‘मिलिजुली’ राजनीतिको अन्तर्य : RajdhaniDaily.com

‘मिलिजुली’ राजनीतिको अन्तर्य : RajdhaniDaily.com


किशोर नेपाल

कांग्रेस र एमाले पार्टीको ‘मिलिजुली’ सरकारको निर्माण धेरैका लागि ‘अनौठो घटना’ हुनसक्छ । तर, यो अनौठो घटना होइन । २०४६ सालको परिवर्तनका लागि नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको आह्वानमा वामपन्थी शक्तिहरू संघर्षमा जुटेका थिए । कांग्रेस र वामपन्थी शक्तिहरूको ५६ दिन लामो आन्दोलनपछि राजाको सक्रिय नेतृत्वमा चलेको निर्दलीय पञ्चायती व्यवस्था ढलेको थियो । यो ऐतिहासिक विजयपछि मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को गठन भएको थियो । पार्टीका महासचिव हुनुहुन्थ्यो– मदन भण्डारी ।

निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्यपछि भएको संसदीय निर्वाचनदेखि अहिलेसम्म कांग्रेस र एमाले कहिल्यै पनि सँगसँगै हिँडेनन् । एमालेले निरन्तर संसद्को अवरोध गरिरह्यो । मुग्लिन–नारायणघाट सडकखण्डको दासढुंगामा भएको सवारी दुर्घटनामा एमाले महासचिव मदन भण्डारीको निधन भएपछि त सत्ता पक्षमा रहेको कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका बीच पानी बाराबारको अवस्था उत्पन्न भयो । निकट अतितका यी घटना सम्झनामा राख्नेहरूका लागि अहिले बनेको कांग्रेस–एमालेको गठबन्धन सरकार एकप्रकारले विडम्बना नै हो । तर, दक्षिण एसियाको राजनीतिमा यो अनौठो घटना होइन ।

अहिलेको सरकार कांग्रेस र एमाले पार्टीले वर्तमान समयमा देशले भोग्नुपरेका गम्भीर राजनीतिक र आर्थिक समस्या समाधान गर्न बनेको होइन । ’cause, अहिलेको राजनीतिक विकृति र आर्थिक समस्याका कारण कांग्रेस र एमालेका असक्षम नेताहरूको सिद्धान्तहीन राजनीति नै हो ।

माओवादी जनयुद्धको कारक पनि कांग्रेस र एमालेको नेतृत्व नै हो । वर्तमान सरकार तात्कालीक समयमा देखिएका जटिलतम ‘आन्तरिक’ समस्याको समाधान गर्न बनेको हो । तर, कांग्रेस र एमालेको नेतृत्व अहिले देखिएका समस्याहरूको समाधान गर्न सक्षम देखिँदैन । बृहत् शान्ति सम्झौताको एक दशकपछि २०७२ सालमा संघीय गणतन्त्र नेपालको संविधान बनेयता जनयुद्धको नेतृत्व गरेर देशमा चलिरहेको परम्परागत शैलीको राजनीतिलाई विस्थापित गर्न सफल हुनुभएका माओवादी नेता प्रचण्डको सत्तारोहण ‘चामत्कारिक’ घटना थियो । संविधानसभाको पहिलो निर्वाचनमा उहाँको प्रचण्ड विजय काठमाडौंका एलिटका नजरमा आश्चर्यजनक घटना थियो । कता २०–२५ स्थानमा विजय प्राप्त गर्ने लेखाजोखा गरेर बसेका विद्वत्वर्ग माओवादीको व्यापक विजयपछि स्तब्ध भएको थियो ।

तर, नेपाली राजनीतिमा ‘अन्तर्घात’ शब्दको ठूलो महत्व रहेको छ । माओवादीलाई शान्तिको बाटोमा ल्याउनुहुने नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालामाथि माओवादी नेतृत्वले अन्तर्घात ग¥यो । माओवादी पार्टीका अध्यक्ष रहनुभएका प्रचण्ड र पार्टी नेतृत्वमा रहेका उहाँका मित्रहरूको समूहबाट गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति बनाउने ‘भद्र सहमति’को पालना भएन । युद्धभूमिबाट सत्ताको बार्दलीमा अवतरण गरेका माओवादीहरू राष्ट्रपतिको निर्वाचन गराउने अडानमा रहे । उनीहरूको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बन्नुभएका रामराजाप्रसाद सिंह निर्वाचनमा पराजित हुनुभयो । उहाँका ठाउँमा नेपाली कांग्रेसका नेता रामवरण यादवको विजय माओवादी नेतृत्वका लागि कल्पनातीत थियो ।

संविधानसभाको पहिलो निर्वाचनमा भव्य सफलता पाए पनि दोस्रो निर्वाचनपछि माओवादीको ओरालो यात्रा सुरु भयो । माओवादी पार्टी विभाजनको विग्रहमा भासियो । तैपनि, माओवादी सत्ताबाट टाढा रहनुपरेन । माओवादी पार्टीका अध्यक्ष प्रचण्ड तीनपटक सत्ताको शिखरमा पुग्नुभयो ।

पहिलोपटक उहाँले कांग्रेससँगको गठबन्धन सरकारको नेतृत्व गर्नुभयो । त्यसपछि एमालेसँग पार्टी एकताको असहज यात्रामा प्रवेश गर्नुभयो । त्यो उहाँका लागि दुर्घटना साबित भयो । पछिल्लो समयमा रामचन्द्र पौडेललाई सहमतिको राष्ट्रपतिका रूपमा निर्वाचित गराउन उहाँले गर्नुभएको पहल प्रासांगिक साबित भयो । तेस्रोपटक, कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अचानक छड्किनुभयो । कांग्रेसको महासमिति बैठकमा ‘प्रभावशाली’ नेताहरूले जनयुद्धका अप्रिय घटनाहरूको सम्झना गरेपछि उहाँ एकपटक फेरि ‘राजनीतिक’ शरण खोज्दै एमालेसँग गठबन्धनमा प्रवेश गर्नुभयो । त्यो गठबन्धन धेरै टिकेन । यहीबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड् गप्रसाद शर्मा ओलीका बीच संयुक्त रूपले सत्ता चलाउने सहमति भयो । यसको छनक प्रचण्डले अन्तिम समयसम्म पनि पाउनुभएन । प्रचण्डको नियतमा कुनै खोट लगाउन सकिँदैन । तर, उहाँ जहिले पनि द्विविधाको राजनीतिमा अलमलिनुभयो । उहाँले आफ्नो मनको द्विविधालाई कहिल्यै जित्न सक्नुभएन । उहाँ सिनेमाको निर्देशक बन्नुपर्ने व्यक्ति नायक बन्न खोज्नुभयो । सिनेमाको नायक जति लोकप्रिय भए पनि उसको लोकप्रियताका आधार निर्देशकले तयार पारेको हुन्छ । त्यो तथ्य बिर्सिन चाहनुभयो प्रचण्डले ।

आजका नेताहरूमा जनताप्रति दायित्वबोधको भावना नै छैन । अहिलेका स्थापित भनिने नेताहरू, चाहे देउवा हुन्, चाहे ओली हुन्, चाहे प्रचण्ड हुन् : यिनीहरूले जनताको मत त पाएका छन्, तर उनीहरूको स्नेह र सद्भाव कमाउन सकेका छैनन् । नयाँ भनिने नेताहरू पनि एउटै ड्याङका मूलाजस्ता छन्

देउवा–ओली नेतृत्वको गठबन्धनले चलाउने अहिलेको सरकार ‘पुरै समय’ चल्ने आशा कांग्रेस र एमालेका नेताहरूले मात्रै होइन, तीसँग जोडिएका साना पार्टीका नेताहरूले पनि राखेका छन् । दुवै पार्टीका नेताहरूमा सरकार पुरै समय चल्ने विश्वास देखिन्छ । दुवै पार्टीको अस्तित्व परस्परमा गाँसिएको मनोरञ्जक विचार पनि प्रवाहित भइरहेका छन् । दुवै पार्टीका ‘निहित’ स्वार्थ एकैप्रकारका देखिन्छन् । कांग्रेस र एमालेका नेताहरूले देशमा देखिएको अभद्र प्रकारको अव्यवस्था र ‘रोमान्टिक’ राजनीतिको दोष संविधानमाथि थोपर्नुभएको छ । तर, संविधान निर्दोष छ । संविधान बनेपछि दुईवटा निर्वाचन सम्पन्न भइसकेका छन् । संविधानको खोट अहिले देखाउन थालिएको छ । अहिलेको संविधानमा कमी कमजोरीहरू थुप्रै छन् । नेपालका सामान्य जनताले संविधानका आधारभूत तत्वहरूको जानकारीसम्म पाएका छैनन् । यस्तो अवस्थामा संविधानमा के संशोधन गर्ने ? किन संशोधन गर्ने ? प्रश्नले जवाफ खोजिरहेका छन् । पहिलो जनआन्दोलनपछि निर्वाचित संसद्को पहिलो सभामुख तथा संविधानविद् दमननाथ ढुंगानाले संशोधनभन्दा पहिले संविधानको पुनरावलोकन गर्नुपर्ने विचार प्रकट गर्नुभएको छ । उहाँको विचार बलियो छ ।

्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्ध र २०६२ सालमा राजनीतिक दलहरू तथा बृहत् नागरिक समाजले गरेको आन्दोलनले देशमा गणतन्त्रको ढोका खोल्यो । हामीले त्यो परिवर्तनको ठूलो हर्षका साथ स्वागत ग¥यौं । नेपालका सबै जाति, जनजाति, उत्पीडित जनताले आन्दोलनबाट प्रेरणा पाए । देशमा फैलिएको जातीय विभाजनको बोझबाट जनताले मुक्ति पाउने विश्वास गरेका थिए । तर, परिणाम उल्टो आउन थाल्यो । जनतालाई बलियो बनाउन ल्याइएको व्यवस्थाभित्र दलका नेताहरूको चलखेल सुरु भयो । उनीहरूले जनतालाई उत्साहित र उत्प्रेरित गर्न कुनै काम गर्न सकेनन् । प्रदेश बन्यो । तर, प्रदेशका जनताले आफ्नै प्रदेशको स्याहार सम्भार गर्ने अधिकार पाएनन् । चहकिलो गलैंचाजस्तो सुन्दर देश हेर्दाहेर्दै जर्जर हुनथाल्यो । संघीयतालाई केन्द्रले निर्देशित गर्न थाल्यो ।

कांग्रेस, एमाले, माओवादी र अन्य ठूलासाना दलका बीचको गठबन्धन मात्रले देशको विकास हुन सक्दैन । जबसम्म राजनीति गर्ने व्यक्तिहरू निजी स्वार्थमा चुर्लुम्म डुबेका हुन्छन्, तबसम्म देश उँभो लाग्न सक्दैन । आजका नेताहरूमा जनताप्रति दायित्वबोधको भावना नै छैन । अहिलेका स्थापित भनिने नेताहरू, चाहे देउवा हुन्, चाहे ओली हुन्, चाहे प्रचण्ड हुन् ः यिनीहरूले जनताको मत त पाएका छन्, तर उनीहरूको स्नेह र सद्भाव कमाउन सकेका छैनन् । नयाँ भनिने नेताहरू पनि एउटै ड्याङका मूलाजस्ता छन् ।

नेपालका राजनीतिक दलका अहिलेका नेताहरूले राजनीतिक दलको उद्देश्य र उपादेयता बुझेका छैनन् । नेताका परिवारजनहरूको राजनीति र शासन व्यवस्थामा अत्यधिक संलग्नता, आर्थिक मामिलामा नेताहरूको अपारदर्शी काम, राज्यलाई निजी बिर्ता सम्झिने प्रवृत्ति र वैदेशिक मामिलामा रहस्यमय व्यवहार– अहिले नेपाली जनताका समस्या बनेका छन् । यस्ता प्रवृत्तिहरूका विरुद्ध जनता जागरुक हुनुपर्छ । नेपाली नेताहरू यो प्रवृत्तिबाट मुक्त नभएसम्म देशको रूपरेखामा कुनै प्रकारको फेरबदल आउने देखिँदैन ।

(Visited 24 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School