मानव तस्करले बन्धकस्थल बनाएको काठमाडौं

मानव तस्करले बन्धकस्थल बनाएको काठमाडौं


४ वैशाख, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जघन्य प्रकृतिका अपराध हेर्ने ४ नम्बर पिलरमा २२ चैतमा एउटा सूचना आयो, ‘दुई जना श्रीलंकन नागरिकलाई होटल सिस्टर होममा बन्धक बनाएर राखिएको छ ।’

सूचनालाई भेरिफाई गरी होटल पुगेको प्रहरीले दुई जना श्रीलंकन नागरिकको उद्धार गर्‍यो । अनि उनीहरुलाई बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लियो । प्रहरीले दुवैको मोबाइल पनि नियन्त्रणमा लियो ।

त्यसमध्ये एक जनाको फोनमा कल आयो, जसलाई डीएसपी अनिल घिमिरेले उठाए । फोन गर्ने व्यक्तिले आफ्नै साथी ठानेर मित्रनगरको राजारानी होटलमा आउन भने । प्रहरीको टोलीले तत्काल त्यहीँ पुगेर थप चार श्रीलंकन नागरिकको उद्धार गर्‍यो भने थप दुई पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लियो ।

श्रीलंकन नागरिकलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका पाकिस्तानी नागरिकहरु जुबैर अजमद, शाहजहन तन्विर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई थप अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी परिसर, काठमाडौं पठायो ।

प्रहरी अनुसन्धानका क्रममा बन्धक बनाइएका श्रीलंकनहरुलाई युरोप पठाउने भन्दै श्रीलंकन एजेन्टले हवाई मार्गबाट काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं आएलगतै पाकिस्तानीको जिम्मा लगाएर श्रीलंकन एजेन्ट फरार भए ।

डीएसपी घिमिरेका अनुसार उद्धार गरिएका ६ श्रीलंकनमध्ये दुईले ७५-७५ लाख श्रीलंकन रुपैयाँ बुझाएको खुलेको छ । बाँकी चारजनामध्ये एक जनाबाट १० हजार अमेरिकन डलर, दुई जनाबाट जनही ६ हजार डलर र एक जनाबाट ५ हजार डलर पाकिस्तानी रुपैयाँ मानव तस्कर गिरोहले लिइसकेको पाइएको छ ।

मानव तस्कर गिरोहको साथबाट क्यानडा, स्पेन र ग्रिसको नक्कली भिसासमेत बरामद भएको छ, जुन पाकिस्तानमै छापेर ल्याइएको अनुसन्धानबाट खुलेको छ ।

युरोप लैजाने भनेर नेपाल ल्याएर होटलमा बन्धक बनाएपछि सबै कागजात नियन्त्रणमा लिने, कुटपिट गर्ने, यातना दिने र परिवार तथा आफन्तलाई फोन गर्न लगाएर फिरौती स्वरुप रकम असुल्ने प्रवृत्ति देखिएको छ ।

पछिल्ला दुई महिनामा मात्र प्रहरीले अमेरिका वा युरोप लगायतका देशहरुमा पठाइदिने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएको पाँच घटनामा रेस्क्यू अपरेसन चलाएको छ । यसले अन्तर्राष्ट्रिय मानव तस्करको गिरोहले काठमाडौंलाई ट्रान्जिट हबका रुपमा प्रयोग गरेको प्रष्ट संकेत गर्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

८ चैतमा मात्र प्रहरीले काठमाडौंको पकनाजोलस्थित निभाना ग्रिनपिस होम होटलबाट ४ जना बंगलादेशी नागरिकको उद्धार गरेको थियो ।

उनीहरुलाई बन्धक बनाएर राखेको आरोपमा चार जना बंगलादेशी नागरिक पक्राउ परे । पक्राउ पर्नेमा नुरुल हुडा, मासुम बिल्लाह, शामिम अहमद र प्रणय कुमार दे थिए । यही समूहका यासिर अहमदलाई पनि प्रहरीले १५ चैतमा नियन्त्रणमा लियो । प्रहरीका अनुसार यो समूहले चार जना बंगलादेशी नागरिकलाई क्यानडा र इटाली पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएका थियो ।

यसैगरी ३ फागुनमा काठमाडौंको रातो पुलमा एउटा सिंगै घर भाडामा लिएर ११ जना भारतीय नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले एक नेपाली र ८ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । यो समूहले अमेरिका जान नेपालको एअरपोर्ट सहज भएको भन्दै स्थलमार्गबाट काठमाडौं ल्याएको थियो ।

भारतीय नागरिक इन्दुसिंह यादवको समूहले उनीहरुबाट अमेरिका जान ४० लाख चाहिने भन्दै रकम असुलेका थिए । तर काठमाडौंमा ल्याएर बन्धक बनाए । साथै परिवारका सदस्यलाई भिडिओ कल गर्न लगाएर मेक्सिकोमा पुगिसकेको भन्दै रकम मगाएका थिए । मेक्सिको पुगेको देखाउन हरियो पर्दा, मेक्सिकोको समय देखाउने घडी, नक्कली हवाई टिकट र बोर्डिङ पास बनाएका थिए ।

मानव बेचबिखनको उद्देश्यसहित विदेशबाट नेपाल ल्याएमा मानव बेचबिखन तथा ओसारपसार मानिने प्रष्ट उल्लेख छैन । त्यसैले मानव तस्करी गर्ने उद्देश्यका साथ विदेशबाट नेपाल ल्याउँदा पक्राउ परेकाविरुद्ध प्रहरीले यो मुद्दा चलाएको छैन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार काठमाडौंमा ल्याएर बन्धक बनाउनुको उद्देश्य पैसा असुल्ने देखिएको छ । ‘अमेरिका, युरोप पठाउने भनेपछि विश्वास दिलाउन देश छाड्नैपर्‍यो ’ उनले भने, ‘त्यसैले काठमाडौं ल्याएर बन्धक बनाई रकम असुल्ने गरेको देखिन्छ ।’

फेरियो शैली

प्रहरी अधिकृतहरुका अनुसार मानव तस्करहरुले एक दशकअघिसम्म खाडी मुलुक पठाउन नेपाल ल्याउँथे । नेपाली नागरिकतासँगै राहदानी बनाएर खाडी मुलुकहरुमा पठाउने प्रयास गर्थे ।

सन् २००९ मा मलेसियाले बंगलादेशी कामदारलाई रोक लगाएपछि मानव तस्कर गिरोहले नेपाल ल्याएर नागरिकता र पासपोर्ट बनाउने र पठाउने धन्दा चलाएका गिए । अरु खाडी मुलुकमा पनि नेपाली कामदारको माग उच्च भएकाले मानव तस्करहरुले नेपाली बनाएर पठाउने वा यही प्रलोभनमा रकम असुल्थे ।

थुप्रै बंगलादेशी नागरिक नेपाली नागरिकता र राहदानीका साथ पक्राउ परेको रेकर्ड छ ।

३ पुस २०७१ मा बंगलादेशी नागरिक सोहिद उल्ला मिया नेपाली नागरिकता र राहदानीसहित बसन्तपुरबाट पक्राउ परेका थिए । उनको साथबाट सप्तरीबाट जारी भएको नागरिकता र राहदानी बरामद भएको थियो ।

२३ कात्तिक २०७३ मा जिल्ला प्रहरी कार्यालय, सुनसरीले ६ बंगलादेशीलाई नेपाली नागरिकतासहित पक्राउ गरेको थियो ।

१० पुस २०७३ मा सर्लाही प्रहरीले नेपाली नागरिकतासहित बंगलादेशी नागरिक मो. बेलाल हुसेन पक्राउ परेका थिए । उनले सर्लाहीको मधुवनगोठका मो. कुटुव हुसेनलाई नक्कली बुवा बनाएर नागरिकता लिएको खुलेको थियो । ६ वैशाख २०६० मा लिएको नेपाली नागरिकताका आधारमा राहदानी बनाएर उनी अरब गएर फर्किएका थिए ।

तर अहिले नेपाली बनाएर विदेश पठाउन होइन, नेपाललाई बन्धकस्थल बनाउने गरेको पछिल्ला घटनाहरुले देखाएको छ । खाडी मुलुकको सपना देखाएर अहिले ठगी गर्न सम्भव नभएपछि अमेरिका र युरोपको सपना देखाएर मानव तस्कर गिरोहले बन्धक बनाउँदै फिरौती असुल गर्ने प्रवृत्ति देखिएको प्रहरीको विशेष ब्यूरोमा लामो समय काम गरेका पूर्वएआईजी बमबहादुर भण्डारी बताउँछन् ।

मानव ओसारपसार गरे पनि मानव तस्करीको मुद्दा नचल्ने भएकाले पनि अन्तर्राष्ट्रिय मानव तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको हुनसक्ने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी ज्ञानेन्द्र फुयाल बताउँछन् ।

चल्दैन मानव बेचबिखनको मुद्दा

विदेशबाट नेपाल ल्याएर बन्धक बनाएर राखे पनि उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अहिलेसम्म मुद्दा चल्न सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ को (क) ले ‘किन्ने वा बेच्न उद्देश्यले मानिस विदेशमा लैजाने’ कार्य गरेमा मानव बेचबिखन तथा ओसार पसारको गरेको मानिने व्याख्या गरेको छ ।

मानव बेचबिखनको उद्देश्यसहित विदेशबाट नेपाल ल्याएमा मानव बेचबिखन तथा ओसारपसार मानिने प्रष्ट उल्लेख छैन । त्यसैले मानव तस्करी गर्ने उद्देश्यका साथ विदेशबाट नेपाल ल्याउँदा पक्राउ परेकाविरुद्ध प्रहरीले यो मुद्दा चलाएको छैन ।

युगाण्डाकी एक महिलालाई काठमाडौं ल्याएर वेश्यावृतीमा लगाएको आरोपमा १८ फागुन २०७९ मा पक्राउ परेका २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बाविरुद्ध भने मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलेको थियो ।

अरुको हकमा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाउने गरिन्छ । पछिल्लो समय पक्राउ परेका भारतीय, पाकिस्तानी तथा बंगलादेशीविरुद्ध पनि प्रहरीले शरीर बन्धक तथा अपहरण कसुर म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तर निरन्तर पक्राउ पर्दा पनि मानव तस्करहरुले नेपाललाई ट्रान्जिट बनाउन नछाड्नु गम्भीर भएको भन्दै पूर्वएआईजी बमबहादुर भण्डारी भन्छन्, ‘अन्तर्राष्ट्रिय मानव तस्करहरुले नेपाललाई सुरक्षित गन्तव्यको रुपमा बुझेको देखिन्छ ।’

राज्यले आफ्नो इन्टेलिजेन्स संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको उनले बताए । नेपाल प्रहरीको विशेष ब्यूरो, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरो, राष्ट्रिय अनुसन्धान विभागले गुप्तचरीको काम गर्दै आएका छन् । मानव तस्करहरुको गतिविधि नियन्त्रणका लागि अध्यागमन विभागसँग र सुरक्षा संयन्त्रले समन्वय गरेर काम गर्नुपर्ने देखिएको उनको बुझाइ छ ।

अध्यागमन विभागले केही दिन अगाडि सुरक्षा निकायहरुसँग छलफल गरेको थियो । अनअराइभल भिसामा सहजै नेपाल छिर्ने, यहाँ बन्धक बनाउने र फिरौती असुल्ने प्रवृति देखिएपछि थप सुरक्षा रणनीति अपनाउने विषयमा छलफल केन्द्रित भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी ज्ञानेन्द्र फुयाल बताउँछन् ।

गृह मन्त्रालयले पनि २५ चैतमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गर्दै विदेशी नागरिकहरुको गैरकानुनी गतिविधिको निगरानी गर्न निर्देशन दिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School