महासंयोग

महासंयोग


१) समयबोध

“भविष्यको सहरका बारेमा नियात्रा लेख्ने योजना बनाएकाले यात्रारत थिएँ। अद्भुत दृश्यहरू देख्न थालें। त्यहाँ कुनै घर बनेका थिएनन्। हिंड्न मिल्ने ठाउँ थियो तर बाटाको रूपरेखा केही थिएन। पिच, ढल र बिजुली हुने कुरै भएन। ती सबै भविष्यमा बन्लान् भन्ने लाग्यो।

आश्चर्यजनक दृश्यहरू हेर्दै र हिंड्दै थिएँ। तिर्खा लाग्यो। नजिकै एउटा धारो देखें। धारामा पानी थिएन। घाँटी खुब सुकेको थियो। पानी खोज्दै छिट्छिटो हिंड्न थालें। नदी भएको ठाउँमा पुगें। त्यहाँ पनि पानी थिएन। सायद त्यहाँ भविष्यमा पानी बग्छ होला।

त्यसै छेउमा भविष्यकी युवती रोइरहेकी देखें। नजिकै गएर उनीसँग कुरा गरें। ती फुच्ची केटी पनि म जस्तै भविष्यको सहरमा भौंतारिएकी रहिछिन्। मैले उनलाई मसँग हिंड बाहिर निस्कने बाटो भेटिन्छ भनें। उनले मानिनन्। गोजीमा भएको चकलेट दिएपछि बल्ल मसँग जान तयार भइन्। उनलाई सहयोग गर्नुमा मेरो स्वार्थ लुकेको थियो। हामीसँगै हिंडिरहेका थियौं। अचानक भविष्यका प्रहरीहरू देखापरे। तिनीहरूले मलाई र मसँगै रहेकी फुच्ची केटी अर्थात् भविष्यकी युवती अर्थात् भविष्यकी मेरी श्रीमतीलाई केरकार गरे। मैले साँचो कुराभन्दा तिनीहरूले पत्याएनन्। बालिकालाई अपहरण गरी भविष्यमा बलात्कार गर्ने योजना बनाएको आरोप लगाए। भविष्यमा मुद्दा चलाउने गरी तिनीहरूले मलाई पक्रेर ‘ब्ल्याक होल’भित्र कोचे।” उसले आफ्ना आँखा मिच्दै भन्यो।

“ब्ल्याक होलमा होइन, तपाई अस्पतालको बेडमा हुनुहुन्छ।” अन्तरिक्षमा हुने ब्ल्याक होलको कुरा गर्ने बिरामीलाई डाक्टरले सम्झाउँदै भने।

ठिक त्यसैबेला औषधी लिएर नर्स आइपुगिन्। भविष्यकी श्रीमती भनेर उद्धार गर्ने प्रयास गरेको फुच्ची केटी कसरी एकैछिनमा यति ठुली भई भनेर उसले उदेक मान्यो। उसले आफ्नै मनभित्र सत्यतथ्य केलाउन थाल्यो।

“ल, यो औषधी खानोस्! भविष्यमा तपाईको रोग निको हुने छ।” औषधीका चक्की उसलाई दिंदै नर्सले मुसुक्क हाँसेर भनिन्।

नर्सले त्यसो भन्नासाथ ऊ झसङ्ग भयो। अनि तुरून्त ऊ वर्तमानमा फर्कियो।

२) महासंयोग

निम्ता दिए अनुसारका मानिसहरू उपस्थित भएनन्। आउनुपर्ने नजिकका आफन्त र घनिष्ट साथीहरू पनि आएनन्। आउँदैनन् होला भन्ने ठानेर औपचारिकताका लागि निम्ता गरेका मेरा प्रतिस्पर्धी र अदृश्य केही शत्रुचाहिं आएका थिए। नबोलाएका मानिसहरू पनि देखें।

मैले छोराहरूलाई पनि निम्ता गरेको थिइनँ। अस्पतालको बेडमा उपचारार्थ भर्ना हुँदा अंश माग्न आएका थिए। अंश नदिए मुख पनि हेर्दिनँ र काजक्रिया पनि गर्दिनँ भनेर निस्केदेखि उनीहरू सम्पर्कमा छैनन्।

मेरी श्रीमती पनि त्यहाँ थिइन। अस्पतालमा उपचारका लागि मेरै कमाइको पैसा खर्च गर्दा छोराहरूलाई सम्पत्ति थोरै हुने भो भनेर खुब रिसाएकी थिई।

हुन त बिहे गरेको वर्ष दिन नपुग्दै रिस उत्पादन गर्ने कारखाना सञ्चालन गरेकी श्रीमतीबाट आजसम्म निरन्तर रिस उत्पादन भइरहेको छ। उनी नआए पनि कुनै गुनासो छैन। किनकि उनको र मेरो बाँचुन्जेलसम्म मात्र सँगै बस्ने सम्झौता छ।

मसँग कहिल्यै केही अपेक्षा र गुनासो नगर्ने मेरा केही भूतपूर्व प्रेमिकाहरू अँध्यारो अनुहार लगाएर त्यहाँ आइपुगे। संयोग कस्तो पर्‍यो भने अचानक त्यतिबेलै मेरी श्रीमती पनि टुप्लुक्क आइपुगी। मेरी श्रीमतीको साथमा उनको बहालवाला प्रेमी पनि आएको थियो।

“मृत्युलाई उत्सवको रूपमा मनाउनुपर्दछ।” मेरी श्रीमतीले भनेको सुनें।

“कुरा सही हो। लु चाँडै शवयात्रा गरौं!” मेरी श्रीमतीको प्रेमीले हतार ग¥यो।

उनीहरूले मलाई घाटमा लगेर जतिसक्दो चाँडो जलाउन आँटेको थाहा पाएँ।

डरले आत्तिंदै सपनाबाट झल्याँस्स बिउँझिएँ। आँखा मिचेर हेर्दा आफूलाई अस्पतालको बेडमा पाएँ। हाड र छाला मात्र बाँकी रहेको रूग्ण शरीर लिएर केही महिनादेखि रोगसँग लडिरहेको थिएँ। सोह्र शृङ्गार गरेर आएकी श्रीमती उत्सव मनाउन आएजस्ती प्रसन्न मुद्रामा मेरो सामुन्ने उभिएकी थिई। मैले कहिल्यै प्रत्यक्ष नदेखेको एउटा लोग्ने मान्छे उनको साथमा थियो।

श्रीमतीले परिचय गराई, “उहाँ सहरको नामुद वकिल हुनुहुन्छ।”

मैले ध्यान दिएर त्यस व्यक्तिलाई हेरें। त्यस मान्छेको अनुहार मैले सपनामा देखेको मेरी श्रीमतीको प्रेमीसँग काटीकुटी मिल्दथ्यो।

३) अपमृत्यु

यो मेरो मृत्युपछिको कथा हो। मृत्यु भइसकेको मानिसले कसरी कथा लेख्छ भनेर सोच्नुभयो होला। यो कथा लकडाउनको बेलाको हो। सायद तपाईले कोरोना महामारीको बेला मेरो निधन भएको कुरा अनुमान गर्नुभयो होला।

लकडाउनको बेलासम्म म बेरोजगार नै थिएँ। लकडाउनमा समय कटाउन पहिलोपटक कथा लेख्न सुरू गरें। त्यसभन्दा पहिले म मुक्तक र गीत लेखिबस्थें। कथा पूरा हुन बाँकी नै थियो। कथाका पात्रहरूमा बेमेल मात्र भएन, तिनमा महत्वाकाङ्क्षा पनि जाग्यो। हरेक पात्र आफूलाई केन्द्रमा राखेर शक्तिशाली हुन चाहन्थे। कथाको ‘म’पात्र आफूलाई सर्वोच्च ठान्थ्यो। पात्रहरूको झगडा मिलाउन नसक्नाले कथा अधुरै थियो। मेरो कथा सबैलाई भागबन्डा पुर्‍याउनुपर्ने गठबन्धनको सरकार नभएकाले म हतारिएको थिइनँ।

बिस्तारै कथाका पात्रहरूले मोर्चाबन्दी गरेर मेरो मस्तिष्कमा चढाइ सुरू गरे। तिनले मलाई हायलकायल पारे। त्यसले मलाई खुब तनाव दियो। सोही तनावका कारण मैले परिवारका सदस्यहरूसँग झर्कोफर्को गर्न थालें।

अति भएपछि एक दिन श्रीमतीले मसँग निहुँ खोजिन्। पात्रहरूले निहुँ खोजेर मलाई कमजोर बनाएको बेला श्रीमती पनि थपिइन्। अन्त्यमा हार मानेर उनलाई सारा समस्या र कथाको सार बताएँ।

“त्यसो भए कथाको ‘म’ पात्रलाई मारिदिनोस्। नरहे बाँस नबजे बाँसुरी।” श्रीमतीले समाधान बताइन्।

आफूले आफैलाई कसरी मारूँ भन्ने डरले म केही बोल्न सकिरहेको थिइनँ।

“मार्नू भनेपछि मार्नू। अहिल्यै मार्नोस्।” श्रीमतीले आदेश दिइन्।

“कसरी ‘म’ मेरै हत्या गर्न सक्छु? म मरेपछि तिमी पनि विधवा हुन्छ्यौ नि।” मैले डराउँदै भनें।

“को विधवा? दिमाग खुस्कियो? त्यही भएर त मैले साहित्यतिर नलाग्नु भनेर पहिलेदेखि भनेको होइन। अरू कुरा जान्दिनँ। कहाँ जाँदा हुन्छ अब खुरूक्क काम खोज्नुहोस्।” रिसले फतफताउँदै श्रीमती भान्साकोठातिर गइन्।

त्यसपछि मैले ‘म’ पात्रलाई मारें। संयोग कस्तो पर्‍यो भने ‘म’ पात्रलाई मारेकै दिन साउदी अरबमा काम गर्न जाने भिसा पनि आयो।

४) भिसा

विदेशको मेरो पहिलो यात्रा थियो। चिडियाखाना अवलोकनका लागि निस्केको थिएँ। एयरपोर्टका कर्मचारीहरूले अनावश्यक दुःख दिए। अलिकति पैसा दिएर बल्लतल्ल बाहिर निस्कें। एयरपोर्टबाट बाहिर निस्केर चारैतिर हेर्दछु। बाहिरका सबै क्षेत्र खुला चिडियाखाना पो रहेछ।

त्यहाँका दृश्यहरू देखेर आश्चर्यचकित भएँ। भेडाहरू भाषण सुनिरहेका थिए। गधाहरू कुरा नबुझेर हाँसिरहेका थिए। मदारीहरूले बाँदरहरू नचाइरहेका थिए। फ्याउराहरू त्यसै कराइरहेका थिए। बिनाकाम कुकुरहरू भुकिरहेका थिए। मैमत्त साँढेहरू डुक्रिरहेका थिए। बाघको छाला ओढेका स्यालहरू सिंहासनमा थिए। चिडियाखाना सञ्चालनका लागि नियम कानुन बनाउन उल्लुहरू संसद् नामको स्थानमा उँघिरहेका थिए।

दृश्यहरू आँखाले हेरेर स्मृतिमा नअट्ने भए। त्यसपछि भिडियो क्यामरा निकालेर खिच्न थालें।

अनुमतिबेगर किन फोटो खिचेको भन्दै प्रहरी हौं भन्ने दुई व्यक्तिले मेरो क्यामरा खोस्न थाले।

“म पर्यटक हुँ।” मैले भनें।

त्यसो भन्नेबित्तिकै मसँग पासपोर्ट होइन डलर मागे। अलिकति डलर दिएर तिनीहरूबाट छुटकारा लिएँ।

त्यसपछि अलिक ढुक्क भएर फेरि भिडियो खिच्दै थिएँ।

“हामी हुँदाहुँदै समाचार बनाउने तँ को होस्? कसको अनुमतिले समाचार सङ्कलन गरेको? प्रेसपास देखा।” आफूलाई पत्रकार भन्ने दुई व्यक्तिले मलाई धम्क्याए।

“म पर्यटक हुँ।” डराउँदै मैले भनें।

“त्यसो भए हामीलाई रक्सी र मासु खुवा।”

उनीहरूले माग राखे।

नजिकैको भट्टी पसलमा तिनीहरूलाई मासु र रक्सी किनिदिएपछि सन्तोषको सास फेरें।

ती सारा झमेलाबाट मुक्ति मिलेपछि अब आनन्दले चिडियाखाना घुम्नुपर्ला भनेर सोच्दै थिएँ। भिसाको म्याद सकियो कहाँ घुमिराखेको भन्दै कसैले मलाई च्याप्प समात्यो। आत्तिंदै म अर्धनिद्रामा उठें।

“कस्तो समय आयो हँ? सपना हेर्न पनि भिसा लगाउनुपर्ने?” रिसले म बर्बराएछु।

“हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौं।” मजदुर क्याम्प बसेको मेरो रूम पार्टनरले भन्यो।

५) नक्कली

समाचार खोज्दै नक्कलीपुर राज्यमा पुगेको थिएँ। अनुसन्धान गर्दै जाँदा काम अनुसारकै देशको नाम रहेको पाएँ। त्यस देशको शासन व्यवस्था नै अरू देशको नक्कल गरिएको रहेछ।

त्यहाँ ठग, तस्कर, भ्रष्टाचारी, अपराधी, ज्यानमारा आदि मन्त्री, सांसद, नेता बनेर नक्कली काम गर्दा रहेछन्। नक्कली कुरा गरेर जनतालाई झुक्याउँदा रहेछन्। नक्कली कागज तयार पारेर मन्दिर, गुठी र सरकारी जग्गा मात्र होइन मित्र राष्ट्रले दानमा दिएका कलकारखानाहरू पनि बेचेर खाँदा रहेछन्। त्यहाँ केही डाक्टर, इन्जिनियर, पाइलट आदि पनि नक्कली भेटिए। खाद्यसामग्री र औषधी मात्र होइन विषसमेत नक्कली विक्री हुने गरेको थाहा पाउँदा म आश्चर्यचकित भएँ।

ती सबैको लिस्ट तयार पार्दै थिएँ। अचानक नक्कली प्रहरीहरू आइपुगे।

“को हौ तिमी?” प्रहरीले मलाई सोधे।

“पत्रकार हुँ।” मैले भनें।

पत्रकार हुँ भन्नेबित्तिकै तिनले मलाई नक्कली आरोप लगाएर पक्रिए। सबै चिज नक्कली भएको नक्कलपुर राज्यका प्रहरीलाई सक्कली हो भन्ने आधार मसँग थिएन। ती नक्कली प्रहरीको झमेलाबाट सजिलै छुटकारा पाउँछु जस्तो लाग्यो।

“लु हेर्नोस्, मेरो प्रेसपास।” प्रहरीलाई प्रेसपास देखाएँ।

“यो प्रेसपास नक्कली हो।” प्रहरीले भने।

मेरो प्रेस पासलाई नक्कली भन्दै नक्कली आरोप लगाएर पक्रेको मेरो मनले स्विकारेन। त्यसपछि मैले प्रहरीसँग प्रतिवाद गर्न थालेँ। चर्काचर्की हुँदै गर्दा प्रहरीसँग धकेलाधकेल भयो। प्रहरीले धकेल्नाले म डङ्ग्रङ्ङ लडें। ‘ऐया!’ भन्दै म जुरूक्क उठें। म त सपना देखेर आफ्नै पलङबाट भुइँमा पो लडेको रहेछु।

हत्त न पत्त कोठाको बत्ती बालें। मैले काम गर्ने पत्रिका ‘नक्कली टाइम्स’को हिजोको अङ्क टेबुलमा देखें। पत्रिकामा छापिएका नक्कली समाचारहरू र हेडलाइनले मलाई गिज्याए जस्तो लाग्यो। पत्रिकामा नक्कलीपुर राज्यले जारी गरेको नयाँ नक्सा पनि छापिएको थियो। संयोगको कुरा त्यो नक्सा राती सपनामा भ्रमण गरेको देशको नक्सासँग दुरूस्त मिल्दथ्यो। त्यो देखेपछि अचानक मेरो सास रोकिए जस्तो भयो।

“सपना पनि नक्कली देखिनु नि!” लामो सास तानेपछि मैले एक्लै बोलें।

(साहित्यकार कृष्ण बजगाईंको छैटाैं लघुकथासङ्ग्रह ‘नग्न स्वप्न’बाट)

प्रकाशित: १७ जेष्ठ २०८१ १०:२१ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School