महिलालाई आकर्षित गर्ने जङ्गबहादुरको त्यो जुक्ति


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जङ्गबहादुर राणाले वि.सं. १९०४ मा सुबेदार मन्नु सिंहलाई अङ्ग्रेजी केटी खोजेर ल्याएमा दर्जा बढाइदिने लिखित आदेश दिएका थिए ।
  • राणाले कोतपर्वमा मारिएका प्रधानमन्त्री फत्तेजङ्ग शाहकी बहिनी हिरण्यगर्भकुमारीसँग विवाह गर्न तत्कालीन राजा सुरेन्द्रलाई लमी बनाएका थिए ।
  • जङ्गबहादुरले दरबारकी सुसारे पुतलीमैयाँसँगको प्रेम सम्बन्धलाई राजनीतिक रूपमा प्रयोग गर्दै दरबारका गोप्य सूचनाहरू प्राप्त गर्ने गर्थे ।

दन्त्यकथाको तिलस्मी नायक जस्ता लाग्छन्, जङ्गबहादुर राणा। कतै छल र कतै बल प्रयोग गरेर उनी सत्तामा मात्रै आएनन्, उनैले शुरु गरेको जहानियाँ शासन १०४ वर्षसम्म टिक्यो। यो चानचुने कुरा होइन। उनी सत्तामा रहँदा उनी विरुद्ध केही विद्रोह र बगावतहरू नभएका होइनन्, तर ती सबैलाई उनले निस्तेज बनाए। उनी नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक हुन्।

जङ्गबहादुरको सफलतामा उनका भाइहरूको साथ-सहयोगले महत्त्वपूर्ण भूमिका खेल्यो। दरबारकी एक जना सुसारे पुतलीमैयाँसँग प्रेममा लहसिएका उनले त्यो सम्बन्धलाई राजनीतिक काममा पनि भरमग्दुर प्रयोग गरे। दरबारकी सुसारे पुतलीमैयाँसँगको सम्बन्धबारे जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले ‘जङ्गबहादुरको जीवनयात्रा’ (२०७४:४५) मा ‘एउटा युवक रानीको प्रमुख विश्वासपात्र सुन्दरी पुतलीमैयाँसँग लहसिनु अस्वाभाविक थिएन। यो सम्बन्ध न प्रेम सम्बन्ध थियो न वैवाहिक सम्बन्ध थियो। यो त केवल राजनीतिक तात्पर्यका लागि गरिएको मैत्री सम्बन्ध थियो’ भनेका छन्।

सुसारेबाट जङ्गबहादुरले रानी बनाएकी पुतलीमैयाँ।

तर उनले यसो भने पनि पछि पुतलीमैयाँलाई हनुमानढोकाबाट थापाथली दरबार पुर्‍याएर रानी तुल्याउनु, ल्याइते भए पनि उनीबाट जन्मेका छोरा बबरजङ्गलाई रोलक्रममा राख्नु र जङ्गबहादुरको देहान्तमा उनी पनि सती जानु आदि कारणले जङ्गबहादुरको पुतलीमैयाँसँग राजनीतिक सम्बन्ध मात्रै होइन, प्रेम सम्बन्ध पनि थियो भन्ने प्रमाणित हुन्छ।

बरु उनले यो प्रेम सम्बन्धलाई राजनीतिक काममा प्रयोग गरेका थिए। जङ्गबहादुरले दरबारका गोप्य सूचनाहरू उनै पुतलीमैयाँबाट प्राप्त गर्थे। यदि पुतलीमैयाँको सहयोग नहुँदो हो त, जङ्गबहादुर त्यो अवस्थासम्म आइपुग्ने नै थिएनन्।

अति कामुक शासक

जङ्गबहादुरका घोषित रानीहरू नै प्रशस्तै थिए। इतिहासकार पुरुषोत्तमशमशेर जबराले ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ भाग १ (२०६५:१८९–९७) मा प्रसादलक्ष्मीदेखि धाइनानीसम्म जङ्गबहादुरका ४२ जना रानीको सूची प्रकाशित गरेका छन्। कमल दीक्षितले ‘जङ्ग–गीता’ (२०४०:१४०–४७) मा पद्मजङ्गको टिपोट अनुसार ३२ जना र प्रो. शिवराजको टिपोट अनुसार ४५ जना जङ्गबहादुरका रानीहरूको सूची प्रकाशित गरेका छन्। जङ्गबहादुरका १२ सय जति पटके श्रीमती (प्रेमिका) थिए रे ! (दीक्षित, २०४०:१४०)।

यति धेरै रानी र प्रेमिकाहरू बटुल्न सक्ने जङ्गबहादुरको यौन चरित्रका बारेमा इतिहासकारहरूले तत्कालीन साक्षीहरूको बयान अनुसार रोचक प्रसङ्गहरू प्रकाशमा ल्याएका छन्। जङ्गबहादुरसँग निकट भएर काम गरेका दरबारका तत्कालीन सैन्य अफिसर खड्गसिंह गुरुङको बयानमा ‘जङ्गबहादुरको हात्तीमा, जुवामा, पहलमानको तमासामा, मैथुनमा ज्यादा सोख रहेको, पछि उनलाई अफिमको लत लागेको थियो’ भन्ने परेको छ (दीक्षित, २०४०:९८)।

इतिहासकार रामजी उपाध्यायले युवराज त्रैलोक्यविक्रम शाहको सेवा गर्ने एक जना धाइनानी चन्द्रवदनसँग भेट गर्ने अवसर पाउँदा जङ्गबहादुरको यौन चरित्र सम्बन्धी महत्त्वपूर्ण सूचना पाएका रहेछन्। २००१ सालमा उपाध्यायले बनारसमा भेट गर्दा चन्द्रवदन ९४ वर्षको वृद्धावस्थामा पुगिसकेकी थिइन्।

चन्द्रवदनको भनाइअनुसार जङ्गबहादुर गोत्र, वंश, सन्तान, ब्राह्मण, यवन, म्लेच्छ, हाडनाताको विचार राख्दैनथे। उनी आफ्नो यौनशक्ति बढाउन भाङ, गाँजा, चरेस, धतुरो, हर्रो लगायतका रस मिसाएर बनाइएको मिश्री हरबखत सुपारी खाएजसरी चपाइरहन्थे (रामजी उपाध्याय, ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’–२००७:२९५–९६)।

जङ्गबहादुरको यौन चरित्र सम्बन्धी अनुसन्धान गर्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तेजबहादुर केसीले ‘एकेडेमिया रिसर्च जर्नल’ वर्ष २ अङ्क २ (सन् २०२३:१९४) मा उल्लेख गरे अनुसार जङ्गबहादुर कतिसम्म गर्थे भने उनी नाबालिका पनि छाड्दैनथे, साथै महिलालाई यौन सन्तुष्टि दिन नसक्दा स्वयं आफू दुःखित भई अफिमको सहयोग लिने गर्थे।

त्यसबेला सत्ताच्युत हुन पुगेका राजा राजेन्द्रले जङ्गबहादुरलाई बदनाम गराई भारदारहरूलाई आफ्नो पक्षमा तान्न लेखेको पत्रमा उनको यौन चरित्रलाई पनि जोड दिएर उल्लेख गरेका थिए। उनले पत्रमा ‘जङ्ग्याले आजकाल अर्काको स्वास्नी पनि टिपी घर लैजान्छ भन्या सुनिन्छ, यस्तो निमकहराम जङ्ग्या हत्यारालाई…’ (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२:२६७) भन्ने बेहोरा परेको छ।

यी तथ्यहरू हेर्दा नेपाली इतिहासमा सर्वाधिक शक्तिशाली शासक मात्रै होइन, सबैभन्दा कामुक शासकका रूपमा जङ्गबहादुरको नाम घोषणा गर्दा फरक पर्दैन। उनी शक्तिमा छँदै थिए, राज्यमा उनकै हालीमुहाली चल्थ्यो।

यिनै कामुक शासक जङ्गबहादुरले महिलाहरूलाई आफूप्रति आकर्षित गर्न के–कस्ता हर्कतहरू अपनाए ? यसैबारे केही तथ्यहरू निफन्दै यो लेख तयार गरिएको छ।

रुमाल हल्लाएर बेलायती सुन्दरीलाई इशारा

एउटा सानो र मामुली पहाडी देशको प्रतिनिधि भएर जङ्गबहादुर बेलायत पुगेका थिए। त्यहाँ उनलाई सरकार प्रमुखका रूपमा नभई एक राजदूतको हैसियतमा स्वागत गरिएको थियो। तर बेलायती अखबारहरूले उनलाई ‘प्रिन्स’ उल्लेख गरेको पाइन्छ। बेलायतीहरूको नजरमा जङ्गबहादुर विशेष आकर्षणका केन्द्र थिए।

यता जङ्गबहादुरको दृष्टि भने बेलायती सुन्दरीहरूमाथि पनि अडिएको थियो; तीमध्ये एक थिइन्, लाउरा बेल। लाउरासँगको सम्बन्धका बारेमा बेलायती अखबारहरूले पनि राम्रैसँग कभरेज गरेका थिए भने त्यही सम्बन्धलाई निहुँ बनाएर जङ्गबहादुरसँगै बेलायत पुगेका करवीर खत्रीसँग मिलेर साहिंला भाइ बद्रीनरसिंहले सत्ता उलटपुलट गर्ने षड्यन्त्र पनि रचेका थिए।

महिलालाई आकर्षित गर्ने जङ्गबहादुरको त्यो जुक्ति
जङ्गबहादुरकी बेलायती प्रेमिका लाउरा बेल।

जङ्गबहादुरभन्दा पहिल्यै बेलायत पुगिसकेका मोतीलाल नामका नेपालीले लाउरा बेलसँगको भेटमा दोभाषेको काम गरेका थिए। शुरुमा जङ्गबहादुर र लाउरा बेल आँखाको भाकाले बोलेका थिए। मोतीलालले लाउराको बारेमा सोधीखोजी गरेर जङ्गबहादुरलाई थप सूचनाहरू दिए।

मोतीलालले लेखेको संस्मरणमा जङ्गबहादुरको लाउरा बेलसँगको पहिलो भेटको रोचक प्रसङ्ग परेको छ। उनले जङ्गबहादुर र लाउरा बेलको पहिलो भेट वा आँखा जुधाइको बारेमा यस्तो लेखेका छन्, ‘नाट्यशालामा मन्त्री (जङ्गबहादुर) र उनका भाइहरू महिलाहरू आफूनजिकै आएर घेर्दा आनन्द मान्छन्। यिनीहरूमध्ये कामदेवकै छोरी जस्ती लाग्ने एउटीले सबैको ध्यानाकर्षण गर्छिन्। हामीहरू दोभाषे साहेबलाई ‘उनी को होलिन् ?’ भनेर सोध्छौं। तर उनी आफू भारतबाट भर्खरै मात्र बेलायत फर्केकोले दोभाषेले तिनलाई चिन्न सकेनन्। मलाई सोधपुछका लागि पठाइन्छ र म ‘बक्स किपर’ सँग गएर जिज्ञासा राख्दा उनको नाम लोराबेल (लाउरा बेल) भएको पत्ता लगाउँछु। यो महामहिम मन्त्री (जङ्गबहादुर) लाई बताएपछि उनको अनुहार हँसिलो हुन्छ। त्यसपछि खुसी भएर उठ्दै उनी आफ्नो हातमा भएको नीलो र सिन्दुरे किनारा भएको रुमाल त्यो गोरीतिर फर्काएर हल्लाउँछन्। आफ्ना मोती जस्तै चम्किला दाँत देखाई ती परीले प्वाँखजडित पङ्खालाई हल्लाउँदै आफ्ना प्रशंसकप्रतिको प्रसन्नताको भाव र स्वीकृतिको अभिव्यक्तिमा धेरैपटक टाउको हल्लाउँछिन्’ (डा. कृष्णप्रसाद अधिकारी, ‘बेलायतको पहिलो नेपाली मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’–२०६९:३०–३१)।

यो रुमालको इशाराले कमालै गरिदियो। लाउरा बेलसँगको रसरङ्गमा जङ्गबहादुरले ठूलै धनराशि खर्च गरेको चर्चा त्यसबेला बेलायती अखबारहरूले गरेका थिए।

राम्री केटी खोज्न सैनिकलाई आदेश

जङ्गबहादुर प्रधानमन्त्री भइसकेपछिकै कुरा हो। उनी प्रधानमन्त्री मात्रै थिएनन्, सेनाको कमान्डर इन चिफ पनि थिए। सैनिकहरू प्रयोग गरेर उनी आफूलाई मन परेको युवती हाकाहाकी नै झिकाउने गर्थे। यसका लागि उनी आफैंले लेखेको पत्र फेला परेको छ। पत्रमा उनकै अक्षर र हस्ताक्षर पाइएको छ।

सत्तामा सर्वेसर्वा हुन आइपुगेका जङ्गबहादुरले आफू मातहतका सैनिक कर्मचारीहरूसँग आफ्नो प्रेम प्रणयका लागि महिलाहरू आपूर्ति गर्न पनि आदेश दिन थाले। त्यसमा पनि अङ्ग्रेजी बेबी (बेलायती महिला) आपूर्ति गर्न त्यसबेलाका एक सुबेदार मन्नु सिंहलाई आदेश दिएको पत्र इतिहासकार दिनेशराज पन्तले प्रकाशनमा ल्याएका छन्। पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ८९ (मङ्सिर २०५३:५१) मा प्रकाशनमा ल्याएको उक्त पत्रको बेहोरा यस्तो छ:

‘सं. १९०४ वैशाष सुदि ७ रोज ४ श्री प्राइममिनिष्टर यान्बाट सुवेदार मन्नुसीके षबसुरत अंगरेजी विवीमाफिक्का केटि २।३ मैन्हाभीत्रमा तैले ल्याउन सकिस् भन्या तेरो दर्जा पनि बढाइदिउला. मुनासीव माफीक्का केटिलाई ल्याउदामा लाग्याको षर्च पनि मिनाह लिदउला अं कृत गरीकन ल्याउन सकुला भन्या षोजन पनि जा देस देसको षै षबर पनि लषद गर सक्तिन भन्छस् भन्या असवावका साथ लागी आउन्या काम गर शुभम्।’

यो पत्रमा जङ्गबहादुरले सुबेदार मन्नु सिंहलाई आफूले भने जस्तो महिला आपूर्ति गरे दर्जा बढाइदिने र लागेको खर्च व्यहोरिदिने पनि उल्लेख गरेका छन्।

महिलालाई आकर्षित गर्ने जङ्गबहादुरको त्यो जुक्ति
केटी झिकाउन जङ्गबहादुरले सुबेदार मन्नुसिंहलाई लेखेको पत्र।

इतिहासकार पन्त (२०५३:५१) का अनुसार उनले आफ्नो अनुसन्धानका क्रममा २०३८ मङ्सिर ९ गते परराष्ट्र मन्त्रालयको १६१ नम्बरको खाममा यो पत्र मस्यौदाका रूपमा फेला पारेका हुन्। उनले फेला पारेको पत्रको मस्यौदाको तिथिमा वि.सं. १९०४ वैशाख सुदी ७ रोज ४ (पात्रो अनुसार वैशाख १० गते बुधबार) उल्लेख छ। तर जङ्गबहादुरकै हस्ताक्षरमा लेखिएको, हालै सामाजिक सञ्जालमा फेला परेको यो पत्रको छायाप्रतिमा भने १९०४ वैशाख सुदी रोज ४ मात्र उल्लेख भएको पाइएको छ। इतिहास अध्येता सुशीलविक्रम थापाले साझा गरेको पत्रको छायाप्रति यो लेखसँगै प्रकाशित गरिएको छ।

आफू सत्तामा आउनासाथ रसरङ्गका लागि बेलायती महिलाको खोजी गर्ने जङ्गबहादुरले बेलायत पुगी लाउरा बेललाई भेटी त्यो इच्छा पनि पूरा गरेका थिए। जङ्गबहादुरले जे आँट्थे, त्यो पूरा गरेरै छाड्थे।

अपहरण गरी सालीसँग विवाह

बाल्यकालमै जङ्गबहादुरको पहिलो विवाह काजी प्रसादसिंह बस्नेतकी छोरी प्रसादलक्ष्मीसँग भएको थियो। उनका ससुरा प्रसादसिंह पृथ्वीनारायण शाहका विश्वासिला भारदार शिवरामसिंह बस्नेतका नाति बख्तावरसिंह बस्नेतका छोरा हुन्।

भीमसेन थापाको पतनपछि बालनरसिंह कुँवर र उनका छोरा जङ्गबहादुरको पनि जागिर खोसिएपछि उनीहरूको परिवारमा दुःखको दिन शुरु भएको थियो। त्यसैले जङ्गबहादुर रोजगारीको खोजीमा यत्रतत्र भौंतारिंदै गर्दा प्रसादलक्ष्मीको देहान्त भयो। उनी विवाहका लागि साली सिद्धिगजेन्द्रलक्ष्मीलाई माग्न जाँदा ससुरा प्रसादसिंहबाट उनले नराम्ररी खप्की खानुपरेको थियो। जङ्गबहादुरकी पहिली पत्नी प्रसादलक्ष्मी प्रसादसिंहका अविवाहितातिरकी छोरी भएकाले त्यो बेला जङ्गबहादुरको पारिवारिक हैसियत विशिष्ट कोटिमा पुगिसकेको थिएन भन्ने देखिन्छ।

महिलालाई आकर्षित गर्ने जङ्गबहादुरको त्यो जुक्ति
परिवारका साथमा जङ्गबहादुर।

सिद्धिगजेन्द्रलक्ष्मी चाहिं काजी प्रसादसिंहकी विवाहितातिरकी छोरी हुन्। उनलाई माग्न जाँदा ससुराबाट पाएको खप्की उनले भुल्न सकेका थिएनन्। आफू शक्तिशाली भएपछि जङ्गबहादुरले अरू कसैसँग वैवाहिक सम्बन्ध कायम भइसकेकी सालीसँग विवाह गर्ने आफ्नो चाहना पूरा गरेरै छाडे, त्यो पनि अपहरण शैलीमा।

जङ्गबहादुर प्रधानमन्त्री भएपछि एक दिन हात्ती चढी उनी आफ्नी साली सिद्धिगजेन्द्रलक्ष्मीको घरमा पुगे। त्यहाँ झ्यालबाट भित्र पसी उनको पतिलाई थाममा बाँधे। त्यतिखेर सिद्धि सुकुलमा बेरिएर लुकेकी थिइन्। उनलाई जबर्जस्ती उठाएर जङ्गबहादुरले आफ्नो थापाथली दरबारमा ल्याए। तत्कालीन प्रचलन अनुसार उनले जारलाई जारी पनि तिरेका थिए। उनी जङ्गबहादुरकी १४औं पत्नी हुन् (जबरा, २०६५:१०८)।

सिद्धिबाट जन्मिएका छोरा रणवीरजङ्गलाई जङ्गबहादुरले रोलक्रममा राखेका थिए। यस्तै छोरी खड्गकुमारी (चिरबिरे मैयाँ) को माहिला साहेब उपेन्द्रविक्रम शाहका छोरा धीरेन्द्रविक्रमसँग विवाह भएको थियो।
त्यो समयको सर्वशक्तिमान शासक जङ्गबहादुरलाई कसले छुने, कसले चलाउने ?

राजालाई लमी बनाएर विवाह

जङ्गबहादुरले उपल्लो तहका परिवारमध्ये काजीखलकसँग मात्रै वैवाहिक सम्बन्ध कायम गरेका थिए। त्यो बेला चौतरियाखलक अर्थात् राजखान्दानसँग विवाह गर्नु ठूलै प्रतिष्ठाको विषय मानिन्थ्यो। पदीय हैसियत बढ्दै गएपछि पारिवारिक प्रतिष्ठा पनि माथि उकास्न उनले चौतरियाखलककी कन्यासँग वैवाहिक सम्बन्ध कायम गर्ने निर्णय गरे।

त्यसैबेला उनको आँखा पर्न गयो, कोतपर्वमा मारिएका प्रधानमन्त्री फत्तेजङ्ग शाहकी बहिनी हिरण्यगर्भकुमारीमाथि। उनी त्यसबखतसम्म विवाह नगरी बसेकी थिइन्। कोतपर्वमा फत्तेजङ्ग, उनका भाइ वीरबहादुरका साथै उनीहरूका छोराहरू मारिएका थिए। फत्तेजङ्गका भाइ गुरुप्रसाद पाल्पाबाट भागेर बनारस पुगी जङ्गबहादुरका बागी बनेका थिए।

त्यसैले जङ्गबहादुरले आफैंले विवाहका लागि कुरा गर्ने आँट गरेनन्। यसका लागि हेमदल थापालाई लमी बनाएर हिरण्यगर्भकुमारीकी आमा मोहकुमारीसमक्ष पठाइयो। आमा मोहकुमारीले पनि आफ्नो पूरै परिवारलाई सखाप पार्नेलाई आफ्नी छोरी दिने मन गरिनन्। तर जङ्गबहादुर विरुद्ध बोल्ने आँट त्यसबेला कसैमा थिएन। चौतरियाहरूले यो खबर राजदरबारमा पुर्‍याए।

महिलालाई आकर्षित गर्ने जङ्गबहादुरको त्यो जुक्ति
चौतरिया खलककी हिरण्यगर्भकुमारीका साथ जङ्गबहादुर।

यो खबर पाएपछि राजा सुरेन्द्र एक दिन उनीहरूको निवास ज्ञानेश्वर पुगेर आमा मोहकुमारीलाई भेटे। उनलाई सम्झाउँदै राजा सुरेन्द्रले जङ्गबहादुरलाई छोरी दिंदा हुन्छ भनेर सम्झाए। राजाकै आज्ञा पाएपछि आमा मोहकुमारी जङ्गबहादुरलाई आफ्नी छोरी दिन राजी भइन् (प्रमोदशमशेर राणा, ‘राणाशासनको वृत्तान्त’–२०७०:६३)।

तर हिरण्यगर्भकुमारी भने अझै पनि जङ्गबहादुरसँग विवाह गर्न मञ्जुर थिइनन्। तर परिवारका सबै जनाले सम्झाईबुझाई गरेपछि चौतरिया परिवारको हितका लागि भए पनि अनिच्छापूर्वक उनी जङ्गबहादुरसँग विवाह गर्न राजी भइन्। तर उनले सुहागरातकै दिन जङ्गबहादुरको हत्या गरी सती हुन पाऊँ भनी इष्टदेवतासँग शपथ लिइन्।

विवाहमण्डपमा बस्ने बेला उनले एउटा धारिलो छुरा आफ्नो कपालमा बाँधेर राखेकी थिइन्। तर यज्ञमण्डपमा पण्डितहरूले मन्त्रोच्चारण गरी जङ्गबहादुरले उनको सिउँदोमा सिन्दुर हालेपछि उनको मन पग्ल्यो र यस्तो पापकर्म गर्दिनँ, बरु प्रायश्चित्त गर्छु भन्ने अठोट गरिन्। संयोगवश ढोगभेटका क्रममा त्यो छुरा भुइँमा खस्यो। उनी जङ्गबहादुरकी पटरानी बनिन् (राणा, २०७०:६३)।

जङ्गबहादुरले हिरण्यगर्भकुमारीसँग वि.सं. १९१० माघमा विवाह गरे। चौतरिया खलकसँग एउटा विवाहले मात्रै उनले चित्त बुझाएनन्। उनले फत्तेजङ्गका भाइ रणशेरकी छोरी विष्णुकुमारी, अर्का भाइ वीरबहादुरकी दुई छोरी यज्ञकुमारी र कान्छी महारानीका साथै कोतपर्वमै मारिएका युद्धरञ्जन शाहीकी छोरी एककुमारीलाई पनि आफ्ना रानी बनाए (जबरा, २०६५:१९१–९३)।

इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ९३ (वैशाख २०५५:१५) मा प्रकाशमा ल्याएको कुण्डलीसङ्ग्रह अनुसार हिरण्यगर्भकुमारीको जन्म १८८३ वैशाख ६ गते भएको हो। यसबाट हेर्दा उनको विवाह २७ वर्षको उमेरमा भएको देखिन्छ। त्यो बेलाको प्रचलन अनुसार उनको विवाह अलि उमेर ढल्केपछि नै भएको थियो।

उनले वैवाहिक सम्बन्ध कायम गरेको चौतरिया खलकको वंशलताको बारेमा पनि केही उल्लेख गर्न जरूरी छ।

राजा सुरेन्द्र र चौतरिया फत्तेजङ्ग शाहको परिवार दुवै एउटै पुर्खाका सन्तति हुन्। फत्तेजङ्ग राजा पृथ्वीपति शाहका साहिंला छोरा चौतरिया चन्द्ररूप शाहका सन्तति हुन्। चन्द्ररूपका हाँगा वीरबाहु, जीव शाह र प्राण शाह हुन्। उनै प्राण शाहका चार छोरामध्ये फत्तेजङ्ग जेठा हुन् भने हिरण्यगर्भकुमारी छोरी हुन् (योगी नरहरिनाथ, ‘इतिहास प्रकाशमा सन्धिपत्रसङ्ग्रह’ भाग १–२०५५:६५९–६०)।

राजा सुरेन्द्र भने राजा पृथ्वीपति शाहका जेठा छोरा वीरभद्र शाहका सन्तान हुन्। युवराज वीरभद्रको राजा नहुँदै देहान्त भएपछि राजा पृथ्वीपतिको देहान्तपछि नाबालक नरभूपाल शाह गोरखा राज्यको राजगद्दीमा बसेका थिए। नरभूपालका पनाति रणबहादुर शाहका पनि पनाति हुन् तत्कालीन राजा सुरेन्द्र। उनै राजा सुरेन्द्रलाई पछि जङ्गबहादुरले सम्धी बनाए। उनी आफ्ना दुई छोरी ताराकुमारी र ललितकुमारीको युवराज त्रैलोक्यसँग विवाह गराउन सफल भए। हिरण्यगर्भकुमारीकी छोरी ललितकुमारीबाट जन्मेका पृथ्वीवीरविक्रम शाह पछि नेपालका राजा भए।

यसरी जङ्गबहादुर आफ्नो रक्तमिश्रणबाट जन्मेका सन्तानलाई नेपालको राजगद्दीको उत्तराधिकारी बनाउन सफल भए।





Source link

Leave a Comment