माधव नेपाल : यता, उता, यता, उता, फेरि यता

माधव नेपाल : यता, उता, यता, उता, फेरि यता


१७ जेठ, काठमाडौं । माधव नेपाल महासचिव छउन्जेल एमालेलाई ढुलमुले नीति लिने पार्टी भनी चिनिन्थ्यो । अचेल एकीकृत समाजवादीको अध्यक्ष भएपछि उनका नीतिगत अलमलले विगतकालीन छवि सम्झाउँछन् ।

छन त नेपाल एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनमा छन्, तर उनको भावना विपक्षी गठबन्धनसँग टाढा पनि देखिँदैन । जस्तो कि, बुधबार प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा डाकिएको विपक्षी भेलामा जान उनलाई आफ्नै दलका दोस्रो तहका नेता साथ दिन तयार भएनन् । कोही नपाएपछि उनी मेटमणि चौधरी लगेर देउवाकहाँ गए ।

बिहीबार बिहान त उनको प्रधानमन्त्री प्रचण्डसँग कुराकानी भइहाल्यो ।

तर कांग्रेससँगको पछिल्लो भेटशृंखला सम्झौं । यसबीचमा कांग्रेस सभापति देउवालाई नेपालले तीन पटक भेटिसकेका छन् । २१ फागुनमा नयाँ गठबन्धन बन्न नदिन देउवा–नेपालले भेटे । प्रधानमन्त्री प्रचण्ड एमालेसँग गठबन्धन बनाउन तयार भइसकेकाले त्यो भेटले सार्थकता पाउन सकेन ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी बन्यो । तर, नयाँ समीकरणको विकल्पमा छलफल गर्न नेपालले कांग्रेससँग संवाद टुटाएनन् । ५ वैशाखको साँझ कांग्रेस सभापतिलाई भेट्न नेपाल पूर्वपरराष्ट्र मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटार पुगे । उक्त भेट सुदूरपश्चिममा सरकारमा कांग्रेसको साथ खोज्न माधव त्यहाँ पुगेका थिए । गठबन्धनबाट सुदूरपश्चिममा मुख्यमन्त्रीको भाग एकीकृत समाजवादीलाई परेको थियो ।

एमाले दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार थिएन । सोडारीको ठाउँमा अर्को व्यक्ति सार्नुपर्ने एमाले अडानले गर्दा संकटमा परेपछि कांग्रेसको साथ खोज्न नेपाल गोल्फुटार पुगेका थिए । कदाचित् एमालेले सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार नभए कांग्रेसले साथ दिने प्रतिवद्धता जनायो । कांग्रेसको भय देखाएर एमालेलाई दबाबमा राख्न नेपाल सफल भए ।

एमालेले बाध्य भएर मुख्यमन्त्रीमा सोडारीलाई स्वीकार्‍यो । कांग्रेसलाई देखाएर एमाले तर्साएपछि २ जेठमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पनि पाए । उक्त भेटबारे कांग्रेसका नेताले भनेका थिए, ‘सुदूरपश्चिममा सरकार गठनमा देखिएको समस्याबारे उहाँ दुईबीच कुराकानी भएको हो । वैकल्पिक समीकरणका विषयमा पनि छलफल भयो ।’

१६ जेठ (हिजो) कांग्रेस सभापति देउवाले मधेस प्रदेश सरकार केन्द्रित छलफलका लागि एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीलाई घरमा डाकेका थिए । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी पुग्दैगर्दा नेपाल पनि चौधरीलाई लिएर पुगे ।

जसपा नेपाल र लोसपाबाट बूढानीलकण्ठ को जाने भन्नेमा पार्टीभित्र समस्या थिएन । तर, सत्तामा रहेकाले विपक्षी दलको बैठकको छलफलमा सहभागी हुन जान एकीकृत समाजवादीमा सहज भएको थिएन । नेपाल आफूसँगै शीर्ष तहको अर्को कुनै व्यक्ति बैठकमा लान चाहन्थे । एकीकृत समाजवादी स्रोतका अनुसार महासचिव घनश्याम भुसाललाई बूढानीलकण्ठ लान चाहेका थिए । भुसालले एमाले–माओवादीसहितको गठबन्धनमा साझेदार रहिसकेपछि विपक्षीको बैठकमा सहभागी हुन हुँदैन भनी इन्कार गरे ।

महासचिवले नमानेपछि नेपालले शीर्ष तहकै अर्को व्यक्ति खोजी गरे । प्रकाश ज्वाला लगायत नेताले समेत पन्छाए पछि नेपालले प्रमुख सचेतक मेटमणि चौधरीलाई आग्रह गरे ।

आफूलाई नेताहरूले बूढानीलकण्ठ अहिले जान हुँदैन भन्दाभन्दै पनि आएको सुनाएका थिए ।

छलफल मूलतः मधेस सरकार निर्माणमा केन्द्रीत थियो । एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् । तथापि, एकीकृत समाजवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुनाले मुख्यमन्त्री यादवसँग ३० जेठभित्रको समयावधि छ । बैठक मूलतः मधेस सरकारका विषयमा भएको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

नेपाल एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनमा छन्, तर उनको भावना विपक्षी गठबन्धनसँग टाढा पनि देखिँदैन ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसद चाहिन्छन् । मधेसमा कांग्रेस (२२), जसपा नेपाल (१९), लोसपा (९) र एकीकृत समाजवादी (७) सहभागी बनेर सरकार बनाउन सक्ने अवस्था छ । एकीकृत समाजवादीलाई मधेसमा तान्न सके संघको भन्दा विपरीत गठबन्धन बन्न सक्ने अवस्था छ । त्यही प्रयत्नका लागि कांग्रेसको अगुवाइमा बुधबार चार दलको बैठक बसेको थियो । विपक्षी एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल यस बेला पनि अलमलमै देखिन्थे ।

‘माधवजीमा अत्यन्तै ठूलो अलमल र दुविधा देखियो । मधेसको सरकारमा हुनुहुन्छ,’ बैठकमा सहभागी नेताले भने, ‘आधा साथीहरूको एउटा कुरा छ, आधा साथीको अर्को कुरा छ भन्ने आशय उहाँको थियो । उहाँकै कुरा चाहिँ स्पष्ट भएन ।’

एकीकृत समाजवादी अनिर्णित रहेकाले मधेसमा कसरी अघि बढ्ने बारेमा निर्णयमा चार दल पुग्न सकेनन् । पार्टीमा छलफल गरेर जानकारी गराउने नेपालले वचन दिएकाले अन्य तीन दल एकीकृत समाजवादीको निर्णयको प्रतिक्षामा छन् । ‘एकीकृत समाजवादी अलमलमा रहेकाले उहाँहरूको निर्णय पर्खने कुरा भएको छ,’ विपक्ष दलका नेताले भने ।

२ जेठमा सर्वोच्च अदालतले जसपा नेपाल फुटाउने निर्णय यथास्थानमा राख्न अल्पकालीन आदेश दिएकाले मधेसमा उपेन्द्रलाई लाभ मिलेको छ । दल फुटाउने निर्णय र कामकारबाहीहरू जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्न अदालतले आदेश दिएकाले जसपा सांसदहरू दल परिवर्तन गर्न नपाउने अवस्थामा छन् ।

जसपा नेपालका अध्यक्ष यादवले आफ्नो दलको मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने मत राखेका थिए । एकीकृत समाजवादी अनिर्णित रहेकाले पुन छलफल गर्ने गरी बैठक सकिएको सहभागी नेताले जानकारी दिए ।

एकीकृत समाजवादीले केन्द्र विपरीत प्रदेशमा गठबन्धन बनाउन चाहेमा मधेससँगै बागमतीमा सम्भव छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोहोरो भूमिका देखाएको सरकारका मन्त्रीले समेत आरोप लगाएका छन् । एमालेको तर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बिहीबार धनगढीमा नेपालले दोहोरो भूमिका देखाएको आरोप लगाए ।

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएपनि एमाले सरकारमा सहभागी भएको छैन । एमालेको अडानका कारण सरकार विस्तार हुन सकेको छैन् । हिजो बूढानीलकण्ठको छलफलबारे भण्डारीले असन्तुष्टि जनाए । नेपालको भूमिकाले स्वयं उनलाई क्षति गर्ने बताउँदै भण्डारीले भने,‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ,’ उनले अघि भने, ‘त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।’

विपक्षी दलको बैठकमा नेपाल गएपछि सशंकित बनेका प्रधानमन्त्री प्रचण्डले विहीबार विहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई डाकेर छलफल गरेका थिए । वर्तमान गठबन्धनको पक्षमा विचार राख्दै आएका छन् । समसामयिक राजनीति, संघीय सरकार र प्रदेश सरकारका विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ । उक्त छलफलमा प्रदेश सरकार पनि केन्द्रको अनुुसार सुदृढ बनाउँदै लाने कुरा भएको भएको थियो ।

प्रचण्डले नेपालसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । पत्रकारसँग टिप्पणी गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘माधवजी अलि पहिलेदेखि नै यता पनि उता पनि दुवैतिर जोडिनेजस्तो भएको थियो । तर आज बिहान मसँग कुरा हुँदा चाहिँ म समीकरणभित्रै छु भन्नुभएको छ ।’

एकीकृत समाजवादीका एक पदाधिकारीले आफ्नो दलका अध्यक्षमा देखिएको विरोधाभासको शिकार पार्टी संगठन भइरहेको भन्दै असन्तोष जनाए । उनले पार्टीभित्र यस्तो रवैयाले निराशा मात्रै बढाउने भन्दै बूढानीलकण्ठतिर जाने सोचाई आउनु नै घातक रहेको सुनाए । ‘कि त हामीले यो गठबन्धनमा छैनौं भनेर स्पष्ट गर्नुपर्‍यो, नत्र कहिले यता कहिले उता दौडनु शोभनीय भएन,’ ती पदाधिकारीले भने, ‘बैठकमा यसबारे छलफल गर्छौं ।’

 



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School