गत २९ पुस अर्थात् पौष शुक्ल पूर्णिमाका दिन भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु भएको छ । सनातनीहरूका तीन पवित्र नदी गंगा, यमुना र सरस्वतीको संगमस्थल प्रयागमा कुम्भ मेला लाग्छ । यी तीन नदीहरूमध्ये गंगा र यमुना त देखिन्छन्, तर सरस्वतीचाहिँ गुप्त वा लुप्त छिन् भनिन्छ । प्रत्येक वर्ष मकर संक्रान्तिका दिन कुम्भ मेला लाग्छ । हरेक ६ वर्षको मेलाचाहिँ अर्धकुम्भ भनिन्छ भने प्रत्येक १२ वर्षमा पूर्णकुम्भ हुन्छ । यसपटकको मेलालाई पूर्णकुम्भ नभनी महाकुम्भ भनिएको छ ।
यसभन्दा अघि सन् २०१३ मा १२ वर्षे पूर्णकुम्भ भएको थियो । सत्ययुगको सुरुवातमा समुद्र मन्थनको समयमा निस्केको अमृतको केही थोपा चार स्थानमा झरेको शास्त्रहरूमा उल्लेख छ । ती चार ठाउँमध्ये एक ठाउँ प्रयागको त्रिवेणी संगम भएको विश्वास छ । यसपटकको पूर्णकुम्भको समयको ग्रह नक्षत्रको योग समुद्र मन्थनको कालसँग मिल्दोजुल्दो भएको र यस्तो संयोग १ सय ४४ वर्षपछि जुरेको बताइएको छ ।
मेलाको सुरुवात पौष शुक्ल पूर्णिमाकै दिन भए पनि साधुसन्तहरूको त्रिवेणी शाही स्नानचाहिँ भोलिपल्ट मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिका दिन भएको थियो । मूलतः निर्वाणी र जुनाजस्ता १३ अखाडासँग आबद्ध साधुसन्तहरूले पहिला स्नान गर्छन् । ती विभिन्न अखाडाहरू केही दिन अघिदेखि नै मेला क्षेत्रमा प्रवेश गर्छन् । हात्ती, घोडा र रथ इत्यादिमा सवार हुँदै राजसी पाराले प्रवेश गर्ने हुँदा तत्कालीन चलनअनुसार उनीहरूको प्रवेशलाई ‘पेशवाई’ भनियो । पेशवाई भन्ने शब्दले सम्भवतः शाही भाषामा भारदारहरूको दरबार दाखिला हुने परम्परालाई बुझाउँछ । ती साधुसन्तको स्नानलाई पनि शाही स्नान भनिएको कारण यही हो । विभिन्न अखाडासँग आबद्ध साधुसन्तहरूलाई सनातन धर्मका रक्षक संरक्षक लडाकुसमेत मानिन्छ ।
यसपटक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पूर्णकुम्भलाई महाकुम्भको नाम दिए भने साधुहरूको मेला क्षेत्र प्रवेशलाई पेशवाई नभनी छावनी प्रवेशको नाम दिए र शाही स्नानलाई अमृतस्नानको नयाँ नाम दिए । यहाँनेर एउटा सानो टिप्पणी गर्नु उपयुक्त लाग्यो । योगी आदित्यनाथलाई राजावादीका रूपमा चित्रण गरिन्छ । कम्तीमा नेपालका राजावादीहरू यस्तै बताउँछन् । तर, योगीले शाही र पेशवाईजस्ता शब्द हटाएर त्यसका ठाउँमा अमृत र छावनी प्रवेशजस्ता शब्द प्रचलनमा ल्याएर एउटा संकेत दिएका छन् । उनलाई वंश परम्परामा आधारित राजतन्त्रसँग कुनै मोह छैन र त्यसैकारण शाही स्नानलाई अमृत स्नान भन्छन् । साँच्चिकै यी साधुसन्त कुनै राजाका भारदार होइनन्, सनातन धर्म संरक्षक योद्धा हुन् । योद्धाले पेशवाई गर्दैनन्, लडाकु बस्ने छाउनीमा प्रवेश गर्छन् ! मेरा यी तर्क सुनेर धेरैलाई ननिको लाग्ला ! तर, सत्य यही हो । गणतन्त्रको पहिलो अभ्यास सनातनी समाजमा भएको हो । यस’bout कुनै समय लेखौंला । पुनः महाकुम्भतर्फै फर्कौं ।
महाकुम्भ आगामी ४५ दिन चल्नेछ । आगामी १६ फागुन तदनुसार २६ फेब्रुअरीका दिन महाकुम्भको समापन हुनेछ । सुरु अर्थात् पौष शुक्ल पूर्णिमाकै दिन स्नान भएको थियो । साँच्चै भन्ने हो भने सामान्य स्नान त महाकुम्भ अवधिभर नै चल्नेछ । तर, अलि विशेष स्नानचाहिँ आगामी माघ शुक्ल पूर्णिमा र महाशिवरात्रिका दिन हुनेछ भने बाँकी दुई अमृत स्नानचाहिँ आगामी मौनी अमावश्या र वसन्त पञ्चमीका दिन हुनेछ । ती दुई दिन पुनः साधुसन्तका अखाडाहरूको अगुवाइमा स्नान हुनेछ । गत १ माघ अर्थात् मकर संक्रान्तिका दिन भएको साधुसन्तहरूको अमृत स्नान वास्तवमै अत्यन्तै भव्य र दर्शनीय थियो ।
आगामी मौनी अमावश्याको दिन हुने दोस्रो अमृतस्नानका दिन ७ करोडको हाराहारीमा श्रद्धालुहरूले संगममा स्नान गर्ने अनुमान छ । मेला अवधिभरमा ४५ करोडभन्दा बढी श्रद्धालुले संगममा स्नान गर्ने प्रक्षेपण गरिएको छ
निर्दिष्ट समयमा प्रत्येक अखाडाहरू आआफ्नो शिविरबाट आफ्नो ध्वजासहित जुलुसको आकारमा निस्केका थिए । प्रायः सबै अखाडाको जुलुसको अगुवाइ नागा साधुहरूले गरेका थिए । ती नागा साधुहरू निर्वस्त्र वा अत्यन्तै न्यून वस्त्रमा थिए भने भष्म, नानाथरीका चन्दन र रुद्राक्ष अथवा पुष्पमालामा सजिएका थिए ।
नागाहरूको सबैभन्दा उल्लेख्य विशेषताचाहिँ उनीहरूले त्रिशूल, भाला र तरवारजस्ता शस्त्र बोक्दै प्रदर्शन गर्दै गरेका देखिन्थे । तिनीहरूको हाउभाउ देख्दा नै उग्र साधक लडाकाजस्ता देखिन्थ्यो । १३ अखाडाका सम्पूर्ण साधुसन्त गरेर झन्डै १५ लाखले अमृत स्नान गरेको अनुमान छ ।
मेला सुरु भएको दिन लगभग १ करोड श्रद्धालुले त्रिवेणीमा स्नान गरेको अनुमान छ भने मकर संक्रान्तिको दिन साधुसन्तसमेत साढे ३ करोड श्रद्धालुले स्नान गरेको अनुमान गरिएको छ । हिजो शुक्रबारका दिनसम्ममा झन्डै ७ करोड मानिसले आस्थाको स्नान गरेको अनुमान गरिएको छ । लाखौंको संख्यामा आमश्रद्धालु नदी किनारमा मेला अवधिभर नै कल्पवासमा बस्नेछन् । आगामी मौनी अमावश्याको दिन हुने दोस्रो अमृतस्नानका दिन ७ करोडको हाराहारीमा श्रद्धालुहरूले संगममा स्नान गर्ने अनुमान छ । मेला अवधिभरमा ४५ करोडभन्दा बढी श्रद्धालुले संगममा स्नान गर्ने प्रक्षेपण गरिएको छ ।
३ करोडको हाराहारीमा जनसंख्या भएको हाम्रा मुलुकवासीका लागि त अकल्पनीय नै भन्नुपर्छ । मकर संक्रान्तिको एकै दिन साढे ३ करोडले संगम स्नान गरे भन्दा अचम्म लाग्दैन त ? अझ आगामी औंसीका दिन त ७ करोड हुन्छ रे ! नेपालको जनसंख्याको दोब्बरभन्दा बढी ! त्यसो त ५ लाखभन्दा बढी नेपालीले पनि कुम्भ स्नान गर्ने अनुमान छ ।
यस महाकुम्भको व्यवस्थापन आफैंमा अत्यन्तै दुष्कर कार्य हो । लगभग एउटा अस्थाई घना सहर नै बसालिएको छ । त्यहाँको शान्ति सुरक्षा र सरसफाइ आदि आफैंमा महाचुनौतिको विषय हो । विधर्मी आतंकीको निशानामा रहने गरेको भारतका लागि यो अकल्पनीय चुनौती नै हो । एकैदिनमा साढे ३ करोडको भीड र त्यो पनि चलायमान भीडको गति नियन्त्रणदेखि स्नान व्यवस्थापन !
सम्झिँदैमा जसलाई पनि रिंगटा लाग्न सक्छ । आज विकसित विश्वका प्रविधियुक्त मुलुकका व्यवस्थापकहरू पनि आश्चर्य र प्रशंसा मिश्रित दृष्टिले कुम्भलाई नियालिरहेका छन् । केही हजार र लाखको भीडमा भागदौड भएर सयौं मानिस मर्नु भारतकै लागि अनौठो होइन । तर, महाकुम्भ कसरी सम्भव भयो र त्यो पनि बिनाकुनै दुर्घटना ! यो व्यवस्थापकीय क्षमता मात्रै हो भने त संसारका उत्कृष्टतम व्यवस्थापन महाविद्यालय वा विश्वविद्यालयका लागि आगामी सयौं वर्षका लागि एउटा अनुकरणीय मोडल हुन सक्छ र पाठ्यक्रमको विषय हुन सक्छ । यो योगी आदित्यनाथ वा नरेन्द्र मोदीलाई प्राप्त दैवी बरद हस्तको परिणाम मान्नेहरू पनि छन् !
यस महाकुम्भमा एउटा अत्यन्तै विचारणीय पक्ष पनि सुषुप्त तर स्पष्ट रूपमा उजागर भएको छ । त्यो हो, आक्रामक आस्था र सनातन सर्वोच्चताको भोक ! गत आमनिर्वाचनमा मुसलमान समुदायले पुरै ध्रुवीकृत भएर भारतीय जनता पार्टीको विपक्षमा मतदान ग¥यो । अर्कोतिर हिन्दू समुदायचाहिँ जातजातिमा विभक्त भए । हिन्दूहरूको ठूलो समर्थन रहे पनि भाजपाका विरुद्ध कैयन् जातजाति विपक्षमा लागे । प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथले त्यसपछि ‘बटेंगे तो कटेंगे’ भन्ने नारा दिए ।
हिन्दूहरूलाई स्पष्ट संकेत थियो– जातजातिमा बाँडिएर हिन्दू विरोधीलाई सघाउन पुग्यौ भने तिमीहरूको नाश अवश्यम्भावी छ ! आक्रामक ढंगले यो नारा उचालिएको मात्र छैन, हराएका लुप्त भएका र मुगल आदिले नष्ट गरेका हिन्दू मठ मन्दिर र सम्पदाहरूको पुनरुत्थानको कार्य पनि अत्यन्तै आक्रामक ढंगले आगाडि बढेको छ । यसको परिणाम पनि देखिएको छ ।
हालै महाराष्ट्र र हरियाणा राज्यको निर्वाचन भाजपाले अनपेक्षित ढंगले जितेको छ । यस्तो लाग्छ, अल्पसंख्यकको नाजायज तुष्टीकरणका विरुद्ध र सनातन पुनरुत्थानको पक्षमा सनातनीहरू अचम्मैसँग उठ्न खोजेका छन् । महाकुम्भ मेला भर्न आएकाहरूको अभिव्यक्तिमा पनि अत्यन्तै आत्मविश्वास र श्रद्धा त देखिन्छ नै, केही हदसम्म आक्रामक मुद्रा पनि देखिन्छ । शान्त रहनुपर्ने साधुसन्तमा पनि आक्रामक लडाकुपनको मात्रा धेरै देखिन्छ । स्पष्ट संकेत देखिन्छ– अब सनातनीहरू अल्पसंख्यकको नाजायज तुष्टीकरण सहने वा भनौं कथित सहिष्णुताको आवरणमा आफ्नो अस्मीता लुटिएको सहन तयार छैनन् । भारतमा जे जस्तो उग्र वा रोमाञ्चक परिदृश्य देखिनेछ, त्यसको थोरै नै भए पनि प्रभाव त नेपालमा पनि पर्ला नै । निश्चित रूपमा भारत सनातन भूमि हो । तर, नेपालचाहिँ सनातन भूमिको मस्तक हो !
(Visited 15 times, 1 visits today)