संगीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर खाएको थिएँ, एक्कासि मुटुको धड्कन हरायो । र, अस्पताल नै भर्ना हुनुपर्यो ।’
महले ज्यानैसम्म जानसक्ने चिकित्सकले सुनाएको अधिकारीले बताएका छन् । ‘अस्पतालमा डाक्टरको कुरा सुन्दा मामला सोचेभन्दा बढी गम्भीर भएको थाहा भयो,’ सामाजिक सञ्जालमा अधिकारीले लेखेका छन्, ‘लेकाली लालीगुराँसको रसबाट माहुरीले सङ्कलन गरेको मह सेवनबाट धेरैले ज्यान गुमाएका छन् भन्ने अनुभव डक्टर साबसँग रहेछ।’
मह खाँदा सचेत रहन अधिकारीले सुझाव दिएका छन्। उनको पोस्टमा प्रतिक्रिया दिने थुप्रैले मह खाँदा सजग हुनुपर्ने विषयमा चर्चा पनि गरेका छन् ।
के साँच्चै मह खाँदा मुटुको समस्या हुन्छ ?
महले स्वास्थ्य समस्या निम्त्याउने कुरा सत्य भएको वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा बताउँछन् । हिमाली क्षेत्र र उच्च पहाडतिर जंगली माहुरीले बनाएको मह सेवनबाट बिरामी परेका धेरै ‘केस’ आफूले हेरेको शेर्पाले सुनाए।
मेडिकल भाषामा यसलाई ‘वाइल्ड म्याड हनी पोइजनिङ’ तथा ‘म्याड हनी पोइजनिङ’ भनिने गरेको डा. शेर्पाले जानकारी दिए । उनका अनुसार उच्च पहाडमा हुने लालीगुराँसका फूलमा ग्रायनोटक्सिन भन्ने रसायन हुन्छ । माहुरीले यस्ता फूलबाट रस लिएर मह बनाउँदा त्यो रसायन महमा मिसिन्छ । यस्तो मह बढी खाएमा नशा लागेर बिरामी पर्ने डा. शेर्पाले जानकारी दिए।
धेरैजसो मुटुको धड्कन कम भएर आएका बिरामी हेरेको डा. शेर्पाको अनुभव छ । यसबारे नेपालमै केही ‘केस स्टडी’ भई प्रकाशन समेत भएको उनले जानकारी दिए।
‘आँखाँको नानी फुलाउने समस्या देखिन्छ, कुनै पनि दृश्यलाई दुईवटा देख्ने, वाक–वाक लाग्ने, रिंगटा लाग्ने, बान्ता आउने पनि हुन्छ’ डा. शेर्पाले भने, ‘कुनैकुनै केसमा बिरामी बेहोस भएर आएको पनि पाएका छौँ।’
अध्ययनले के भन्छ ?
जंगली मह खाएर बिरामी परेका घटनाका बारेमा नेपाल तथा विदेशमा समेत धेरै ‘क्लिनिकल’ अध्ययन भएको देखिन्छ ।
नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले सन् २००९ मा ‘म्याड हनी पोइजनिङको केस स्टडी’ भन्ने अध्ययन गरेका थिए । यसमा जंगली मह सेवनपछि बिरामी परेका ७ केसको अध्ययन गरेको देखिन्छ।
उक्त अध्ययनमा जंगली मह खाएर बिरामी परेका २० देखि २५ वर्ष उमेरका ७ युवाको अवस्थाबारे उल्लेख गरिएको छ ।
बिरामीको शरीरमा ग्रायनोटक्सिन रसायन फेला परेको उनीहरूले उल्लेख गरेका छन् ।
यीमध्ये २ केसमा कार्डियाक डिप्रेसन देखिएको, धेरैजसोमा दृष्टि धमिलो हुने, डिप्लोपिया, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिएको अध्ययनको रिपोर्टमा उल्लेख गरिएको छ।
जंगली महको विषक्तताबारे सन् २०२३ मा पनि नेपालमै एक ‘केस स्टडी’ भएको भेटिन्छ । जंगली मह खाएकै कारण बेहोस भएर इमर्जेन्सीमा उपचार गर्न ल्याइएका एक ४५ वर्षीय पुरुषको बारेमा अध्ययन भएको देखिन्छ । यसमा उनले करिब १०० मिलि मह खाएको अध्ययन रिपोर्टमा भनिएको छ ।
यस केसमा पनि मुटुको धड्कन घटेको उल्लेख छ ।
जंगली मह खाएर बिरामी परेका ५ बिरामीबारे सन् २०२४ मा गरिएको अर्को अध्ययन पनि प्रकाशित भएको देखिन्छ । यसमा वार्डमा भर्ना भएका २ जना र आईसीयूमा भर्ना भएका ३ व्यक्तिको बारेमा अध्ययन गरिएको छ।
यी बिरामीमा वाकवाकी लाग्ने, चक्कर लाग्ने, बान्ता आउने समस्या देखिएको थियो । रक्तचाप कम र मुटुको गति कम पाइएको अध्ययन रिपोर्टमा उल्लेख छ ।
महलाई औषधिका रुपमा प्रयोग गर्ने परम्परा नेपाली समाजमा छ। आयुर्वेद चिकित्सामा महलाई ‘कफ दोष सामक’का रुपमा लिइने आयुर्वेद चिकित्सक डा.नरेन्द्र प्रसाद गिरी बताउँछन्।
‘म्याड हनी’ बारेमा टर्कीमा भएको एक अध्ययनमा पनि बिरामीमा उस्तै खालका समस्या देखिएको उल्लेख छ। जंगली मह खाएर स्वास्थ्य समस्या भएका २१ बिरामीको ‘केस स्टडी’ गरिएको छ।
जसमा सबै बिरामीमा चक्कर लाग्ने समस्या, धेरै पसिना आउने, वाकवाकी तथा बान्ता आउने, न्यून रक्तचापको समस्या देखिएको अध्ययनको रिपोर्टमा भनिएको छ । केही बिरामी बेहोस समेत भएको उल्लेख छ।
नेपाल तथा बाहिर समेत भएका केस स्टडीको रिपोर्ट लगभग उस्तै देखिन्छ । जंगली महमा हुने ग्रायनोटक्सिनकै कारण ती खालका स्वास्थ्य समस्या देखिएको यी अध्ययनहरूले देखाएका छन् ।
के भन्छन् मौरी विज्ञ ?
जंगली माहुरीले बनाएको मह धेरै खाए असर गर्ने मौरी विज्ञ तथा मौरी विकास केन्द्र, गोदावरीका प्रमुख तीर्थकुमार श्रेष्ठ बताउँछन् । विशेषगरी चैत–वैशाखतिरको महले नशा लाग्ने श्रेष्ठको भनाइ छ ।
‘विशेष गरेर भीर माहुरीको मह काड्ने भनेको एक पटक कात्तिक-मंसिर र अर्को पटक चैत-वैशाखतिर हो श्रेष्ठ भन्छन्, ‘चैत–वैशाखतिरको मह धेरै लाग्ने खालको हुन्छ।’
त्यो समयको फूलबाट लिएको रस विषाक्त हुने र कोही–कोही त एक चम्चा खाँदा पनि बेहोस् हुनसक्ने श्रेष्ठले बताए।
यसमा हुने नशाकै कारण भीर माहुरीको मह खोजेर खानेहरू पनि रहेको श्रेष्ठले सुनाए । ‘कतिपयले यही नशा लाग्ने विशेषताकै लागि भीर मौरीको मह खोजेर खाने गर्छन्,’ श्रेष्ठ भन्छन्, ‘कोरिया, जापान, कतार, अमेरिका लगायतका देशमा यो बढी रुचाइएको पाइन्छ।’
जंगली मह खान नजान्दाको अवस्थामा समस्या हुने श्रेष्ठले बताए । एक चम्चा वा आधा चम्चा खाँदा समस्या नहुने उनको भनाइ छ ।
मौरी चरनमा जाँदा कुनैबेला विषालु फूलको रस ल्याएर मह बनाउने हुनाले यस्ता समस्या आउने मौरी विकास केन्द्रकी बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी बताउँछिन् । कतिपय लालीगुराँसबाट ल्याएका रसमा ग्रायनोटक्सिन हुने मह खाँदा त्यसले असर गर्ने उनको भनाइ छ ।
धेरै तातोमा मह मिसाउँदा पनि त्यसको गुणमा परिवर्तन आएर विषाक्त बन्न सक्ने सुवेदीले बताइन्। ४५ डिग्रीभन्दा बढी तातोपानीमा राख्यो भने महमा हाइड्रोक्सिमिथाइलफरफुरल(एचएमएफ) को मात्रा बढ्ने उनले जानकारी दिइन्।
एचएमएफ बढ्दा यसले महमा पाइने गुणलाई घटाउने र यसले मुटुमा समस्या पार्ने सुवेदीको भनाइ छ ।
मह तताउनु हुँदैन
महलाई औषधिका रुपमा प्रयोग गर्ने परम्परा नेपाली समाजमा छ। आयुर्वेद चिकित्सामा महलाई ‘कफ दोष सामक’का रुपमा लिइने आयुर्वेद चिकित्सक डा.नरेन्द्र प्रसाद गिरी बताउँछन्। यसको मतलब, महले चिसोले लगाउने रोग घटाउँछ भन्ने रहेको गिरीको भनाइ छ।
‘यसले कफको दोषलाई घटाउँछ’ डा.गिरी भन्छन्, ‘चिसोले लगाउने रोग घटाउँछ जस्तो–:रुघा–खोकी, चिसोले जोर्नी सुन्निने जस्ता समस्यालाई महले फाइदा गर्छ।’
गिरीका अनुसार महमा हुने ‘योगवाही’ गुणको चर्चा आयुर्वेद चिकित्सामा गरिएको छ। यो भनेको जुन कुरामा मह मिसाइन्छ, महले त्यसको गुणलाई बढाउँछ भन्ने हो। जुन औषधिसँग मिसाएर खायो, महले त्यो औषधिको गुणलाई बढाउने गिरीले बताए।
आयुर्वेदका कतिपय औषधि थोरै मात्रामा खानुपर्ने हुन्छ। त्यस्तो अवस्थामा महमा मिसाएर खाँदा स्वादका हिसाबमा पनि र महको गुणसमेतले गर्दा प्रभावकारी हुने उनको भनाइ छ।
मह शरीरलाई गर्मी गराउने कुरा भएकाले ठिक्क मात्रामा खानु उपयुक्त हुने डा.गिरीले बताए। महलाई तताएर खानु हुँदैन भन्ने कुरासमेत आयुर्वेद चिकित्साले भनेको उनले जानकारी दिए।
मह आफैँमा गर्मी गराउने कुरा भएकाले तताएर खाँदा झन् बढी गर्मी गराउने गिरीले बताए। यदि महमा कुनै विषालु फूलको रस मिसाइएको छ भने तताउँदा विषालुपन बढ्ने र त्यो सेवन गर्दा शरीरलाई हानि गर्ने डा.गिरीले प्रस्ट्याए।
‘आयुर्वेदमा महलाई तताएर नखानू भन्नेछ’ डा.गिरीले भने, ‘तताउँदा यदि विषालु रस मिसिए मह रहेछ भने यसले विषको मात्रा बढाउँछ।’
अझ तातो पानीमा मात्रै मिसाउँदा भन्दा पनि मह नै पकाउँदा बढी हानिकारक हुन्छ भन्ने रहेको गिरीले बताए।
मह मिसाएर हट लेमन खाने प्रचलन धेरै छ। यस्तोमा पहिल्यै मह मिसाएर पकाउने भन्दा पनि पकाइसकेपछि मह हाल्न गिरीको सुझाव छ।
महलाई घ्यूमा बराबरी मात्रामा मिसाएर खान नहुने आयुर्वेद विज्ञानमा उल्लेख गरिएको पनि गिरीले बताए।
‘मह र घ्यू बराबरी मात्रामा मिसाउँदा त्यो हानिकारक हुन्छ र शरीरलाई दुष्प्रभाव गर्छ’ गिरीले भने, ‘त्यसको गुणविपरीत हुने भएकाले प्रयोग गर्दा विषम(फरक) मात्रा मिलाएर मात्रै प्रयोग गर्नुपर्छ।’
भीर माहुरीको मह विशेष सावधानीपूर्वक सेवन गर्न डा.गिरीको सुझाव छ।