ल्याए पनि बिअथवा बी प्लस पाउँदा विद्यार्थी झनै मख्ख ! नपढी नलेखी राम्रो ग्रेड आएपछि किन पढ्ने ? वर्षभरि विद्यार्थी यहीँ धारणामा हुन्छन्। अन्तिम अर्थात् कक्षा स्तरोन्नति हुने परीक्षा भने ५०/५० प्रतिशतको आन्तरिक र बाह्य परीक्षा सञ्चालन गर्ने र दुवै परीक्षामा उत्तीर्णाङ्क ल्याउनैपर्ने विधि लागु गरिएको छ। यसैको परिणामस्वरूप कक्षा आठको वार्षिक परीक्षामा धेरै पालिकाका विद्यालय शून्य भए। यसको दोष विद्यार्थी र शिक्षकलाई दिइयो। सामाजिक सञ्जालमा शिक्षकहरूको उछितो काडेर विद्यार्थीका नतिजा सार्वजनिक गरिए तर वास्तविकता त्यस्तो होइन, समस्या मूल्याङ्कन विधिमा रहेको छ।

विद्यार्थीको स्तर कमजोर छ, यसमा कुनै शङ्का छैन तर वर्षभरि चौरमा अभ्यास गर्ने अनि परीक्षा लिने बेला खोलामा पौडी खेल भनेपछि खेलाडीको जस्तो हालत हुन्छ अहिलेको पाठ्यक्रमले विद्यार्थीलाई त्यस्तै पासोमा पारेको छ। अर्थात् वर्षभरि नपढीकनै आन्तरिक मूल्याङ्कनका आधारमा राम्रो ग्रेड प्राप्त गर्ने तर अन्तिम परीक्षामा दाँतबाट पसिना निकाल्नुपर्ने परिस्थिति सिर्जना गरी विद्यार्थीलाई जबर्जस्ती अनुत्तीर्णको बिल्ला भिराउने काम भएको छ।

आन्तरिकले अल्छी बनाएका विद्यार्थीलाई अन्तिम परीक्षा वास्तवमै पासो सिद्धजस्तै बनेको छ। कक्षा ४-८ को मात्र कुरा होइन। कक्षा ९-१२ मा त झन् लिखित परीक्षाको अङ्कलाई ६ मा परिवर्तन गरी आन्तरिकको १९ जोडेर २५ पूर्णाङ्कमा ग्रेडसिड बनाउने अवैज्ञानिक, सिकाइ सिद्धान्तको विपरीत, बाल मनोविज्ञानलाई उपेक्षा गरिएको अनौठो विधि लागु गरिएको छ।

यस अवैज्ञानिक विधिका कारण वर्षको अन्तिममा विद्यार्थीको रुवाबासी, शिक्षक र विद्यालयको बेइज्जती हुने घटनाहरू बढेका छन्। आन्तरिक परीक्षालाई यति फितलो किन बनाइयो भनेर प्रश्न गर्ने हो भने वर्षको अन्तिममा फेल हुने नै हो भने सुरुबाटै किन विद्यार्थीलाई दुःखी बनाउने भनेर यो विधि ल्याइएको हो भन्ने जवाफ प्राप्त हुने गरेको छ।

पछिल्लो पाठ्यक्रम लागु भएसँगै परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्र सिकाइलाई होइन, परीक्षालाई जोड दिँदै कसरी मूल्याङ्कन गर्ने, कहाँ अलमल्याउने भन्नेमै व्यस्त भएकाले विद्यार्थी र शिक्षकका लागि मूल्याङ्कन पद्धति साँच्चिकै भुलभुलैया बनेको छ। यसरी गन्तव्य कुन हो भन्ने नै तय नगरीकन लहडका भरमा र क्षणिक कुराहरूलाई मात्र समाधान गर्न खोज्नाले विद्यार्थीलाई वर्षभरि भुलाउने र अन्तिममा पासो थाप्ने यन्त्रको काम गरेको मूल्याङ्कन पद्धति आफँैमा दिशाहीन बनेको छ।

सिकाइ क्रियाकलापलाई निर्देशित गर्न मूल्याङ्कनले भूमिका खेलेको हुन्छ। मूल्याङ्कन पद्धति नै दिशाहीन भयो भने के सिकाउने, कसरी सिकाउने र किन सिकाउने भन्ने अन्योल सिर्जना हुनु त स्वाभाविक नै हो। समय गुज्रिसकेको छ। यसैले लहडका भरमा होइन, वस्तुनिष्ठ, वैज्ञानिक र सिकाइमैत्री मूल्याङ्कन पद्धति लागु गरेर विद्यालय शिक्षालाई व्यवस्थित गर्न ढिलाइ गर्नु हुँदैन।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School