मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासस्थित आठ अस्पताल अनुगमन गर्दा अवैध तथा अनधिकृत ढंगले चिकित्सा सेवा प्रदान गर्दै आएका पाँच अस्पताल भेटिए। उनले तत्काल पाँचवटै अस्पताललाई बन्द गर्न निर्देशन दिए।
मुख्यमन्त्री सिंहले शुक्रबार अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पाँचवटा अस्पताल पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन्।
सेवा सञ्चालन अनुमतिपत्रविनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिए।
यसैगरी अनुगमनका क्रममा बर्दिबासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ। सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डिएनबी मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।
केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापनलगायत पूरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीवीरगन्ज महानगरपालिकामा सञ्चालित निजी अस्पतालहरूको अनुगमन जनकपुरधामभन्दा अझ बढी बेथिति भेटियो। प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीसहित अनुगमन गर्न पुगेका मुख्यमन्त्री सिंहले अनुमति नै नलिई वर्षौंदेखि सञ्चालन गरिरहेका अस्पताल मात्र फेला पारेनन्, एनेस्थेसिया चिकित्सकबिनै बिरामीको शल्यक्रिया हुने गरेको फेला पारेका छन्। वीरगन्ज महानगरको प्रतिमा चोकमा विनादर्ता सञ्चालनमा रहेको इन्डो नेपाल हस्पिटललाई भर्ना भएका बिरामीलाई अन्यत्र स्थानान्तरण गरी पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए।
अनुगमन टोलीले वीरगन्जको भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इन्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पतालको अनुगमन निरीक्षण गरेको थियो। सबैभन्दा पहिले भवानी अस्पतालको निरीक्षण गरी अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन प्रभावकारी बनाउन निर्देशनसमेत निर्देशन दिएको थियो।
जनकपुरधाम उप महानगरपालिका– १४ पिडारी चोकस्थित यस मुस्कान अस्पतालका चिकित्सकले माघ ३ गते सर्लाहीको हरिपुर्वा नगरपालिका– ५ की पविताकुमारी राय यादवका पित्तथैलीमा पत्थरी भएको भन्दै शल्यक्रिया गरेको थियो। पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस पविताको अझसम्म होस नफर्केको परिवारजनको भनाइ छ।
पीडित परिवारले अस्पताल र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिललगायतमा उजुरी दिएका छन्। यो घटना सार्वजनिक भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्दा विनादर्ता सञ्चालनमा रहेको पाइयो। त्यसपछि माघ २६ गते मुख्यमन्त्रीसहितको अनुगमन तथा निरीक्षण टोलीले अस्पतालका बिरामीलाई सुरक्षित सारेर यस अस्पताललाई बन्द गराएको थियो।
यस घटनापछि मुख्यमन्त्रीले जनकपुरधामका अन्य अस्पताल तथा मधेस प्रदेशका निजी अस्पतालहरूको अनगुमन निरीक्षण गर्ने योजना बनाए। र, मधेस प्रदेशका जनकपुरधाम, वीरगन्ज, बर्दिबास र लालगढमा अनुगमन निरीक्षणका क्रममा दर्ताविनै तथा मापदण्डबाहिर सञ्चालनमा रहेका २१ वटा निजी अस्पताललाई मधेस प्रदेश सरकारले बन्द गराएको छ। यी अस्पताललाई बन्द गरी कानुनी प्रक्रियामा पूरा गर्नसमेत प्रदेश सरकारले निर्देशन दिएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामल, वीरगन्जलगायत ४० भन्दा बढी निजी अस्पतालको अनुगमन निरीक्षण गरेका छन्। त्यसमध्ये १७ वटा दर्ताविना नै सञ्चालनमा रहेको र धेरै मापदण्ड मिचेर सञ्चालनमा रहेको रहस्य खुलेको छ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पूरा नगरेका जनकपुरका १५ वटा निजी अस्पतालमा ताला नै लगाइएको छ। ‘बाँकीलाई बन्द राखी कानुनी प्रक्रिया पूरा गर्न भनेका छौं’, उनले भने।
ठाकुरले जनकपुरका १६ वटा निजी अस्पतालले नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएको बताए।’ अनुगमन गरिएका जनकपुरका नौवटा निजी अस्पतालको भने सबै प्रक्रिया दुरुस्त देखिए’, उनले भने, ‘दर्ता नरहेका अस्पताललाई बन्द गरिएको छ भने नवीकरणविना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममै अवैध तथा अनधिकृत निजी अस्पतालमा बिरामीको चाप रहेको र मापदण्ड पूरा गरी सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका अस्पतालका बेड खाली रहेको अनुगमनका क्रममा भेटिएको मुख्यमन्त्री सिंहले बताए। उनले निजी अस्पतालसम्म बिरामी ओसार्न कमिसनको चलखेल गर्ने एम्बुलेन्स चालक र बाउन्सर सक्रिय रहेको अझ तिनीहरूले जथाभावी निजी अस्पताल सञ्चालन गरिरहेको सिंहले नागरिकसँग भने।
चर्को कमिसनपछि मात्र एम्बलेन्स चालकलगायत दलालले बिरामी पठाउने र त्यस स्तरको रकम मापदण्डअनुसारका सेवासुविधा दिने अस्पतालले दिन नसक्ने भएपछि अस्पताल सञ्चालनमै कठिनाइ हुँदै आएको वैध अस्पताल सञ्चालकहरूले गुनासो गर्दै आएका बेला यथार्थ पत्ता लगाउन मुख्यमन्त्री सिंह एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका व्यक्तिसँग फोन संवाद नै गरे।
मुख्यमन्त्री सिंहले सरोज नाउँ गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्पताल गत आइतबार १२ बजेपछि बन्द भएकाले छेवैको गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिएका थिए।
एम्बुलेन्स चालकको परिचयका साथ कुरा गरिरहेका मुख्यमन्त्री सिंहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती व्यक्तिले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएका थिए। सो क्रममा अस्पतालका प्रतिनिधि व्यक्तिले मधेस सरकारको मुख्यमन्त्रीसहितको सरकारी टोलीको अनुगमनपछि गलत तरिकाले अस्पताल सञ्चालन गर्नेमा ठूलो भय र त्रास छाएको भनेका छन्। जनकपुर मोडल अस्पताललगायतका निजी अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएबापत बिरामीको आर्थिक अवस्थाअनुसार कमिसन दिने गरेको सो संवादबाट पुष्टि भएको छ।
निजी अस्पतालको अनुगमनको अनुभव सुनाउँदै मुख्यमन्त्री सिंह भन्छन्, ‘अधिकांश अस्पतालहरूमा एनेस्थेसिया चिकित्सकविनै शल्यक्रिया हुने गरेको पाइएको छ। उनले भनेका छन्, ‘जनकपुरधामका धेरै अस्पतालको अनुगमन गरें, तर त्यहाँ सबै गम्भीर लापरबाही रहेको पाइएको छ। अन्य ठाउँका निजी अस्पतालको बेथिति पनि उस्तै छ। त्यो हो– एनेस्थेसिया चिकित्सकविनै शल्यक्रिया हुनु।’
उनका अनुसार शल्यक्रिया कक्षमा बिरामीको शल्यक्रिया गर्दा एनेस्थेसिया चिकित्सक हुनुपर्ने अनिवार्य हो, तर अधिकांश निजी अस्पतालहरूमा त्यो चिकित्सकविनै तालिम लिएकाहरूबाट शल्यक्रिया हुने गरेको पाइयो।
उनी भन्छन्, ‘ शल्यक्रियाका बखत अनुगमनमा जाँदा अधिकांश अस्पतालमा एनेस्थेसियाको चिकित्सक पाइनँ, त्यहाँ नामका लागि मात्रै एनेस्थेसियाको चिकित्सकको नाम लेखिएको हुँदो रहेछ। तर भौतिकरूपमा शल्यक्रिया कक्षमा भने दुई÷चार महिना तालिम लिएकाहरूलाई राखिएको हुन्छ अनि उसैका भरमा शल्यक्रिया हुँदो रहेछ।’
उनले आम जनताको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको सुनाए। एसिस्टेन्टका भरमा अस्पतालहरूले शल्यक्रिया गरिरहेको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ। यही कारणले शल्यक्रिया गरिएका बिरामीको रिकभरीमा समस्या आइरहेको उनले बताएका छन्। अस्पतालहरूमा देखिएका समस्या कडाइका साथ समाधान गर्ने उनले बताए।
यसअघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा उपचारमा लापरबाहीका कारण थुप्रा निर्दोषले ज्यान गुमाए। दर्ताविना नै सञ्चालित त्यस्ता अस्पताल निर्वाध सञ्चालन भइरहे। दर्ता, नवीकरण, अनुगमन र कारबाहीको अधिकार राख्ने मधेस प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालय (हालको स्वास्थ्य मन्त्रालय) र मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय र मधेस प्रदेश सरकारको मुखिया मुख्यमन्त्री सो अस्पतालबारे अनभिज्ञ थिएनन्, तर कसैले कारबाही गर्ने हिम्मत गरेनन्।
मधेस सरकारको मुख्यालय रहेको जनकपुरधाममै अवैध अस्पतालले मृत्युको कारखाना चलाइरहेपछि अनुसन्धान तथा कारबाही हुन सकेको थिएन। जसले मधेस सरकार र राज्यलाई नै गिज्याइरहेको थियो।‘मानिसको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य हो’, मधेस प्रदेश सरकारका मुख्यमन्त्री सिंहले नागरिकसँग भने, ‘मधेस प्रदेशमा सञ्चालित निजी अस्पतालमा पटकपटक बिरामीको ज्यानसँग खेलबाड हुँदा पनि सरकार निरीह दर्शक बन्नु विडम्बना हो।’
प्रकाशित: १९ फाल्गुन २०८१ ०९:०७ सोमबार