‘रात रहे अग्राख पलाउँछ!’ एक नेपाली उखान। धेरैलाई यो उखानको अर्थ थाहा हुनुपर्छ, कसैलाई थाहा नहुन पनि सक्छ। त्यस्ता पाठकका लागि– कुनै कुरा गर्न ढिला भएमा पहिलाको जस्तो सहज र अनुकूल परिस्थिति नरहन सक्छ, अलि असहज हुन सक्छ, जसरी रुख पुरानो हुँदै गएपछि यसको नरम गुदी कडा हुँदै जान्छ, अग्राख बन्छ।
उखानको प्रयोग गरिन्छ, कुनै अर्को प्रसंगलाई बढी राम्ररी वा प्रभावकारी ढंगले बुझाउन, बताउन। यो पङ्क्तिकारले पनि यो उखानको सहारा लिएको छ पाथीभरामा केबुलकार बनाउने प्रसंगमा। यो उखानसँग केबुलकार प्रसंग ठ्याक्कै मिल्न गएको छ।
त्यो कसरी भन्नुहोला भने डाँडाको सिरानमा रहेको पाथीभरा मन्दिर पुग्न काफ्लेपाटीबाट केबुलकार बनाउने कुराको बिउ २०४४ सालमा नै रोपिएको रहेछ। विकास क्षेत्र भ्रमणका क्रममा पुसमा ताप्लेजुङको सदरमुकाम फुङलिङ तत्कालीन राजा रानी वीरेन्द्र र ऐश्वर्य जाँदा पाथीभरा दर्शन गर्न जान सहज होस् भनी केबुलकार बनाउनुपर्ने प्रस्ताव राखी ओलाङचुङ्गोलाका व्यवसायी छवाङ तेन्जिङ शेर्पाले त्यो बिउ रोपेका रहेछन्। त्यसबेला त्यो प्रस्तावले खासै भाउ पाएनछ।
एक दशकपछि २०५४ सालमा उनै छवाङले अरू दुई जना व्यवसायीसँग मिलेर त्यसै साल गठित पाथीभरा क्षेत्र विकास समिति समक्ष ‘कञ्चनजङ्घा केबुलकार प्रालि’का तर्फबाट केबुलकार बनाउने प्रस्ताव राखे तीन सर्तसहित– केबुलकार निर्माण गर्न जग्गा उपलब्ध गराउनु पर्ने, सुकेटारदेखि काफ्लेपाटीसम्म मोटरबाटो बनाउनुपर्ने तथा एक मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने।
एकातर्फ माओवादीको सशस्त्र संघर्षले विकास निर्माणका काम असहज भएको बेला, विद्युत् र जग्गासमेत पनि उपलब्ध हुन सकेनछ। त्यसमाथि काबेली खोलामा पुल बनेको थिएँ ठुला सामग्री ढुवानी गर्न। यति भएपछि त केबुलकार निर्माण आकाशको फलजस्तो भइगयो। व्यावसायिक अवधारणा त्यसै तुहिएर गयो।
२०७२ सालतिर आएर केबुलकार बनाउन व्यवसायीहरू फेरि ताते। संघई ग्रुपका सुभास संघईले त्रिवेणी केबुलकार कम्पनी दर्ता गरी पाथीभरा मन्दिर छेउछाउका ६ सामुदायिक वनका अध्यक्षहरूबाट केबुलकार बनाउन सहमति लिएछन्। त्यसको अर्थ सामुदायिक वनमा जुन हदको खलबल पर्न सक्छ, त्यसमा वनको आपत्ति रहने छैन भन्ने थियो। त्यो सहमतिलाई सिरानी बनाएर अन्य सम्प्रति निकायबाट पनि अनुमति लिएछन् उनले। त्यही साल विराटनगरका मेयर भएका ध्रुवनारायण श्रेष्ठ नेतृत्वमा पाथीभरा माता दर्शन केबलकार प्रालि पनि दर्ता भएछ। दुई वटा केबुलकार कम्पनी एकै ठाउँका लागि। अनि त तँछाडमछाड हुने नै भयो। उनले संघई ग्रुपले लिएको सहमति झुठो भएको प्रमाणित गराई उनीहरूले गरेको प्राविधिक अध्ययन वापतको खर्च पाँच रूपैयाँ करोड तिरी आफूले मात्र केबुलकार बनाउने अनुमति लिएछन्। पछि यती ग्रुपले यसलाई लिएपछि आफू (ध्रुवनारायण) अलग भएछन्।
यती ग्रुपबाट आइएमई ग्रुपले किनेर अनुमतिका सबै प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गर्न लाग्दा ‘नो केबुलकार’का पक्षधरहरूले उग्ररूपको विरोध प्रदर्शन गरे अहिले आएर। ४० वर्षअघि रोपिएको बिउ टुसाउँदै गर्दा विरोध भयो। विरोध प्रदर्शनका क्रममा माघ १२ गते प्रहरीसँग विरोधी भिडको घमासान भिडन्त हुँदा १८ जना घाइते भए, गोली चल्यो, केहीलाई प्रहरीले हिरासतमा राख्यो पनि। यसले विरोधको आगोलाई हुरीले झैं झन् दन्कायो, मेची करिडोर बन्द भयो, नौ जिल्लामा विरोधका उग्र कार्यक्रम गरिए।
सरकारले वार्ता टोलीसँग वार्ता ग¥यो। तर कर्मचारीसँग गरिएको वार्ताबाट निकास ननिस्केको हुँदा राजनीतिक टोलीसँग वार्ता गर्ने माग आन्दोलित पक्षको छ अहिले। कर्मचारी प्रतिनिधि त भुरेभारे भए प्रदर्शनकारीका लागि। अहिले जनजीवन केही हदमा सामान्य भएको देखिन्छ सुनामीपछिको भग्न अवस्थाको शान्ति जस्तो। फेरि सुनामी आउन पनि सक्छ। विरोधीहरू केबुलकार बन्न नदिने मागमा नै छन्।
उनीहरूको भनाइ छ– पाथीभरा मुन्धुमीय धार्मिक स्थल भएकाले केबुलकार खालको भौतिक संरचना निर्माण गरी त्यहाँको शान्त वातावरण बिथोलिन नदिने र पाथीभरा माता मन्दिरस्थलको नाम किराती समुदायले मुक्कुमलुङ भन्ने गरेकाले त्यही नाम प्रचलनमा आउनुपर्ने।
अहिले अन्योलमा पुगेको छ– पाथीभरा पुग्ने केबुलकार बन्ला कि नबन्ला, उकालो चढ्न नसक्ने तीर्थालु डाँडाको सिरानमा रहेको पाथीभरा माता वा मुक्कुमलुङमा केबुलकार चढी सरर पुग्न पाउलान् कि नपाउलान् ? यहाँ स्याँस्याँ गर्दै वा बोकिँदै पुग्नुपर्ने हो? अलि पहिले भएको भए केबुलकार बन्ने नै रहेछ, यति ठुलो विरोधी स्वर त्यस बेला उठेका थिएनन्। अहिले आएर उग्र विरोध उठेको छ, सुरुमा उल्लेख गरिएको उखानले बताउन खोजेझैं– रात रह्यो, अग्राख पलायो, त्यसैले अहिले अन्योल झाँगिएको छ।
मुक्कुमलुङ, मुन्धुमीय सस्कृति तथा विचारको सम्मान गर्दै केबुलकार निर्माण गर्न दिने कि नदिने विषय कसरी बुझ्नु र व्यवहार गर्नु उपयुक्त होला भनी व्यक्तिगत विचार प्रस्तुत गर्न चाहेको छु यस लेखनीमा। विचार व्यक्तिगत भए पनि सत्यमा आधारित छन्, खाली आग्रह मात्र छैन।
हामी विज्ञान प्रगतिमा भएको विकाससँगै अघि बढ्दैछौं र पुराना चालचलन तथा संस्कृतिलाई जोगाउन खोज्दै, मानव जीवनलाई सहज तथा सुरक्षित बनाउँदै। कहिलेकाहीं चालचलन, संस्कृति तथा मानव जीवनको सहजता र सुरक्षाबिच द्वन्द्वको स्थिति सिर्जना भएमा कुनलाई प्राथमिकता दिने भन्नेमा विवाद हुन सक्छ, त्यस्तोमा मानवका लागि नै चालचलन र संस्कृति चाहिएको हो, यिनका लागि मानव चाहिएको होइन। अर्थात् मानव हित र सुरक्षाको विषय प्राथमिक हुन् र कुनै मुद्दामा कुन कुरामा प्राथमिकता पाउने भनी द्विविधजनक स्थिति आएमा मानव हित र सुरक्षा नै प्रमुख मानिनुपर्ने हुन्छ। यसो हुँदा रहर भएर पनि आजसम्म त्यहाँको देवस्थलसम्म पुग्न नसकेका वृद्ध, अशक्त तथा बालकहरू पनि पुग्न सक्नेछन्।
जहाँसम्म धार्मिक स्थल संरक्षणको कुरो छ– मन्दिर परिसरभित्र वा भइरहेका धार्मिक संरचनाभित्र नै छिराएर वा भइरहेका मुख्य संरचना भत्काएर केबुलकारको माथिल्लो स्टेसन बनाउन लागिएको होइन होला। केही तल स्टेसन बनाई हिँडेर अलि पर पुगेर नै मन्दिर प्रवेश गरिने प्रबन्ध गरिएको होला मनकामनामाझैं। यदि यसो भएको होइन भने त्यसो गर्न भन्न जायज नै हुन्छ। यसो गर्नाले झन् मानिसको प्रवाह बढ्ने त छँदैछ, आर्थिक क्रियाकलापमा पनि वृद्धि हुने नै छ। यसका कारण केबुलकार कम्पनी मात्र होइन, त्यहाँका जनता, त्यहाँको स्थानीय तह पनि लाभान्वित हुनेछन्।
ताप्लेजुङका सांसद योगेश भट्टराईले गरेको प्रक्षेपणअनुसार हालको करिब तीन लाख संख्यामा आउने तीर्थालुको सङ्ख्या तीन गुना जति बढी १० लाख पुग्न सक्नेछ। यो प्रक्षेपण हावादारी भन्न जायज हुन्न मनकामनामा केबुलकारले बढाएको सङ्ख्या हेर्दा।
संस्कृतिको जगेर्ना त्यसबेला बढी हुन्छ, जुनबेला त्यसलाई आयसँग जोडिन्छ। आय बढ्ने बित्तिकै धेरै कुरा हुन्छन्, हुँदाहुँदा मान्छेको मन, क्रियाकलापसमेत चलायमान हुन्छन्। यसो भनूँ– जसरी चेतना वा प्राण नै जीव अस्तित्वको मूल तत्त्व हो, त्यसरी नै आर्थिक उपार्जन बाह्य पक्षको विकास गराउने, चलाउने मुख्य तत्त्व हो। बढी पर्यटक आउनु भनेको आय बढ्नु हो। बढी तीर्थालु÷पर्यटक आउन सक्ने हरेक खालको प्रयास गरेमा नै पाथीभरा वा मुक्कुमलुङ क्षेत्रको बढी विकास हुने हो।
केबुलकार बढी पर्यटक तान्न र आएका तीर्थालुलाई सुविधा दिई अतिरिक्त आय आर्जन गर्न खोजिएको हो। त्यसकारण संस्कृति संरक्षण गर्ने भन्दै आय बढ्ने उपायलाई उपेक्षा गर्न मिल्दैन। यी दुई विपरीत दिशामा हिँड्दैनन्, दोबाटोमा भेटिने हुन्। त्यसैले त पर्यटक जाने ठाउँमा लोकगीत, लोकनाचको कसरी पुनर्जागरण भइरहेछ। उदाहरण खोज्न कहीं जानुपर्दैन– नेपाल आएर फर्कने पर्यटकले ‘रेसम फिरिरी…’ गीत नसुनेको र गाउने प्रयास नगरेको बिरलै कोही हुन्छ। अनि हुँदैन संस्कृति प्रवर्धन?
अर्को कुरा, पाथीभरा माता मन्दिरलाई ‘मुक्कुमलुङ’ नामले चिनाइनुपर्ने, अर्थात् औपचारिक नाम यो हुनुपर्ने आवाजसमेत उठेको सुनियो। लिम्बू जातिलाई यो नाम प्यारो रहेको प्रस्ट छ, यसमा अरूलाई आपत्ति हुनुपर्ने कुनै कारण छैन तर यही नाम मात्र हुनुपर्छ भनी जिद्दी कस्नु हुँदैन।
मुक्कुमलुङ भन्न मन लाग्नेले यही भनून्, पाथीभरा भन्नेले त्यही भनून्– नामका लागि ‘तेरा भैरव साना, मेरा भैरव ठुला’ भनी पाखुरा सुर्कासुर्की किन गर्नू? विश्वको सर्वोच्च शिखरलाई हामी नेपालीले सगरमाथा, विदेशीले माउन्ट एभरेस्ट र तिब्बतीले चोमोलोङ्मा भनेर चलेकै छ, झगडा छैन त ! जसलाई जे भन्न मन लाग्छ, त्यही भने भइहाल्छ।
यदि औपचारिक नाम मुक्कुमलुङ हुनैपर्छ भने पाथीभरा नाम नभनियोस् भन्ने जिद्दी भने अर्को पक्षलाई होच्याएको जस्तो हुनेछ। त्यसो गर्दा पाथीभरा नै मात्र भनिनुपर्छ चिढिए भने तिनको सङ्ख्या बढी छ भन्ने ख्याल भने गरे बेस होला !आशा गरौं, अब हुने वार्ताका चरणमा यी माथिका बुँदा पनि विचार गरिने छन्।
प्रकाशित: ५ फाल्गुन २०८१ ०९:१३ सोमबार