अध्यात्म, दर्शन र विज्ञान मानव जीवन र त्योभन्दा पनि पर (सृष्टि, ब्रह्माण्ड आदि) को अर्थात् सम्पूर्ण संसारको अभिन्न हिस्सा हुन् भने जीवित प्राणी र मानव जीवनको अपरिहार्य अंश हुन्। अहिले हामी वैज्ञानिक युगमा छौं र तथ्यमा आधारित जानकारी र सूचनामा मात्र विश्वास गर्छौं र गर्नुपर्ने हुन्छ।
अझ अहिलेको जस्तो पाठ्य, श्रव्य र दृश्य सामग्रीहरूको उपलब्धता अत्यधिक भएको अवस्थामा सबै तथ्यहरूलाई त्रिकोणीकरण गर्नु र विभिन्न स्रोत र दृष्टिकोणबाट प्रमाणित गर्नु पनि उत्तिकै जरुरी छ। त्यसैले यो लेखमा अध्यात्म, दर्शन र विज्ञानमा महिला र पुरुष अर्थात् लिङ्ग (जसमा सबै लिङ्ग पर्दछन्) लाई कसरी हेरिन्छ भनेर संक्षेपमा चर्चा गर्न खोजिएको छ।
अध्यात्म जीवनको अभिन्न हिस्सा हो। जुन हामीले पढेर, अनुभव गरेर, अभ्यास गरेर र आध्यात्मिक गुरुहरूलाई सुनेर पनि बुझ्ने गर्दछौं। यो लेखमा मैले पढेको, सुनेको र अनुभव गरेको अध्यात्मको बारेमा संक्षेपीकरण गर्ने प्रयास गरेको छु। जुन बुझाइ र अनुभव अरूको बुझाइ र अनुभवसँग मेल नखान पनि सक्छ। सूचना र जानकारीको व्यापक उपलब्धता आध्यात्मिक सामग्रीमा पनि विविध रूपमा यत्रतत्र पाउन सकिन्छ। आम जनमानसमा पढ्ने भन्दा बढी सुन्ने बानी धरै हुने र अहिले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विविध सामग्रीहरू निर्माण र अपलोड हुने गरेको पाइन्छ।
कहिलेकाहीं श्रोता र पाठकहरू पनि कुनै एउटा सामग्री, व्यक्ति र जानकारीलाई पढेर र सुनेर हुबहु विश्वास गर्ने र सोही अनुरूप आफ्नो धारणा बनाउने गर्दछन्। जसले गर्दा उनीहरूको जीवन, सम्बन्ध र परिवारमा समस्या सिर्जना हुने पनि गर्दछ। यसर्थ कुनै पनि उपलब्ध सामग्रीको प्रयोग र ग्रहण गर्नुअघि उक्त जानकारी, किताब, लेख–रचना, सूचना आदि मध्ये कुन सही र ठिक हो भनेर छान्नु र विश्लेषण गर्नु अत्यन्त आवश्यक छ। सबै पाठ्यसामग्री, श्रव्य–दृश्य सामग्री र अन्य जानकारीहरू सही हुन्छन् भन्ने छैन।
त्यसैले कुनै पनि ज्ञान र जानकारी लिन र पालना गर्न त्रिकोणीकरण गर्नु आवश्यक छ। यसको मतलब जानकारी कहाँबाट आएको हो ? कुन पद्धति अपनाएर आएको हो? उक्त विषयको बारेमा अन्य स्रोतले के भन्छन् भन्ने वृत्तान्त बुझेर मात्र आफ्नो धारणा बनाउनु र पालना गर्नु अत्युत्तम हुन्छ। आफ्नो मानसिकता सदैव फराकिलो र लचिलो बनाउनुपर्ने हुन्छ। त्यसको लागि विभिन्न प्रमाणीकरण गर्ने विधिहरू अवलम्बन गर्न सकिन्छ। ती विधिहरूमा विज्ञान, अनुसन्धान, अध्यात्म, दर्शन र स्वपरीक्षण आदि पर्दछन्।
स्त्रीलिङ्गी पक्ष ग्रहणशील पक्ष हो र खुला ढोका जस्तै हो जसबाट ब्रह्माण्डको उच्च बुद्धि प्रवाह हुन सक्छ र यदि हामीले स्त्रीलिंगी पक्षको कुरा ध्यानपूर्वक सुन्न सिक्यौं भने उसले पूर्ण रूपमा मार्गदर्शन गर्न सक्छ। त्यसैगरी पुरुष पक्ष भनेको कार्य गर्ने पक्ष हो
स्नायु विज्ञानले अहिलेसम्म महिला र पुरुषको मस्तिष्कको आकार, अमिग्डाला र ह्यामिश्फेयरमा हुने फरकलाई मापन गरे पनि व्यावहारिक भिन्नतामा धेरै प्रश्न र आलोचनाहरू भइरहेका छन्। ती आलोचनाहरूमा अनुसन्धान पद्धति सही नहुनु, पूर्वाग्रह धेरै हुनु, पशुमा मात्र हुने गरेको परीक्षण, धेरैजसो पुरुष नमूना मात्र लिएर गरेका अनुसन्धान र परीक्षणहरू, सामाजिकीकरण र सांस्कृतिक मान्यतालाई बेवास्ता गरिनु आदि रहेका छन्।
क्वान्टम संसार या भौतिक विज्ञानले पनि हामी सबै ऊर्जा हौं र एकअर्कासँग अन्तरसम्बन्धित छौं भनेर प्रमाणित गरिसकेको छ। जसले लैंगिक भिन्नता र विभेदको कुरा गरेको पाइन्न।
मनोविज्ञानको कुरा गर्ने हो भने प्रसिद्ध मनोवैज्ञानिक कार्ल योङ्गले ‘एनिमा’ र ‘एनिमस’ को अवधारणालाई आफ्नो पारस्परिक मनोविज्ञानमा उल्लेख गरेका छन्। उनका अनुसार एनिमस भन्नाले महिलाको अचेतन पुरुषत्व र एनिमा भन्नाले एक पुरुषको अचेतन स्त्रीत्वलाई जनाउँदछ। एनिमा र एनिमस अचेतन दिमागका दुई प्राथमिक मानवशास्त्रीय पुरातत्वहरू हुन्, जसले आफ्नो पुरातन प्रकार बनाउँछ।
हाम्रो सामाजिक मूल्यमान्यता र सांस्कृतिक विश्वासको कारण पुरुषहरूले एनिमा र महिलाहरूले एनिमसलाई कम प्रयोग वा दमन गरेर राख्ने प्रचलन छ। यद्यपि यी विशेषताहरू कहिलेकाहीं सपना र कल्पनाको मध्यमबाट प्रकट हुने गर्दछन् र महिलालाई एनिमस र पुरुषहरूलाई एनिमाको महत्व औंल्याउने गर्दछन्।
त्यसैगरी पूर्वीय दर्शनले ‘यिन’ र ‘यांग’ को अवधारणाको बारेमा कुरा गर्दछ। जसमा यिन भन्नाले स्त्रीलिंगी शक्ति अर्थात् ऊर्जा र यांग भन्नाले पुलिंगी शक्ति अर्थात् ऊर्जा भन्ने बुझिन्छ। ‘यिन’ निष्क्रिय र ग्रहणशील हुन्छ भने ‘यांग’ सक्रिय र विस्तृत हुन्छ र सैद्धान्तिक रूपमा यो द्विविभाजन लिङ्ग लगायत कुनै न कुनै रूपमा सबै चीजहरूमा देखिन्छ। यी दुवै ऊर्जाहरू सबैमा अन्तरसम्बन्धित हुन्छन्।
शक्ति गौइनले लौरेल किंगसँग लेखेको “लिभिङ्ग इन द लाइट” नामक पुस्तकमा महिला र पुरुषलाई यसरी अभिव्यक्त गरेकी छन्: सबै लिङ्गमा पुलिंगी र स्त्रीलिंगी विशेषता हुन्छन्। स्त्रीलिंगी पक्षले अन्तरज्ञान, गहिरो सोच र बुद्धिमत्तालाई जनाउँछ या यस्ता काम गर्ने गर्दछ भने पुलिंगी पक्षले कार्य गर्ने अर्थात् स्त्रीलिङ्गी पक्षले जन्माएको अन्तरज्ञान, गहिरो सोच र बुद्धिमत्तालाई कार्यान्वयनमा ल्याउने काम गर्दछ।
स्त्रीलिङ्गी पक्ष ग्रहणशील पक्ष हो र खुला ढोका जस्तै हो जसबाट ब्रह्माण्डको उच्च बुद्धि प्रवाह हुन सक्छ र यदि हामीले स्त्रीलिंगी पक्षको कुरा ध्यानपूर्वक सुन्न सिक्यौं भने उसले पूर्ण रूपमा मार्गदर्शन गर्न सक्छ।
त्यसैगरी पुरुष पक्ष भनेको कार्य गर्ने पक्ष हो जसले भौतिक संसारमा कामहरू गर्ने हाम्रो क्षमता जस्तै सोच्ने, बोल्ने, हाम्रो शरीरलाई चलाउने आदि गर्दछ। महिला होस् या पुरुष उनीहरूभित्रको स्त्रीलिंगी पक्षले विश्वव्यापी सृजनात्मक ऊर्जा प्राप्त गर्दछ र पुरुषले यसलाई कार्य मार्फत संसारमा अभिव्यक्त गर्दछ। यस अर्थमा महिला र पुरुष भनेको विविध विशेषताहरूको सम्मिश्रण हुन् जुन एक विना अर्को चलायमान र सुचारु हुन् सक्दैनन्।
मुख्यत: जानकारी प्रसारण गर्ने स्रोतमा आध्यात्मिक गुरु/प्रस्तोताहरू पनि पर्ने गर्दछन् किनकि सुनेर सिक्ने, जानकारी लिने र आत्मसात् गर्ने व्यक्ति थुप्रै हुने गर्दछन्। यस्ता आध्यात्मिक र कहिलेकाहीं धार्मिक गुरु/प्रस्तोताहरूको विचारधारामा सम्मिश्रण पाइन्छ।
कोही आध्यात्मिक गुरु र प्रस्तोताहरू अझै पनि महिला र पुरुषबीचको भिन्नता र उनीहरूको काम र कर्तव्यलाई नितान्त फरक धारबाट वर्णन गर्ने गर्दछन्। उनीहरूले एकअर्कालाई सेवा प्रदायक र सेवाग्राही रूपमा समेत परिभाषित गर्छन्। तर तीमध्ये यस्ता आध्यात्मिक गुरु/प्रस्तोता पनि छन् जसको तर्कमा अलिक भिन्नता पाइन्छ। मैले एकजना गुरुलाई सुनेकी थिएँ जो आफू पुरुष भए पनि महिला या पुरुष भनेर छान्नुपर्ने एउटा अप्सनमा महिला छाने। उनले एक शब्दमा दिनुपर्ने तर्क थियो “सम्भाव्यता”। जब उनलाई अझ व्याख्या गर्न भनियो तब उनले “शास्त्रीय रूपमा दुवै महिला र पुरुष प्रकृति हुन्। जसरी प्रकृति स्त्रीलिंगी हुन् त्यसै गरी दुवै महिला र पुरुष छाता शब्द ‘महिला’ अन्तर्गत पर्दछन्। केही हदसम्म सबै महिला हुन्। तपाईं (कार्यक्रमका प्रश्नकर्ता) जैविक तवरले महिला हो भने म मानसिक तवरले। त्यसैले महिला शब्दले समग्र मानव अस्तित्त्वलाई जनाउँदछ। यस अर्थमा कि महिलामा मात्र छुटकारा (मुक्ति) पाउने सम्भावना हुन्छ, जो सदैव आफ्नो प्रिय (यहाँ ‘मानसिक शान्ति’लाई प्रिय भनिएको छ) खोजीमा हुन्छ र प्राप्त गर्ने चाहना राख्छ। यदि पुरुष पनि मुक्तिको चाहना राख्छन् भने उनीहरूभित्रको महिला तत्त्वमा मात्र मुक्तिको सम्भावना हुन्छ।”
उनी अझ भन्छन्, महिलामा एकल रूपमा नै सृष्टि (सिर्जना) गर्ने सम्भावना छ भने पुरुषमा त्यो पनि छैन।’
त्यस्तै अर्का आध्यात्मिक गुरुको तर्क आत्मासँग जोडिएको थियो। आत्माले वस्त्र (शरीर) धारण गर्ने क्रममा कहिले महिलाको रूपमा, कहिले पुरुषको रूपमा त कहिले अरू लिङ्गको रूप धारण गर्ने र समग्रमा सबै आत्मा नै हुने तर्क उनको थियो।
मैले कतिपय प्रेरणादायी किताब पढ्ने र सुन्ने गरेकी छु। विश्वमा जति पनि सफल व्यक्तित्व छन् या सफलताको बाटोमा छन्, सबैको सफलताको राज भने आफूलाई जान्नु, सकारात्मक सोच्नु, चित्रण गर्नु, निरन्तर मिहिनेत गर्नु, लक्ष्य बनाउनु आदि रहेको पाएकी छु। तीमध्ये कुनै पनि सफलताका सूत्रमा ‘पुरुष हुनु’ भन्ने सूत्र लेखेको थिएन।
समग्रमा विश्व जटिल छ। कतिपय कुराहरू विज्ञानले र अनुसन्धानले प्रमाणित गर्न सकेको छैन। यद्यपि हामी लिङ्गको नाममा अनेकौं तर्क गर्छौं र एकले अर्कोलाई दबाउने, होच्याउने र फरक छुट्याउने काम गरिरहन्छौं। भौतिक र आध्यामिक विज्ञानको कुरा गर्ने हो भने यो ब्रह्माण्ड एक हो जहाँ कोही कुनै आधारमा सानो ठूलो छैन। तसर्थ, प्रत्येक व्यक्तिले कुनै पनि विचार र धारणा बनाउनु अघि विभिन्न दृष्टिकोणबाट संसारलाई हेर्नु जरूरी छ।