मुलुक घुमेर महामन्त्री मुकुलले रास्वपामा ल्याएको हलचल

मुलुक घुमेर महामन्त्री मुकुलले रास्वपामा ल्याएको हलचल


१३ असार, काठमाडौं । रास्वपा महामन्त्री मुकुल ढकालले बोक्ने मोबाइल फोनको ब्याक कभरमा निलो पृष्ठभूमिमा सेतो घन्टीको चित्र छ । अघिल्लो महिना उनी आफैंले आर्टिफिसियल इन्टेलिजेन्समा प्रम्प्ट हालेर कालो घन्टीको चित्र बनाए । त्यसमाथि लेखे, ‘पार्टी महामन्त्रीको समीक्षा यात्रा जेठ ६– असार ५ ।’

‘जान्नेलाई छान्ने’ नारा दिएर बनेको दलका कुनै पनि ‘जान्नेसुन्ने’हरुलाई घन्टीको रङ्ग निलो हुनुपर्ने, किन बदलियो भन्नेमा उत्रो ध्यान गएन । आजभन्दा सय वर्षअघि लेनिनले रुसमा ‘ह्वाट इज टु बी डन’ अर्थात् ‘के गर्ने ?’ भनी लेखेजस्तै ढकालले पनि आफ्नो ब्यानरमा लेखेका थिए, ‘के गर्नुहुन्न, के गर्नुपर्छ ?’

हिजो बुधबारदेखि राष्ट्रिय राजनीति यीनै ३० वर्षे युवाले तयार पारेको ३२ पृष्ठको प्रतिवेदनको वरिपरि घुमिरहेको छ । एउटा यस्तो प्रतिवेदन, जो यतिन्जेल सार्वजनिक भएको छैन तर यसभित्रका सबैजसो मूख्य बुँदाहरु बाहिरिइसकेका छन् ।

ढकालले आफ्ना सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई मन्त्रालयमै गएर बुधबार राति प्रतिवेदन थमाएका थिए । रोचक के छ भने यो प्रतिवेदन बुझाउन महामन्त्रीले सभापतिलाई पार्टी अफिसमा भेट्न सक्थे । तर सत्ताको दैनिकीमा बानी पर्दै गएको रास्वपाका लागि चमतीको पार्टी मूख्यालय कम प्राथमिक गन्तव्य बन्दैछ भन्ने सांकेतिक अर्थ पनि ढकाल र लामिछानले रोजेको सरकारी भवनले बोक्छ ।

बिहीबार संसद भवनबाट निस्कने बेला शिशिर खनाल लगायत सांसदलाई महामन्त्री ढकालको प्रतिवेदनबारे सोधियो, जबकि उनी स्वयंलाई यसभित्र के लेखिएको छ भन्ने थाहा छैन ।

उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल लगायत पदाधिकारीले ढकालको प्रतिवेदन हेर्न, छुन पाएका छैनन् । बिहीबार बिहान पार्टी मूख्यालय पुगेका सभापति लामिछानेले केन्द्रीय सदस्यहरुसँगको साप्ताहिक छलफल क्रममा महामन्त्री ढकालको प्रतिवेदनबारे पछि कुरा गर्ने संक्षिप्त टिप्पणी गरे ।

मुलुक घुमेर आएका महामन्त्री मुकुल ढकाल यति बेला आफैं आफ्नो प्रतिवेदन सार्वजनिक गरिपाउँ भनेर सभापति गुहार्दैछन् । पार्टी उच्च स्रोतका अनुसार आफ्नो प्रतिवेदन सार्वजनिक नहुन्जेल पार्टीको केन्द्रीय समिति बैठकसमेत राख्न नदिने ढकालको तयारी छ ।

कर्णालीको हिमाली जिल्ला डोल्पामा शे फोक्सुन्डोनेर बसेर लेखेको भनिएको प्रतिवेदनले रास्वपा महामन्त्री ढकाललाई चर्चाको केन्द्रमा ल्याइदिएको छ । कांग्रेस, एमाले लगायत दलको नेतासमेत उनलाई टेलिफोन गरेको गर्‍यै छन्, ‘म म्यान अफ् द टाउन भएको छु, तर बम हान्न अझै बाँकी छ,’ बबरमहलमा बिहीबार अनलाइनखबरसँग लामो कुराकानी गर्दै ढकालले भने, ‘सभापतिले म न्याय गर्छु, अन्याय हुन दिन्नँ भन्नुभएको छ, म कुरिरहेको छु ।’

मुलुक घुमेर महामन्त्री मुकुलले रास्वपामा ल्याएको हलचल

पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन ढकालले तयार गरेका छन् । रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् । समीक्षा प्रतिवेदनका अनुसार पार्टीलाई सामान्य उपचारले सम्भव नहुने र सर्जरीको आवश्यकता छ ।

पार्टी दुर्घटनान्मुख भएको ढकालको निष्कर्ष छ, जसलाई उनले हामीसँगको कुराकानीका क्रममा तीव्र गतिमा रहेको सवारी नै दुर्घटनाको सम्भावना नजिक हुने दाबी गरे । ‘पार्टीलाई २०८४ मा गाह्रो हुने होइन के यस्तै तरिकाले पार्टी चले शतप्रतिशत पार्टी सकिन्छ,’ ढकालले ठोकुवा गरे ।

बालेनसँग दूरी बढाए थप क्षति : महामन्त्री ढकालले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका बालेन शाहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने प्रतिवेदन तयार गरेका छन् । रास्वपाले बालेन सहित धनगढी उपमहानगरपालिकामा निर्वाचित मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने लेखेका छन् । बालेन, धनगढीका मेयर गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को चुनावमा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ । रास्वपा र स्वतन्त्रबाट जितेका बालेन र गोपी हमाल विचको सहकार्यको टुंगो भने अहिले नै लगाउन नहुने उनको तर्क छ । अहिले नै सहकार्य गर्ने सार्वजनिक भए त्यसमा पुराना दलहरुले खेल्न सक्ने आशंका उनले प्रतिवेदनमा गरेका छन् । ‘यो मिलन २०८३ सालमा बनाउँदा पुरानाहरुले हामीसँग त्यति खेल्न सक्दैनन् । यो माहोल अहिलेबाट बनाउनु जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ ।

बालेनसँगको दूरी बढाउँदा रास्वपाले क्षति बेहोर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । महामन्त्री ढकालले नेकपा एमाले र माओवादी केन्द्रसँग सम्झौता गर्नुको साटो बालेनसँग गर्नुपर्ने राय प्रतिवेदनमा राखेका छन् । ढकाल प्रतिवेदनमा लेख्छन्,‘आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नुको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रा लागि हितकर छ ।’

एक महिने अभियानको क्रममा प्राप्त सुझावहरुमा बालेन र गोपी हमालसँगको सहकार्य गर्नुपर्ने मत आएको महामन्त्री ढकालले बताए ।

प्रतिवेदनमा स्वतन्त्रबाट जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको सहकार्य गर्नुपर्ने वा गर्न नहुने विषय राखिएको छैन । स्थानीय तहमा गैरराजनीतिक उम्मेदवार उठाउन रास्वपा तयार हुनुपर्ने  मत राखिएको छ ।  स्थानीय तहका उम्मेदवार गैर दलीय उम्मेदवार बनाउन रास्वपा तयार भएर बालेनसँग सहकार्यको ढोका खुल्नसक्ने अपेक्षा उनले प्रतिवेदनमा गरेका छन् । ‘स्थानीय तहलाई गैरदलीय बनाउन अभियान चलाउने र रास्वपा पनि स्थानीय तहको चुनावमा भाग लिँदा स्वतन्त्र उम्मेदवारी दिने सहितको बनाउन सके बालेनसँगको सहकार्य त्यति पर छैन,’ प्रतिवेदनमा भनिएको छ ।

२०८४ को स्थानीय चुनावमा स्वतन्त्रहरुको छुट्टै टोली बनाएर स्थानीय तह गैर दलीय हुनुपर्छ भनेर आफ्नो अभियानलाई बालेनले अघि बढाउन सक्ने विश्लेषण गरिएको छ । बालेनले २०८९ को चुनावताका मात्रै पार्टी खोल्नसक्ने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ । ढकालले लेखेका छन्, ‘बालेनसँग सहकार्यको कुरा गरेर मात्रै पुग्दैन । बालेनले उठाएका राजनीतिक एजेण्डा हामी हाम्रो सहमति छ वा छैन भन्ने महत्वपूर्ण छ ।’

स्थानीय तहलाई गैर दलीय रुपमा अघि बढाउन रास्वपा तयार हुने वा नहुने पार्टीमा उनले प्रश्न राखेका छन् । अराजनीतिकरणको मूल मुद्दा रास्वपाको पनि त्यसका लागि पार्टी तयार हुनुपर्ने उनको मत छ ।

अराजनीतिक बनौं, स्वतन्त्रहरुको पार्टी बनाऔं : प्रतिवेदनमा महामन्त्री ढकालले रास्वपा स्वतन्त्रहरुको पार्टी हुनुपर्ने लेखेका छन् । अहिलेको अवस्थामा रास्वपा सुधारिएको कांग्रेस वा एमाले जस्तो मात्रै देखिएको ढकालको निष्कर्ष छ । ‘रिसेट बटन थिचे मात्रै नयाँ पार्टी बन्छ । त्यसका लागि पार्टीमा आमूल परिवर्तनको खाँचो छ,’ ढकालले भने ।

पछिल्ला दिनमा पुराना दलसँगको सहकार्यले हिस्सेदारी खोज्ने अवस्थाले अराजनीतिकरणको मुद्दा विर्सिंएको प्रतिवेदनमा उल्लेख छ । ‘हामीले पनि साना देखि ठूलासम्म ठाउँहरुमा राजनीति कता न कता सुरु ((भागवण्डा) गरिसकेका छौं । हामी हाम्रो मुल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरुको पार्टी बनाउने पर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।  हरियो र रातोसँगै निलो रंग देखिन नहुने उनको तर्क छ । ढकालले हरियो भनी कांग्रेस र रातो भनी एमालेलाई संकेत गरेका छन् । संगठन र समूह भनेको के हो भनी पार्टीपङ्तिप्रति उनले प्रश्न उठाएका छन् ।

पार्टीको ओरालो यात्रा तीव्र गतिमा रहेकाले जनमत खस्किँदै गएकोप्रति सचेत बनाएका छन् । पार्टीको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले  वर्तमानमा जनमतविहीन जस्तै अवस्थामा लेखेका छन् । ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मे हम्मे तरिकाले राष्ट्रीय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला । भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।

ढकालले समीक्षा यात्राका क्रममा प्रदेश संरचना खारेज गर्नुपर्ने मतहरु पूर्वदेखि पश्चिमसम्म सुनिएको बताए । ढकालले प्रदेश संरचना खारेज गर्नुपर्ने तर्क सहितको प्रतिवेदन पेश गरेका छन् । प्रदेश संरचना खारेज र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा प्रतिवेदन तयार भएको छ । ढकाल भन्छन् ‘प्रत्यक्ष कार्यकारीको पक्षमा पार्टी उभिनुपर्ने पार्टी दस्तावेजमा लेखिए पनि पार्टी नेताहरुले यसलाई जोडतोडले मुखरित गर्न सकेनन् ।’

शिक्षामन्त्री प्रभावकारी बन्दा अरु मन्त्री खै ? : महामन्त्री ढकालले रास्वपाले सम्हालेका चार मन्त्रालयमा एकमा मात्रै सन्तोषजनक कार्य भएको उल्लेख गरेका छन् । स्वयं सभापति लामिछानेले सम्हालेको गृह मन्त्रालयको कार्य प्रभावकारी नभएको प्रतिवेदनमा लेखेका छन् ।  सहमहामन्त्री सुमना श्रेष्ठले सम्हालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने प्रभावकारी भएको ढकालको बुझाइ छ ।

उपसभापति डीपी अर्याल मन्त्री रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कामबाट उनले असन्तुष्टि व्यक्त गरेका छन् । साथै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सम्हालेको युवा तथा खेलकुद् मन्त्रालयको काम कारबाही प्रभावकारी हुन नसकेको उनको ठम्याई छ ।

पार्टी सरकारमा रहनुपर्नुको औचित्य पुष्टि गर्नुपर्ने ढकालले तयार गरिएको प्रतिवेदनमा लेखिएको छ । ‘सरकारमा गएर हामी भूमरीमा फसिसकेको अवस्था छ । सरकारबाट सुटुक्क निस्कने सुविधा अब छैन । त्यहाँ पसिसकेपछि त्यसको औचित्य मन्त्रीहरुले पुष्टि गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेखित विषयलाई ढकाल भन्छन् । सरकारमा गएको औचित्य पुष्टि गर्न सकेको अवस्थामा भने ओरालो यात्रा रोकिने ढकालको भनाइ छ ।

मुलुक घुमेर महामन्त्री मुकुलले रास्वपामा ल्याएको हलचल

यस्ता निष्कर्षहरु निकाल्दै प्रतिवेदन तयार पारे पनि ढकालले सभापति लामिछानेलाई बुधबार साँझ तुरुन्तै भेट्न सम्भव भएन । बुधबार साँझ ६ बजे सभापति लामिछानेलाई प्रतिवेदन बुझाउने भनी सूचना दिएका ढकालले ढिलोगरी मात्रै भेट्न पाए । उनीभन्दा अघि मधेसका पूर्वमूख्यमन्त्री लालबाबु राउतले लामिछानेको निकै लामो समय लिइदिए ।

राउतलाई बिदा गरेपछि ढकाललाई भेट्दै लामिछानेले गुनासो गरे, ‘तपाईंको कुरा ठिक हो, तर तरिका भएन । प्रतिवेदनमा जे छ त्यही लेख्नु नै पथ्र्यो, तर दिँदा गोप्यता अपनाएको भए अनावश्यक होहल्ला हुँदैनथ्यो ।’

ढकालले सभापतिलाई भने, ‘यो देशमा कुखुरो मरेको समस्या पनि राष्ट्रियकरण नगरी समाधान मिल्दैन । हामी सरकारमा छौं, तर शिक्षामन्त्रीको कामबाहेक अरु मन्त्रीको पर्फर्मेन्स खोई ? ‘वन डे ब्याटल’ अर्थात् प्रत्येक दिन युद्ध हो भन्ने मानसिकतामा काम गर्नुपर्ने होइन ?’

ढकाल रास्वपाको स्थापनाकालदेखि नै पार्टीको कोर ग्रुपमा सामेल थिए । रास्वपाको सत्तारोहणसँगै, अनि पार्टीभित्र अन्य आकांक्षीहरुको समेत कारण उनी किनारामा धकेलिँदै गएको विश्लेषण पार्टीभित्रै हुने गर्छ । ढकालले बुधबार भनेका थिए, ‘म हाम्रो पार्टी विवेकशील पार्टीजस्तै बन्ने बाटोमा छ भन्ने निष्कर्षका कारण घोक्र्याइन पनि सक्छु ।’

तर विगतमा ढकालबाट समेत पीडित बनाइएको भनी चित्रित गरिएका केन्द्रीय सदस्य गणेश कार्कीले त बुधबार साँझ फेसबुकमा जवाफ नै लेखे, ‘आलोचना गर्दैमा रास्वपामा घोक्र्याइँदैन भन्ने सबुत म छु । नाजायज काम गरेकाहरुमात्रै हुन् विचारसँग डराउने ।’

रास्वपाभित्रको अन्तर्संघर्ष सामान्य प्रयासले सम्हालिन नसक्ने बाटोतर्फ अघि बढ्दैछ भन्ने बुझेरै महामन्त्री एक महिने देश दौडाहामा हिँडेको विश्लेषण पार्टीमा भइरहेको छ । पार्टीको धरातलीय यथार्थ सहितको प्रतिवेदनका केही अंश महामन्त्री ढकाल आफैंले सार्वजनिक गरेपछि रास्वपाको सिंगो पार्टी संरचना तरंगित हुन पुगेको छ ।

हामीले महामन्त्री ढकाललाई सोध्यौं, ‘समाजमा भएका प्रवृत्तिहरु पार्टीमा पनि छिटफुट देखिइहाल्छन् नि, रास्वपाले रातारात कार्यशैली बदल्न कहाँ सम्भव हुन्छ त ?’

ढकालले भने, ‘जस्तो समाज, त्यस्तै नेता भन्ने कुरा गलत हो । पार्टीले समाजको प्रतिबिम्बमात्रै बनेर हुँदैन, मान्छेको चिन्तन र सोचलाई एक कदम अगाडि लैजान सक्नुपर्छ ।’

तर पार्टीभित्र सभापति लामिछाने, महामन्त्री ढकाललाई निरन्तर चुनौती दिँदै आएका केन्द्रीय सदस्य कार्कीले भने समाजभन्दा अगाडि जाने प्रवृत्ति पार्टीभित्र पैदा भइनसकेको जिकिर गरे । चालू मुलधारका कतिपय पार्टीजस्ता गन्हाउने अवस्थामा भने रास्वपा नपुगिसकेको भन्दै कार्कीले सच्चिने प्रवृत्ति भने बलियो हुन बाँकी नै रहेको भन्दै त्यो कामको सुरुवात गर्ने कि नगर्ने भनी प्रतिप्रश्न गरे ।

मुलुक घुमेर महामन्त्री मुकुलले रास्वपामा ल्याएको हलचल

‘सरकार सभापतिले चलाउने, पार्टी महामन्त्रीले चलाउने भन्ने खासको व्यवस्था छ, महामन्त्रीले ल्याएका कुनै पनि प्रस्ताव आजसम्म पार्टीमा फेल भएका छैनन्,’ केन्द्रीय सदस्य गणेश कार्कीले भने, ‘त्यसैले अहिले पार्टीमा बबालै राम्रो केही भएको छ भने त्यसका लागि महामन्त्रीलाई धन्यवाद, तर बिग्रेको निष्कर्ष हो भने उहाँ आफैंले जिम्मा लिनुपर्छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School